आजपनि उस्लाई निद्रा परेन। त्यसो त ऊ फिटिक्कै निदाउन सक्दैन, खाली आँखा चिम्म गरेर तन्द्राले घेरिन्थ्यो ऊ। आज त्यो भाग्य पनि जुरेन, आँखा ट्वाल्लै रह्यो। आकाश तिर हेर्यो, आकाश निलै छ।
आँखालाई टाढा फ्याकेर दृष्य खिच्यो, पूरै धर्ती बालुवै बालुवा। त्यही बेला तबेलामा ऊट डुक्रियो, नमिठो लाग्यो उस्लाई। भैँसीले अइँ अइँ गर्दा वा गाईले बाँ बाँ गार्दाको मिठास पाएन उस्ले। उस्का हातले ऊटका लिदिमा मनले निलो आकाश कलकल बगिरहेको झरना, हरियो रन-बन, लाली गुँरासको रौनकता, जाइ जुही चमेलीको मग-मग बास्ना, कोइलीले कुहूँ कुहूँ गाएकी, भंगेरीले चिर्बीर चिर्बीर चिर्बिराएकी, प्रियसीले कानैमा फुस्फुसाएकी मधुर क्षणमा गोता खाईरह्यो।
उस्को मनमा त सधैं कलावती बसेकी थिइ, कलावतीलाई आँखा झिम्क्याउँदा टाउको निहुर्याएपछि के चाहियो र! उस्का मनमा खुसीका गुलाब के-के, के-के फुलेर आए। एकादशी मेलाबाट काँधमा बोकेर दुई कोश कुदाएर आफ्नो बनाएको थियो उस्ले कलावतीलाई। ती दिनहरु सन्झिदा उस्को जीउमा काँडा उम्रियो, आङ जिरिङ् जिरिङ् गर्यो।
अलिकति सपना कलावतीले, अलिकति उस्ले बुन्यँ। त्यही बुनेको सपनाको जालोमा कतिखेर यो भड्खालोमा जाकियो पत्तै भएन। पोहोर परार औंला भाँच्न थाल्यो, उस्ले जानेको गणितले थेगेन अनि सम्झ्यो कलावतीको पेट पुट्ट भएको वर्ष थियो त्यो! काँचो आँखाबाट बहेको नुनिलो पानी पनि पुछ्ने जाँगर आएन उसलाई।
टाढा बालुवा उडेको देख्यो उसले, आनायसै उस्का ओठ मुसुक्क मुस्काए। तीन-तीन महिना आउँछ त्यो पड्के दाल, चामल, नुन र पानी लिएर अनि तीन महिना खटाइ-खटाइ पुर्याउनु पर्छ उस्लाई। पड्के घचक्कै ऊ भए ठाउँमा रोकियो।
'दाइ देशको खबर देखाउनुस् न!' उस्ले सासै नरोकी बिन्ती बिसायो।
'तँ त बेपत्ता सा दुब्लाइचस् त केटा' ड्राइभरको नेपाली मनमा दया पलायो। 'धेरै सुर्ता नगरेस्' ड्राइभरले थप्यो। ऊ मोबाइल समातेर फटाफट नेपाल पुग्यो। उस्ले देख्यो नेपालमा कोही पंखामा, कोही रुखका डालीमा झून्डिएका छन्। कोही पानीमा हेलिएका, कोही घर-गोठ समेत पहिरोमा लतारिएका, कसैलाई कुटेर धुक्धुकी बाँकी हुँदै नदीमा फालिएका छन्।
टनाटन प्यासेन्जर बस भिरबाट गुल्टिएको छ, देशमा कोलाहल मच्चिएको छ। कसैलाई एसिडले हानेर झुल्साइएको छ। कोही बेसार महत्यम्य रटी रा’छन्, पट्यार नमानी कोही त्यसैको उछिट्यो काडी रा’छन्। जताततै नारा जुलुस मुर्दावाद जिन्दावाद! उस्को मन ढक्क फुलेर आयो, जीउ भारी भयो।
