मलाई राजकुमार हिरानीद्वारा निर्देशित फिल्म खुब मन पर्छ। फिल्ममा देखाइएका परिदृष्यमा कहिलेकाहीँ आफू पनि अभिनय गरिरहेको छु जस्तो लाग्छ।
जब म काठमाडौंको व्यस्त सडकमा दौडिरहेको हुन्छु। तब ‘थ्री इडिएट्स’ को भाइरसले भनेको एउटा वाक्यांश सधैं दिमागमा घुमिरहन्छ – ‘लाइफ इज अ रेस .......’ नेपालीमा भन्नु पर्दा ‘जीवन एक दौड हो।’
चैत १० गतेसम्म दौड कायमै थियो। एथ्लेक्टिसको ट्रयाकको दौड होइन, समयसँग जीवनको दौड हो।
बिहानदेखि साँझसम्म जीवन जिउने नाममा दौडिने दौड हो। यो दौडमा दुई पाङ्ग्रे मोटर साइकलदेखि सोह्र पाङ्ग्रे हेब्वी ट्रकसम्म, फलफूल बेच्ने थोत्रा साइकलदेखि मन्त्री चढ्ने चिल्ला कारसम्म, हावा फुस्केका ठेलादेखि हावाजस्तै कुड्ने टिपरसम्म, असन बजारमा कोचिएर हिँड्ने बटुवादेखि सिंहदरबार भित्र छिर्ने झण्डावाल गाडीसम्म।
सबै दौडेकै भटिन्छन्। यही भीडमा म पनि दौडिरहन्छु। जब बिहानको ९ बज्छ। मेरा लागि ‘रेडिसेडी गो’ भनेझैं हुन्छ।
म हतारिँदै बाइक स्टार्ट गर्छु। मेरो दौडमा कक्षा ४ पढ्ने छोरा र कक्षा ११ पढ्ने छोरी पनि सहभागी हुन्छन्।
कीर्तिपुर इटागोल हाम्रो दौडको प्रस्थान बिन्दु हो। प्रस्थान बिन्दु गहिरो खाल्डोमा छ। सुरूमै घुमाउरो कच्ची ग्राभेलको उकालो त्यसपछि बैष्णवी मन्दिर, चोभार गेटको ओरालो त्यसपछि ल्याब स्कुलको गेट।
यी स्थान भएर पहिलो चरणको बाटो सुरू हुन्छ। एक सासमै कुदेर हामी स्कुल गेटमा रोकिन्छौं। ज्यानभन्दा भारी ब्याग उचाल्दै छोरो उत्रिन्छ। अरु विद्यार्थीको दौडमा ऊ मिसिन्छ।
यसपछि स्पिडोमिटरको सुई बढ्दै जान्छ। ९:२५ भित्र कलेज गेट छिरी सक्नुपर्ने कलेजको नियम। यो नियम पालना गर्न कुनै दिन ट्राफिक नियम पनि उल्लंघन गर्दै दौडिनु पर्छ।
टेकु र त्रिपुरेश्वरको ट्राफिक जामले छोरीलाई अधैर्य बनाउँछ। म भने धैर्य गर्दै माइतीघर मण्डला एक फन्को लाउँछु र साइड लाइट बालेर रोक्छु। छोरी हत्तपत्त उत्रिन्छिन्। घाँटीमा सेन्टजेभियर्सको आइडी भिरेका र बिना पोशाकमा कलेज दौडिएका जेभिरियनको हुलमा उनी मिसिन्छिन्। बच्चाहरूलाई स्कुल छाडेपछि मन हलुका हुन्छ।
बाइकलाई भारी हलुका हुन्छ। मन हलुका भएर दौडनको मज्जा अलग्गै हुन्छ। त्यसपछि म आफ्नै पारामा सातदोबाटोसम्म पुग्छु। गोदावरी जाने बाटोमा करिब १ किलोमिटर गुडेपछि बाँया मोड्छु। रातो टिनको छाना भएको तीन तले भवनभित्र छिर्छु र दिनभरि यहीँ बस्छु।
बाहिरैबाट केमिकलको गन्ध आउने भवनमा यसरी बसेको १४ वर्ष पूरा भएछ। रामायणमा पढेको – ‘चौध वर्ष रामले वनबास पो बिताए।’ मैले भने चौध वर्ष जागिरेबास बिताएँ।
