ठ्याक्कै तीन दिनदेखि सघन पानी परिरहेको सुर्खेती आकाशमा चौधौँ दिन बिहान नै अनपेक्षित पूर्वी क्षितिजमा हल्का लालीमा थप्दै सूर्योदय भएपछि परिवेश केही घमाइलो देखिन्छ। तर हत्याको सजायमा कैदखानामा दिन काटिरहेकी सेता वस्त्रमा परिवेष्टित मनमायाको मनमा अझै पनि घाम लाग्न सकेको देखिँदैन।
नेपालमा गरिबी र असमानताका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी माओवादीका नाममा सुरु भएको दस वर्षे शसस्त्र विद्रोहले सर्वसाधारणलाई साह्रै पिरोलेको थियो। आम मानिसहरु सरकार र विद्रोहीको क्रूरताको शिकार बन्न बाध्य थिए। हजारौं निरपराधीहरु कठोरतापूर्वक दण्डित भएका थिए। विस्थापित भएका थिए। बलात्कृत भएका थिए। हजारौं निर्दोषहरुको निर्ममतापूर्वक हत्या गरिएको थियो। माओवादी सेना र नेपाल सरकार दुवैबाट सर्वसाधारणको जीवन शोकभीत र भयभीत थियो।
कालिकोटको सदरमुकाम मान्ममा तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीच भएको भिडन्तमा मनमायाका बाबु मानबहादुर मारिए। तीन महिनाअघि मनमायाका दाजु पनि त्यसरी नै मारिएका थिए। छोरो मारिएको शोकले आँखामा आँसु नसुक्दै शिरको पति मारिएको खबरले मनमायाकी आमा विक्षिप्त भइन्।
उनका दिनहरू रोदन मिश्रित हिकहिकीमा बिते। दिनहरु बिते, सँगसँगै महिना बिते। महिना बिते सँगसँगै उनको हिकहिकी रोकियो। तर आँखाबाट बग्ने आँसुका बलिन्द्रधारा रोकिएनन्।
एकरात रुँदै खाना खाइवरी सुतेकी आमा फेरि कहिल्यै उठिनन्। मनमायाको जीवनमा दिउँसै रात परेजस्तो भयो। जन्मदिने आमाले पनि कलिलै उमेरमा छोडेर गएपछि उनलाई धर्ती भासिएजस्तो भयो। उनी रातदिन रुन थालिन्। कराउन थालिन्।
निन्द्रामा 'आमा, आमा' भनी बर्बराउन थालिन्। मनमायाको रुवाई सुनी उनका मामा दानबहादुरले उनलाई आफ्नो घरमा ल्याए। मनभरि पीडा बोकेकी मनमायालाई चारैतिरबाट पहाडै पहाडले घेरेको सुर्खेतको सहरी दृश्यले लोभ्याएन। धेरै दिनसम्म उनको मन आफ्नै गाउँघरका छाँगा-छहरा, पहरामा डुलिरह्यो। मनमा पारिवारिक शोकले एकछत्र राज गरिरह्यो।
जीवनमा पीडा हुन्छन् तर पीडानै जीवन होइन। विगतका दु:ख सम्झी बस्नु मात्रै जीवनको सार्थकता हो त? उनको ब्रह्ममा यस्तै यस्तै कुराहरु खेल्न थाले। उनी मामाकै सहायतामा प्रमाणपत्र तहमा भर्ना भइन्। मिहेनती र लगनशील मनमायाले उत्कृष्ट प्राप्तांकसहित प्रमाणपत्र तह उत्तीर्ण गरिन्।
