ताजा, स्वच्छ अनि शितल बतासले छोएको आभास भयो। निन्द्राबाट ब्युझिएँ। नयाँ बिहानीको जन्म भइसकेको रहेछ। सामुन्नेका झ्यालका खापाहरु खुल्लै रहेछन्। म ओछ्यानबाट उठेँ, झ्यालमा गएर उभिएँ।
हिजो रातिबाट सुरु भएको झरीले आजसम्म पनि विश्राम लिएको छैन। चिसो हावासँगै हुत्तिएर झ्यालबाट भित्र प्रवेश गरिरहेका बाछिटाले मलाई रोमाञ्चक बनाईरहेको छ। पल्लो घरको बगैँचामा नजर पुग्यो। इन्द्रेणी रंगको पहिरनमा लामबद्ध भएर उभिएका पुष्प वृक्षहरु मन्द समिरसँगै रुझ्दै नृत्य गरीरहेका छन्।
म त्यसैमा रमाउँदैछु। यही नै हो स्वर्ग झैँ लाग्न थाल्यो। यतिनै बेला मेरो मोबाइल फोनमा म्यासेज टोन बज्यो। सिरानी छेउको मोबाइल टिपेर हेरेँ। फ्रेण्ड रिक्वेस्ट आएको रहेछ। पठाउनेको नाम अपरिचित थियो।
प्रोफाइल पिक्चरमा गणेश भगवानको मूर्ति थियो। पठाउनेको अकाउन्ट खोलेर हेरेँ। उनको बारेमा केही लेखिएको थिएन। अपलोड गरिएका फोटोहरु हेरेँ। कताकता परिचित होकी जस्तो लाग्यो। सबै फोटोहरुलाई नियालेर हेरेँ। बल्ल सम्झना आयो। मैले हतार-हतार मेच्युल फ्रेण्ड लिस्ट हेरेँ। त्यसपछि बल्ल प्रमाणित भयो।
नाम अपरिचित भएपनि मान्छे परिचित नै हो। उनले आफ्नो नाम परिवर्तन गरेकी रहिछिन्। उनी स्कुले जीवनको सहपाठी थिइन्। उनी अर्थात् मीना। हो, मीना हो उनको नाम। उनले फेसबुकमा अपलोड गरेका सबै फोटोहरुलाई एक-एक गरी नियालेँ। उस्तै रुप, उस्तै रंग, मृग नयनी, गहुँ गोरी, गुलाबी अधर, बारुली कम्मर, कालो लामो केश। सबै उस्तै। केही बद्लीएको छैन।
केही नबद्लिए पनि थपिएको छ। निधारमा रातो टिका, हातमा चुरा, गलामा पोते, सिउँदोमा सिन्दुरले सुनमा सुगन्ध झैँ। मेरो उमेरले मलाई पैतालिस वर्षमा ल्याएर उभ्याईदिएको छ। बल्ल यो उमेरमा आएर फेसबुकले भेट गरायो। उमेरको कुरा गर्ने हो भने मेरो र उनको उमेर झण्डै उस्तै उस्तै हो। यस्तै तीन/चार महिनाको फरक मात्र छ। हामी अल्लारे उमेरका मित्र। हाम्रो यो मित्रता धेरैपछि घनिष्ठतामा रुपान्तरीत भएको थियो।
मलाई सम्झना छ, सातौँ कक्षमाबाट हामी आमने-सामने भएका थियौँ। सातौँ कक्षामा रहुन्जेल देखादेखमै सीमित रह्यो। सातौँ कक्षा सकेर आठौंमा पुगेपछि बल्ल उनी मलाई देखेर मुस्काउन थालिन्। मीनाको मुस्कानमा एक किसिमको जादु थियो। त्यो मुस्कानमा आर्कषण थियो।
मीनाको त्यही मुस्कानको लागि म मौका पाएसम्म मीनाको सामुन्ने उभिन पुग्थेँ। हाम्रो बोलिचाली भने अझैँ सुरु भइसकेको थिएन। यस्तै नवौँ कक्षाको कुरा हो। एकदिन विद्यालय पुग्दा कक्षा सुरु नभइ सकेकोले सबै साथीहरु बाहिर गेटमै उभिएर कुराकानी गर्दै थिए। म त्याहाँ पुगेँ र सबैसँग पालैपालो हात मिलाएँ।
अन्त के थियो कुन्नी? हाम्रो विद्यालयमा त्यतिबेला एकअर्कासँग भर्खर-भर्खर हात मिलाउने चलन सुरु भएको थियो जस्तो लाग्छ मलाई। म सबैसँग हात मिलाउँदै गर्दा मीना ढोका नजिकै आईपुगेकी रहिछिन्। हात मिलाउने क्रममा मैले उनीतिर पनि हात बढाउन पुगेछु। मीना अडिएर आश्चर्य मान्दै मलाई हेर्न थालिन्। मेरो त होसनै उडेझैँ भयो।
