शिलाले धेरै पटक ऐना पुछ्दै आफ्नो रुप हेरी। खै के सोची थाहा भएन। ऐना अगाडि उभिएर निकै बेर रोई पनि।
ऐनामा उसले आफूलाई एकदमै नराम्री, अनुहारमा कुनै चमक नभएको दुःखी, थकित र उदास पाई।
'म त्यही शिला? जो जवानीमा टम्म मिलेका लुगा लगाउँथी। चिटिक्क हुन्थी। कपाल कहिले कर्ली त कहिले स्ट्रेट पार्थी, मेकअप गर्थी। के अहिले ऊ त्यही शि...ला?' ऊ एकोहोरो बर्बराउन थाली।
सत्र वर्षकी हुँदा गुलाफका फूल दिएर कलेजको गेट अगाडि 'प्रपोज' गर्ने युवकहरूलाई सम्झी। निरन्तर पछि लाग्ने तन्नेरी केटाहरूलाई सम्झी। अनि स्वाङ पारेर उनीहरूको प्रस्तावलाई घमण्डसाथ अस्वीकार गरेको सम्झी।
'के म त्यही शिला...? जसको शरीरमा अहिले बोसो लागेको छ। स्तन झुण्डिएको छ। कपडा पनि बुख्याचाले पहिरिएजस्तो कतै मिलेको छैन। के म त्यही शि...ला?'
सोच्दा सोच्दै उसका आँखाबाट टप्प..टप्प आँसु झर्न थाले।
उसलाई पछ्याउने युवक थियो– लक्ष्मण! जो शिला पढ्दै गरेकी कलेजको लेखापाल थियो। झट्ट हेर्दा उतिसाह्रो राम्रो पनि हैन ! दुब्लो र गहुँगोरो। शिलाले कक्षा ११ को भर्ना शुल्क तिर्ने क्रममा युवकले पहिलोपल्ट उसलाई देखेको थियो। त्यही दिनदेखि शिलाको रुप उसको नजरबाट हटेन। ऊ लठ्ठियो।
शिलाको फारमबाट फोन नम्बर लियो अनि सुरु गर्यो, तारन्तार फोन गर्न। सुरुमा त शिलाले नकारी। तर दैवको लीला, विस्तारै उसको मन त्यो लेखापालप्रति मोडियो। ऊ शिलाको प्रेमी बन्यो।
जवानीका खुड्किला चढ्दै गरेकी शिला लेखापालसँग एकछिन पनि छुट्टिएर बस्न नसक्ने अवस्थामा पुगी। मध्यमवर्गीय परिवारमा हुर्किएकी शिलाका बा शिक्षक थिए, आमा भने गृहिणी र शिक्षित महिला थिइन्। जसले गर्दा अहिले नै बाआमाले छोरीको बिहे गरिदिने कुरै भएन।
उसले घरमा आफ्नो प्रेमको बारेमा कसैसँग कहिल्यै कुरा गर्ने आँट गरिन। तर कसैलाई थाहा–पत्तोसमेत नदिएकी शिलाले लक्ष्मणसँग भागेर सुटुक्क बिहे गरी।
दाङबाट प्रेमीसँग काठमाडौं आएकी शिला फर्केर माइत गइन। राजधानी छिरेको केही महिनासम्म उनीहरूले नसोचेको संघर्ष गर्नुपर्यो। लक्ष्मणको जागिर थिएन। साथीहरुको सर–सहयोग अनि सापटीबाटै डेराको जोहो गरेका थिए। अभावमा पनि उनीहरू खुसी नै थिए।
किशोरवयमै दाम्पत्य जीवनमा बाँधिएका उनीहरूको जीवनप्रति कुनै गुनासो थिएन। ऊ पनि लक्ष्मणको मायामा सबथोक बिर्सेकी थिई। अभावले निम्त्याएको दुःख पनि प्रेमले फिक्का बनेको थियो। लक्ष्मण शिलाभन्दा जेठो थियो। सानैदेखि घरबाहिर बसेकाले घर परिवारसँग उसको निकटता थिएन। एसएलसीपछि गाउँबाट निस्किएको छोरा सहर छिरेपछि गाउँ फर्केर उतिसारो गएन।
