‘लाऽ तपाईंले यो के गर्नुभ’को?’
‘नाई क्या!’
‘छोड्नू न प्लीज।’
‘यस्तो किन गर्नुभ’को?’
आफ्नो शरीरको भागबाट शिशिरको हात छुटाउने धेरै कोशिस गरी आर्सिमाले। तर केही गर्दा पनि सकिन। हो, ऊ र शिशिरबीच छोटो समयमै भावनात्मक गहिराई चुलिँदै गएको थियो। तर, आत्मीयताको उर्लिंदो छालमा बगेर शिशिर त्यो अवस्थासम्म पुग्छ होला भन्ने उसले सपनामा पनि सोचेकी थिइन।
तर उसले जे सोचेकी थिइन, आज त्यही भयो।
ऊ रनभुल्लमा परी।
‘मैले अब के गर्नुहोला?’ मनमनै सोचमग्न हुँदाहुँदै झुलुक्क आँखा अगाडि आफ्नै बाबाको प्रतिमूर्ति देखी त्यतिबेला।
जसको वात्सल्यको छायाँमा उसको जीवन यहाँसम्म आइपुगेको छ। क्षणभरअघि आफूमा घटेको घटना, आँखा अगाडि देखिएको बाबाको प्रतिमूर्ति अनि आफ्नै विगतको त्रिवेणीमा ऊ उभिन पुगी। एकैछिनमा आँखाभित्र सम्झनाको मूल फुट्यो। अनि त्यसैमा बग्दैबग्दै गई अगाडि।
‘नानी, बाबालाई धेरैधेरै सम्झिनू है।’
१८ वर्ष अगाडि खाडी उड्ने बेलामा उसका बाबाले पनि त्यही भनेका थिए। त्यतिबेला ऊ सानै थिई केटाकेटी नै। उसले राम्ररी बुझेकी पनि थिइन। उमेर बढेसँगै जब ऊ ठूली हुँदै गई, बाबासँगै नहुँदाको पीडा पनि बुझ्दै गई।
झापाको ठाउँ। घरमा ठूलो संयुक्त परिवार। खेतीपाती धेरै। वस्तुभाउ पनि उतिक्कै। उसकी ममीको काँध व्यवहारको गह्रुँगो भारीले थिचिएको छ।
‘ओई तेरो बाबा कहाँ हुनुन्छ?’ साथीहरूले सोध्छन् बेलाबेला।
‘विदेश।’
‘अहो! विदेशमा सबै जना? पैसाको त के कमी होला र, डलर आइहाल्छ।’
‘अँ हो नि? तैंले जानिस्?’
‘होइन त?’
‘बाठी।’
साथीहरूले खिसी गरेको हो कि फुर्क्याएको? पहिले-पहिले त उसले बुझिन। तर, जब उसकी ममीको आँखाबाट बेला-बेला आँशु छचल्किएको देख्थी, विस्तारै उसले पनि बुझ्दै गई बाबा घरमा नहुँदाको पीडा। अरबको तातो घामसँगै तपतप चुहिएका पसिनाका थोपासँग साटेर बाबाले पठाएको पैसा समाउँदा उसलाई खुसी हैन, पीडाबोध हुनथाल्यो।
एक दिन उसका बाबाले विदेशबाट फोन गरे। मोबाइल लाउडस्पिकर हुनाले उसले पल्लो कोठाबाट छर्लङ्ग सुनी ममीसँगको कुराकानी।
‘आर्सिमाकी ममी, मेरो त प्रेसर पनि बढेछ।’
‘ला हो र? अनि जँचाउनुभयो त?’
‘हिजो डाक्टरलाई देखाएँ। सुगर पनि बोर्डर क्रस गरेर धेरै माथि पुगेछ। अब दबाइ नखाई नहुने भयो। हिजैदेखि सुरू गरें नि।’
‘राम! राम! यस्तो बिरामी भएर किन बस्नुहुन्छ?,’ भनिन्, ‘अब छिटो घरमा आउनू न। विदेशमा कति गाह्रो हुन्छ। पानी दिने मान्छे पनि पाइँदैन होला।’
‘हो नि हुन त,’ उताबाट रोकिँदै आएको बाबाको मधुरो आवाज सुनी, ‘छोराछोरी र परिवारको लागि खट्नु परेन? कति धेरै खर्च हुन्छ नानीहरू पढाउन। अर्काको देशमा हड्डी घोटेको त्यसै हो र? हाम्रा सम्पत्ति नै यिनै छोराछोरी त हुन्। बरु रेगुलर औषधी खाएर भए नि अझै केही वर्ष पसिना बगाउँछु यतै। फेरि उने’रलाई आ–आफ्नो खुट्टामा उभिनसक्ने पनि त बनाउनु परो नि। हैन र?’
‘खोई!’