स्नातक तह अध्ययनका लागि उनी सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भइन्। १८/१९ वर्षकी मनमायाको सुंगठित, सुन्दर र सुकोमल कायाले धेरैलाई लोभ्याउथ्यो। उनको पारदर्शी सेतो रङ्गको सुरुवाल र कुर्ताबाट देखिने सेता तिघ्रा र पुष्ट छातीमा केटाहरुका आँखा लोलाउँथे। केटाहरु उनको सामीप्य चाहन्थे। तर उनी सबैसँग समीप हुन चाहन्थिनन्।
किन चाहन्थिनन्, त्यो उनी नै जानुन्। एकदिन अकस्मात् उनका चञ्चल गाजलु आँखा प्रबिन नामक समकक्षीका आँखासँग जुधे। अनार दानारुपी टलक्क टल्किएका दातका लहर देखाइ उनी मुसुक्क मुस्कुराइन्। मनमायाको मीठो मुस्कान प्रबिनलाई जरुर मिठै लाग्यो।
उनीहरुका आँखा आँखाले केही दिनसम्म बात मारे। तर आँखाले नै मनका सम्पूर्ण अभिव्यक्ति कहाँ अभिव्यक्त गर्न सक्छन् र? उनीहरू एकअर्कालाई बरोबर भेट्न थाले। छोटो समयमै उनीहरु प्रेमीप्रेमिकाबाट श्रीमान् श्रीमतीमा परिवर्तन भए।
वैवाहिक बन्धनमा बाँधिएसँगै मनमायाको जीवनको अर्को अध्याय सुरु भयो। केही दिन उनलाई पोइली घर बिरानो लाग्यो। 'हामी आइमाइ भनेका धर्ती हौँ। जसरी धर्ती माता धेरै दु:ख सहेर पनि मौनरुपमा बसेकी हुन्छिन्, त्यसरी नै हामी नारीजाति पनि धैर्यपूर्व बस्न अभिशप्त छौँ। हामीले एक रुपमा अनेकौं भूमिका निर्वाह गर्न सक्नुपर्छ, बुझ्यौँ?,' आफू सानी हुँदा आफ्नी आमालाई मावलीघरकी हजुरआमाले बुझाएको कुरा मनमायाले सम्झिन्।
उनी सखारै उठ्थिन्। घरको काम सकेर सहकारी संस्थामा जागिर गर्न जान्थिन्। प्रबिन पनि घर नजिकैको बोर्डिङ स्कुलमा पढाउथ्यो। नव विवाहित दम्पतीका दिनहरु खुसी खुसी साथ बिते। त्यसैले उनीहरूले वर्ष बितेको पत्तो पाएनन्। समय निरन्तर आफ्नै रफ्तारमा कुदिरह्यो। त्यही समयकै कुदाइमा उनीहरुको प्रगाढ प्रेमको बगैँचामा दुई थुंगा फूल फुले। दुई वर्षको अन्तरालमा फुलेका फूलहरु विस्तारै-विस्तारै फक्रदै, हुर्कदै, बढ्दै गए।
मानिसको जीवन सोचेजस्तो कहाँ हुन्छ र? मानिस जीवनमा आफू अनुकूलको गोरेटो चाहन्छ तर बाध्यताको डोरीले उसलाई प्रतिकूलताको गोरेटोतर्फ धकेल्छ। स-परिवासँग रमाउँदै देशमै केही गर्छु भन्ने प्रबिनको जीवनमा प्रतिकूल समय आयो।
सरकारी नियुक्तिमा मनग्य घुस ख्वाउन नसकेकाले ऊ लिखितमा पास भएपनि मौखिकमा फालियो। लोग्ने स्वास्नीको मासिक २० हजार कमाइले चार जनाको परिवार कसरी चल्दो हो र? अन्ततोगत्वा ऊ विदेश हानियो।
लोग्नेको वियोगमा केही दिन मनमाया साह्रै छट्पटाइन्। भिडिओ कलमा लोग्नेको अनुहार देखेपछि उनको छट्पटी केही घट्यो। उता लोग्ने याने प्रबिन पनि मनमायाकै हालतमा थियो। दुवैजना एकअर्काको अनुहार हेर्दै रुन्थे।