अहिले त झन् शिलाको प्रेममा हराएको थियो। उसलाई खुब राम्री लाग्थी शिला! शिलाका नशालु आँखा, सर्लक्क मिलेको ज्यान, छिनेको कम्मर, सलल्ल बगेर मेरुदण्डमुनिसम्म पुगेको कपाल! यही देखेर त उसको पछि लागेको थियो लक्ष्मण। सपनाझैं उसको चाहना कति छिट्टै पूरा भयो।
शिला उसकी भई मन र शरीर दुवैले। अर्धाङ्गिनी भई। भोक बिर्साउने, प्यास बिर्साउने शिलाको सौन्दर्यको ऊ एकमात्र हकदार भयो। आफ्ना काला ओठ शिलाको गुलाफी ओठमा जोड्न पाउँदा औधी भाग्यमानी ठान्थ्यो आफूलाई।
'मेरो राजा मेरो सौन्दर्यको माली हो तपाईं। म तपाईंकी हुँ जुनी जुनीलाई,' शिलाले प्रेमालापमा आफ्नो शरीर सुम्पिँदै उसलाई भन्थी। अँगालोमा कस्दै मुसुक्क हाँसेर भन्थ्यो, 'मेरी प्यारी, जुनीजुनी तिमीलाई यसरी नै बाँधिरहन पाए धन्य हुने थिएँ म।'
लक्ष्मणले जागिर पायो– लेखापालकै। त्यो खुसी उनीहरुको निम्ति ठूलो उपहारजस्तै थियो।
ऊ दिउँसो अफिस जान्थ्यो। साँझ शिलाको अँगालोमा भुलाउँथ्यो। शिला पनि दिनभर पतिदेवलाई सम्झँदै आउने बाटो हेर्थी। कपाल कोर्थी, शृंगार गर्थी। साँझमा मीठो मसिनो बनाउँथी दुवै खुसी हुँदै खान्थे। निकै खुसी हुन्थी त्यो बेला लक्ष्मणकी प्यारी शिला।
तर अहिले? अहिले के भयो शिलालाई? उसको चमक कहाँ हरायो? ऐनामा हेर्दै ऊ आफ्ना विगत सम्झिँदै थिई–
'अब म तिमीसँग बस्न सक्दिनँ,' मौनता चिर्दै लक्ष्मणले शिलालाई रुखो नजरले नियाल्दै भन्यो।
'हजुर..!' शिलाका ओठ थर्थर काँप्न थाले। उसले जमिन खुट्टाको बुढी औंलाले कोट्याउन थाली। के भनौं, के सोधौं ठम्याउन सकिन। कोठाको सिलिङतिर हेर्दै थचक्क बसी।
'हो, सुनिनौं? अब म तिमीसँग बस्न सक्दिनँ।'
'लाज लागेर आउँछ मलाई तिमीसँग हिँड्दा। गिज्याउँछन् मेरा साथीले,' यो कुरा भने लक्ष्मणको घाँटीमा अड्कियो।
आफ्नो सामु मुढाझैं अचल बसेकी शिलामाथि हेयको आँखाले हेर्यो। प्रत्युत्तर केही शब्द आउँछ कि भनेर पर्खिरह्यो। खल्ती छाम्यो, सूर्यको बट्टाबाट एक खिल्ली चुरोट निकाल्यो। दाँया खल्तीबाट लाइटर झिकेर चुरोटको चुच्चो जलायो र शिलाको अनुहार ढाक्नेगरी धुवाँ उडायो।
'म उसलाई माया गर्छु, तिमीभन्दा राम्री छ। मलाई माया गर्छे। म उहीसँग बस्छु। मलाई छुटकरा देऊ,' आफ्नो निर्णय एकसासमै सुनायो। चुरोटको ठूटो एस्ट्रेमा लगेर झोस्यो।
ट्वाल्ल परेर हेरिरहेकी शिलाले सोची– 'यही चुरोटको ठूटोजस्तै म पनि भएँ। झोसिएँ ! निभेँ! सकिएँ !'