त्यसपछि पल्लो कोठामा सुँक्कसुँक्क गरेको आवाज मात्र सुनी आर्सीमाले।
‘विदेशबाट बाबा किन घर नफर्किनु भ’को होला, यत्रो समयसम्म पनि?,’ आर्सिमाको मनमा बेला-बेला कुरा खेल्थ्यो। साथीहरूले बाबाको कुरा निकाल्थे घरीघरी। अन्तै टार्न खोज्थी ऊ। आफू र भाइबहिनीको लागि बाबाले कति धेरै दुःख गर्नुभएको रहेछ विदेशमा। बाबा–ममीको त्यसदिनको फोनवार्ताले उसका आँखा छ्याङ्ङ खुले।
‘अब आफूले पनि केही गर्नुपर्छ। बाबा–ममीलाई मात्र दुःख दिनुहुँदैन।’
उसले मनमनै दृढ संकल्प गरी। विदेशमा बाबाको पसिना र घरमा ममीको आँशुले उसलाई स्वाभलम्बी बन्नुपर्छ भन्ने पाठ सिकायो त्यसदिन।
डिप्लोमा पास गरेर एमबीएसमा पढ्दै थिई आर्सिमा त्यतिबेला। कलेज पनि पढ्दै सँगसँगै लोक सेवाको तयारीमा पनि लागी। बाबा–ममीको सपनाले हरपल घच्घच्याइरह्यो। मन विचलित हुन दिएन। नभन्दै निरन्तर लगाव र कडा परिश्रमले उसको जीवनमा कान्ति ल्यायो। लिखित र अन्तर्वार्ता दुवै परीक्षामा पास भई आर्सिमा। छोरी सरकारी जागिरमा लागेको सुनेर खाडीमा बाबाको आँखाबाट हर्षका आँशु तप्पतप्प वर्षिंदै तातो बालुवा रसाए। यता घरपरिवारमा पनि खुसीको सीमा रहेन उस्तै।
घरदेखि धेरै टाडा ग्रामीण क्षेत्रमा रहेको कार्यालयमा आर्सिमाको पोष्टिङ भयो।
सरकारी सेवामा पाइला टेकेको खुसियालीमा कार्यालयले स्वागत गर्यो उसलाई पनि। गर्नुपर्ने कामको बारेमा बेलिविस्तार सुनी अरुबाट। कर्तव्यको बाटोमा हिँड्दै जाँदा आउनसक्ने अडचनहरूको बारेमा पनि केही थाहा पाई उसले त्यसदिन। यस्तो हुन्छ। उस्तो हुन्छ। फसाउँछन्। फसिन्छ। फसाइन्छ। यस्तै-यस्तै के-के... सरकारी भाषा।
‘बाहिरसोचे जस्तो त हुन्न कि क्या हो?,’ मनमा सम्झी।
पहिलोपल्ट जागिरे हुन पाएको उमंगले भुइँमा खुट्टा नभएको। तर, त्यसदिन सुनेको सरकारी भाषाले कता-कता डरडर पनि पैदा गरायो आर्सिमाको मनमा।
शिशिर पनि त्यही कार्यालयमा काम गर्ने एउटा पुरानो कर्मचारी। संयोग नै मान्नुपर्छ, कार्यालयले स्वागत गरेको दिन आर्सिमा र शिशिर एउटै सोफामा बस्न पुगेछन्। पहिलोपल्ट देखेकी उसले शिशिरलाई। डल्लोडल्लो मोटो शरीर। रात वर्णे रुपरङ। केही सोचिरहेजस्तो गम्भीर मुहार। आफ्नो बाबाकै उमेरको हाराहारीजस्तो देखिने शिशिरले थोरै मात्र बोलेको सुनी उसले त्यतिबेला।
‘म पनि सहयोग गर्छु नि आवश्यक पर्यो भने।’
अरु कुरा उसले त्यति ख्याल पनि गरिन। तर, शिशिरले त्यसदिन बोलेको यो वाक्यलाई भने उसले मनमा सम्झिरही।
विद्यार्थी जीवनबाट हुत्तिएर एक्कासि सरकारी जीवनमा पुगेकी। सुरुवाती दिनमा त उसलाई बुझ्नै गाह्रो भयो। किताबमा पढेको कुरा व्यवहारमा उतार्नुपर्ने। अनुभव पनि छैन, नयाँ परी। नचिनेको ठाउँ। कहिल्यै नपुगेको गाउँ। सबै नयाँ। कसैको मनपेट थाहा छैन। आफूभन्दा सिनियरलाई सोध्ने आँट आउँदैन। जुनियर कर्मचारी पनि कोही उमेरले ऊभन्दा पाका। कोही पहिल्यैदेखि काम गरिआएका पुराना। अनुभवी पनि।
‘लाऽ के भन्ने हुन्?,’ मनमा संकोच लिँदै सम्झिन्छे, ‘लोक सेवा भिडेर आ’की रे। त्यति सानो कुरा पनि कस्तो नजानेकी भनेर कुरा काटे भने?’
