मेरो देशमा एउटा वृद्ध डाक्टर छन्
मरिचका घाउका निःशुल्क दबाइ बनेका
वर्षौँदेखि थलिएको मेरो देशलाई
पुनः कहिल्यै नथलिने गरी उपचार गर्न चाहन्छन्
उपेक्षित पहाडका प्रत्येक झुपडीहरूले
उनको महानता बुझेका छन्
मधेसका दुर्गम बस्तीका हरेक दर्दहरूले
उनको मलमको स्पर्श महशुस गरेका छन्
तर मेरो देशका विद्वान मन्त्रीहरूले
तिनै वृद्ध डाक्टरलाई बिरामी भन्दिए
चिर निन्द्रामा सुतेका महान् प्रतिपक्षी नेताहरू
चर्को, अपत्यारिलो नारा घन्काउदैछन्
'जिन्दावाद वृद्ध डाक्टर'
खोइ किन हो तिनै प्रतिपक्षीहरू
जब शासनको लचकदार कुर्सीमा आसिन हुन्छन्
तब तिनले पनि वृद्ध डाक्टरको आवज सुन्नै सक्दैनन्
निमुखाहरूको घाउको मलम बन्दाबन्दै
कुलिनहरूको आँखाको तारो बन्न पुगेका
ती वृद्ध डाक्टरलाई विरोधी ठान्दछन्
मेरो देशको वर्ग सङ्घर्षका महान कमान्डरहरूले
ती वृद्ध डाक्टर,
न त चार ताराका लागि न लाल किल्लाका लागि
न त कुनै मान, पदवीका लागि
तिनी त केबल तपाईका लागि, मेरा लागि,
हामीजस्ता करोडौँका लागि
हाम्रा सन्तान दरसन्तानका लागि
निराहार, एउटा कठिन लडाइँमा उत्रिएका छन्
शासकको बन्दुकले पनि तर्साउन नसक्नेगरी
एक्ला साहसी योद्धा बनेर।