काठमाडौंको डेरा बसाइँ मलाई साँच्चै नै वनबासजस्तै लाग्छ। अफिस छुट्ने र कलेज बिदा हुने समय करिब–करिब एउटै जुरेको छ। साँझ फर्किंदा हाम्रो दौडको गति निस्फिक्री हुन्छ।
समयको पावन्दी नहुँदा हामी बेफिक्री बल्खु तरकारी बजार फन्को मार्छौं। प्लास्टिकको पोकाको भारी थाप्छौं। चोभार उकालोको चिसो हावा खान्छौं। ओरालो झरेर चिटिक्क करेसाबारी भएको घरको गेट खोल्छौं। त्यसपछि कोठा पुगेर भारी बिसाउँछौं। यसरी एक दिनको दौडाइ पूरा गर्छौं।
वर्षौंदेखि चलिआएको मेरो तालिका चैत ११ देखि एकाएक बन्द भयो। सरकारले लकडाउन घोषणा गर्यो। पहिलो पटक सुनेको लकडाउन शब्दावलीले स्कुल कलेजको गेट डाउन, पसलहरूको सटर डाउन, गाडीहरूको ब्रेक डाउन, सहर बजारको कोलाहल र प्रदूषण पनि डाउन भयो।
हुँदाहुँदा मान्छेको आवाज पनि डाउन हुन लाग्यो। मान्छेको जीवन नै डाउन गराउने भाइसरको बारेमा भने मैले पुस/माघतिरै चर्को स्वरमा उनीबाट सुनेको थिएँ –
‘मास्क खै ? कोरोना भाइरस फैलिँदैछ रे’
‘ह्या मम्मी! सामान्य रुघाखोकी हो रे कोरोना।’ किताब मिलाउँदै छोरीले भनिन्।
‘बच्चाहरूलाई कम लाग्छ रे हो मम्मी?’ छोरोले आफू बच्चा भएकोमा कम जोखिम ठान्यो।
‘वयस्कहरूलाई पनि लाग्दैन रे मैले पनि सुनेको।’ मैले पनि आफ्नो बचाउ गर्दै भनें।
‘आफैं जान्नेहरू! धेरै हेलचेक्र्याइँ चाहिँ नगर्नु है’ उनी फटफटाइन्।
‘आत्तिहाल्नुपर्ने अवस्था छैन। धेरै डराउनु पनि पर्दैन’ । मास्क लगाउँदै मैले सम्झाएँ।
त्यतिखेर डराउनु पर्दैन भनेर मैले भनेको थिएँ। माघ फागुन बित्दै जाँदा अन्य देशमा फैलिँदै गएको कोरोनाको तथ्यांकले मनमनै डरको बिउ रोप्यो।
सामाजिक सञ्जालम पाइने कोरोनासम्बन्धी समाचारले डरको बिउ अंकुरण हुन मद्दत गर्यो। कोरोना डरसँगै सामाजिक डरले पनि जरा गाड्यो। लकडाउन भएको हप्ता दिन पनि भएको थिएन घाँटी खसखस भयो। राति सुत्ने बेला कागती टोकें। कागतीको अमिलोले खसखसलाई जित्यो। बिहान उठ्दा जिउ भारी लाग्यो। थकान पनि महशुस भयो। मनमा रोपिएको डरको बिउ टुसाउन यिनै तत्वहरूले मलजल गरे।
आफैंलाई शंकाको घेरामा हालें। शंका गर्नुका तीन वटा कारण थिए।
पहिलो– ट्राभल हिस्ट्री, दोस्रो जनसम्पर्क, र तेस्रो कोरोनाको इनक्यूबेसन पिरियड।
चैतको पहिलो साता धनगढीको सम्मको यात्रा थियो। कार्यालय विस्तार हुने क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलगायत थुप्रै सरकारी कर्मचारीसँग समन्वय गर्दा धेरै जनासँग सम्पर्कमा बस्नु पर्यो।
यात्रा पछिको ठिक १४ दिन पनि घाँटी सुख्खा भयो। छाती पनि गह्रुंगो लाग्यो। त्यही रातबाट आफूलाई अलग्गै कोठाभित्र राखें।