फेरि आर्सीमाको स्वभाव पनि त्यस्तै रहेको। होचोहोचो कद। डल्लोडल्लो मोहोडा। मुसुक्क हाँसेर बोल्ने बानी। नरम बोली। शब्द पनि तौलेर मात्र फुत्किने गरेको उसको मुखबाट। नचिनेको र भर्खर हेलो हाई मात्र हुँदै गरेको मान्छेसँग चिनजान गरेर छिट्टै नजिक भइहाल्ने स्वभाव पनि उसमा नरहेको। आफूले आफैंलाई नै बुझ्न सक्दिन घरीघरी।
दिन बित्दै गए। समस्याको चाङ पनि थपिँदै जान थाल्यो दिनहुँ अफिसमा।
एक दिन आर्सिमाको फेसबुक वालमा नयाँ साथीको रिक्वेस्ट आएको रहेछ। नचिनेको मान्छेको फ्रेण्ड रिक्वेस्ट ऊ हत्तपत्त एसेप्ट गर्न छोडेकी छे। एसेप्ट गरेपछि च्याट पनि हुन थाल्छ। पहिले-पहिले त साथीको साइनो जोड्दै राम्रै बोल्छन् केटाहरू। तर, बोल्दै गएपछि अलिदिनमा ‘आइ लभ यू’ भन्न थाल्छन्। ‘तिमीबिना एक्लै म बाँच्नै सक्दिनँ’ भनेर हैरान पार्छन् कतिले। हुँदाहुँदा ‘एकान्तमा भेटौं न’ भन्ने प्रस्ताव राख्न पनि पछि पर्दैनन्। प्रतिवाद गर्यो भने विभिन्न धम्की आउन थाल्छ। फोटो दुरुपयोग गरिदेलान् भनेर तनाव उस्तै। अनि अन्तिममा ब्लकलिष्टमा राख्नुको विकल्प हुँदैन।
आर्सिमाको फेसबुकमा पनि ब्लकलिष्टमा रहेकाहरूको लामै ताँती छ।
उसको फेसबुक वालको फ्रेण्डस् आइकनमा धेरै जनाको रिक्वेस्ट आएर थुप्रियो। एक दिन चेक गर्दै जाँदा देखी, शिशिरको पनि रहेछ। आफ्नै हेडअफिसको सिनियर कर्मचारी। स्वागत कार्यक्रममा एउटै सोफामा संयोगले बस्न पुगेकी। ‘म पनि सहयोग गर्छु नि आवश्यक पर्यो भने,’ शिशिरले बोलेको शब्द उसको कानमा फेरि गुञ्जियो। त्यसपछि अफिसमा एक-दुई चोटि हेराहेरसम्म चाँहि भएको थियो। तर, बोलचाल भएको थिएन शिशिरसँग उसको।
उसले शिशिरको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरी।
‘बहिनी, के छ खबर?,’ केही दिनपछि एक बेलुकी आर्सिमाको म्यासेन्जरमा म्यासेज आयो, ‘आरामै हुनुहुन्छ?’
त्यो अरु कसैको नभएर शिशिरको थियो।
‘हजूर सर नमस्ते,’ आर्सीमाले डराई डराई जवाफ लेखेर पठाई, ‘सञ्चै छु। अनि हजूर नि?’
म्यासेज पढेर शिशिरले केही लेख्न थालेको तीन थोप्ले संकेत चल्मलायो, उसको म्यासेन्जरमा।
सँगसँगै उसको मुटुको धडकन पनि बढ्न थाल्यो। एकातिर आफूभन्दा धेरै सिनियर। उमेरले पनि बाबुकै हाराहारीको। अर्कातिर अहिलेसम्म दोहोरो वार्तालाप भएकै छैन। राम्रो चिनजान पनि।
‘के भन्ने हुन्?’, आर्सीमाको अनुहार रातो भयो, ढकमक्क फुलेको लालुपाते फूलजस्तै। रगत चुहिहाल्लाजस्तो पनि गालाबाट।
‘म’नि सञ्चै छु बहिनी,’ शिशिरको दोस्रो म्यासेज आयो, ‘खानपिन भयो तपाईंको?’
‘हजुर सर, अघि नै।’
‘अनि अफिस जाँदै हुनुहुन्छ बहिनी?’
‘जाँदैछु सर।’
‘अफिसमा कतिको भीडभाड हुँदैछ?’
‘हुन्छ नि। मान्छेको काम परिहाल्छ।’
‘त्यही त।’
शिशिरसँग गफ गर्दै जाँदा उसको मुटुको चाल बल्लबल्ल नर्मल हुँदै गयो।
‘केही प’रो भने भन्नू न,’ स्वागत कार्यक्रममा भनेको शब्द शिशिरले त्यतिबेला पनि फेरि दोहोर्यायो, ‘म पनि सहयोग गर्छु नि आवश्यक पर्यो भने।’
जवाफमा आर्सिमाले केही पनि लेखिन।
‘तपाईंको अमूल्य समय मैले नष्ट गरें,’ फेरि उताबाट शिशिरको म्यासेज आयो, ‘सरी है बैनी। समय पनि अलि बितेछ। बिदा चाहन्छु।’
जवाफमा आर्सिमाले दुई अक्षरको एउटा शब्द मात्र लेखी, ‘हस्।’
उसले अलिबेरमा देखी, अनलाइनबाट शिशिर हरायो।
‘अनलाइनको पहिलो भेटमै उसले मलाई ‘बहिनी’ भनेर बोलायो,’ आर्सीमाको मनमा कुरा खेल्नथाले, ‘साइनोभित्रका दाजू नाता पर्नेहरूले मात्र अहिलेसम्म म्यासेन्जरमा मलाई ‘बहिनी’ भनेर सम्बोधन गर्थे। ऊ मेरो कुनै नाताभित्रको मान्छे पनि पर्दैन। मेरो गाउँले पनि होइन। उसको र मेरो बीचमा गोरु बेचेको साइनो पनि छैन। अनि उसले मलाई किन ‘बहिनी’ शब्दले पुकारेको?’
‘समय खर्च गरेकोमा उसले किन मसँग माफी मागेको होला फेरि?,’ अर्को मनले सम्झी, ‘केटाहरू केटीसँग सकेसम्म लामो समयसम्म बोलिरहोस् भन्ने चाहन्छन्। बोल्दाबोल्दै मनपेट बुझेर छिल्लिन पाए भने त झन् रात गएको पनि थाहा पाउन्नन् भालेहरू। तर, हाँसको बथानमा बकुल्लो कसरी भयो शिशिर?’
