महेश गाउँमा हुर्के बढेको। क्याम्पस पढ्न सहर छिरेको एक पात्र। सहरीया संस्कृति उसका लागि नयाँ थियो। तथापि सहरका केटाकेटीका बारेमा महेश अनभिज्ञ थिएन। आधुनिक शैलीको प्रेमका बारे जानकार थियो। बुझेको थियो।
कुनै पनि सवालमा सहरमा पैसाको महत्व हुन्छ। त्यसको अपवाद प्रेम रहन सक्ने सवाल भएन। धेरैजसोको प्रेम त्यही पैसा र स्वार्थमा टिकेको हुन्छ। प्रेम र स्वार्थ परिपूरकका रुपमा रहेका हुन्छन्। सँच्चा प्रेमीहरुको संख्या सारै कम हुन्छ। यसरी पैसा र स्वार्थका आधारमा गाँसिएका मायाका गाँठाहरुको अन्त्य पनि त्यसकै कारण हुन्छ। दिगो हुँदैन। महेशसँग प्रेम गर्ने न त पैसा थियो, न त सहर बजारमा घर नै।
प्रेमका बारेमा जानकार भएपनि यथार्थमा ऊ हालसम्म कसैसँग प्रेममा परेको थिएन। अन्य मामलामा खरो रुपमा उत्रने ऊ केटी दखेपछि बोल्नै नसक्ने खालको थियो। भनिन्छ, केटी लजालु हुन्छन्। तर ऊ केटीभन्दा बढी लजालु स्वाभावको थियो। मायापिरतीका सन्दर्भमा उसको व्यक्तिगत बानी विचित्रकै थियो।
यतिसम्म की बाटोमा हिड्दा समेत समकक्षी उमेर जस्ता लाग्ने केटीदेखि दूरी कायम गरेर खुट्टा चाल्ने बानी थियो उसको। स्कुल पढ्दा त लभ भन्ने कुन चराको नाम हो, थाहा नै पाउन सकेन उसले। आफ्नै गाउँठाउँमा त केटी देखे तर्सने, त्यसमाथि नयाँ ठाउँमा त झनै केटी नाम नै उसका लागि काफी हुन्थ्यो।
तर परिस्थिति सधैँ उही र उस्तै कहाँ रहदो रहेछ र? केटीसँग जति नै डरपोक भए पनि वैश आएपछि के लाग्दो रहेछ र? आइए पढ्दासम्म इच्छा भएपनि त्यति लभ गर्न भेउ नपाएको उसले जब स्नातक तहको अध्ययनमा खुट्टा टेकेको थियो, तब अन्जानमै केटीहरु प्रति आकर्षित हुँदै गयो।
हिजोका दिनमा केटी त के छायाँ समेत देख्दा तर्सनेले आज अवसर मिल्दा सम्बन्ध बढाउन खोज्थ्यो। कतिपयलाई भेटेरै त कतिपयलाई फोनबाट प्रस्ताव राख्यो। उसका धेरै प्रेम प्रस्तावहरु बेवारिसे बने। जेसुकै भएपनि प्रेमका अफरहरु उस्ले विभिन्न माध्यामबाट बाड्दै नै रह्यो। प्राकृतिक कुरालाई अन्यथा रुपमा लिन भएन भन्ने सोच उसमा थियो नै। जे चिजको पनि ठीक समय आउनु अनिवार्य रहेछ भनेर बुझौँ।
सहर तिरै रमाउदा एकदिन नजिकैको चिया दोकानमा पुग्यो। त्यहाँ एउटा केटीसँग उस्ले अनायस बोल्ने मौका पायो। पसले दाइले ल्याएको मात्र एक कप चियाको निहुँमा।
'यो तपाईको चियाको कप होइन?' सङ्कोच मान्दै बडो मलिन स्वरले उसले शब्द बिसायो।
'चियाको कपमा नाम लेख्या छ र?' केटीको प्रतिउत्तर अलिक कडै रुपमा आयो।
'हैन हैन, एक कप चिया अनि हामी दुई जना देखेर मात्र तपाईलाई जिज्ञासा राखेको। अन्यथा नलिनुहोला' गेम हारेको टिमको कोच जस्तो स्वरमा उसले पुनः थप्यो।
वास्तवमा चुपचाप रहेका दुई पात्रबीचको आइसब्रेकरका रुपमा चियाको प्रसंग आयो। कुराकानी गर्नै निहुँमै उसले हठात् सो प्रसंग जोडेको थियो। तर खासै राम्रो सुरुआती प्रतिक्रिया नआउँदा ऊ आलस्य भयो। कम्तिमा पनि प्रतिउत्तर समयमै आएकाले ऊ आशावादी थियो। दोकानदार दाइ अर्को कप चिया बनाउन लागे।
केही क्षणको शून्यता तोड्दै उनले अलिक ढाडस दिने गरी केही वाक्य थपिन् 'मेरो मतलब, मतलब चिया जसले पिए पनि हुन्छ भनेकी। तैपनि अर्को आइहाल्छ। यो जस्ले पिउदा पनि हुन्छ....।' उनको बोली टक्क रोकियो।
ऊ बल्ल तङ्ग्रियो। सामिप्यता बढेझैँ लागेर उसले थप्यो 'बाइ द ओए तपाईको नाम के होला? कहाँ बस्नुहुन्छ?'