म मूर्ति झैँ उभिएर हेरी रहेँ। उनी मुसुक्क मुस्काइन्, हात मिलाइन् र सरासर कक्षा कोठातिर पसिन्। त्यसपछि बल्ल हाम्रो बोलिचालीको क्रम सुरु भयो। हात मिलाउने कार्यले पनि त्यही दिनदेखि निरन्तरता लिएको थियो। समय बित्दै गयो। केही समयपछि साथीभाइको देखासिखीबाट एउटा मोटो कपि किनेँ। त्यसलाई श्रृगांर पटार गरेर अटो बनाएँ।
त्यो समयमा सम्झनाको लागि अटो बनाएर भर्न लगाउने चलन चलेको थियो। मैले पनि चलन चल्तिलाई निरन्तरता दिएँ। अटो तयार गरेर सबैभन्दा पहिले मैले मीनाको हातमा थमाएँ। मीनाले भोलिपल्टै अटो भरेर फिर्ता गरिन्। मैले हतार-हतार अरुले नदेखोस् भनेर ब्यागमा लुकाएँ। घर पुगेर एक्लै बसेर हेर्ने सोचले छुट्टीको घन्टीको प्रतिक्षा गर्न थालेँ।
घडीको सुइँको रफ्तार निक्कै सुस्त भएझैँ लागिरहेको थियो। मनमा तीव्र व्यग्रता थियो। मीनाले अटोमा के-के लेखिन् होला? उनीले अटोमा आफ्नो फोटो टाँसिन् की टाँसिनन् होला? बल्ल छुट्टीको घन्टी बज्यो। सरासरी घर पुगेँ। कपडा समेत नफेरि अटो झिकेर हेरेँ।
मिठा-मिठा कविताहरु अति सुन्दर ढङ्गले कोरिएका थिए। मीनाले आफ्ना सुन्दर सुन्दर दुई वटा फोटो टाँसेकी थिइन्। उनीले अटोमा लेखेका हरेक शब्दहरुलाई बडो मग्न भएर अध्ययन गरेको थिएँ। ती सबै सुन्दर थिए। मिठा थिए।
हाम्रो विद्यालय भित्र चियाखाजाको लागि क्यान्टिनको व्यवस्था थिएन। सबै बाहिरै जाने गर्दथे। टिफिन समयमा हामीसँगै हुन थाल्यौँ। साथीसंगीको लागि हाम्रो मित्रता चर्चाको विषय हुन थाल्यो। समय बित्दै गयो। अल्लारे उमेरको चोखो अनि स्वच्छ हाम्रो मित्रता नोटबुक सेयर गर्ने, हाँसखेल गर्नेमै सीमित रह्यो।
एकदिनको कुरा हो, टिफिनको घन्टी बज्यो। मीना आफ्ना साथीहरुसँग गफ गर्दै कक्षाबाट निस्कदै थिइन्। म पनि आफ्ना साथीहरुसँग कुराकानी गर्दै खाजा खाने गरेको होटेल अगाडि पुगेर मीनालाई कुर्न थालेँ। लगभग दश मिनेट जति कुर्दा पनि उनी देखा परिनन्। बिहान पनि ढिलानै कक्षामा आएकी थिइन्। उनी कुनै टेन्सनमा भएको जस्तो देखिन्थिन्।
बल्ल आईपुगिन्। उनी निक्कै रिसाएको जस्तो देखिदै थिइन्। मीना मेरो नजिकै आएर मेरो हात च्याप्प समाइन्। मलाई तानेर अलि पर लगिन् र औँला ठड्याएर 'आएन्दा यस्तो काम नदोहोरीयोस्' भनेर सरासर विद्यालय तिरै लागिन्। म भने मूर्तिझैँ उभिएर सोची रहेँ।
मीनाले त्यस्तो कुरा किन भनिन्? आखिर मैले के गरेँ? मैले उनीसँग जवाफ माग्न खोजेँ। तर उनी मसँग बोल्नु त के, मलाई हेर्दासम्म पनि नहेरी गइन्। मलाई भने न भोक थियो, न निद्रा। थियो त मात्र मीनाको त्यो आवाज। मीनाले भनेका ती शब्दहरु। रात बित्यो। भोलिपल्ट त मीनासँग त्यो विषयमा कुरा गर्छु भन्ने लागेको थियो। तर त्यसो हुन सकेन।