उसका आँखाबाट निर्दोषपन बग्न थाल्यो, तर ऊ मौन नै रही।
उसलाई पत्तो पनि भएन, लक्ष्मण उसको सामुबाट अलप भइसकेछ भनेर।
शिलाले जुन दिन देख्न नपरोस् भनेर त्यत्रो प्रयास गरेकी थिई, त्यो सब बागमतीको पानीजस्तै बगेर गइसकेको थियो। आफ्नो पतिदेवको लागि उसले गरेका प्रयासहरू विफल भइसकेका थिए।
ऊ चिच्याएर बिन्ती बिसाउन सक्थी, मायाको भिख माग्न सक्थी। एउटी छोरी आमाको लाम्टो चुस्न अझै छाडेकी थिइन्। अर्को भर्खरै स्कुल दर्गुनसक्ने भएको थियो। दुई नाबालक देखाउँदै उनीहरूका बाउसँग याचना गर्न सक्थी। तर, ऊ मौन रही। उसका सम्पूर्ण आवाज भित्रै कतै विलीन भए।
बिहे गरेको एक वर्ष नबित्दै शिला पहिलोपटक गर्भवती भई। पहिलोपटक आमाबन्दा उसले जीवनमा नदेखेको दुःख व्यहोर्नुपर्यो। पहिलो पटक बाबु बन्दै गरेको लक्ष्मण आफ्नो भूमिका निभाउन तत्पर रह्यो।
पहिलो सन्तान पेट चिरेर निकाल्नुपर्यो। सानै उमेरमा आमा बनेकी शिलाले दुःखको पहाडै बोक्नुपर्यो। पहिलो सन्तान छोरा थियो। उसको लालनपालनमा दुवैको माया देखिन्थ्यो। तर विस्तारै शिलामा केही अभावको महशुस हुँदै गयो। जुन ऊ आफ्नो लोग्नेबाट चाहन्थी।
एकदिन साँझ विस्तारामा पल्टिरहेको बेला उसले लक्ष्मणलाई घुर्कीजन्य भावमा भनी, 'मेरो राजा, बाबु हुनुअघि त अफिसबाट आउने बित्तिकै मेरो गालामा चुम्बन गर्नुहुन्थ्यो। अब त बाबुलाई गर्नुहुन्छ तर मलाई त...?'
लक्ष्मणले कुटिल मुस्कान छाड्दै जवाफ फर्कायो, 'पहिलेजस्तो चुम्बन गर्ने गाला कहाँ छ र तिम्रो ऐना हेरेकी छौ, हा हा हा...।'
यति भनेर उसले कुरा बंग्याएको थियो, 'चुम्बनमा मात्र माया लुकेको हुन्न प्यारी। माया त मनमा हुन्छ। त्यो कहिले कम हुन्छ र!'
लक्ष्मणको पहिलो वाक्यले चस्स बिझे पनि दोस्रो वाक्यले भने परिपूर्ति गर्यो। शिला थोरै रिसाउँदै र थोरै मुस्काउँदै उसको आलिङ्गनमा बेरिई।
दाम्पत्यको केही वर्ष यसरी नै बिते। छोरा दुई वर्ष नबित्दै शिला दोस्रो पटक आमा बनी। यसपालि छोरी जन्मिई। अब उसको केटौली उमेर रहेन। अब शिला लक्ष्मणकी तरुणी मात्र रहीरहन सकिन। ऊ दुई सन्तानकी आमा भई। सन्तान नहुँदा शृंगारमैं दिन बिताउने शिला अब दुई बच्चाको रेखदेखमा दिन बिताउन थाली। हिजोको दिनझैं उसमा राम्री बन्ने मोह मरेर गयो।
विस्तारै लक्ष्मणको व्यवहार पनि परिवर्तन हुन थाल्यो। उसले हिजो लक्ष्मणले गर्ने माया र अहिले गर्ने मायामा भिन्नता महशुस गर्न थाली। हिजोको लेखापाल लक्ष्मण अहिले लेखापाल मात्र थिएन, रेस्टुरेन्टमा सञ्चालक भइसकेको थियो। ऊसँग अहिले घर आउने समय नै हुँदैन्थ्यो। छोराछोरीसँग खेल्ने समय थिएन।
शिलासँग प्रेमालाप गर्नु त धेरै परको कुरा भइसकेको थियो। ऊ बदलिँदै गयो। उसलाई शिलाले हेरेको पनि मन पर्न छाड्यो।
