छिमेकीको वाइफाइबाट फेसबुकमा बरालिरहेको थिएँ। 'समय कति बलवान हुँदो रहेछ। १० रुपैयाँको मास्कले करोडौँको हाँसो छोपेर हिड्नुपर्छ भन्ने कसलाई थाहा थियो र!´ जय दाइको स्टाटस पढ्दा साँच्चै हो जस्तो पनि लाग्यो। फेरि आफ्नै इकोनोमिक स्टाटस सम्झिएँ। बेरोजगार भएको करिब ६ महिना भैसकेको थियो। म विल्कुल श्रमजीवी मान्छे, गोजीमा पाँच रुपैयाँ पनि नभएको महिनौँ भयो।
मनमा एउटा फेसबुक स्टाटस फुर्यो 'करोडौँको वेदना छोप्न १० रुपैयाँकै मास्क काफी छ।´ तर पोष्ट गरिहाल्न मन लागेन। सरकारी जागिर हुनेहरू ढुक्क थिए। आफू परियो प्राइभेट जागिरवाला। शिक्षक, त्यो पनि बोर्डिङ स्कुलको। अरूबेला पनि आधा तलबमा काम गर्नुपर्ने आफ्नो जागिर, विद्यालय नै संचालन नभएको बेलामा त झन् पाउने कुरै भएन।
बोर्डिङ स्कुललाई छानी-छानी क्वारेन्टाइन बनाएको नगरपालिकाले बोर्डिङ स्कुलमा कार्यरत शिक्षक कर्मचारीहरूको दु:ख, पिर मर्कालाई सम्बोधन गर्नुपर्छ भनेर सोच्नसम्म पनि भ्याएन। लकडाउन भएको एक महिना पनि नहुँदै आफ्ना खल्तीका मान्छेहरूलाई नगरपालिका र वडाहरुले छानीछानी राहत बाँडेका थिए। आफू त्यो लिस्टमा पर्ने कुरै भएन।
महिना दिनसम्म प्रत्यक्ष कक्षा संचालन गर्न सम्भव नभएपछि विद्यालयले अनलाइन कक्षा संचालन गर्ने निर्णय गर्यो। मोबाइल डाटाबाट अनलाइन कक्षा संचालन गर्न महङ्गो पर्ने भएपनि गर्नै पर्यो। जागिरको सवाल थियो।
दुई महिना जति अनलाइन कक्षा संचालन गरेपछि न्यून विद्यार्थी उपस्थितिका कारण बन्द नै गर्नुपर्ने अवस्था आयो। अनि फेरि अन्योलकै अवस्था सृजना भयो। हातमुख जोर्न पनि समस्या भैरहेको थियो। जागिर नभएपछि छिमेकीहरूले विचरा भन्न थाले। कतिपयले त पैसो माग्छ की भनेर सामाजिक दूरी कायम गरेर हिड्न थाले।
दुई छाक टार्न गाह्रो भएपछि राहत सहयोग पाइन्छ की भनेर वडा अध्यक्षसँग सम्पर्क गरेँ। प्रत्यक्ष सम्पर्कमा उहाँले नगरपालिकामा भएको राहत सामाग्री पोखराको मानव सेवा आश्रममा लगेर वितरण गरिसकिएको, आफूले तत्काल कुनै सहयोग गर्न नसक्ने बताउनु भयो।
वडा अध्यक्षसँगको मेरो विलौना सुन्नु भएका मेरो एक जना आदरणीय दाजुले सहयोग गर्ने वचन दिनुभयो। साँच्चिकै त्यो दिन बेलुका पकाउने खाने कुरा केही थिएन। घरमा पत्नी र छोराछोरी मेरै प्रतिक्षामा बसेका थिए। छुट्टिने बेलामा दाइले मेरो हातमा एउटा पोको थमाइदिनु भयो। त्यो दिन दाइले दिएको दाल चामलले सजिलो गरी हातमुख जोरेर सुतियो।
जिन्दगीमा पहिलो चोटी राहत माग्नु पर्दा आफैलाई कस्तो नमज्जा लाग्यो। वैकल्पिक पेशा व्यवसाय नभएकोले यस्तो अवस्था आएको महशुस भयो। सरकारी जागिर खान नसकेकोमा आफैले आफैलाई धिक्कारेँ। तर आजसम्म प्राइभेट जागिर गरेपनि मलाई आफ्नो मिहेनत र पसिनामा बाच्न पाएकोमा गर्व लाग्छ।