राति सुत्ने बेला ज्वरो नापें। काखीमा च्यापिएको थर्मोमिटरमा ९७.२० डिग्री अंकले टि..टी आवाज निकाल्यो। बेडमा पल्टिएँ। निन्द्रा लागेन। मनमा कोरोना भाइरसले ठूलो हुरी बतास ल्यायो। १४ दिनको अवधिमा के–के गरे ? को–को सँग भेटे ? सावधानी अपनाउन कहाँ कहाँ चुके ? अनेकौं प्रश्नहरू वर्खे भेलझैं उर्लिन थाले।
लामो सुस्केरा हाल्दै आफूलाई ट्रेसिङ गरें। १ हप्ते धनगढी बसाइँको क्रममा भेटेका व्यक्तिहरूको लामो सूची तयार भयो। आफन्त र साथी भाइहरू यो सूचीमा थपिँदै गए।
ट्रेसिङ सकिएपछि कहाँ र कसरी भन्ने प्रश्नहरू ओइरिन थाले। सम्भावित असावधानी खोतल्न सुरू गरें। श्री एयरलाइन्सको जहाज काठमाडौंबाट धनगढी प्रस्थान गर्दा यात्रुहरूले भरिएको थियो। त्यसमा गोरा पर्यटकहरू पनि थिए।
त्यति बेलासम्म नेपालमा जम्मा २ जना संक्रमितको अवस्था थियो। त्यही भएर नेपालीहरूभन्दा विदेशी नागरिकप्रति मेरो शंका उब्जियो।
एयर होस्टेसले चकलेट र बदामसँगै मिठो मुस्कान पनि दिएकी थिइन्। अहिले सम्झिँदा त्यो मुस्कान अमिलो भएर आयो।
अब निदाउनु पर्छ भनी आँखा चिम्म पारें। पल्टिनुअघि मनतातो पानीले। साँझको खानामा च्याउको तरकारी थियो। च्याउझैं टोपी भएका एकहुल कोरोना भाइरस मेरो नाकभित्र पसे। केएन–९५ मास्कले छेक्न नसकेको भाइरसलाई नाकमा पलाएका रौंले के छेक्न सक्थे र!
विना रोकतोक ती भाइरसहरू घाँटीसम्म पुगे। घाँटी क्लिक क्लिक भयो। सायद भाइरसमा विभाजन प्रक्रिया सुरू भयो।
एटमबमको न्यूक्लियर फिसनजस्तै विभाजन। एकाएक घाँटीमा करोडौं भाइरस जम्मा भए। सास लिँदा केही शरीरभित्र लागे। सास फेर्दा केही बाहिर निस्कन खोज्न थाले। एकहुल भाइरस स्वास नलीको खुला बाटो भएर दुवै फोक्सोतिर लम्के। फोक्सोमा डेरा जमाएपछि ज्यानै जोखिममा पर्ने पढेको थिएँ।
ज्यानको चिन्ता लागेर आयो। मेरो भावना रगतमा भएको डब्लुबिसीले बुझेछन् क्यारे। ज्यान जोगाउनको लागि भाइरसविरूद्ध धावा बोलेछन्। शरीरभित्र युद्ध सुरू भयो। युद्धमा दुवै पक्षलाई जित चाहिएको छ।
मेरो शरीर त्यति सजिलै हार मान्ने पक्षमा छैन। विश्वलाई कब्जा गर्दै गरेको भाइरस पनि हार मान्ने पक्षमा छैन। मैले प्रहार गरेका अस्त्रहरू लिपिडबाट बनेको बोसे भाइरसले सजिलै निस्तेज पार्न थाल्यो। म थकित हुँदै गएँ ऊ झन् आक्रामक बन्दै गयो। उसको स्वरूप यमराज जस्तै भयो र यमराजझैं गर्जियो –
‘कोरोनाको बारेमा वल्डोमिटर हेर्याछस् ?’
‘दिनदिनै हेर्छु हजुर।’ स्याँ स्याँ गर्दै मैले भनें।
‘मृत्युदर थाहा होला नि ?’