उनी मसँग बोल्दै नबोली कक्षा कोठामा पसिन्। त्यसपछि अचानक एक/दुई दिन मीना विद्यालयमा आइनन्। एक/दुई दिनसम्म पनि उनी विद्यालय नआएपछि मलाई पनि आउने इच्छा भएन। परीक्षाको तयारीको बहानामा म घरमै बसेँ। यसरी हाम्रो मित्रतामा पूर्ण बिराम लाग्यो। त्यो दिनदेखि आजसम्म पनि कारण थाहा पाउन सकेको छैन। थाहा पाउने चाहना पनि रहेन।
रिक्वेस्ट एसेप्ट गरेको लगभग डेढ दुई घण्टा जतिपछि पुनः मेसेज टोन बज्यो। उनकै म्यासेज आएको रहेछ। म्यासेज खोलेर हेरेँ। मीनाले भेट्ने इच्छा व्यक्त गरेकी रहिछिन्। मैले धेरै बेर सोचेपछि बल्ल हुन्छ भनेँ। उनीले म्यासेन्जरमा नै भेट्ने समय र स्थान लेखेर पठाइन्।
समय- बेलुका पाँच बजे। स्थान- लाजिम्पाट दक्षिण ढोका नजिकको एक कफी हाउस।
म तोकिएको समयमै त्याहाँ पुगेँ। उनी आईपुगेकी रहिनछिन्। कफी हाउसको ढोका बाहिर उभिएर मीनालाई कुर्न थालेँ। केहीबेरमै एउटा रातो रंगको कारमा उनी देखा परिन्। कार कफी हाउसको पार्किङमा पुगेर अडियो। उनी गाडीबाट ओर्लिन्। ह्याण्ड ब्याग झिकेर काँधमा भिरिन्।
अनि गाडीको ढोका लक गर्दै अगाडि बढ्न थालिन्। फेसबुकको फोटोमा उनी जस्ती देखिएकी थिइन्, त्योभन्दा अलग देखिएकी छिन् आज उनी। कालो जिन्स पाइन्ट, पहेलो रंगको टप्स अनि आँखामा कालो चश्मा। उनी मुस्काउँदै मेरो नजिकै आएर हात बढाइन्। जसरी स्कुले जीवनमा मसँग हात मिलाउन बढाउने गर्थिन्।
मैले पनि पहिलो पटक विद्यालयको ढोकामा हात मिलाएको सम्झना गर्दै हात मिलाएँ। हामी कफी हाउस भित्र प्रवेश गर्यौँ। मीनाले कुनाको टेबल रोजिन्। मैले उनकै रोजाइमा सहमति जनाएँ। हामी कुनाको टेबलमा आमने सामने भयौँ। वेटर आयो, अर्डर लियो गयो। सन्चो विसन्चोबाट हामी बीच कुराकानी आरम्भ भयो।
'कस्तो छ तिम्रो खबर?' मैले सोधेँ।
'भाविले जस्तो लेखिदियो, त्यस्तै छ' मीनाले जवाफ दिइन्।
मीनाको जवाफले मलाई अलमल्ल बनायो। मैले उनको जवाफलाई बुझ्न सकिनँ। म आश्चर्य मान्दै मीनालाई एकोहोरो हेरीरहेँ। सायद मेरो अनुहारमा देखिएको प्रश्न चिन्हलाई मीनाले पढ्न भ्याइन्।
'तिमीले मेरो जवाफ बुझ्न सकेनौँ। खैर, छोडदेऊ यी कुरा, भन तिम्रा छोराछोरी कति छन्?' मीनाले सोधिन्।
'मैले विवाह गरेको छैन' मैले भनेँ।
'किन, जीवन चलाउन जीवन संगीनीको आवश्यकता महशुस भएन?' मीनाको प्रश्न।
'धेरै पटक महशुस भएको थियो,' मैले भनेँ।
'फेरि किन गरेनौ?' मीनाले पुनः प्रश्न गरिन्।
'सायद आफूले रोजेको जस्तो नभेटेर होला' मैले जवाफ दिएँ।
'नभेटेको हो या, भेट्न नखोजेको हो?' मीनाले प्रश्न गरिन्।
'खोज्न त धेरै खोजेँ तर, बाटो बिराईसकेको लाई फेला पार्न सकिएन। त्यसैले पनि विवाहको इच्छा भएन। खैर छोड यी कुरा, भन तिमीले कोसँग विवाह गर्यौ त?' मैले भनेँ।
'तिमीले राम्ररी चिन्दछौ' मीनाले जवाफ दिइन्।
मीनाको जवाफ सुनेर म फेरि आश्चर्यमा परेँ। आखिर मेरो परिचित त्यो व्यक्ति को थियो जोसँग मीनाले विवाह गरिन्? मैले आफैसँग प्रश्न गरेँ। तर ममा त्यसको जवाफ फेला परेन। यतिमै मीनाले आफ्नो ब्यागबाट महङ्गो सिगरेट निकालिन र बट्टा खोलेर मतिर बढाइन्। सिगरेट पिउने आफ्नो बानी नभएको कुरा मैले भनेपछि मीनाले एउटा सिगरेट ओठमा च्यापिन र सल्काएर धुवाँ उडाइन्।
