कविता
ढलेको घाम जस्तै भयो
त्यो प्रौढ जीवनको कथा
न ताप दिन सक्यो कसैलाई
न कसैबाट लिन सक्यो उस्तै आभा
साँझको क्षितिजमा वैँश ढलेपछि
डाँडाको आश्रयमा ओर्लिएर
ओझेल भए झैं,
आखिर धराकै आश्रयमा
अस्तित्व गुमाउँनुको विकल्प नरहेर
डुब्नुको नामकरण पाएको
निस्तेज सूर्य जस्तै
त्यो बुढो शरीर कुप्रिएर
धर्तीमै निहुरिदै
उभिएको अभिनय गर्नु सिवाय
केही विकल्प रहेन।
त्यसैले त आहान गर्दा रहेछन्
ती कुप्रा शरीरहरु
हामी त डाँडाको घाम भनेर
हो, घाम बिहानीमा
कसरी मुस्काएर साराको
घरको संघार चिहाउन जान्छ
आफ्नो उज्यालो दीप्ति छर्दै
र वैँशको रंग चढ्दै जाँदा
आफ्नो तातोपनले कसरी
सारालाई न्यानोपन दिन्छ
अनि... कलिला वैँशहरुको
गालाको लाली बनी
कस्तरी पोतिन्छ
ती किशोरीहरुको अंग-अंगमा?
तर जब साँझको पल हुन्छ
तब आफू आफ्ना सुनौलो रंगलाई
क्षितिजको रक्तिम लालीमासँग
परिभाषित गरी आफू अस्तित्वहीन बन्छ
हो... ती वृद्ध-वृद्धाहरु पनि
उसरी नै आफूहरुलाई डाँडाको घाममा
अनुवाद गर्दै निरश बन्छन्
अनि... आफ्नो त्यो बाङ्गिएको शरीरलाई
एउटा लट्ठीको साहारामा समाहित गर्छन्
र ढलेको घामसँग आफूलाई दाँजेर
परको डाँडाको क्षितिजलाई नियाल्दै
खुइय्य! सुस्केरा काढ्छन्।