‘४ प्रतिशत’ मैले फ्याट्टै भनें।
‘यी चार मध्ये तँ पनि एक होस्’ भन्दै भाइरसले अन्तिम अस्त्र प्रहार गर्यो। उसको प्रहार मैले सहन सकिनँ। म झसंग ब्युँझिएँ। सपना पो रहेछ।
सपनामा आएको यमराज रूपी भाइरसले विपनामा मेरो बानी नै परिवर्तन गरायो। बस्दा कोरोना, हिँड्दा कोरोना, सुत्दा कोरोना जहीँतहीँ कोरोनै कोरोना।
बजार जाँदा तरकारी पसलमा कोरोना, मासु पलसमा कोरोना, फलफूल पसलमा कोरोना, औषधि पसलमा कोरोना, अस्पतालमा त झन् कोरोनै कोरोना। घर फर्किंदा गेटको हेन्डिलमा कोरोना, ढोकाको चुकुलमा कोरोना, भान्साको धारामा कोरोना, बाथरूमको फर्समा कोरोना। यसरी तन र मन कोरोनाले चोरेपछि म टोलाउन थालें।
‘प्रेमिका हो कि साली हो त्यो कोरोना ?’ श्रीमतीले हकारिन्।
‘कति सम्झिन सक्या हो ?’ ‘कतै बाहिर गएर मन डुलाउनु नि’।
मन डुलाउन बाहिर निस्कें। सँगसँगै छोराछोरी पनि निस्किए। लकडाउन भएको करिब २ हप्तापछि हुप्पी ल्याण्ड नजिकको प्लटिङमा पुग्यौं। वातावरण शान्त थियो। बच्चाहरू सुनसान प्लटिङको सडकमा दौडिन थाले। पिँजडाजस्तो लाग्ने कोठाबाट बाहिर निस्कँदा बच्चाहरू खुला आकासमा उडेझैं गर्न थाले।
म अग्लो ठाउँमा बसेर हुप्पी ल्याण्ड नियाल्न थालें। गर्मीयाममा हुप्पी ल्याण्डको रौनक उल्लासमय हुन्छ। अहिले भने त्यो रौनकता फेरिएको देखें। स्थिर जीपलाइनमा एक हुल कोरोना भाइरसमाथि उक्ले। अग्लो टावरबाट हा हा र हु हु गर्दै डोरीमा झुण्डिएर हुँइकिए।
रंगीविरंगी गोलाकार अर्को भाइरसको हुल वाटर पार्कमा उक्लियो। मान्छे चिप्लिने वाटर पार्कमा भाइरसहरू गुडुल्किन थाले। जुरासिक सफारीमा कोरोनाकै सफारी थियो। हुप्पी ल्याण्डमा कोरोना भाइरसले विजय उत्सव मनाएझैं गर्दै थिए। मानव जातिलाई जितेको नारा लगाउँदै थिए।
‘बा बा के सोच्दै हुनुहुन्छ ?’
पछाडिबाट छोरीको आवाज आयो, म झसंग भएँ। मेरो ध्यान भंग भयो।
केही दिनअघि खसखस भएको मेरो घाँटी अहिले आएर केही अड्के जस्तो लाग्न थाल्यो। छाती पनि पोल्न थाल्यो। अस्पताल जान डर लाग्ने, अस्पतालबाट फर्किंदा घरबेटीले सोध्लान् भन्ने डर। तरकारी किन्ने निहुँमा एक दिन कीर्तिपुर अस्पताल पुगें।
थर्मल गनले ज्वरो नापेपछि मात्र भित्र प्रवेश दिइयो। इमर्जेन्सी वार्डमा आफ्नो समस्या बताएँ।
‘कोरोनाको बारेमा धेरै नसोच्नुस् है।’
डाक्टरले केही एन्टिबायोटिक्स र ग्यास्ट्रिकको औषधि थमाएर घर पठाए। लकडाउन भएको ३ हप्तासम्म मैले चारथरि औषधि पसलेका खुराकहरू सुरू गरें।
औषधिले काम गरेन जस्तो लाग्यो। मलाई कोरोना जँचाउन मन लाग्यो। यदि पोजेटिभ भयो भने – घरमा एम्बुलेन्स आउला। वरिपरिका छिमेकीले थाहा पाउलान्। कन्ट्याक्ट ट्रेसिङ होला। घरमा बस्ने सबैको टेस्ट गर्नुपर्ला। घरबेटीले के सोच्लान्। सँगै सुत्ने श्रीमतीलाई पनि पक्कै पोजेटिभ होला।
