गाउँको एउटा सरकारी विद्यालयको गणित शिक्षक। मध्यम वर्गीय परिवारमा जन्मिएको उसको चाहना सानैदेखि शिक्षक हुनु नै थियो। सपना बन्नुको एउटै कारण, गाउँमा मान्य गुन्य शिक्षक नै हुन्थे। आफूलाई गणित पढाउने सरको प्रभावले नै ऊ शिक्षक बन्ने अठोटका साथ अगाडि बढेको थियो।
केही वर्ष पोखराको निजी विद्यालयमा पढाएको ऊ, अहिले गाउँको सरकारी विद्यालयमै आफ्नो २५ वर्षीय जवानी बिताउँदै छ। एकदिन स्कुलबाट घर फर्किदा अचम्मको घटना घट्यो। साँझको पाँच बजेको थियो क्यारे। घर फर्किने आधा बाटोमा एक असाध्यै राम्री केटी देख्यो। हुन त अरु दिनपनि नदेखेको हैन तर त्यो दिन के भयो, उसँग यसको उत्तर छैन।
ओहो! ऊ ठ्याक्क अडियो। पूरापूर एक सेकेन्डले उसको मन यति लोभ्याईदियो मानौँ, त्यो केटीसँग केटा लठ्याउने जादु छ। कहिलेकाहीँ एक सेकेन्डमै कोही मान्छे यति मन पर्छ जुन जिन्दगीभर यादगार रहन्छ। उ पारिसम्म पुग्ने बेरसम्म फर्की-फर्की हेर्यो। उसलाई मन छ नाम थाहा पाउन, फेसबुकमा बोल्न अनि साथी हुँदै जीवनसाथीसम्म पुग्ने।
'एक सेकेन्डमै भावनामा बगेर यति टाढाको कुरा नसोच यार,' साथी भन्छ।
साथीको कुरा वास्ता नै नगरी म थप्छु ‘मैले यदि उसलाई साथी बन्न अनुरोध गरेँ भने के भन्ली?’
‘ट्राइ गरेर हेरौँ न त’ साथीले जवाफ दियो।
गाउँको शिक्षकको चिनजान गाउँभर हुन्छ। नाम पत्ता लगाउन खासै गाह्रो परेन। नाम पत्ता लगाएपछि फेसबुकमा एड गरेँ। एउटा म्यासेज पनि गरेँ 'हेल्लो।' दिन बित्यो, महिना बित्यो तर न म्यासेज आयो न रिक्वेष्ट यसेप्ट नै भयो। आशा निराशामा बद्लिदै थियो।
एक दिन साँझ न्युज फिड हेर्दै थिएँ, म्यासेज आयो 'को हो हजुर?' डरले हात कापे, के भनौ के भनौ भए। तिम्रो पुरानो स्कुलको नयाँ शिक्षक भनौँ भने कति मातिएको मास्टर भन्ली भन्ने डर, नबौलौ उसँग बोल्ने अधिक प्यास मेटाउन मन छ। अठोट गरेँ, सप्पै दुधको दुध पानीको पानी बेलिविस्तार सुनाएँ।
उसले 'उम' रिप्लाई दिन्छे, मेरो रिप्लाई एक अनुच्छेद हुन्छ। 'कुरा सिद्धियो?' एउटा लामो म्यासेज गरी उसले। यसपालि मैले उम् रिप्लाई दिएँ। अरु केही सामन्य कुरा हुन थाले। खाना खायौ? के गर्दै? यस्तै यस्तै।
नराम्रो नसोच्नु नि मास्टर जि भन्दै भोलिबाट पनि बोल्दै गर्नु भन्दै म्यासेज गरेर ऊ अफ गइ। भोलिपल्ट आफै गुडमर्निङ म्यासेज गरेँ। यु टू रिप्लाइपछि दिनभर कुरा भएन। साँझमा बोल्ने मौका मिल्यो। दिनभरका कुरा सोधेँ, सामान्य कुरा भयो। अलि झ्यामिएको महशुस गरेँ। दुई चार किस्सा जिस्काईदिएँ पनि। खासै केही भनिन।
एकछिन मौन भयौँ, के भनौ के मलाई पनि आएन। त्यतिबैलै उताबाट म्यासेज आयो 'एउटा कुरा भनौँ?'