'तिमी सिगरेट पनि पिउँछौ?' मैले प्रश्न गरेँ।
'यसको श्रेय तिमीलाई नै जान्छ' मीनाले मलाई आरोप लगाइन्। हो, यो मलाई लगाइएको झुटो आरोप नै हो। किनकी बिसौँ वर्षपछि बल्ल आज हाम्रो भेट हुँदैछ। फेरि उनको सिगरेट पिउने लतमा मेरो श्रेय कसरी रह्यो? जबकी जीवनमा आजसम्म मैले सिगरेटको गन्ध समेत लिएको छैन।
'कसरी?' मैले प्रश्न गरेँ।
'तिमीलाई थाहा सुरज? हामी स्कुलमा हुँदा एकदिन खाजा खाने होटेल अगाडि तिमी मलाई कुरीरहेको थियौ। म सरासर आएँ। अनि रिसको झोकमा तिम्रो हात समाएर अलि पर लगेँ र आइन्दा यस्तो काम नदोहोरियोस् भनेर हिडेँ' मीनाले त्यो दिनको कुरालाई सम्झाउँदै भनिन्।
'जीवनमा कहिल्यै बिर्सन नसक्ने घट्ना बनेर यो मस्तिष्कमा छापिएको छ। तर त्यो घटनाको कारण आजसम्म जान्न सकेको छैन मैले' जवाफ दिएँ।
'त्यसको कारण थियो, तिम्रो नाममा मलाई आएको प्रेमपत्र। जुन प्रेमपत्रमा लेखिएका शब्दहरुले मलाई तिमी प्रति घृणा जगायो। तिम्रो अनुहार पनि हेर्न नपरोस् भनेर म दुई/चार दिन स्कुल गइनँ। पछि थाहा भयो, तिमी स्कुल नगइ घरमै बसेर परीक्षाको तयारी गरिरहेको छौँ। त्यसपछि म स्कुल जान थालेँ।
दिनेश र म एकै ठाउँबाट स्कुल जाने भएकोले आउँदा जाँदा हामी सधैँ सँगसँगै हुन थाल्यौँ। यही क्रममा दिनेशले मलाई आफ्नो माया जालमा पार्न सफल भयो। दिनेशले राखेको विवाह प्रस्तावलाई मैले नकार्न सकिनँ। हामी विवाह बन्धनमा बाधियौँ। विवाहको केही महिनापछि दिनेशको मुखबाट लुकेको यथार्थ थाहा पाएँ।'
'कस्तो यथार्थ?' मैले प्रश्न गरेँ।
'दिनेशले तिम्रो नाम लगाएर जुन प्रेमपत्र मेरो हातमा दिएको थियो, त्यो तिम्रो ह्याण्ड राइटिङ जस्तै जस्तै बनाएर दिनेशले लेखेको रहेछ। त्यो पत्रमा लेखिएका छाडा शब्दहरु देखेपछि मलाई तिमी प्रति घृणा जाग्यो। मैले रिसले आँखा देखिनँ र तिमीसँगको मित्रता तोडेँ।
तर दिनेशले हामीलाई छुटाउन त्यसो गरेको कुरा जब थाहा भयो, तब म छाँगोबाट खसेँ। दिनेशले भनेको त्यो शब्द तिर बनेर मेरो छातिमा रोपियो। त्यो बेलादेखि तिमीसँग माफी माग्न पल-पल तड्पी रहेँ। मैले यही पीडा भुलाउन सिगरेटको साहारा लिन थालेकी हुँ।'
मीनाले यसरी नै सबै कुरा बताउँदै गइन्। म त्यतिबेला आश्चर्यमा परेँ, जतिबेला यो सबै काम दिनेशले गरेको थाहा पाएँ। त्यो समयमा दिनेश त मेरो मिल्ने साथी थियो। त्यतिबेला आफ्नो मिल्ने साथीबाटै मैले धोका पाएको रहेछु।
स्कुल सकेर निस्किएदेखि दिनेश कहिल्यै मेरो सम्पर्कमा आएन, कारण यही रहेछ। कुराकानीको क्रममा मीनाले आफ्नो हातको घडीमा आँखा लगाइन्। रातको आठ बज्नै लागेको थियो।
ढिला भयो भन्दै मीनाले आफ्नो ब्यागबाट एउटा बन्द खाम झिकेर मेरो हातमा थमाइन् र फेरि भेट्ने वाचा गर्दै छुट्टिन्। यसरी आज एउटा पुरानो घटनाबाट पर्दा उघारिएको थियो।