केहीबेरपछि थचक्क सडकमा बसी मनको भारी बिसाएर र खानामा आफ्ना नुनिला आँसु मिसाएर हातमुख जोड्दै थिए एक दाजु। हो, ती त्यही दाजु थिए जो अघिसम्म खुलामञ्चको लामो लाइनबीच उभिएर एकछाक खानाको सपना देख्दै थिए। ती त्यही दाजु थिए जोसँग म बोल्न खोज्दा उनले भनेका थिए 'भोकले पेट काट्यो, एकछिनपछि बात गर्छु है बाबु।'
म निशब्द थिएँ। मेरो मनले आफैलाई प्रश्न गर्यो- कार्पेटमा करडौँ हाल्ने सरकार, जनताको पेटमा के हाल्छ खै? सोच्छु, नुनिला आँसुसँग एकछाक खाँदा, त्यो मनले कति सराप्दो हो गलत व्यक्ति सत्तामा जाँदा।
मैले बुझेँ, देश अशान्त हुन युद्धनै हुनुपर्ने रहेनछ। बस्, भोका जनता सडकमा लम्पसार परी हात फिजाउने दिन आए हुने रहेछ। मनमा यी यावत कुरा सोच्दा सोच्दै ती दाजुले मलाई झस्काएर भने 'बाबुले खाना खायौ त?' एक भोको पेटको पीडा अर्को भोको पेटले कति सजिलै बुझ्ने रहेछ, मैले उतर दिएँ 'हजुर दाजै'।
त्यो भीडमा त्यस्तो पात्र सयौँ थिए तर पनि उनको अवस्था देखेर मेरो गहभरि आँसु र मनमा टिठ लागेर आयो। पैदालामा घुलाम्मे पुरानो चप्पल र रङ्ग उडेको कमिजमा फाटेको खल्ती।
मैले भनेँ 'दाजुको गोजी फाटेछ, लुगा पनि मक्किन लागेछ, हिडनुस् भाइले एउटा नयाँ कमिज किनदिन्छु आज।'
उनले मेरो मुखमा पुर्लुक्क हेरेर रसिला आँखा र रङ्ग उडेका हाँसो साथ भने- 'न्याय हराएको मेरो देशमा शान्तिको खोजि केका लागि? भोकमरीले जनता सडकमा कमिजमा गोजी केका लागि?'
मलाई थाहा थिएन उनको यो प्रश्न थियो की बिलौना, तर मैले उत्तरमा केही फर्काउन सकिनँ। तर उनको कुरा सुन्दा लाग्यो, उनीभित्र एक बौद्धिक व्यक्ति लुकेको छ।
मैले फेरि प्रश्न गरेँ 'दाजुले कति पढ्नु भएको छ नि?'
उनले योपालि पनि सहजै उत्तर फर्काएनन्, बस् यति भने 'मष्तिष्कमा ज्ञानको भण्डार छ, पेटमात्र खाली भएको हो बाबु।'
उनको यो उत्तर सुनेपछि फेरि उनको योग्यताको प्रश्न गर्न मेरो औकातले भ्याएन। यतिकैमा उनले भने 'बाबु त पत्रकार जस्तो देखिन्छौ, तिमीले त सरकारलाई नजिकबाट देखेको हौला है?'
मैले छु भन्ने आँट राखिनँ किनभने सरकार भैदिएको भए सायद आज यो दिन आउने थिएन। मैले बस यत्ति भनेँ 'सरकारको आश्वासन नजिकबाट सुनेको छु दाजै।'
उनले फेरि प्रश्न गरे 'सरकारको चिल्लो गाडीको कालो सिसाभित्र हामी त देख्न सक्दैनौँ, उनीहरूले पनि भित्रबाट हामीलाई देख्दैनन् र बाबु?'
मैले भनेँ 'देखिहालिन्छ नि दाजु।'
'सायद त्यही भएर होला सवारी हुँदा सडकपेटीका गरिब जनतालाई लाठी लगाएर त्यहाँबाट हटाइन्छ,' उनले भने।
पत्रकार त म थिएँ तर न मसँग उनलाई प्रश्न गर्ने हैसियत रह्यो न त उनको उत्तर फर्काउने नै। तर मलाई यत्ति निधो थियो, उनी एक बौद्धिक व्यक्ति थिए जसको योग्यताको कदर भएर ठाउँमा भइदिएको भए देशका लागि ठूलो कर्म गर्न सक्थे।
तर अवस्था त्यो थिएन। त्यसैले होला सायद, कयौँ यस्ता व्यक्ति विदेश गई सोसिन्छन्। अनि कयौँ स्वदेशकै सडकमा ओसिन्छन। यी त हजारौँको भीडमा भेटिएका एकपात्र थिए। यस्ता कैयौं शवित निस्किन्छन् होला त्यहाँबाट तर ठूला सपना बोकेका मस्तिष्कहरु आज भोको पेटसँगै सडकमा सेलाउन परेको छ।
हुन त गरिबको दुःख कसले देख्छ? विपन्नको आवाज कसले सुन्छ? यहाँ कैयौँ बलात्कृत नारीको चित्तकार सुनिएको छैन, अनशनमै बितेका नन्दप्रसादको शवले झन्डै ५ वर्षदेखि अस्पताल भित्र बसेर पनि न्याय पाएको छैन। अन्तिम ढुकढुकी बाँकी राख्दै स्वास्थ्य सुधारको सत्याग्रहमा रहेका डा. केसीको आवाज सुनिएको छैन।
यहाँ न सासको आवाज सुनिएको छ न लासको आवाज सुनिएको छ। ए हजुर, यहाँ भोको पेट कराएको छ, निर्मलाको न्याय हराएको छ, डा. केसीको अनशनले सत्तामा बस्नेहरू खल्बलाएका छन्। यसैबीच कुलमान हटाई अन्धाकार बेच्नेहरू सल्बलाएका छन्।
ए सरकार! यदि जनताको सरकार होस् भने जनताको चित्कार सुन्। बुद्ध त छन् तर आज शान्ति हराएको छ। विपन्न छन् जनता, भोको पेट कराएको छ, शान्ति खोज्दैछन् बुद्ध स्वयम। महामारीमा मन डराएको छ। मन खोज्दै छ शान्ति। त्यो शान्ति जहाँ जनताको पेटमा गाँस होस् र घरबार बिहीनका लागि एउटा बास होस्।
त्यो शान्ति जहाँ निर्मलाका लागि न्यायको आशा होस्। जनताको घाउमा सरकारको मल्हम होस्। मसि पोखिए पनि शुभ समाचार लेख्ने एक कलम होस्।
(लेखक जनस्वास्थका विद्यार्थी हुन्।)