नमस्कार सबैलाई! हजुरहरुले मलाई पक्कै पनि चिन्नु हुन्छ होला। विभिन्न पत्रपत्रिकामा वर्षैपिच्छे मेरो नाम आउने गर्छ र म गम्भीर जोखिममा परेकोले मेरो खोजी पनि धेरै गरिन्छ। म एक्लो बस्न रुचाउने र रातिमात्र देखा परिने हुनाले खोजी गर्न पनि गाह्रो भएको छ होला।
कोहीलाई त मेरो बारेमा थाहा पनि त छैन होला। केही छैन, सबैले सबैलाई जानेको चिनेको पनि त हुँदैन। त्यसैले म मेरो विवरण आफै दिन्छु, त्यसपछि त हजुरहरुले मलाई अवश्य पनि चिन्नु हुन्छ होला। तर मेरो कुरा ध्यान दिएर सुन्नुहोस् किनभने म लोप हुने जोखिममा छु, मलाई बचाउनु तपाईको पनि त कर्तव्य नै हो।
मलाई सालक भन्ने गर्दछन्, सायद म सालको रुख हुने क्षेत्रमा धेरै बस्ने गरेकोले भनिएको होला। मेरो शरीरभरि खबटा छन् जुन खप्टिएर बसेको छ, त्यसैले मलाई साथीहरूले खपटे पनि भन्ने गर्छन्। हामी नेपालको ४४ जिल्ला (विशेषगरी ओसिलो र जुका नभएको ठाउँ) मा बस्ने गर्छौँ।
न मसँग दाह्रा नै छ न म कसैलाई मार्न सक्छु, त्यसैले मलाई खतरा महशुस भएमा भकुण्डो जस्तै गुजुल्टिएर बस्छु। म माटो रङ्गको र बाक्लो कडा खबटा भएकोले होला आक्रमण गर्दा म धेरैजसो बाच्ने गरेको छु। मेरो आहारा भनेकै धमिरा किराहरु हुन्, म कम्तीमा १ वर्षमा ७० करोड जति किरा खाने गर्छु।
अस्ति कै कुरा हो, म र मेरो साथी किरा खान नजिकैको खेततिर निस्केका थियौँ, हामी कसैको वास्ता नगरी एकोहोरो खाइरहेका थियौँ। एक्कासी खतरा महशुस भयो, म लुकिहालेँ तर गुजुल्टिएर बसेको मेरो साथीलाई अग्ला, दाह्रा नभएका, डरलाग्दा पनि नदेखिने जीवले लगे र त्यस दिनदेखि मेरो मिल्ने साथी कहिल्यै फर्केर आएन।
त्यतिबेला मलाई मेरो आमाको भनाइ झट्ट याद आयो। आमाले भन्नु भएको थियो, 'ती अग्ला दाह्रा नभएका मानिसले हामीलाई धेरैजसो मार्ने गर्दछन्। त्यसैले हामी सतर्क हुनुपर्छ।' आमाले मलाई धेरै कुरा सिकाउनु भएको थियो तर आज आमा मेरो साथमा हुनुहुन्न। आमा नभएपछि संसारनै अध्यारो लाग्छ मलाई, यो त हजुरहरु कतिपयलाई पनि महशुस हुन्छ होला। तर आमाबिना बाच्न सिकिसके छु र सिक्नै पनि त पर्यो नि हैन।
मेरो आमा आज किन साथमा हुनुहुन्न भन्ने कुरा सुन्न हजुरहरु पक्कै पनि इच्छुक हुनुहुन्छ होला। केही महिनाअघिको कुरा हो, आमा र म किरा खान जङ्गल गएका थियौँ। म आमाको पुच्छरमा बसेर आनन्द लिदै थिएँ अनि आमाले मलाई बाबाको बारेमा सुनाउनु भयो। 'तिम्रो बाबा र म किरा खान गएका थियौँ, त्यसबेला केही मानिसहरु आए र बाबालाई लिएर गए। त्यसदिनबाट बाबा फर्केर आउनु भएन।