'किन खाउँलाझैं हेरेको मलाई। भान्सा तयार गर। मलाई हतार भयो।'
'अब मैले हेर्नु पनि नहुने भयो है, के भएको छ अचेल हजुरलाई? किन यस्तो गर्नुहुन्छ। अनि हजुरलाई हतार नभएको त कहिले पो छ र ! यतिभन्दा भन्दै शिलाले आँसु थाम्नै सकिन।
'हैन, तिमीलाई कति पटक सम्झाउनु। यत्रो रेस्टुरेन्ट सम्हाल्नुपर्छ मैले। लगानी डुब्यो भने हामी डुबेनौं? सानो आँट गरेर लिएको हो र ! ढिला र हतार भनेर तिमीले भन्न पाउँदैनौं। तिमी त के बुझ्छ्यौ र, बरु मलाई बुझ्ने ऊ नभइदिएको भए...'
ऊ बीचैमा अडियो। शिला तिखो नजरले हेर्दै लक्ष्मणलाई केर्न थाली, 'ऊ भनेको को? मैले नबुझेको तपाईंलाई कसले बुझ्यो?'
लक्ष्मणको वाक्य फुटेन। थप स्पष्टीकरण पनि उसले दिन चाहेन। ऊ रिसाएको अनुहार शिलाबाट पन्छाउँदै डेराबाट बाहिर निस्कियो। शिला ओछ्याउनमा पल्टिएर सुक्कँ सुँक्क गर्दै आँसु बगाउन थाली।
लक्ष्मण कुनै युवतीको प्रेममा परेको थियो। सहरको एउटा क्याफेमा चिया पिउन जाँदा भेटेको थियो त्यस युवतीलाई। जो सधैं एक्लै क्याफेको एउटा कुनामा 'ट्याब' चलाउँदै बसिरहेकी भेटिन्थी। लगातार देखिरहेपछि लक्ष्मण उसको छेउ गएर बस्यो। कुरा गर्ने बहाना निकाल्न खोज्यो। विस्तारै दुबैबीच कुरा हुन थाल्यो। प्रेमजालमा पार्न सिपालु लक्ष्मण युवतीलाई माया देखाउन थाल्यो।
युवती डिभोर्सी रहिछ। श्रीमानसँग छुट्टिएपछि उसले क्याफे सञ्चालन गरेर बसेकी रहिछ। आफूसँग लगानी गर्न पैसा भएको हुँदा रेस्टुरेन्ट पनि सञ्चालन गर्ने चाहना भएको कुरा लक्ष्मणलाई भनी। केही महिना यसैगरी भेट्दै गएपछि उनीहरूको सम्बन्ध प्रगाढ भयो। यो सम्बन्धलाई व्यावसायिक सम्बन्धमा जोड्ने निधो गरे उनीहरूले। लक्ष्मणले बचाएर राखेको पैसा पनि रेस्टुरेन्टमा लगानी गर्यो। यसरी उनीहरूबीच हिमचिम बढ्दै गयो।
शिलाले लक्ष्मण कुनै युवतीको प्रेममा छ भन्ने कुराको अनुमान त गरेकी थिई तर निर्क्यौल गर्न सकेकी थिइन। हिजो त प्रेममात्र थियो तर, अहिले ऊसँग परिवार छ। जिम्मेवारी छ। ऊ पत्नीमात्र हैन, आमा पनि हो। कति पटक उसले लक्ष्मणलाई सम्झाउने आँट गरेकी थिई। तर घाँटीसम्म आएको कुरालाई भित्रै दबाएर राखी। बरु, बाहिर आँसु बगाउन थाली।
अचानक आफूलाई छाडेर गएको श्रीमानदेखि ऊ क्रुद्ध पनि भई।
'मेरो त माया लागेन ठीकै छ। तर सन्तानको? के ऊ निर्दयी भएकै हो?,' उसले सोच्न थाली।
सन्तानको कुरा सोच्दा भने शिला दृढ भई। उसमा साहस भरिएर आयो। उसलाई लाग्यो– एउटी पत्नी कुरुप हुन सक्ली, कमजोर हुन सक्ली तर एउटी आमा सधैं सुन्दर र बलियो हुन्छे।
हुन त केही महिनायता छोरा–छोरी पनि लक्ष्मणको नजिक पर्दैन थिए। ऊ हप्काउँथ्यो। बेवास्ता गर्दै भन्थ्यो, 'घरमा शान्तसँग बस्न पनि नपाइने। कति रुनुपर्ने यी भुराहरूलाई?'