सरकारी जागिर गरे पनि जागिरकै मात्रै भर पर्ने हो भने त्यो स्टाटस अनुसारको जीवनशैली बाच्न पनि गाह्रो-गाह्रो हुन्छ। तर यहाँ त्यही जागिरकै आडमा घर घडेरी जोड्न, छोराछोरीको धुमधामसँग बिहे गरिदिन र आफ्नो रवाफ देखाउन पाउँदा गर्व गर्छन् उनीहरू। हामीलाई बोर्डिङको मास्टर भनेर हेप्नेहरूले छोराछोरी त्यही स्कुलमा पढाउन पाउँदा भने खुसी हुन्छन्।
आफूसँगै पढेका साथीहरू नेपाल सरकारको अधिकृतको जागिर खाइसके। आफू दाम, इज्जत र सामाजिक सुरक्षा केही नभएको जागिरमा रूमलिनु पर्दा एकदमै आत्मग्लानी हुन्छ। जीन्दगीमा खुसी हुनका लागी आफूलाई अरूसँग तुलना गर्नै नहुँदो रहेछ। आफ्नै जीवनका सकारात्मक परिवर्तनहरू हेरेर खुसी हुनु सर्वोत्तम रहेछ भन्ने कुराहरू महशुस हुन थालेको छ।
शारीरिक श्रम गरेर खाने खालको आफ्नो जीउ पनि छैन। गरिआएको पेशाले गर्दा पनि झ्याप्पै अर्को पेशा अंगाल्न नसकिने रैछ। राहतका लागि हात फैलाईरहन पनि लज्जा बोध भयो। अरूको विचराको पात्र हुनु शिवाय अरू केही गर्ने जोर नचलेपछि मन एकदम निराश भयो।
दिनदिनै मेरो मरन्च्यासे अनुहार देखेपछि पत्नीले एउटा राहतको कुरा गरिन्। त्यो थियो, हातमुख जोर्ने समस्या टार्न मंगसुत्र बेच्ने। मलाई यो कुराले झन् आहत दियो। तर अर्को विकल्प पनि त थिएन मसँग। पत्नीले भनिन् 'सुन भनेको यस्तै दु:ख पर्दा काम चल्छ भनेर लगाउने त होनि। जति झपक्कै सुन लगाए पनि भोक लाग्दा खान र कपडा लाउनै पर्छ। लाउँदा र नलाउँदा मलाई कुनै फरक पर्दैन।´
त्यसपछि म मंगलसुत्र बोकेर बजारतिर हानिएँ। सुनको मूल्य लाखको वरपर भएकाले किनेको भन्दा बढी मूल्यमा बेच्न पाउँदा केही खुसी भएपनि पत्नीकै गहना बेच्न पर्ने अवस्था आउँदा आफ्नो नालायकपन उदाङ्गीएको महशुस भयो मलाई। यो रहर नभएर बाध्यता हो भनेर सम्झाएँ आफैलाई। तर मन अमिलिरह्यो।
हुँदा खाने भएपछि सबैले हेप्दा रहेछन्। विदेशमा रहेका केही आफन्तहरूसँग पनि सहयोग नमागेको होइन। अरूबेला राम्रै संवाद हुने उहाँहरूले पैसाको कुरा आएपछि कुनै प्रतिक्रिया नै दिनुभएन। लामो समयसम्म कुनै उत्तर नआएपछि मैले फेरि त्यो विषयमा कुरा नै गरीनँ। सरकार, जनप्रतिनिधि, आफन्त, साथीभाइ, इष्टमित्र चिन्ने भनेकै दु:खमा रहेछ।
गजुरेल महोदयले भने झैँ सरकार भनेको सररर कार चढेर आउने मान्छेहरूको जमात नै रहेछ। जनताको दु:ख, पिर, मर्का नबुझ्नेहरूनै जनप्रतिनिधि हुँदा रहेछन्। तेरो एक भोटले चुनाव जितेको हो र मैले भन्ने नाङ्गा नेताहरूको पनि कमी छैन यहाँ। चुनावको बेलामा साष्टाङ्ग दण्डवत गर्नेहरू आजभोलि नमस्कार गर्दा पनि फर्काउँदैनन्। अर्को चुनावमा अघाउनेगरी जवाफ दिनुपर्छ भनेर बसेको छु म।
विद्यालय कहिले चल्ने हो निधो छैन। त्यतिन्जेल बेरोजगार नै बस्नुपर्ने मेरो बाध्यता छ। सायद म जस्ता सबैको। विद्यालयले नो वर्क, नो पे भनिसकेको छ। अब त्यही गहनाद्रव्यले गुजारा चलाउनु छ।
सर्वाहारा जनताको नाममा राजनीति गरेर आफ्नै भुडी भर्न, शक्ति, सत्ताका र सम्पत्तिको लागि सबै नैतिकताहीन काम गर्न अभिसप्तहरूको जय होस्। रोगले मरे पनि भोकले कोही नमरून्। पशुपतिनाथले सबै नरपतिहरूको कल्याण गरून्।