आफ्नो मनले आफैंसँग प्रश्न गर्यो आर्सिमालाई।
कुरो रह्यो सहयोगको। सम्झी, ‘केटी पट्याउने सरल तरिका सहयोगको जाल फ्याक्नु हो। पहिले केही सहयोग गरेजस्तो गरेर नजिक बनायो। अनि बहाना बनाउन सजिलो पर्छ। ‘आवश्यक पर्यो भने सहयोग गर्छु नि,’ शिशिरले किन पटकपटक यो शब्द दोहोर्याइरहेको होला मलाई? कतै उसले पनि...?’
प्रश्नैप्रश्नको भूमरीमा परी आर्सिमा। चैत–वैशाखको हुण्डरी झैं उसको मन हुँडलियो भित्रभित्रै।
दिन बित्दै गए।
कोहीकोही बेला आर्सिमा र शिशिरको बीचमा म्यासेन्जरमा छोटो च्याट हुन्थ्यो। पहिले सामान्य औपचारिकताबाट सुरू भई अफिसको विषयमा गफ केन्द्रित हुन्थे। आर्सिमाले खासै नसोधे पनि अफिसमा सम्पादन गर्नुपर्ने कामको विषयमा शिशिरले बेलिविस्तार लगाउँदै जान्थ्यो। काम गर्दै जाँदा आइपर्नसक्ने समस्या र समाधानको तरिका पनि बताउँथ्यो। जसले आर्सिमालाई सहजता हुँदै गयो। समस्याबाट कसरी जोगिने, कानुनसम्मत तरीकाले कसरी काम गर्ने, छिटो छरितोसँग नागरिकलाई कसरी सेवा दिने जस्ता विषयमा शिशिरले गफलाई केन्द्रत गर्थ्यो।
कामको दौरानमा आउने समस्या समाधान गर्न म्यासेन्जरको वार्तालापले धेरै सहयोग पुर्यायो आर्सिमालाई पनि। हेर्न सजिलो होस् भनेर मुख्य-मुख्य कुरा उसले डायरीमा नोट गर्दै पनि गई।
अनावश्यक गफ नगर्ने, समयको ख्याल गर्ने, गफमा सधैं सभ्य र शिष्ट भाषा मात्र प्रयोग गर्ने शिशिरको बानीले आर्सिमालाई पनि विस्तारै प्रभाव पार्दै लग्यो।
वर्षाको समय बित्दै गयो। धेरै दिनदेखि परेको मुसलधारे पानी रोकियो। खेतका समथर फाँटमा धानको हरियाली मौलाउन थाल्यो। हिलोमैलो हटेर वातावरण पनि स्वच्छ। हिजोसम्म बहुलाउने खोलानाला पनि शान्त र सुरम्य तालमा बग्न थाले।
आर्सिमाको मनभित्र झांगिएको शंकाको बाढी पनि केही मत्थर हुँदै गयो।
शनिबारको दिन थियो। बेलुकी खानापछि आर्सिमाले भान्साको धन्दापात सकी। दिनभरिको तातो घामले कोठा हपहपी छ। हावा पनि फिट्टो चलेको छैन। पंखा चलायो, अनुहार पोल्ने लु फाल्छ। बेला-बेला मच्छरले संगीत सुनाउँछ त्यही मौकामा। झ्याल खोलेर पर्दा हटाई। पूर्वबाट बत्तिएको हावाको एउटा झोक्का धन्न उसको शरीरलाई स्पर्श गर्दै कोठाभित्र छिर्यो।
‘प्राकृतिक भनेको प्राकृतिक नै हो,’ सम्झी, ‘यसको अगाडि कृत्रिम निरीह हुन्छ।’
अर्को झोक्का हावा उसको कोठामा छिरिसक्दा उसका हात मोबाइलमा पुगिसकेका थिए। कोठामा पुगेपछि बेलुकी एकछिन फेसबुक नखोली चित्तै बुझ्दैन आर्सिमालाई पनि। सधैं झैं ओछ्यानमा ढल्किएर फेसबुक खोली। नोटिफिकेशनको घण्टीसँगै म्यासेजको घण्टी पनि गुञ्जियो। हेरी, शिशिरको म्यासेज पनि भर्खर आएको रहेछ। आज पनि कार्यालयकै विषयमा गफ होला भन्ने सम्झिएर त्यसमा डबल क्लिक गरी।
‘बहिनी’ मात्र लेखिएको रहेछ।
‘हजुर सर’ टाइप गरेर उता हुत्याई।
‘बहिनी आज अलि फरक विषयमा गफ गरौं है,’ शिशिरको म्यासेज आयो, ‘तपाईंका बुवा–आमा के गर्नुहुन्छ? दाजुभाइ दिदीबहिनी कति जना? के पेशा व्यवसायमा?’
‘मेरो व्यक्तिगत र पारिवारिक कुरामा किन चासो होला उसलाई,’ एक मनले त नबोलूँ कि जस्तो पनि लाग्यो आर्सिमालाई। फेरि सम्झी, ‘होइन अहिलेसम्म भएको च्याटमा त्यस्तो नराम्रो र स्वार्थीपन देखिएको छैन शिशिरमा। बरु मलाई जागिरको सवालमा सहयोग नै पुगेको छ। उसले सोधेको यति सानो जिज्ञासा किन नमेट्नु?’
