सूर्य अधिकारी मेरो छिमेकी भाइ। हँसिलो चेहरा, फूर्तिलो ज्यान, शालीन स्वभाव। आफ्नो बा जस्तै कामलाई औधी सम्मान गर्ने मान्छे। मलाई माया गर्ने प्रिय बालसखा। धेरै गाउँलेको मन मस्तिष्कमा बस्न सफल। तीस वर्ष भर्खरै नाघ्दै गरेको त्यो कलकलाउँदो जवानी।
तिमीसँग हटिया बजारस्थित झोलुंगे पुलमा एक्कासी भएको त्यो भेट अन्तिम हो भनेर म कदापि स्वीकार्न तयार छैन। त्यही लमाइको ढुंगामाटो, पहरोसँग खेल्दै, त्यहीँको चिसो पानी खाएर हुर्किएको झरिलो तिम्रो शरीरले हामीलाई छोडिगयौ होला भनेर म कल्पना गर्न पनि सक्दिनँ। तर अरबको खाडीमा संघर्ष गर्दै गर्दा तिम्रो श्वास धर्मरायो भन्ने सुन्दैछु।
सामाजिक सञ्जाल र फोनमार्फत सोधपुछ गर्दै जाँदा पत्तो लाग्यो, तिमीले त साँच्चिकै सदाका लागि बिदाइको हात हल्लाइसकेछौँ। आज म तिमीले छोडेर गएका सम्झनाका तरेलीहरुमा अभिभूत भइरहेको छु। मलाई ज्यादा झ-झल्को हामीले बनाएको त्यो बाँदर धपाउने छाप्रोको आइरहेछ। छाप्रोमा बसेर अनेकौँ भाका घन्काएका थियौँ। लोककथा हालेका थियौं।
भोको पेटलाई शान्त पार्न सँगै अर्नी खाएका थियौँ। मकै जोगाउन हामीले बाँदरलाई धेरैपटक मिलेर डाँडा कटाएका थियौँ। किशोरावस्थाका ती दिनमा हामीसँगै खरबारीमा घाँस काटेका थियौँ। घडेरी, नियालाबान्नी लेकसम्म पुगेर दाउरा, काठ बोकेका थियौँ। बाहरुको साथमा टर्च लाइट बालेर थालेपोखराको जंगलबाट फलिया र सीमा बोकेको निकै याद आइरहेको छ।
गलकोट उच्च मावि बनाउन खरबाङबाट हाम्रा परिवार मिलेर सँगसँगै रड बोकेको पनि उस्तै सम्झना छ। बाहरुले गाउँमा सँगै लिएका कयौँ काम र मेलापात हामीले मिलेरै निप्टाएका पलहरु झल्झल्ती सम्झिरहेको छु। भिरालो पहरोमाथि र जंगलको छेउछाउमा हाम्रो थोरैतिनो बारी थियो। त्यसबाट हुने उब्जनीले परिवारलाई तीन महिनासम्म हातमुख जोर्न पनि धौ–धौ हुन्थ्यो।
दिनरात मेलापात र अर्कैको काममा धाउँदा-धाउँदै तिमी र अरु धेरै साथीहरुले विद्यालय शिक्षा पनि पूरा गर्न नसकेको मलाई थाहा छ। त्यतिबेला लाहुरे हुने या दिल्ली जाने माहोलले गाउँलाई छपक्कै छोपेको थियो। त्यही माहौलमा हामी पनि बतासिंदै थियौं। लाहुरे हुने र पैसा कमाउने चक्करमा मसँग विदाइको त्यो कलिलो हात हल्लाएको क्षण अझै मानसस्पटलमा कैद छ। तिमी छुटेर गएको त्यो क्षणले मलाई निकै दिनसम्म बिथोलेको थियो। कयौँ मेलापात र घाँसदाउरा गर्दै गर्दा तिम्रो अभावले खल्लो बनाइदिएको थियो।
तिमी परदेशीएको बेलातिरै गाउँमा अर्को क्रान्तिकारी बतास पनि विस्तारै चल्दै थियो। गरिब, दुखी, भोका, नाङ्गा, शोषित, पीडित र अपहेलितहरुको मुक्तिको सपना बोकेर। म त्यही बतासको सिरसिराहटमा बहकिंदै गए। सारा संसारलाई नै स्वाधिन, स्वतन्त्र, समान र सम्मानित बनाउने त्यो सपनाको सम्मोहन गज्जबको थियो।