त्यस प्रश्नको उत्तर भने उनले दिइहालिन् 'म शिला, अनि मेरो घर स्याङजा तिर हो। अहिले हामी भक्तपुरमा बस्छौँ।'
'ए उता तिर पो रहेछ' बोल्ने निहुँमा उसले प्रश्नहरु थप्दै भन्यो। केटा अब उच्छेली सुरु हुनेमा विश्वस्त भयो। त्यसैबीचमा उसले आफ्नो परिचय पनि दियो। उसलाई कहिल्यै एकछिनको छलकपट मन पर्दैनथ्यो। त्यसैले आफू गाउँबाट सहर आएर हाल आफन्तकोमा बसी पढ्ने गरेको कुरा प्रष्ट बतायो।
क्याम्पसका दिनचर्याका बारेमा पनि एक दुई कुरा बिसायो। राजनीतिको सवाल त ऊ बोलेपछि नआउने कुरै भएन। क्याम्पस इकाइ कमिटी सचिव भएर राजनीतिमा सक्रिय रहेको कुरा बतायो।
अर्को कपको पर्खाइमा अघि ल्याएको चियामा तर लागिसकेको थियो। अर्को कप आयो। अनि दुवै जना चियाका चुस्किका साथ गफगाफमा लागे। बिहानको मौसम। चिसो वातवरण। अनि तातो चियाको चुस्कि। साथमा पहिलोपटक भेट भएर गफिएको एक जोडी। बस् यत्ति भएपछि उनीहरुलाई तत्काललाई के नै चाहियो र? चिया पसलको बेन्चमा आमनेसामने रहेका उनीहरु दुवैको भाव जिज्ञासु देखिन्थ्यो। उनीहरुमा बभुत्सा जागेको थियो।
'कति कक्षामा पढ्नुहुन्छ नि तपाई?' केटीले प्रश्न थपिन्।
केटाले उत्तर दियो 'म बिए प्रथम वर्ष अध्ययन गर्दैछु।' साथसाथै उनको पढाइका बारे पनि जान्ने चाहना व्यक्त गर्यो।
'म कक्षा बाह्रमा' उनले भनिन्।
'ए, नौ पो बजिसकेछ। म कहीँ जानुपर्ने थियो। गफैगफमा भुसुक्कै बिर्सेछु' केटीले आफूलाई अलिक हतार भएको अभिव्यक्ति दिइन्।
उसले चाहेर पनि थप कुराकानी गर्न सकेन। तर मोबाइल नम्बर साटासाट गर्न भ्यायो। बस्, अब सम्पर्क गर्न परे चिया पसल वा कतै धाईरहन परेन।
छुट्टिदै गर्दा उसले अलिकति थपिहाल्यो 'भौतिक भेटघाटको समय नमिल्न सक्छ। तथापि फोनसोनमा भेट भइरहन पर्छ है। हतारमा भएको मानिसलाई अहिले रोक्न भएन। पछि समय मिलाउनु पर्छ है भेटभाटको लागि?'