शिशिरको जिज्ञासाबारे छोटकरीमा लेखेर पठाई आर्सिमाले।
‘बहिनी, मेरो घर त टाढा छ पहाडमा,’ शिशिरले लेखेको लामो म्यासेज आयो फेरि, ‘मेरो त बुवा–आमा दुवै बितिसक्नुभयो। तीन जना दिदीबहिनीमा जेठी दिदी पनि भर्खरै बित्नुभयो। छोरा म एक जना मात्र। नानीहरू भने म्याडमले धेरै दुःख गरेर हुर्काउनुभयो। मैले त सानामा धेरै दुःख पाएँ बहिनी। सहयोगी हातहरूको भरथेगले मात्र यो ठाउँमा आइपुगेको। चोटमाथि चोट परेको छ बैनी मलाई त जीवनमा।’
आफ्नो अतीतबारे शिशिरले लेखेका यी शब्दले आर्सीमाको मुटुमा कताकता च्वास्स छोयो।
‘सर हजुर कति साले हो, भन्न मिल्छ?,’ उसले अहिलेसम्मको दोस्रो जिज्ञासा राखी।
‘म त नयाँ शिक्षा लागू भएकै साल जन्मिएको रहेछु बहिनी,’ शिशिरले लेख्यो, ‘आजभन्दा तीन वर्ष अगाडि मेरो जन्मदिनकै दिन पुस ४ गते मेरा बुवा खस्नुभयो। त्यही भएर म जन्मदिन कहिल्यै सम्झिन्न बहिनी। जन्मदिन सम्झिँदा नराम्रो लाग्छ। फेसबुकमा साथीहरूले शुभकामना पठाउँछन्। तर, कहिल्यै लाइक र जवाफ फर्काउँदिन। यो कुरा मैले बहिनीलाई मात्र भनेको। अहिलेसम्म कसैलाई पनि भनेको छुइन।’
‘साह्रै दुःखद् खबर सर,’ आर्सिमाले मन अमिलो बनाउँदै लेखी, ‘आफ्नो दुःख आफैंसँग राखेर रमाउनुपर्छ सर।’
जवाफमा लाइकको हरियो सिम्बोल पढायो शिशिरले।
‘मेरो बाबा चाँहि हजुर जन्मिएकै साल जन्मिनुभएको रहेछ, वैशाखमा,’ आर्सिमाले लेखी, ‘सरभन्दा ९ महिना जेठो हुनुहुँदोरहेछ हाम्रो बाबा।’
‘हो?’
‘हजुर।’
‘ममीले कति चिन्ता लिनुहुन्छ होला है बैनीको? कस्तो ठाउँमा छे मेरी छोरी? कति दुःख पाउछे होला। सहयोग गर्ने पनि कोही छैनन् भनेर।’
‘सबैले लिन्छन् सर,’ आर्सिमाले जवाफ पठाई, ‘हजुरबाले दिनमा एक चोटी कल गर्नुहुन्छ। ममीले बरु कोही-कोही बेला मात्र।
घरमा नानीहरूले उस्तै गर्छन्। मलाई भेटेपछि छोड्दैनन्। पछिपछि हिँड्छन्। यता आउने बेलामा ‘नजानू न’ भन्दै मेरो हात समाएर रुन्छन्। उनीहरूसँग सँधै भागेर हिँड्छु म त। साह्रै माया गर्नुहुन्छ नि सबैले। कतारभन्दा नि टाडा भइसकी भन्दै हुनुहुन्थ्यो अस्ति।’
‘यस्ती नम्र र शालिन मान्छेलाई किन माया नगरुन् त बैनी?,’ शिशिर बोल्यो।
‘खोई आफूलाई त्यस्ती छु जस्तो त लाग्दैन।’
‘फूलले आफ्नो सुन्दरता र सुगन्ध कहाँ थाहा पाउँछ र बैनी!’
‘तपाईं जस्ती छोरी जन्माउने बाबा–ममीलाई मनदेखि नै नमन गर्छु बैनी।’
‘धेरै धेरै धन्यवाद सर।’
‘बहिनी समय निक्कै बित्यो। बिदा ल।’
‘हस् सर,’ त्यसदिन आर्सीमाले अन्तिममा लेखी, ‘हुन्छ। शुभरात्री सर।’
शिशिरसँगको त्यस दिनको वार्तालापले आर्सिमाको टाउको धेरै हलुंगो भयो।
काम परेर हेडअफिस जाँदा शिशिरसँग उसको भेट भयो। म्यासेन्जरमा बोलेजस्तो सजिलो त अगाडि भेट्दा कहाँ हुन्छ र? शिशिरलाई भेट्नासाथ आर्सिमाको अनुहार रातो भयो। त्यसैत्यसै डर लागेर धेरै बोल्नै सकिन। संकोच उस्तै। सामान्य औपचारिकता निभाएर त्यहाँबाट फुत्किई।
‘उसको अगाडि पर्दा किन मलाई यति धेरै संकोच लागेको होला?,’ दिनभरि आर्सिमाको मनमा कुरा खेले।
भोलिपल्ट बेलुकी फेरि शिशिरसँग म्यासेन्जरमा भेट भयो आर्सिमाको।
‘बहिनी।’
‘हजुर सर।’
‘बहिनीको जागिरे जीवन भर्खर सुरू भएको छ। समयान्तरमा उचाइ लिँदै जानेछ यसले पनि। तर, समाजको लागि के गर्ने? यसको बारेमा पनि सोच्नुपर्छ है। आर्सीमा एउटा कर्मचारी मात्र हैन, सामाजिक क्षेत्रकी एउटी कुशल नक्षत्र हो भनेर भोलिको समाजले सम्झिने बन्नुपर्छ। त्यसको लागि अहिलेदेखि सोच्नुपर्छ है बहिनी।’
‘खै सर, यसबारेमा त खासै सोचेकै छुइनँ।’
‘बैनीलाई साहित्य कतिको मन पर्छ?’