म लगायत थुप्रै साथीसंगीहरु त्यही सपनाको मादकतामा फैस्दै गइरह्यौँ। विस्तारै हामीमाथि थोपरिएको शोषण, अन्याय, अत्याचार, विभेद र दमनलाई पहिल्याउँदै गयौँ। कहिले विद्यार्थी संगठन, कहिले किसान, कहिले महिला, कहिले जातजातिको संगठन निर्माण गर्न तल्लीन भयौँ। गाउँघरमा जाँडरक्सी, जुवातास रोक्ने काममा मात्र होइन, कतिपय फौजी क्रियाकलापमा पनि हामी दिनरात खटिरह्यौँ। त्यतीबेला हामी ग्रामिण भूभागलाई लालकिल्ला बनाउनेतिर उन्मुख थियौँ। जहाँ गरिब दुःखी जनताले पनि न्यायको अनुभूति गर्न सक्षम बनून्।
बेला–बेला तिमी घर फर्किंदा सोध्ने गर्थ्यौ 'के अब हामी गरिबको दिन आउला त दाइ?' मैले तिमीलाई ढाडस दिँदै भनेको थिएँ 'हामी उत्पीडित जनताको मुक्तिको लडाइमा निरन्तर लाग्दै गर्दा त्यो दिन अवश्य आउनेछ भाइ। बरु तिमी पनि यो महासमरमा सहभागी हुने प्रयन्त गर।'
तिमी घरमा रहँदासम्म क्रान्तिका निम्ति खर्चिएको श्रम र पसिनाको पनि मलाई राम्रै याद छ। तिम्रै घरमा आम जनतालाई जगाउन सांस्कृतिक कार्यक्रमको रिहर्सल गरेका थियौं। तिमीले कयौं दिनसम्म कार्यक्रमलाई सफल पार्न अहोरात्र लागेका थियौ। बोहोराफाँटमा भएको मशाल जुलुसमा तिमीले निभाएको भूमिका पनि निकै रोमाञ्चित थियो।
‘परिवारको एक्लो छोरा, केही भरथेग गरेर क्रान्तिमै लाग्ने हो’ भन्दै तिमीले कसिलो हात मिलाएको त्यो क्षणले पनि अहिले मलाई निकै सताइरहेको छ। अन्तिम पटक हटियामा तिमीलाई भेट्दा कालीगण्डकीमा निकै पानी बगिसकेको थियो। बेनी, पाल्पादेखि बुटवल, पिली जस्ता युद्ध मोर्चामा शहादत प्राप्त गर्ने योद्धाहरुको रगत पनि सँगै बगेको थियो। नेताहरुले भन्ने गरेको त्योभन्दा अझ कठिन लडाइमा हामी प्रवेश गरिसकेका थियौँ।
तर तिमीले त्यस चुनावी माहोललाई अवश्य दृष्टिगोचर गरेको हुनुपर्छ। पैसा र पावरको छेकारो लगाएर चुनाव जिताउने प्रतिस्पर्धा चर्किरहेको थियो। नेता कार्यकर्ताहरु रक्सीमासुमा टिल्ल थिए। चुनाव प्रचार गर्ने गाडी घोडा लाइनका लाइन थिए। गरिब दलित बस्तीका भोट कस्ले किन्ने होड चलिरहेको थियो। यीनै दृष्यले होला तिमीलाई मैले त्यस दिन निकै अधीर देखेको थिए।
‘भारतको गल्ली धाउन अझै छोड्न सकिएन दाइ’ भन्ने तिम्रो वाक्यले मलाई अहिले पनि दुखाइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनाव थियो त्यो। हाम्रा नेतृत्वले संविधान जारी भइसकेपछि अब देश समृद्धि, स्थिरता र शान्तितिर छलाङ मारेको भाषण गर्दै थिए। देश नयाँ अध्यायमा प्रवेश गरिसकेको निकै चर्को बहस जारी नै थियो।
हिजोको द्वन्द्वरत माओवादी र एमालेको गठबन्धन भएर तीनै तहको संघीय संरचनामा करिब दुईतिहाइ मत पाए। अस्थिरताले गर्दा विकास र समृद्धि ल्याउन नसकिएको हो भन्ने मुखलाई जनमतले बुझो लगाइदियो। झापा विद्रोहबाट उदाएको एमाले र जनयुद्धबाट आएको माओवादी अहिले डबल नेकपामा रुपान्तरित भए। जसको नेतृत्वमा दुई तिहाइको बलियो सरकार चलिहरेकै छ।