'टाढा हुँदा मायाको अझ महत्त्व हुँदो रहेछ', दुबैजना एकअर्काको अनुहार हेर्दै भन्थे। विस्तारै-विस्तारै महिना बित्यो। प्रबिनले रकम पठायो। लोग्नेले पठाएको रकमलेले घरको गर्जो टारेर बाँकी जम्मा गर्न पाउँदा मनमाया खुसी हुन् थालिन्। उता प्रबिन पनि कठिन कामका बाबजुद मनग्गे रकम कमाउन पाउँदा खुसी भयो।
कहिलेकाहीँ प्रबिन हप्ताको एकपटक मात्रै फोन गर्थ्यो। 'कम्पनी बिजी छ। म खासै फोन गर्न भ्याउदिनँ। छोरीहरुको राम्रोसँग हेरविचार गरी, दु:ख मन नगरी बसे है,' ठ्याक्कै ऊ यिनै शब्द प्रयोग गर्थ्यो र तत्काल फोन काटिहाल्थ्यो।
'अहो! अब त उहाँ घर आउने दिन आएछ' एकदिन बिहानै सुत्ने कोठाको भित्तोमा झुन्डिएको भित्रेपात्रोमा दृष्टिक्षेप गर्दै मनमाया मुस्कुराइन्। तत्काल म्यासेनजरमा निलो थोप्लो देखिएको लोग्नेको नाउँमा टच गरिन्। घण्टी गयो तर फोन रिसिभ भएन। फेरि दिनको मध्यान्तरमा मनमायाले फोन गरिन्।
'हलो' प्रबिन बोल्यो।
'अँ, किन बिहान फोन रिसिभ नगर्नु भ'को?' मनमायाले सोधिन्।
'टिकटको लागि साथीको कोठामा गएको बेला फोन आएको रहेछ, त्यसैले...' प्रबिनले ढाँट्यो।
'कैहिलेलाई टिकट फिक्स भो?' उत्सुक हुँदै मनमायाले सोधिन्।
'हप्ता दश दिन डिले होला जस्तो छ' प्रबिनले जवाफ फर्कायो।
'किन?' मनमायाले हड्बडाएर सोधिन्।
'दश दिन यताका डाइरेट उडान हुने प्लेनका सिट बुकिङ भै'सके अरे! ट्रान्जिट प्लेनका सिट पनि खाली छैनन् अरे! दशै तिहारमा स्वदेश फर्कने नेपालीको घुइँचो छ अरे!' प्रबिनले 'अरे' का कुरा सुनाइदिएपछि मनमाया केही बोलिनन्।
दुई/दिन पछाडि भाग्यले प्रबिनले एउटा डाइरेक्ट प्लेनमा 'क्यानसिलेसन' टिकट भेट्यो। उसले तत्काल घरमा फोन गरी आफू आउन लागेको तर आफूलाई लिन काठमाडौँ नआउन आग्रह गर्यो। मनमायालाई लोग्ने स्वदेश आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गर्न जाने पहिल्यैदेखिको इच्छा थियो तर अहिले लोग्नेले 'नआउनु' भनेपछि उनले 'म आउँछु' भनेर जिद्दी गर्न मनासिव ठानिनन्।
'म एयरपोर्ट नजाँदैमा मेरो लोग्ने अर्कैको हुने होइन क्यारे! फेरि एयरपोर्टमा गएर छुट्टै के हुन्छ र? दुई दिनपछि त उहाँ आइहाल्नु हुन्छ नि' मनमायाले गम खाएर मनमनै बोलिन्। 'पाँच वर्षपछि घर फर्केको लोग्नेले आफ्ना लागि असीम प्रेमका प्रणयोपहार ल्याउनेछ। छोरीहरुले बाबुको न्यानो माया र साथ पाउनेछन्' उनी स्वैरकल्पनामा हराउन थालिन्।