‘मनपर्छ नि।’
‘लेख्ने पनि गर्नुभएको छ?’
‘कलेज पढ्दा पहिले-पहिले त कविता लेख्थें नि। तर, धेरै भयो छोडेको।’
‘ओहो ! कति राम्रो बानी। तपाईंले कविता लेख्न फेरि थाल्नुपर्छ। आफूलाई जुन विषयमा बढी चासो र रुची हुन्छ, त्यही विषयमा हात हाल्नुपर्छ। नछोड्नू है बैनी कवितालाई। साधना गर्नूस् फेरि यसको। मलाई आशा छ, बहिनीलाई यसले राष्ट्रमा एक दिन अवश्य चिनाउनेछ।’
‘आशिर्वाद लागोस् सर हजूरको,ֺ’ नमस्तेको पाँच वटा सिम्बोल पठाई आर्सिमाले।
एकछिन शिशिरले केही लेखेन।
‘भोलि एकपल्ट मलाई भेट्नू है बहिनी,’ शिशिर बोल्यो, ‘तपाईंलाई केही चिज दिनुछ।’
‘के दिनुहुन्छ?’
‘अहिले नै भन्यो भने त्यसको महत्व नै हुँदैन नि।’
‘हस्। हुन्छ।’
‘के दिने होला त शिशिरले?,’ रातभरि उसको मनमा कुरा खेलिरहे।
‘बहिनी यी,’ इलामे झोलाको सानो पाकेट हातमा राखिदिँदै शिशिर बोल्यो, ‘दाइको तर्फबाट सानो कोसेली ल्याइदिएको छु। लानू ल।’
अफ्ठ्यारो मान्दै आर्सिमाले समाई। हेरी, त्यतिबेला शिशिर बाइकमा पर पुगिसकेको थियो।
बाटाभरि उसको मनमा कौतुहल भयो। कोठामा पुगेर कोसेलीको झोला खोली।
इलामे छुर्पी र ललिपपका पाकेटहरू रहेछन्। उसलाई सबभन्दा मनपर्ने चिज।
‘मलाई मनपर्ने मिठाइ यही हो भनेर उसलाई कसरी थाहा भयो?,’ सम्झी, ‘छुर्पी पहिले खाँदा नमिठो हुन्छ। कडा पनि। स्वाद पनि केही थाहा पाइन्न। तर, मुखमा राखेर चपाउँदै जाँदा विस्तारै मिठो हुँदै जान्छ। अनि नसकियोस् भन्ने लाग्दालाग्दै सकिन्छ। सायद शिशिर र मबीचको चिनजान पनि यस्तै होला।’
‘धेरै-धेरै धन्यवाद सर, कोसेलीको लागि,’ बेलुकी आर्सीमाले म्यासेन्जरमा आभार प्रकट गरी।
‘भइहाल्छ नि,’ शिशिर बोल्यो, ‘बहिनी आज म एउटा कुरा भन्छु है।’
‘के कुरा होला त्यस्तो?,’ आर्सीमाको छाती ढक्क फुल्यो।
‘बहिनीलाई मैले आफ्नै बहिनी मानेको छु,’ शिशिर लेख्दै गयो, आर्सीमा पढ्दै गई, ‘बहिनीलाई म सँधै ‘बहिनी’ भनेर बोलाउँछु।
अनि आफू चाँहि ‘सर’ भन्ने? ‘सर’भन्दा मलाई टाडाको सम्झिएजस्तो लाग्छ। उमेरले जेहोस्, तर म ‘बहिनी’ नै भन्छु है।’
‘होइन सर,’ आर्सिमा बोली, ‘हजूर मेरो बाबा समानको हुनुहुन्छ। अनि मलाई ‘दाइ’ भन्न अफ्ठ्यारो लाग्छ।’
‘त्यसो भए ‘अंकल’ भन् न त बाबा,’ शिशिरले पहिलोपल्ट ‘तँ’ भनेर बोलायो।
‘हुन्छ,’ आर्सिमाको मनदेखि अनायस निस्किएको एउटा शब्द अक्षर बनेर म्यासेन्जरको वालभरि टाँसियो।
‘नानी, नाता दुई खालको हुँदोरहेछ,’ शिशिर बोल्दैगयो, ‘रगतको नाता र भावनात्मक नाता। रगतको नाताभित्र भावनात्मक नाता छैन भने त्यो नाता देखावटी मात्रा हुँदोरहेछ। तर, रगतको साइनो नभए पनि भावनात्मक नाता छ भने त्यो सम्बन्ध अजर–अमर हुँदोरहेछ। नानी र म बीचमा यस्तै नाता कायम रहिरहोस् है जीवनमा सँधै।’
‘अवश्य अंकल, निश्चय नै,’ आर्सीमाले पनि पहिलोपटक ‘अंकल’ भनेर सम्बोधन गरी शिशिरलाई।
‘हेर नानी, तँ कहाँकी मान्छे, म कहाँको,’ शिशिर बोल्दै गयो, ‘संयोगले हाम्रो भेट भयो। हामीबीचमा धेरै कुरा मिलेजस्तो लाग्छ।’
‘तँ चिया पिउँदिनस्। म पनि कहिल्यै पिउँदिन।’
‘तँ मध्यपान र धूमपानको नामै सुन्न मान्दिनस्। मैले पनि अहिलेसम्म कहिल्यै लिएको छैन।’
‘तँ एकान्त मन पराउँदिरछेस्। म पनि एकान्तप्रेमी नै।’
‘तेरो पनि शरीरको कद सानो छ। म पनि उस्तै।’