यसरी बाबुले गाली गर्दा आमाको मातृत्व पग्लन्थ्यो। शिलाले प्रतिवाद गर्थी। अनि सुरु हुन्थ्यो दुबैबीच वादविवाद !
शिलाले ऐना हेर्दै आफ्नो आँसु पुछी। कोठाका सिलिङहरूमा आँखा दगुराई। तर, झट्ट ओछ्यानमा सुतिरहेका दुई सन्तानको मायाले रोक्यो।
त्यो सोचलाई तत्काल झट्कारी। बरु सोची, 'अब के गर्ने? कहाँ जाने?'
वर्षको अन्तिम महिनामा समय दौडिरहेको थियो। यतिका वर्षसम्म माइत नसम्झेकी शिलालाई अचानक बा–आमाको याद आयो। बा–आमालाई सम्झेर ऊ पुनः भावविह्वल भई। उसले माइत जाने निर्णय गरी। उसलाई थाहा थियो, उसलाई पक्कै बा–आमाले उसैगरी स्नेह गर्नेछन्। माफी दिनेछन्। घरबाट सुटुक्क भाग्दा 'म एकदिन फर्कनेछु' भनेर लेखेको वाक्य सम्झी र मुसुक्क हाँसी।
शिलाको अनुहारमा एक चिम्टी मुस्कान फर्कियो।
त्यसरात नचिताएको भयो। लक्ष्मण लुरुक्क पर्दै शिलाको सामु उभिएको थियो। उसको अनुहारमा बिहानको जस्तो न जोस थियो, न आक्रोस। उसले शिलालाई याचनाको भावले हेर्यो। शिला उसलाई देखेर अचम्मित त भई, तर आफ्नो भावनालाई गाँठो पारेकी उसले कुनै प्रतिक्रिया जनाइन।
लक्ष्मणले आफ्ना छोराछोरीलाई हेर्यो, उनीहरू बाबुको छेउ पर्नसमेत डराउँथे। इसाराले बोलाउन खोज्यो, तर कुनै जवाफ पाएन। उसको मनले भनिरहेको थियो, 'मैले गल्ती गरेँ। मैले भूल गरेँ।'
दिउँसो आफैंलाई मन बुझाउन शृंगारिएर बसेकी शिला अरु दिन भन्दा खुब राम्री देखिन्थी। उसले ऐनामा पुनः आफूलाई चिटिक्क पाउँदा ठानेकी थिई, 'बाहिरी सुन्दरता क्षणिक आकर्षण हो। यसले मानिसमा भ्रम सिर्जना गर्छ।'
उसको मनमा यो कुरा पनि खेलिरहेको थियो, 'पुरुषहरू महिलाहरूको सौन्दर्यको उपभोग गर्न चाहन्छन्। महिलालाई उपभोगको साधन बनाउन चाहन्छन्।'
उसलाई थाहा थियो, यसैगरी शृंगारले भरिए लक्ष्मणले त्यो सुन्दरतामा आशक्ति देखाउन सक्थ्यो। ऊ आफैंले आफूलाई नियाल्न चाहन्थी र बाहिरी सौन्दर्यका भ्रम केलाउन चाहन्थी।
त्यससाँझ लक्ष्मणले उसलाई प्रेमिल आँखाले हेर्यो। प्रेमको अनुरोध गर्यो। तर, शिलामा एकरत्ती विश्वास बाँकी थिएन। तै पनि उसले औपचारिकता निभाई। लक्ष्मणसँग बोली।
लक्ष्मण त्यसरात निदाउन सकेन।