दुई दिनपछि होइन, तीन दिनपछि प्रबिन घर आइपुग्यो। स-परिवारमा हर्षोन्माद छायो। मनमायाका आँखा खुसीले सजल भए। ८ वर्षकी जेठी छोरी बाबुको काखमा लुट्पुटिन पुगिन्। ६ वर्षकी छोरीले बाबुलाई चिनिनछन् क्यारे! उनी आमातिरै टाँस्सिन्। कान्छी छोरीले आफूलाई नचिनेकोमा प्रबिनलाई नरमाइलो लाग्यो तर उसले नरमाइलो मानी बस्ने समय पाएन। दिनहरु घर्किदै गए। पारिवारिक सम्बन्धमा रसिलोपन थपिँदै गयो।
एक बिहान लोग्ने साबिक समयमा नउठेपछि मनमाया उठाउन गइन्। 'नरिसाऊ न सानुमाया... मैले फोन नगरे पनि फेसबुक म्यासेज त पठा'कै थेँ नि। फोन गर्न नसक्ने मेरो अवस्था बुझन भन्या' भनेर लोग्नेले सानो स्वरमा परस्त्रीसँग कुरा गरिरहेको स्वर सुनेर उनी आगोले पोलेझैं झस्किन्।
'म पछि फोन गर्छु डियर! लभ यू बाई' यी शब्दले उनका कान सन्न भए। शरीर काप्यो। रिसको पारो बढ्यो। तर रिस दबाएरै उनले कोठाभित्र प्रवेश गरिन्। लोग्नेले ब्लाङ्केट ओढी गोडा तन्काइ भलाद्मी निन्द्रा परेको बहाना गर्यो। स्वास्नीले लोग्नेको बहाना थाहा नपाएको बहाना गरिन्। उनले लोग्नेले चाल नपाउने गरी सिरानीको मोबाइल समाइन्। लोग्नेले स्वास्नीको चाल नथापाएझैं गर्यो। उनका आँखा लोग्नेको फेसबुक म्यासेजमा दौडिहाले।
भर्खरै अघि फोन गर्ने केटीको नाम पवित्रा रहेछ। उनी काठमाडौँमा बस्दी रहिछन्। करिब ४ वर्षअघि लोग्ने र पवित्राको फेसबुकमै भेट भएको रहेछ। 'लोग्नेले आफू अविवाहित हुँ' भनी ढाँटेको रहेछ। उनीहरुले फेसबुकबाटै पिरती गाँसेका रहेछन् र बेलाबखतमा एकअर्काको नग्न तस्बिरहरु साटासाट गरी हेर्दा रहेछन्। लोग्नेले कहिलेकाहीँ उसलाई पैसा पनि पठाउदो रहेछ। उनीहरूले विवाह गर्ने प्रण गरेका रहेछन्। लोग्नेको व्यभिचारीपन थाहा पाएपछि उनी फन्न घुमेर भुइँमा थचारिन्।
केही क्षणको भुइँचालो केही मत्थर भएपछि उनी उठिन् र लोग्नेले ओढीराखेको ब्लाङ्केट सोहोरेर भुइँमा फ्याँकिदिन्। धेरै सुतेको स्वाङ पार्नु पर्दैन' स्वास्नी जोडले कट्किन्। लोग्नेले नसुनेझैं गर्यो। 'सुन्नु भएन...? उठ्नुस् भनेको,' स्वास्नी दोस्रोपटक रिसले कट्किन् तर आदरार्थी शब्द बिर्सिनन्।
लोग्ने लाचार भएर उठ्यो तर केही बोलेन। बरु स्वास्नी नै बोलिन् 'लाज, सर्म, धर्म, कर्म केही छैन है! हजुर यहीँ गर्न विदेश जा'नु भा' हो? दुनियाँ केटीहरुसँग अनावश्यक कुरा गर्नुभन्दा पहिले घरपरिवारको ख्याल भएन? त्यो पवित्रा भन्ने केटी का छे?'