‘तेरो अगाडिको माथिल्लो दाँत छिचरो छ। मेरो पनि ठ्याक्कै त्यस्तै।’
‘तँ पनि समयलाई धेरै ख्याल गर्दिरछेस्। म पनि उस्तै।’
‘तँ धेरै शालिन र मृदुभाषी छेस्। म पनि भावुकताको शिकार छु।’
‘यस्तैयस्तै समान कुराले होला, तँ र मबीचको दूरीलाई घटाएको,’ शिशिर बोल्दै गयो, ‘यति छोटो अवधिमै हामीबीचमा आत्मीयता र हार्दिकता जोडियो। तँ जस्ती शालिनताकी प्रतिमूर्तिसँग भावनात्मक साइनोमा गाँसिन पाउँदा म पनि गौरवान्तित भएको छु नानी।’
‘धन्यवाद अंकल,’ आर्सिमा पनि भावुक भई, ‘यस्तो बिरानो ठाउँमा तपाईंको साथ-सहयोग पाएँ। घरदेखि टाडा हुँदा नि कोही न कोही चाँहि आत्मीय व्यक्ति भेटिँदोरहेछ भनेर ढुक्क भएँ।’
‘नानी, मसँगको धक, संकोच र अड हटा है अब,’ शिशिरले भन्यो।
‘त्यस्तो धेरै छैन नि त अचेल,’ उसले भनी।
‘धेरै छैन भन्नुको तात्पर्य केही बाँकी छ भन्नु हो,’ शिशिर बोल्यो, ‘त्यो बाँकी रहेको पनि मनबाट हटाउनु पर्यो नि।’
‘कोसिस गर्छु अंकल।’
‘तेरो मनमा रहेको मप्रतिको संकोच र शंकाको बादल हटाउन म पनि प्रयत्नशील रहनेछु,’ शिशिरले सुझायो, ‘अब म छिट्टै तलाईं यो विषयमा पूर्ण सहयोग गर्नेछु।’
‘हुन्छ अंकल,’ आर्सीमाको मुखबाट शब्द त फुत्कियो, तर शिशिरको मुखबाट निस्किएका यी शब्दले के भन्न खोजेको होला? उसको मनमा कौतुहल पैदा भयो।
‘नानी, मेरो मनमा एउटा कुराको चाँहि तुष बाँकी छ है,’ शिशिरले सांकेतिक भाषामा भन्यो, ‘कुनै दिन सोधिस् भने भन्नेछु। तर, अहिले नै होइन।’
‘कहिले भन्नुहुन्छ,’ सोधी, ‘भन्नू न। अनि के कुरा हो?’
शिशिरले केही लेखेन यस विषयमा।
‘के होला यस्तो?,’ अबेरसम्म आर्सिमाको मनमा कुरा खेलिरह्यो। तर, कति सोच्दा पनि त्यसको भेउ पाउन सकिन उसले।
हप्ता दिन बित्यो।
‘तलाईं केही कुरा दिनुछ,’ एक बेलुकी फेरि शिशिरले आर्सिमालाई भन्यो, ‘नानी, यो आउने शनिबार मलाई भेट् है।’
‘हुन्छ,’ आर्सिमाले लेखी, ‘तर के दिनुहुन्छ भनेर यसपल्ट चाँहि सोध्दिनँ अंकल।’
‘अहिले नै भन्यो भने त्यसको महत्व नै हुदैन नि,’ शिशिरले अगाडि नै भनेको कुरा उसले झल्यास्स सम्झिई।
‘बाठी,’ शिशिर बोल्यो।
‘अन्त।’
दिल खोलेर हाँसेको तीन वटा सिम्बोल पठाई आर्सिमाले पनि।
त्यो शनिबार निर्धारित समयमा शिशिर र उसको भेट भयो। धेरै आशा, केही कौतुहल अनि अलिअलि संकोच, डर र शंकाको भारी बोकेर आर्सीमा शिशिरको अगाडि परी।
शिशिरले कम्प्युटर खोल्यो। आर्सीमाको लागि उसले कतिदिन लगाएर रोडम्याप तयारी गरेको रहेछ। जागिरे जीवनमा गर्नुपर्ने कार्यहरू, आइपर्नसक्ने समस्या, अनि समाधानका उपाय, वार्षिक कार्ययोजना लगायत सिंगो रोडम्याप आर्सीमासामु प्रस्तुत गर्यो। शिशिरले व्याख्या गर्दैगयो। छलफलबाट आर्सिमाले बुझ्दै गई। कलेजको क्लासमा हो कि? तालिमको हलमा? पाँच घण्टा बितेको आर्सिमालाई पत्तै भएन।
शिशिरको अध्ययन, अनुभव र भोगाइबाट सिर्जना भएको रोडम्यापबाट आर्सिमाको आँखा खुल्यो। जागिरे जीवनमा परिपक्क भएको अनुभव गरी उसले त्यो क्षण।
‘अब सजिलै काम गर्न सक्छु’ भन्ने हिम्मत जागेर आयो मनमा।
‘नानी, कस्तो लाग्यो रोडम्याप?,’ गम्भीर हुँदै शिशिरले सोध्यो।
‘एकदमै उपयोगी, अनि मार्गदर्शन पनि,’ आर्सिमाले मनको कुरा भनी, ‘तपाईंले मेरो लागि यति धेरै मरिमेट्नुभयो। अब कसरी तपाईंको गुन तिर्नू?’