यी मानिसहरू पनि हामी जस्तै स्तनधारी जीव हुन् र उनीहरू विवेकशील हुन्छन्। विवेकशील भएतापनि उनीहरू हामीजस्ता निर्दोष वन्यजन्तुहरुलाई मार्ने गर्छन्।' आमाले एक्कासी यो कुरा जीवनभर याद राख्नु भन्नुभयो। आमाको आखाभरि आँसु देखेँ र म मलिन भएँ। हामी किरा खाएर फर्किदै थियौँ, आमा एक्कासी आत्तिनु भयो। मैले आमा हजुर किन आत्तिनु भयो भनेर सोधेँ। मानिसहरू हामीलाई खोज्न आएका छन्। यति भन्नुभयो र मलाई धेरै डर लाग्यो अनि आमाले नआत्ति बस भन्नुभयो।
हामी प्वालमा छिर्यौ, धेरैबेर त्यहीँ बस्यौँ। बाहिर आवाज नआएपछि हामी निस्कन खोज्यौँ। आमा बाहिर निस्किन मात्र के भएको थियो, मानिसले आमालाई लगेको देखेँ। म अकमक्क परेँ, एक्कासी छानो खसेझैँ भयो। हुन पनि किन नहोस्, हात्तीको सुँड काटेर लान सक्ने, गैँडाको सिङ र छाला काटेर लान सक्नेले हामीजस्तो प्वालमा बस्ने सानो जीवलाई किन मार्ने नसकोस्।
अब मेरो आमाको पनि खबटा निकालेर मासु खान्छन् होला ती पापीहरुले। त्यस दिनबाट म टुहुरो भएँ। आमाको यादमा म रातभर रोएँ र आमाले भन्नु भएको सबै कुरा मनमा खेल्न थाल्यो। कसैले तपाईलाई बारम्बार आक्रमण गर्न आए तपाईले आफूलाई कतिपल्ट नै बचाउन सक्नु हुन्छ र! हामी पनि त त्यस्तै नै हौँ। यसै कारणले पो हामी लोपोन्मुख भएका रहेछौँ।
यसै त एक्लो जीवन, बिना आमाको साथ! त्यहीँ पनि मानिसहरूसँग डराएर लुक्नु पर्ने। खेतमा गए हामीलाई धपाउन खोज्छन् र हाम्रो बासस्थान नष्ट गर्दिन्छन्। जङ्गलमा गए रुखहरु काटेका र डढेलोले जङ्गल नष्ट भएको देख्छु। हामी बस्ने कहाँ त?'
म यहाँ हजुरहरुलाई गुनासो पोख्न आँएको हुँ। आशा छ की हजुरहरुले मेरा अवस्था बुझिदिनु हुनेछ र मेरो बासस्थान नष्ट हुनबाट बचाउनु हुनेछ। म हजुरहरुको लागि कति लाभदायक छु अनि म कसरी अशुभ भए त! म त हजुरको साथी हुँ, कतै साथी पनि अशुभ हुन्छन् त!
हजुरहरू विवेकशील हुनुहुन्छ, मलाई बचाउन हजुरहरुले पक्कै केही उपाय निकाल्नु हुनेछ। जसरी सबैले हामीलाई चिनेका हुँदैनन्। त्यसरी नै सबैले हामीलाई मार्ने पनि गर्दैनन्, कोहीले त हामीलाई बचाउछन् पनि। कतिपय मानिसले त हाम्रो अनुसन्धान र खोजी पनि गर्दैछन्, बचाउन लागि परेका छन्।
(नेपालमा कालो खबटा भएको चाइनिज प्यङ्गोलिन मनिस पेन्टादाक्टाइला र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन मनिस क्रासिकौडाटा पाइन्छ। समुद्रबाट करिब २००० मिटरसम्मको उचाइमा पाइने गरेको छ। प्रत्येक दिन करिब ३०० वटा सालक मारिने अनुमान छ। त्यसैले यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित वन्यजन्तुको सूचिमा राखिएको छ।
नेपाल सरकार र अन्य वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न संघसंस्थाहरू यसको संरक्षणमा लागि परेका छन्, विशेषगरी फेब्रुअरी महिनाको तेस्रो शनिबार 'विश्व सालक दिवसका दिन' विभिन्न कार्यक्रम संचालन गरी जनचेतना फैलाउने गर्दै आएका छन्।)