'धेरै नबोल्,' लोग्ने आँटैले बोल्यो।
'किन? किन नबोल्ने? यस्तो फुँडो मान्छे। थुक्क!' स्वास्नीले फेरि शब्दले नै आक्रमण गरिन्। अचाक्ली रिस उठाएपछि लोग्नेले स्वास्नीका गाला बजाइदियो। उनी ह्वाँह्वाँ रुदै भान्सातिर गइन्। भान्सामा छोरीहरु खाना खान आइसकेका रहेछन्। आँसु पुछ्दै उनले छोरीहरुलाई खाना ख्वाइन् र विद्यालय पठाइन्।
'सत्य लोग्ने एकाएक कसरी यस्तो कपटी भयो? के लोग्ने परिवर्तनशील हुन्छन्? पतिव्रता चाहनेले किन पत्नीव्रता पालना गर्दैनन्?' उनले आफैलाई प्रश्न गरिन्, 'के पुरुष जननेन्द्रीयको दासत्व हुन अभिशप्त नै छ त?'
साँझपख, लोग्नेले खै कताबाट लोकल ठर्रा खाई आएछ- स्वास्नीले चाल पाइहालिन्। स्वास्नी देखेर लोग्ने बम्कियो 'तेरो र मेरो आजदेखि शारीरिकरुपमा सम्बन्ध विच्छेद, कानुनीरुपमा भोलि हुनेछ।'
'के भन्नू भो?' स्वास्नीले फेरि सुन्न चाहिन्।
'भोलिदेखि तेरो र मेरो सम्बन्ध विच्छेद हुनेछ। तँसँग आइन्दा मेरो जीन्दगी चल्दैन। मलाई एउटा छोरो चाहिएको छ, जुन तँबाट असम्भव छ' लोग्नेको कुरा सुनेर स्वास्नी अवाक् भइन्। सत्य युगमा पिता दक्ष प्रजापतिले पति महादेवको निन्दा गरेको सहन नसकी अग्निकुण्डमा हाम् फालेर प्राण त्याग गरेकी सत्यदेवीको निष्ठाबाट प्रभावित उनी विचलित भइन्।
उनले धूर्त र प्रतिगामी लोग्नेको मुखबाट अरु शब्द सुन्न चाहिनन्। २१ औँ शताब्दीमा नेपाली समाजको प्रारब्ध पनि सनातन पितृसत्तात्मक सोचले ग्रस्त भएको देख्दा उनलाई दु:ख लाग्यो। उनी सरासर घरको बार्दलीमा गइन्। 'सुशिक्षित भनिएका मान्छेबाटै नै किन अशिक्षितको झैं व्यवहार हुन्छ? नारी पृथ्वी हो, पुरुष बीउ हो भन्ने कुरा किन बुझ्दैन या बुझी-बुझी पनि बुझ पचाउँछन् पुरुष?' उनी फुस्फुसाउदा-फुसफुसाउँदै बार्दलीमा टहल्लिन थालिन्।
उनले लोग्नेको प्रेमीरुप सम्झिन्। किन एक समयको प्रेमी सधैँको प्रेमी हुन सक्दैन? कुनै समयमा महान् लाग्ने व्यक्ति कुनै समयमा तुच्छ किन लाग्छ? उनी एक्कासी रणचण्डीझैं थररर काँपिन्। कोठामा परस्त्रीसँग फोनमा हाँसिरहेको व्यभिचारी लोग्नेको हाँसोका फोहोराले असह्य भएपछि नजिकैको बन्चरो समाइ उनी कोठामा गइन् र लोग्नेको टाउकोमा बजारिन्।
भुइँमा लडेको लोग्ने हाँसेको हाँस्यै भो! लोग्नेको टाउकोमा बन्चरो बजार्नु अघि उनले आफ्नो सिउँदोको सिन्दुर, गलाको पोते र नाडीका चुरा नसम्झिकी हैनन्। सेता परिधानका बारे ख्याल नगरेकी हैनन्। तर उनले दुख मन गरी सुखसँग बाँच्न चाहिनन्।
व्यभिचारी, छली, अन्याय र अत्याचारी लोग्नेको रातो रगत देखेर उनलाई घृणा लाग्यो। कोठामा भएको होहल्ला सुनी घरबेटीले अघिनै प्रहरीलाई खबर गरिसकेको रहेछन्। नेपाल प्रहरी आए र उनलाई नियन्त्रणमा लिए।