‘उम् भन न’ मैले रिप्लाइ दिएँ।
‘मलाई शिक्षक पेशा मनै पर्दैन नि’ उसले भनी।
मन खिन्न भयो। आफूले रोजेको पेशा, आफूले रोजेकी उसले त्यसोभन्दा नहोस् पनि कसरी!
‘किन?’ मैले सोधेँ।
उसले कारण थाहा छैन तर मलाई मन पर्दैन भनी।
‘कुन-कुन पेशा मन पर्दैन त,’ मैले पश्नपछि पश्न थपेँ।
‘आर्मी, पुलिस अनि शिक्षक’ शंकोच नमानी भनी।
‘ल भोलि बोलम्ला’ भन्दै अफ गइ। केही दिन पहिला एउटा कलेजको सेमिनारमा गएको थिएँ। त्यहाँ शिक्षक बन्न रुचि कसैले पनि नदेखाएको कारणले पनि यो प्रष्ट हुन्थ्यो, नयाँ पुस्ता शिक्षक मन पराउँदैनन्। यस्तै कुरा खेलाउदैमा कति बेला निदाएछु पत्तै भएन।
अर्को एकदिन 'म तिमीलाई औधि प्रेम गर्छु। के तिमी मेरो बन्न सक्छौ?' भनेर म्यासेज गरेँ। ऊ आत्तिदै भनी ‘म बाबा ममीले जसलाई दिनु हुन्छ, त्यहीसँग जानि हो।’
बोल्दै गरेको केटो मन परेन भने केटीहरुले दिने मिठो उत्तर यही हो। मन परो भने बुवाआमा, दाजुभाइ केही भन्दैनन्। मन परेन भने म मान्छु, बाबा-आमाको मन बुझाउनुस्, लानु्स। केटी यही भन्छन् र उसले पनि यही भनी।
आशाको सानो किरण मनमा पलायो। कमसेकम उसले त हुन्छ भनी, यदि बाबा-ममीले मान्नु भयो भने। एकदिन नजिकैको सरलाई उसको घरमा हात माग्न पठाएँ। केटो के गर्छ, उसको बाले सोधेछन्।
'यही स्कुलको गणित शिक्षक हुन् केटा' सरले भन्नु भएछ। ‘ए मेरो यत्रो पढेकी छोरी जाबा मास्टरलाई दिनी’ बुढा रन्केछन्। सरले थप्नु भएछ ‘नानीसँग चिनजान रैछ। मन पराउनु हुँदो रहेछ। कुरा पुराउन आएको भन्दै निरास भएर सर फर्किनु भएछ।
'जाबा मास्टर' यो शब्दले मन अमिलो भयो, मन भक्कानियो, अरु के के भयो के के। दिउँसै अँध्यारो भयो। भुइँमा थचक्क बसेँ, खल्तिबाट मोबाइल झिकेँ। यसो हेरेको, उसको म्यासेज आएछ।
छोरीलाई बुढाले थर्काएछन् क्यारे, एउटा लामो म्यासेजको लास्टमा 'सरि' भन्दै मेरो फेसबुकमा म्याासेज आएछ। म्यासेज गरेर ब्लक ठोकिछ। सायद उसलाई ठूलो आपत नै परेछ क्यारे।
पढाइको धाक लगाउने बुढाको छोरीलाई म जस्तै अर्को 'जाबा' ले मरि-मरि पढाएर जान्नि बनाएको थियो। खै किन बुझनन् उनले, सायद शिक्षक नभएको भए मेरी छोरी यहाँ पुग्दैनथी भनेर। हजुरका छोरी जस्तै कयौँ छोरीलाई भविष्यको बाटो देखाउँछु म। जाबा भन्न नछोड्नु ल।