कविता
तिमीलाई उज्यालो ज्योति
मन पर्दैन भने
जाऊ बस, अन्धकार
ओढारमा र गर मेलमिलाप
जंगली हिंस्रक बाघ, भालुहरुसँग
हुन त तिमी पनि कहाँ
मान्छे रह्यौ र?
जस्मा मानवताको लेस मात्र पनि
लक्षण छैन,
अनि तिमी पनि कम छैनौ
ती पशुहरुभन्दा
जस्ले मान्छेको मर्म, पीडा
बुझ्न नसकेर
पाशवीक अभिनय प्रदर्शन गरिरहेछ
र
हरपल आँसुको घुट्को
पिउन बाध्य बनाउँदै
सडक, गल्लीमा भौतारिन
मान्छेलाई विवश बनाएको छ।
यदि अँध्यारो कालो रात नै
तिमीलाई प्रिय लाग्छ भने
जाऊ खोस सगरमा पुगेर
जुनको उज्यालो
तिम्रो शाहस देखाएर,
तर
नखोस जनताको
घरको उज्यालो आभा
भोग्नु छैन जीवनभर जनताले
कालरात्रीको उकुसमुकुस पीडा
चाहे भोको पेट नै किन नहोस्?
दिन्छ शोभा,
उज्यालो किरणले मुस्काएको नै
सबैको झुपडीको कुनाकाप्चामा।
यदि तिमी अन्धकारप्रेमी हौ भने
देखाऊ तिम्रो पौरषता
औँशीको कालो रातलाई नै
हत्केलाले छेकेर,
र
चिच्याएर भन
हेर मेरो पौरषत्व
म प्रकृतिलाई नै चुनौती दिन सक्छु भनेर
नत्र
यतिका हुलका
आशाका किरणहरुमा
तिम्रो एक हत्केलाको केही सीप लाग्दैन
अब भन
अँध्यारोले उज्यालोलाई
कहाँ र कहिले जित्न सकेको छ?
चाहे मस्तिष्कको होस् वा मनको
अँध्यारो सधैँ कालरात्रीमा नै
परिभाषित हुन्छ
यसैले चाहिन्न कालरात्री अब
यान्त्रिक समयका मान्छेहरुलाई।