चारैतिर समृद्धिको नारा घन्किरहेकै छ। अफसोच त्यो नाराले न तिम्रो हाम्रो गरिबीलाई छुन सक्यो न अरु नेपालीको। आठ महिना अघि मात्र तिम्रो बा थलिएर बितेको खबरले निकै मर्माहत भएको थिएँ। गत साल घर जाँदा उहाँको त्यो हृ्रष्टपुष्ट शरीर सुकेर आवाजविहीन हालतमा देख्दा म भक्कानिएको थिएँ। पछिल्लो समय उहाँ निराश भएर जाँडरक्सी धेरै खान थाल्नु भएको रै’छ।
गरिबीले पैदा गरेको पारिवारिक तनावले उहाँलाई गाल्दै गएछ। गाउँकै एउटा कुशल सिकर्मीलाई किन यो व्यवस्थाले यति कडा यातना दिएको होला? एकछिन फुर्सद नलिइकन काम गर्ने उहाँजस्ता परिश्रमी श्रमिकहरुको दर्दनाक वियोगान्तले मलाई पिरोलिरहन्छ। बाको शेखपछि तिमीलाई पनि निकै कठीन भएको हुँदो हो। त्यसैले भारतबाट जापानतिर हानिने सपना बुनेका रहेछौ।
एउटा कमजोर आर्थिक अवस्था भएको परिवारलाई जापानसम्म पुगेर श्रम गर्ने सपना देख्ने छुट पनि कहाँ छ र? ऋणधन गरेर आफन्तको सरसहयोग लिएर भएपनि जाने लक्ष्य लिएका रहेछौ। सिधैँ जान असम्भव भएपछि दुबई हुँदै जाने अवैधानिक बाटो रोजेका रहेछौ। सायद तिमीसँग जापान जानुको अरु विकल्प बाँकी थिएन।
बढ्दै गएको परिवार, चुलिँदै गएको ऋणको बोझले तिमीलाई थिच्दै गएको थियो होला। हाम्रा जंगल छेउका घरलाई एक्लै पारेर बेसी र सहरतिर बसाइसराइ गरेका यथार्थले तिमीलाई चिमोट्यो होला। घरैपिच्छेका मान्छेले विदेशमा गएर धन कमाएको कुराले तिमीलाई पनि लोभ्यायो होला। जोरीपारिका बालबच्चाहरु निजी स्कुलमा पढ्दै गरेको कुराले तिमीलाई छोयो होला।
आफ्नै साथी भाइहरुले राम्रै प्रगति गरिसक्दा आफू भने उही ठाउँमा रहिरहँदाको पीडाबोध भयो होला। यस्तै धेरै बाध्यता र थोरै रहरलाई साँचेर तिमी पर्देशीएको यथार्थ म सजिलै अन्दाज गर्न सक्छु।
हरेक प्रतिकुल परिस्थितिलाई अनुकूलतामा बदल्ने चाहना राख्दै तिमी संयुक्त अरब इमिरेट्सको दुबई पुगेका रहेछौ। जो होचो उसको मुखमा घोंचो भनेझैं तिमी त्यहाँ पुग्दानपुग्दै कोरानाले महामारीको रुप लिइसकेको थियो। संसारभरि कोरोनाबाट मान्छे संक्रमित हुने र मर्ने क्रम तीव्र भयो। सबै देशमा लकडाउन हुँदै जाँदा दुबईमा पनि लागु भयो।
कामदारहरुले काम गर्ने ठाउँ नै बन्द भएपछि तिमीमा पनि त्यसको नकरात्मक प्रभाव बढ्नु स्वभाविक थियो। एक्कासी बिरामी भएर हस्पीटल जाँदा भर्ना गर्न नमानेको त्यो अमानवीय अवस्था कति भयावह थियो होला? मैले अनुमान लगाउन पनि बढो कठीन भइरहेको छ। त्यो चर्को धुप, बिरानो मुलुक, बिमारको चाप अनि त्यसमाथि कोरोना महामारीको आतंकभित्र तिम्रो परान कठै कति गाह्रो गरी भयो होला!