आफ्ना गल्तीहरू सम्झ्यो। जुन युवतीको लागि परिवार त्यागेर गएको थियो। उसबाट धोका पायो। उसलाई सबै कुरा सपनाझैं लागिरहेका थिए। त्यसदिन ऊ रेस्टुरेन्ट गयो। रेस्टरेन्ट बन्द थियो। प्रेमिकालाई फोन गर्यो तर उठेन।
मोबाइलमा म्यासेजको घण्टी बज्यो।
म्यासेज खोलेर हेर्यो, 'मैले हिजो तिमीजस्तै लोग्नेमान्छेबाट धोका पाएकी हुँ। म एक्लै ठीक थिएँ। तिमी विवाहिता हुँदाहुँदै मलाई सिंगल छु भनेर ढाँट्यौं। मैले यो कुरा थाहा पाएको केही दिनमात्र भयो। तिमीलाई सबक सिकाउनु थियो। सिकाएँ। अब हामीबीच कुनै सम्बन्ध छैन।'
लक्ष्मण छाँगाबाट खसेझैं भयो। उसलाई पीडाले शरीरभरि गाँज्यो। ऊ उभिएको जमिन भासिएझैं भयो। ऊ लाचारझैं निकैबेर उभिएर बस्यो। अब के गर्ने? उसको आँखाभरि पत्नी शिलाको निर्दोष अनुहार घुम्न थाल्यो। दिनभरि आफूलाई पश्चातपको रापमा जलाएर ऊ साँझ आफूले छाडेर हिँडेको डेरामा फर्कियो।
बिहान लक्ष्मण उठ्दा आठ बजेको हुँदो हो। अन्य दिनझैं उसको ओछ्यानमा त्यस दिन चिया आइपुगेन। उसले छोराछोरीको न रुवाइ सुन्यो, न भान्सामा भाँडाकुँडाका आवाज नै। लक्ष्मण झस्कियो। केही गडबडी त भएन?
ऊ हतपत्त उठ्यो। बोलायो, 'शिला, प्यारी शिला?'
तर कुनै जवाफ आएन।
ऊ भान्सानिरको कोठामा गयो। बिछौनामात्र लमतन्न सुतेको छ। कोठा निःशब्द छ। वरपर हेर्यो। उसको आँखा अगाडि चुक घोप्टिएझैं अन्धकार भयो। ऊ नराम्ररी अतालियो। ऊ अघिल्लो रातमा छोराछोरी च्यापेर सुतेकी शीलको बिछौनामा गयो। सिरानीमुनि एउटा कागजको टुक्रामाथि आँखा पर्यो। हत्तपत्त त्यो कागज टिप्यो र खोलेर पढ्न थाल्यो।
'यत्रो वर्ष भ्रममा बाँचेको रहेछु। तपाईंलाई धन्यवाद! मेरो भ्रम तोडिदिनुभयो। धन्यवाद, मेरो परनिर्भर सोचलाई भत्काइदिनुभयो। मैले बुझेँ स्त्री पुरुषका लागि उपभोगको साधनमात्र हैन भन्ने कुरा। मलाई बल्ल थाहा भयो सृष्टि गर्ने नारीले सृष्टि सजाउन पनि सक्छे। म अब आफ्नै लागि संघर्ष गर्छु, सन्तानका लागि गर्छु। मैले निधो गरिसकेँ। मलाई खोज्ने प्रयास नगर्नुहोला।'
लक्ष्मण त्यो चिठ्ठीमा हेरेर टोलाइरह्यो।
'शिला, प्यारी शिला...!' ऊ एकोहोरो बर्बरायो। आँखाबाट आँसुका थोपा टप्प कागजमा खस्यो। सायद, वर्षौंपछि उसको आँखाबाट खसेको यो नै पहिलो थोपा थियो।