एक समय आफूलाज्ञ सर्वज्ञानी ठान्ने भ्रम पालेका नेता भव्य रेस्टुरेन्टमा खाजा खान पुगे।
वेटरहरू चारैतिर छरिएका थिए। एक पोख्त वेटर उनको नजिक अर्डर लिन पुगे।
अर्डर अनुसारको सप्लाइ दिए।
खानेकुरामा नेताज्यू असन्तुष्ट भए। अनि तुरुन्तै किचकिच सुरू भो। मैमात्र जान्ने सुन्ने नेतालाई अर्डर मुताबिकको खाजा अपाच्य भयो।
नेता अलिक सन्की थिए, गाली पनि दिए।
वेटर नियाउरो मुख लाउँदै रेस्टुरेन्टको काउन्टरतिर लम्किँदै गर्दा एकाएक उनको मुखबाट ‘उल्लुको पट्ठा’ भन्ने शब्द चिप्लिन पुग्यो।
यता नेताजीको कानमा नपर्ने कुरै भएन।
अनि सुरू भयो हंगामा।
नेताले आफ्नो औकात देखाइ छाडे। अन्त्यमा वेटरले माफी मागे। नेता जीलाई त्यतिले पुगेन, केस हालेर कठघरामा उभ्याउने सनक चढ्यो।
अन्तत: केस हाल्ने निर्णय लिई छाडे।
त्यो आवाज कतै रेकर्ड थिएन, थियो त केबल कानमा मात्रै।
त्यसकारण साक्षी बक्नुपर्ने मान्छे चाहिन्थ्यो। नजिकै टेबलमा बसिरहेका थिए चाकडीबाज मुल्ला नरुसिद्दिन।
उनले भने- त्यो आवाज तिमीले सुन्यौ त मुल्ला?सुने हजुर सुने। साक्षी बक्छौ/ दिन्छौ अदालतमा ?
दिन्छु हजुर अवश्य दिन्छु। मुद्दा चल्यो बहस भयो ती वेटरको पहिला पालो आयो उनी उभिए कठघरामा।
सोधियो प्रश्न- तिमीले नेता जीलाई ‘उल्लुको पट्ठा’ भनेको हो?
‘मैले उल्लुको पट्ठा भनेको सही हो तर कसैको नाम किटेर भनेको छैन। झनै नेता ज्युलाई भनेको हुँदै होइन’
‘सम्माननीय न्यायाधीशज्यू, तपाईं सोध्न सक्नु हुन्छ त्यो दिन करिब पचास जना रेस्टुरेन्टमा आसिन हुनुहुन्थ्यो। मैले नेता ज्यूको नाम किटान गरेकै छैन।’ साक्षी बक्दै जाँदा उपस्थित उनन्चास जनाले नाम किटान नगरेको भन्ने तथ्य पस्किए, बहुमत पुग्यो।
बाँकी थिए त केबल चाकडीबाज मुल्ला नरुसिद्दिन।
मुल्ला कठघरामा उभिएर ‘सत्य, सत्य बोल्छु सत्यको सिवाय केही बोल्दिनँ’ भने।
नेताका चाकरीबाज मुल्लालाई केबल केस जिताउन थियो। नेताले उनलाई जसरी पनि केस जित्नको लागि अन्तिम साक्षीवक्ता मुल्लालाई चुनेका थिए। त्यसैगरी नेता पनि मुल्लाले साक्षी बक्दा पक्कै जित्नेमा आशावादी थिए।
मुल्लालाई पुनः त्यही प्रश्न गरियो।
‘के उनले नेताजीको नामै किटेर उल्लुका पट्ठा भनेका थिए मुल्ला ?’
मुल्ला: एक छिन सोचेर उनले साक्षी बक्न सुरू गरे।
नामै किटेर उल्लुका पट्ठा ती वेटरले भनेका थिएनन्, त्यो सत्य हो। तर त्यो हलमा उहाँबाहेक अरु उल्लुका पट्ठा कोही थिएन यो अकाट्य सत्य हो। तसर्थ उल्लुका पट्ठा नेतालाई नै भनिएको हो भन्ने जिकिर राख्दै साक्षी बके।
चाकरीबाज साक्षी बक्दा नेताज्यु केस जित्न त सफल भए तर आफैं उल्लुका पट्ठा प्रमाणित भएको भने पत्तो पाएनन्।
चाकरीबाज मुल्ला नरुसिद्दिन।