आमा-बुवा कोभिड अस्पतालमा, बच्चाहरू कसरी बस्लान्। उपचार नभएको रोगले च्याप्दै जाँदा के हामी कोरोनालाई जितौंला ? यदि हार्यौं भने ...।
त्यसपछिको अवस्था सम्झिँदा उल्टी आउला जस्तो भयो। त्यो रात शरीरको तापक्रम बढेको थिएन। तर डरको तापक्रम उच्च बिन्दुमा पुगेको थियो। डर बढ्दै जाँदा घरको याद आउन थाल्यो। सानो छँदा डराउँदा घरमै लुक्थें। कोरोनाको डरले मलाई आफ्नै घरमा लुक्न मन लाग्यो। वैशाख १४ गते रातारात धनगढी फर्किने निर्णय गरें।
१५ गते नगरपालिकाले सिफारिस बनाइदिएको बसमा करिब ७ सय किलोमिटरको यात्रा सुरू गरें। सिटभन्दा बढी यात्रुको
भीडले ‘भौतिक दूरी कायम गरौं’ भन्ने सन्देशलाई हामीले कुल्चियौं।
मास्क र सेनिटाइजरले कति सुरक्षा गरे, यी कुरा पशुपतिनाथले जानुन्। करिब २० घण्टाको दौडाइपछि अन्ततः हामी ४ जनाको परिवार धनगढी पुग्यौं।
काठमाडौंको बसाइँभन्दा आफ्नो घरको बसाइँ फराकिलो भयो। होम क्वारेन्टिनको नाउँमा घर बाहिर निस्किएनौं। कोरोनालाई बिर्सिने नाममा बारीमा व्यस्त हुन थालें। साँझ बिहान करेसा बारीमा बित्थ्यो। बाँकी समय उही सामाजिक सञ्जालको समाचार, वल्डोमिटरको पेज खोतल्नु एक किसिमको लत बस्यो।
वल्डोमिटरको ग्राफ दिन दुई गुणा, रात चार गुणाले बढिरहेको थियो। पहेंलो रंगले हाइलाइट गरेको दैनिक संक्रमितको संख्या र रातो रंगले हाइलाइटको दैनिक मृत्यु संख्याले मन विचलित हुन्थ्यो।
विचलित मनमा घ्यू थप्ने काम धनगढीकै गौरीफन्टा नाकाको समाचारले गर्थ्यो। त्यतिखेर दैनिक १०–१२ हजार नेपाली दाजुभाइ स्वदेश भित्रिँदै थिए सदरमुकाम धनगढी मात्र होइन, सुदूरपश्चिम प्रदेश नै उच्च जोखिम भनि सरकारले घोषणा गर्यो।
५ किलोमिटर दूरीमा रहेको गौरीफन्टा नाकाले गर्दा मेरो आँगन मलाई असुरक्षित लाग्न थाल्यो। त्यसपछि पुरानै समस्या बल्झियो।
कोभिड–१९ को जुनजुन लक्षण सुन्यौं आफूलाई त्यस्तै त्यस्तै भएको आभास हुन थाल्यो। यसबाट मुक्ति पाउन एउटा निजी क्लिनिकमा डाक्टरलाई भेट्न पुगें। डाक्टर सेती प्रदेशिक अस्पतालमा कार्यरत साइक्र्याटिक्स पनि रहेछन्। डाक्टरले प्रश्न गर्नु अगावै मैले आफ्नो सारा समस्या बताएँ।
लकडाउन भएको १ महिनाको डायरी पल्टाएर देखाएँ। उनले केही जाँचका लागि रगत पठाए। रिपोर्ट लिएर अर्को दिन आउन भने।
अर्को दिन डाक्टरले मेरो आनीबानी र रिपोर्ट हेरिसकेपछि औषधिहरू लेखे। मेरो आँखा एन्टिडिप्रेसन औषधिमा पर्यो।
अत्तालिँदै मैले सोधे -‘मलाई डिप्रेसन भएको हो डाक्टर साब ?’
‘तपाईंलाई फोबिया भएको हो,’ उनले हाँस्दै भने।
‘फोबिया!’ मैले उच्चारण गरें।
‘कोरोना फोबिया’ भन्दै डाक्टरले औषधिको पर्चा थमाए।