'दाइ, भो पुग्यो' उस्ले कामेको हातले मोबाइल फिर्ता दियो। आकाशमा उडेको जहाज देख्दा उस्को मनपनि उसैगरी उड्थ्यो। कहिलेकाहीँ त पोकालाई डोरीले कसकास पारेर जहाजमा बसिवरि सरर निलो आकाशमा कालो बादललाई चिर्दै बतासिन्थ्यो ऊ तर आजको नेपाल हेरेपछि त्यही मनपनि भाचिएर टुक्रा टुक्रा भयो।
आकाशमा उसैगरी ताराहरु चम्किन थाले। दिन ढलेर रात परिसकेछ तर पापी यो गर्मी ओरालो लाग्ने नामै लिदैँन। मध्यरातपछि केही मत्थर भा’होकी! तर उस्को मनमा डढेको भुत्भुतेको रापले ऊ तातिरहन्छ। आज त उस्को मन झन् तम्तमाइलो भा’को छ। उ पश्चाताप मान्छ। 'बेकार हेरेछु मोबाइल आज' उ एकतमासले भुट्भुटी रहन्छ।
उसको टाउकोमा बिजुली चम्केजस्तो लाग्छ। उस्लाई त्यो चड्कने ठ्याक्कै मुटुमा बाज्रिन्छ अनि सरर आँखाको बाटो बाहिरिन्छ। ऊ डरले आँखा चिम्म गर्छ तर ऊ मन, मस्तिस्क र आँखालाई बसमा पार्न सक्दैन। दिउँसो देखेका लाशहरु कंकाल बनेर नाच्दै छन्, बेढंगी नाच, केही हट्टा-कट्टा नगलेका लाशहरु जुरुक्क उठेर बासुरी बजाइ रहेछन्।
हेर्दैछ उस्का बा पनि लठ्ठी टेक्दै त्यही आइपुगे। कुप्रो परिसकेका उस्का बा पनि फुत्त लठ्ठी फालेर नाच्न थाले। ऊ अत्तालियो, उस्का आँखामा आँसु बगे। उस्को मन फटाफट घर पुग्यो, पिढीँमा बुढी आमाले आँखा चिम्लिसकेकी छिन्, उस्को मुटु छाती फुटालेर बाहिर निस्केला झैँ गर्न थाल्यो।
उस्ले देख्यो, उस्को भुन्टे गँगटे आँखा मकै चिथर्दै हिलोमा लुट्पुटी रहेको छ। अँगेनामा आगो निभ्दै छ, बिट फर्किएको डेक्चिमा थापिएको पानीबाट अझैँ हल्का बाफ आइरहेको छ। खै त उस्की कलावती? ऊ खोज्दै छ। देख्छ, कलावती खुर्पाको चूच्चोले अझै बेसारको जरा ठुंगीरहेकी छ।
उस्लाई असैह्य हुन्छ, जुरुक्क उठेर बेतोड्ले डौदिन्छ गन्तब्य बिहीन। मरुभूमिका काँडाघारीले उस्का गोडा चिथर्दै छिया छिया पार्छन्। अन्तत: घोडा र कुहिनो जोतेर पछारिन्छ। उस्लाई चिच्याउन मन छ तर आवाज निस्कन्न उस्का गलाबाट मात्र एउटा हुइयाँ... फुत्किन्छ।
मुटुको ढुक्ढुकी चलिरहेछ। उस्लाई लाग्छ, अरु पनि धेरै स्याल हुइयाँ सुनिरहेछ ऊ। उस्का आँखाहरु लोलाएर बन्द हुन्छन्। मात्र बाँकी छ ढुक्ढुकी। विस्तारै विस्तारै ती आवाजहरु पनि मत्थर हुँदै उस्को मुटुको धड्कनसँगै बन्द हुन्छन्।