कविता
मीठो खाने, राम्रो लाउने
अनि टिकुलियाको बिहे गराउने
यावत् सपनाको पोको–पन्तुरो पारि
जिन्दगीको खोजीमा
एका बिहान सखारै जोगिन्दरले गाउँ छोड्यो … ।
थुनि राखेका खोरका हाँस, कुखुरा
ड्वाँ ड्वाँ कराइ राखेका गोठका चौपायाहरू
सल्काएर डढेलो बलौटे काँसघारी,
चारकुने आँगनीमा खेलेको सामा–चकेवा
गाएका मैथली भोजपुरी भाकाहरू
बाँडीचुँडी खाएका ठेकुवा र लाहीमूरी
पन्छाउँदै बाबु–माईको हात
रुवाइ राखेर पिँढीमा सानी बहिनीलाई
पर्खाइ राखेर पल्ला–गाउँकी फूलमतियालाई
भुटेको चिउरा र आलुको भुजिया गम्छामा बाँधी
भक्कानिँदै …
जोगिन्दर एकाबिहानै राजधानी जाने मोटर चढी
सुरू गर्छ स्वप्नल–जिन्दगीको यात्रा…।
घरी अलि तेर्साे
घरी साह्रै दम्साइलो
कहिले ठाडै उकालै–उकालो
कहिले ओरालै–ओरालो
उफ...!
पैतिस सिटे बसमा
दुगुना बढी यात्री
ठेलाम् ठेल् अनि पेलान् पेल्
हेपेर ‘अलिपर जाऊ भैया र धोती भाइ’
सबै जनाको अट्टहाँस हाँसो,
ऊ पनि बढो विवशतामा फिस्स हाँस्दै
‘हस’ भनि अलि पर सरी भुइँमै थचक्क बस्छ … ।
मुग्लिनमा गाडी रोकिँदा,
सबैजना मासु भात माग्छन्
ऊ त्यही गम्छा खोल्छ।
र पानीको सितनसँग आधा माना सक्छ।
काठमाडौं पुगी चिने-जानेकाको कोठा खोज्दै पुग्छ।
लामो बसाइँ, बेरोजगार जीवन
ट्वाइलेट जाँदा पनि, आउँदा पनि घरबेटी आमा
दुई पटक सोध्छिन् – ‘ओइ! टिमी कैले जान्या भैया?’
आफन्तले पनि छड्के आँखा पारी बात गर्दा
निस्कियो ऊ पत्रिकाका ‘चाहियो’ विज्ञापन बोकी
भौंतारियो दिनभर,
सक्छ सबै खर्चहरू
अहँ, न त उसले कतै जागिर पायो, न त व्यवहार
हार दिक भएर,
ऊ कोठामा आई रून्छ, बर्बराउँछ भक्कानिन्छ।
बिताउँदै यसरी नै कैयौं कष्टकर रात
कठ्याङ्ग्रिँदो ठिही अनि चिसो छाना मुनि
सुत्यो ऊ कयौं रात एक झप्को निन्द्रा मार्न
लगाएर आफ्नै हातको सिरानी
सहरको बाक्लो–धमिलो पानीमा
उसिनेको भात र मस्यौराको झोलको साथमा
एक मुठ्ठी सास
शब्दै पिच्छे ‘धोती र भैया’ उपनामले हेपिँदा पनि
सहन्छ कयौ दिन अनि रात
किनकि, ठूली बहिनीको दहेजका लागि
नगद, ‘लगाउने देखि गुडाउने’ सम्मको जोहो गर्नुपर्ने छ।
तै पनि
छिचोलेर टन्टलापुर घाम
लछारेर हुरी–बतास
संगालेर मनमा सुन्दर सपना
ऊ बढो भाग्यले प्रवेश गरेको छ राजधानी।
ए ! सिंहदरबार, अनि बालुवाटार
अनि अन्य ठालूहरू
सुनिदेऊ अनि बोलीदेऊ
तिम्रा शासन संयन्त्र
अनि बढ्का-बढ्का सेमिनारमा
देहातको एक विकट गाउँबाट
बहिनीको दहेज–खर्च जोहो गर्ने
ठूलो सपना बोकी
एकजना ‘स्वप्नजीवी मधेसी केटो’
‘तिम्रा’ राजधानी आइपुगेको छ
केवल दहेज–खर्च जोहो गर्न
राजधानी आइपुगेको छ …।