यसै कल्पना गर्दा नै अत्यास लागेर आउँछ। असार ५ गतेको त्यो कालो दिनदेखि तिमीले अनन्तकालसम्मै हामीलाई छोडेर गइसक्यौ। अब हामीले जति चाहेर पनि तिम्रो त्यो भौतिक शरीरको न्यानो आलिंगन र स्पर्श कदापि पाउने छैनौँ। बाँकी छन् त केबल तिमीले छाडेर गएका यादहरु हाम्रो स्मृतिको मानसपटलमा।
महिनौसम्म पनि तिम्रो शव हामीले बुझ्न पाएनौँ। न त सदगत गर्ने परिस्थिति मिल्यो। दुबईबाट काठमाडौँ आउने जहाजका आगमन कक्षमा तिम्रो शवको जति नै प्रतिक्षा गरेपनि आइपुग्न सकेन। तिमीले फर्केर आउँदा धेरै चकलेट ल्याइदिन्छु भनेर भुलेका चिचिला बालबच्चाले पनि तिम्रो पार्थिव शरीरलाई अन्तिम चोटी हेर्न पाएनन्। जिल्लाबासी र धेरै दयालु मनहरुले गर्दा तिम्रो अन्तिम संस्कार बल्लतल्ल दुबईमै भएपनि गर्न सक्षम भयौँ।
बिचल्लीमा परेका ती बालबच्चा र परिवारलाई परोपकारी मनहरुले केही मल्हम लगाउने काम त भएको छ। तर तिम्रो भौतिक उपस्थितिको न्यानो मायाको सदैव अभाव खड्किरहने छ। त्यही जनयुद्धकालिन भीषण मोर्चाबाटै आएका नेता कार्यकर्ताले आज राज्यको बागडोर सम्हालिरहेका छन्। राजनीतिक क्रान्ति पूरा भएर अब आर्थिक क्रान्तिको युग आएको बहस बजारमा राम्रै बिकिरहेको छ।
न देशमा कलकारखाना न कुनै उद्योगधन्दा निर्माण भएका छन्। विदेशबाट रेमिट्यान्स ल्यायो अनि उपभोग्य उतैबाट आयातित सामाग्री किन्यो पैसा फेरि उतै फर्किरहेको छ। जनयुद्धका नेता कामरेडहरु संघीय राजधानीमा गज्जबका महल बनाइसकेका छन्। छोराछोरी विदेशी महंगा विश्वविद्यालयमा पढ्छन्। उनीहरु पटक-पटक विदेश सयर गर्न होडबाजी गरिरहन्छन्।
हिजो युद्धकालीन समयमा उनीहरुका प्रिय पात्र गरिब जनताका छोराछोरी थिए। आज ठूल्ठूला व्यवसायिक घरानियाहरुसँग उनीहरुको हिमचिम बढेको छ। सत्ता र शक्तिको लाभ लिनेमा आफन्त नातेदारहरु नै नजरमा बढी पर्न थालेका छन्।
आम जनताको दुःख बीसको उन्नाइस हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँको लाम वैदेशिक रोजगारीमा निस्कने क्रम अरु बढेको छ। परदेशमै हत्या, मृत्यु, मृत्युदण्ड पाएर कफिनमा बन्द भएर आउने क्रम पनि जारी छ। उतै सदगद् हुनेहरु पनि उत्तिकै छन्।
प्रिय सूर्य भाइ, तिमीलाई त्यो विकराल अवस्थाबाट बाहिर ल्याउन नसक्नुमा म आफै पनि असक्षम भएकोमा निकै गहिरो पीडाबोध भइरहेको छ। हामी जतिसुकै अश्रुधारामा डुबेपनि तिमीलाई फर्काउन अब कसरी सकौँला र? तिमी जस्तै नेपालीहरुको पराइभूमिमा यस्तो मरणको श्रंखला कहिले टुंगिएला? यस्तै प्रश्नै प्रश्नको बीचमा तिम्रो मृत्यूको खबर सुन्न अभिसप्त छु। अलविदा सूर्य भाइ!