आफ्नै अनुहार बोकेर
जमिन, जंगल र हवाइ उडान भर्ने यात्री
जहाँ पुगेपनि उसलाई सोधिन्छ
एउटै प्रश्न, उस्तै आशयको बारम्बार
प्रश्नको उत्तर फर्काउन नपाउँदै
घृणाको भाव झल्काइन्छ
मसिनो रेखामा सीमित पारिन्छ
चन्चले स्वभाव हठात रोकिन्छ
दम्भ, अंहकारको अस्तित्व समाप्त भएर जान्छ
न दिने कुनै उत्तर भेटिन्छ
न फर्कने कुनै ठाउँ
आफ्नै कुरुपतामाथिको बलियो पर्खाल भेटिन्छ
सजिलो न प्रश्न सोध्नेलाई हुन्छ
न भावभंगी हराएको व्यक्तिबाट उत्तरको पर्खाइ रहन्छ
मौनतामै समय अघि बढ्छ।
खोज र नयाँ सोचमा निस्किएको यात्री
अलपत्र पर्छ जब उसलाई आफैले बोकेको वर्तमान घाडो बन्छ
एयरपोर्टदेखि एयरर्पोर्टसम्म भीडभाड सहर छिचोल्दै
अन्डरग्राउन्ड मेट्रोको स्टेशन भुलेर वारि न पारि हुन्छ
न कोही भेटिन्छ सोध्न
एक्लै लमतन्न सुतेको छ स्ट्रीट
ठूला सहरका नदीमा पानी होइन, दारु बग्छ
आफैले बोकेर हिडेको समय दर्शन लोप हुन्छ
दर्शन विज्ञानको खुट्टा टेकेर हिड्छ
मौसम जति बदलिदो छ, रंगीन दुनियाँ चम्कन्छ
यू आर बिइङ वाच्ड
थट अफ योर बायोडाटा इज शोन अन स्क्रीन
जहाँ जान्छ आफै जन्मेको माटोप्रति आशक्त रहन्छ
जति सोच्छ आफ्नै पछाडिको पिढीँको अनुहार झल्कन्छ
जब केही सिक्न जान्न खोज्छ
आफ्नै माटोले अस्वीकार गर्ला भन्ने त्रासले भरिन्छ
अचानक हृदयबाट ब्युझिन्छ यस्तो छाल
जो दण्डित हुने तीव्र इच्छा जाहेर गर्छ
विस्तारै ऊ बिर्सन पुग्दछ आफ्नै अनुहार।
साइबेरिया ट्रेनको लामो यात्रामा तुम हमको भाषामा सुनाइन्छ
दिल्लीको रेडलाइट एरियामा बेचिएकी युवती
जो सपनाको चिहानबाट बारम्बार जीवन तिरस्कार गर्छे
यात्री बताउँछ आफ्नो नाम, ठेगाना र हाल
सो सबै थाह पाएर जर्जियनले गर्छ खुकुरीको बयान
आर यू एसियन अर्मानियन भन्दै छ
दिस इज द बोइल्ड मीट अफ हेन
भाइ साप क्या आप्का देश हमारे देशका प्रदेश नही है?
टाउको अचेतनमै हल्लिन नपाउदै ऊ फेरि सुन्छ
हराभरा मैदान दक्षिण से तिब्बत तक फेली उस सुन्दर
जगहको लेना चाहियथी अब तो बहुत देर हो गइ।
यात्रीले बेलोरसियाको झ्यालबाट देख्छ
फुर्र-फुर्र उड्दै गरेका बादलहरु
छेउमै बसेको युक्रेनियन सोध्छ फेरि केही प्रश्न
आफ्नो व्यापारमा सन्तुलन बिग्रने डरले
क्रिमिया बारे बोल्न चाहन्न
किभको स्लाभ जातिको प्रसंशा गर्दै पोलिसतिर फर्कन्छ
विस्तारै भन्छ- हि इज द म्यान अफ स्मल नेसन
दियर लाइफ टाइम अचिभमेन्ट इज सेल्लिङ इन्डियन एन्ड चाइनिज गुड्स
आफ्नै देशको सत्य हिस्सीले यात्री फनफननिन्छ
तब देखापर्छ भीलुनस सहरको मुहार।
दिल्लीमा लामो भिजिटर लउन्जको पट्यारलाग्दो बसाइ
क्यानेडियन युवती पढ्दै छे
'द सबटल् आर्ट अफ नट गिभिङ अ फक'
इथोपियन सम्वाद बडाउदै लगेर धर्ममा जोड्छ
जब क्राइस्टलाई क्रुषमा झुण्डाइयो एउटा हात इजरायलमा
अर्को हात इथोपियामा थियो देखे झैँ भन्छ
मस्तिष्क लामो हातको कल्पनामा दौडिन्छ
पूरै लउन्जभरि भराउ छ
मुजे दुवै, कतार, साउदी, दमाम जाना है सुनिन्छ।
मध्यरातपछि यात्री आफ्नो ट्रलि विस्तारै अघि बढाउदै लान्छ
अध्यागमनको छाप हान्ने अन्तिम कर्मचारीले भन्छ
अरे भाइ, नेपालका क्या हालचाल है?
आपको खिलाया, पिलाया आप'तो चाइनिज हो गए।
तोडले मस्तिष्कको पहिलो ढोका खुल्छ
बिनिर्माडको अर्थ तह तहमा लाग्न थाल्छ
जोडले समातेको अनुहार सत्य र भ्रममा नै रहन्छ
यसरी एक यात्री आफ्नो अनुहारमा कालो दाग
लत्पतिएको आभासले ऊ विदेशी बनिसकेको हुन्छ।