चिनी नलागेको चिया, उही बासी ब्रेड
हे भगोवान्! यो होस्टेलको जिन्दगी
यस्सो महिनापछि राष्ट्रिय पत्रिका देख्दा
हर्षोल्लित यो मन!
टक्क कूर्चि तानेर
पत्रिका पल्टाउँदै छन् यी आँखा
दोस्रो पृष्ठमा
चिनेको पासपोर्ट साइजको फोटो
प्रदेश स्तरकी भलिबल खेलाडी उनी
ल फेरि पनि ठूलै कृतिमान रचिछन्,
मेरो सोच!
शिर्षक पढ्दा दिमाग भक्कानिएर आयो
चार युवकद्वारा एक किशोरी बलात्कृत!
नाम पवित्रा उनको, तर अहिले
शव नै अपवित्र बन्यो, यो समाजलाई
महान् ज्ञानीहरुले न्यायको तराजुमा
उनकै गल्ति भेट्टाए अरे!
ती चार राक्षसले त उनको खरानीमा पनि
कति अङ्गहरु खोतल्दै होलान्
कतै समाउन मिल्छ की,
कतै चलाउन मिल्छ की!
कति त्यस्ता पवित्रा
अपवित्र बने होलान्
तर, के ती शव साँच्चै अपवित्र हुन् त?
अहँ, कदापी होइन!
अपवित्र हुन् त, ती क्रुर नजर
यदि ती शव अपवित्र हुन् भने,
सम्पूर्ण नारी अपवित्र हुन्
अपवित्र हो मानव जातिको सृष्टी
र सायद मानवरहित यो पृथ्वी नै
पवित्र बन्ला यो समाजलाई!
कहिलेकाहीँ लाग्छ मानवजाति नै नभएको भए
न पुरुष हुन्थे, न डराएर हिँड्नुपर्ने हामी नारी हुन्थ्यौँ
डर, केको डर, कोसँग डर
प्रश्न छन् कतिको मनमा
जतिसुकै चर्को स्वरमा मञ्चमा बोलुम्
सुनसान गल्लीमा पुरुषको छायाँ देख्दा
डर आउँछ मनमा
किनकी थाहा छ मलाई,
बोली सुन्ने निहुँमा ममाथि गिद्धेदृष्टि लाउनेको
कमी छैन यहाँ
एकान्तमा मेरो हात समाउनेको
कमी छैन यहाँ
माइक्रोबसमा जानि-जानि ठक्कर दिनेको
कमी छैन यहाँ।
र मनमा अर्को पनि डर छ
डर छ की, कतै सम्पूर्ण पुरुषजातबाटै
विश्वास त हट्ने हैन
फेरि पनि कालीको अवतारमा
पृथ्वी संहार त गर्नुपर्ने होइन
फेरि पनि यो पृथ्वी आगोको गोलामै
सीमित त रहने होइन।