फिस्स हाँस्दै उनी बिदा भइन्। अनिच्छापूर्वक ऊ पनि आफ्नो घरतर्फ लाग्यो।
कैँयन केटीहरु उस्लाई गाउँको पाखे सम्झन्थे। असभ्य बुझ्थे। गाउँबाट आएको गँवार ठान्थे। घर न घाटको जोगीनै जस्तो ठान्थे। भौतिकवादीहरु उसको मुटु नै छैन कि झैँ गरी व्यवहार गर्थे। जसका कारण बोल्नसम्म पनि पैसा पर्ला झैँ गर्थे केटीहरु। क्याम्पसका विगत दुई वर्ष पनि साथीहरुका लभ अफियरका कहानी सुन्दा सुन्दै बित्यो। अब त जीवनभर कसैले पत्याउदैनन् होला भन्ने निष्कर्षमा पुगको थियो ऊ।
त्यसदिन संयोगबस चौडा छाती भएकी एउटी केटीसँग उसको भेट भयो। सुन्दरी, सारै मिलेको जीउडाल भएकी। योजना विहीन तरिकाले। महेशका कुरालाई सकारात्मक रुपमा लिइन्। भविष्यमा समेत भेट हुने इत्यादी कुराहरुलाई मौन समर्थन गरिन्। समग्रमा उनीहरुको पहिलो भेट पनि फलदायी नै रह्यो।
त्यसदिन उनीसँग छुटेर घर आएदेखि ऊ उनकै कल्पनामा डुब्न थाल्यो। जे काम गर्न थाले पनि झलस्स उनकै आकृति। उही पहिलो भेटको सम्झना। उनकै बोलीको झझल्को। उनको हाउभाउको कल्पना। एकातिर कलेजमा राजनीतिक संगठन विस्तारमा समय दिनुपर्ने थियो, अर्कोतिर उनको मायाले उ पागल नै भएको थियो।
राजनीति छाड्न पनि भएन। उनलाई त्याग्ने त कुरै भएन। उनको ऊप्रतिको दृष्टिकोणबारे केही थाहा छैन। मायाका बारेमा त पत्तो हुने कुरै भएन। तथापि ऊ उनलाई पाउने आशमा लागिपरेको थियो।
केही महिना बित्दा समेत दोस्रो भेटको कुनै संयोग मिलेन। न त फोन नै भएको छ। जे पर्छ पर्छ भनेर पहिलोपटक फोन गर्यो। सामान्य कुराकानी भयो। एक मनले भेट्न बोलाउने सोच्यो। तर सकेन। कसरी प्रेम प्रस्ताव गर्ने? कसरी आगामी दिनमा अगाडि बढ्ने भन्ने दोधारमा पर्यो।
एकदिन उसले उनलाई भेट्ने आशमा उनी हिडिरहने उही पुरानो ठाँउ चिया पसलमा पुग्छ। संयोग पनि कस्तो मिलेछ भने उनी पनि कहीँ बाहिरबाट घरतर्फ जाँदै रहिछन। दोस्रो भेट पनि अचानक र बिना योजना नै भयो। दुवैले एक-अर्कालाई चिनिहाले।
केटोले अलि अनौपचारिक बन्दै सोध्यो 'तिमी कहाँ गएर फर्केको?' ऊ नजिक हुन आदरार्थी शब्दलाई त्यागेर ‘तिमी’ प्रयोग गर्यो।
'ट्यूसन क्लास गएर आएको' उनले उत्तर दिइन्।
भेट भएको केही महिना भएको थियो। फोन र म्यासेन्जरमा सामान्य कुराकानी भइरहन्थ्यो। तर प्रत्यक्ष भेट भने यो दोस्रो थियो। त्यसकारण पनि उनमा अझै खुलेर बोल्ने आँट आएको थिएन।
केटो यसो घोत्लियो, गम्यो र प्रेम प्रस्ताव राख्ने आँट गर्यो।
'लभ अफियरका विषयमा तपाईको धारणा के छ?'
'यो प्राकृतिक विषय हो।' केटीले प्वाक्क उत्तर दिइहालिन्।
केटो अझ उत्तेजित हुँदै पुनः थपिहाल्यो 'त्यसो भए म तपाईलाई मन पराउछु। यसले तपाईको मनमा आहत त पुर्याउदैन नि?'
यो यक्ष प्रश्नले उनी अलिक भावुक, लजालु भइन्। बोल्न सकिनन्। सोचमग्न बनिन्। उस्लाई पनि चाहिदोभन्दा अलिक बढी नै बोलेजस्तो लाग्यो।
त्यतिकैमा उनले हाँस्दै जवाफ दिइन् 'तपाईको विचारमा मैले विमति राख्दिनँ।' केटोले लामो श्वास लियो। हाइ काड्यो। झण्डै गाल पाउनबाट बचियो भनेर मनमनै सोच्यो। त्यसपछि उनलाई अँगालोमा लियो र उनीहरु एकअर्का प्रति मायामा समर्पित भएको भाव व्यक्त गरे।
त्यपछि भेटघाट बढ्न थाल्यो। कहिले कहाँ, कहिले कहाँ। अब उनीहरु एक-अर्कालाई वास्तवमै मन पराउन थाले। नछुट्टिने वाचा कसम खानेदेखि फोन कुराकानीमा व्यस्त हुन थाले। उनीसँग गफमा भुल्न थालेको पत्तै नपाइ महिनौ बितेछ। हिजो महेशको एकतर्फी जस्तो लाग्ने माया आज बल्ल दुईतर्फी सावित भयो।