आर्सिमा भावुक भई। उसको छातीमा आत्मीयता र संकोचको गाँठो अड्किएजस्तो भयो। यसलाई कसरी फुकाउने होला? सोचमग्न भई। एकदम सोचमग्न।
हो त्यतिवेलै शिशिरका दुवै हात उसको बाँया गोडा समाउन पुगिसकेका थिए।
‘लाऽ तपाईंले यो के गर्नुभ’को?’
‘नाई क्या !’
‘छोड्नू न प्लिज।’
‘यस्तो किन गर्नुभ’को?’
आर्सिमाले बाँया गोडा हटाउने कोसिस गरी। तर, सकिन। त्यति भनिनसक्दा शिशिरको निधारमा उसको गोडाले पहिलो स्पर्ष गरिसकेको थियो। ऊ उभिएकी थिई उत्तरतिर फर्केर। शिशिर दुवै घुँडा टेकेर जमिनमा लम्पसार परेको। शिशिरले आफ्नो बायाँ गोडालाई समातेर उसको निधारमा पुर्याउन्जेल त आर्सीमाले रोक्न खोजेकी थिई। तर, जब शिशिरले दायाँ गोडा पनि दुवै हातले च्याप्प समातेर उसको निधारमा राख्यो, उसले केही प्रतिवाद गरिन। त्यही भएर होला, आर्सिमाको नरम र मुलायम गोडा शिशिरले निकैवेर आफ्नो निधारमा राख्यो। झन् कसिलोसँग समातेर निधारमा एक पटक बेस्सरी दबायो।
विस्तारी उभिँदै गोजीबाट दक्षिणा झिक्यो। आर्सिमाको दाहिने हात समातेर त्यसमा राखिदियो। अनि आफ्नो देब्रे हातले आर्सिमाको दाहिने कुमनेर स्नेहले केहीबेर थपथपायो।
‘नानी तलाईं मैले आजदेखि छोरी मानें।’
‘हामीबीचमा रगतको साइनो नभए नि तँ आजदेखि मेरी छोरीसरह भइस्।’
‘अंकललाई सधैं-सधैं सम्झिनू है।’
आफ्नो कुममा शिशिरको न्यानो स्पर्ष सँगसँगै उसको निश्छल भावनाबाट छचल्किएका यी वाणीले आर्सिमाको सुकोमल दिल पनि एकसाथ पग्लियो। शिशिरका आँखामा हेरी। वसन्तमा ढकमक्क फुलेको गुराँस झैं पितृवात्सल्य छताछुल्ल भएको। घुमाउरो नजरले फेरि नियाली। उही धीर गम्भीर। झिम्म नगरी उसैलाई हेरिरहेको, आँखा र मन दुवैले।
आँखासँग आँखा जुधे। एक–अर्काले भाका बुझे। मस्तिष्क र हृदयको मिलन भएपछि आर्सिमाको मनमा रहेको शिशिरप्रतिको शंका हेर्दाहेर्दै क्षतविक्षत भयो, साउन–भदौमा लागेको भुइँकुहिरोलाई बतासले सातसुत उडाएजस्तै। अनि शंकाको पर्दा हटेपछि आर्सिमाले शिशिरमा बाबाको प्रतिबिम्ब देखी।
रगतको साइनोले नबाँधिदा पनि भावनाको नाता कति महान र नि:स्वार्थी हुँदोरहेछ भन्ने यथार्थ बल्ल बुझी आर्सिमाले। अनि छोरा मान्छेभित्र पनि सुकोमल हृदय हुँदोरहेछ भन्ने पनि।
जब-जब समस्या आइपर्छ, आर्सिमा अहिले पनि उही रोडम्याप पल्टाउँछे। अन्तिम पातोमा रहेका बक्सभित्रका यी हरफले जीवनमा उसलाई घरिघरि झक्झक्याइरहन्छ –
‘सगरमाथा चढ्न हिम्मत गर्नेले उकालोसँग डराउनु हुँदैन।’
‘इच्छाशक्ति र आत्मविश्वास एक–अर्काका परिपूरक हुन्।’
‘नम्रता र शालीनता नै सफल जीवनको पहिचान हो।’
‘समस्यारुपी नदीमा अध्ययन, अनुभव र भोगाइको डुंगा चढेर पार गर्नखोज्ने मानिस नै सफलताको बगैंचामा पुग्नसक्छ।’
उसले धेरैपल्ट खोजी। तर एउटा जिज्ञासा भने अझै मेटिएको छैन उसको।
‘नानी, मेरो मनमा एउटा कुराको चाँहि तुष बाँकी छ है,’ कुनै दिन शिशिरले भनेको घरीघरी सम्झिन्छे। तर, त्यसको जवाफ अहिलेसम्म भेटिएको छैन, आर्सिमाको रोडम्यापमा।
गम्भीर हुँदै अनि आफैंसँग प्रश्न गर्छे, ‘आखिर शिशिर अंकलको मनमा रहेको एउटा तुष चाँहि के थियो होला त?