धन्यवाद सरकार!
तेजाबले जलेका मेरा छालाहरुमा शितल मलम लगाएकोमा
डढेका मेरा पिरहरुलाई बुझेकोमा
धन्यवाद, भत्किएका मेरा आशहरुलाई विश्वासमा बद्लिएकोमा
धन्यवाद, गुमेको मेरा आत्मसम्मान फर्काएकोमा,
धन्यवाद छ सरकार!
ती ढुंगा नै पगाल्ने तेजाबको पीडामाथि
थपिएको उपचारको महंगी खप्न नसकेर
सम्झना दिदी झैँ सम्झनामै सीमित
कसैलाई बन्न नपर्ने वातावरण बनाएकोमा,
धन्य छ सरकार!
ती अन्धकारले ढाकेको मेरो भविष्यलाई प्रकाशतर्फ सारेकोमा,
धन्यवाद छ सरकार!
रुद्राक्षका माला चुडिएर छरिएको झैँ,
मेरा छरिएका सपनाहरुलाई एक-एक टिपेर जोगाइदिकोमा,
धन्यवाद सरकार!
आँसुसँगै रित्तिएका मेरा इच्छा/चाहनाहरुमा
एक जोड नयाँ सपना देखाएकोमा,
धन्यवाद छ सरकार!
भयानक पीडा र भयबाट गुज्रिरहेका
मेरा परिवारलाई साथ दिएकोमा,
धन्यवाद छ सरकार!
पैसाको अभावमा उपचार गराउन नसकेका
संगिता मगर नानीले अब आफ्नो उपचार हुनेमा
विश्वास दिलाउन सफल भएकोमा,
धन्यवाद छ सरकार!
तेजाबले बनाएको मेरो कुरुप मुहारमा
मिठो मुस्कान छरिदिएकोमा धन्यवाद!
नामर्दले ती तेजाब छ्याप्ने हातहरुमा हत्कडी लगाएकोमा,
धन्यवाद सरकार!
मेरो सरकार, ती पित सोच भएका अपराधीहरुलाई
एकचोटि भेटेर बुझ्न मन छ।
मैले जे खपेँ, त्यो बढी होकी उसले जे भोग्दै छ यो बढी हो?