कोरोनाको समयमा धेरै हिड्डुल गर्नु हुँदैन है भन्छन्। तर आफूलाई त के हो, के हो? बिहान एक फन्को नहिँडे दिनभरि के-के नपुगेको जस्तो हुन्छ। त्यसैले मर्निङ वाकको सिलसिलामा सदाझैं आज पनि टिसर्ट, कट्टु, स्पोर्टस जुत्तामा एउटा छडी सहित आफूलाई छरितो र फुर्तिलो अनुभव गर्दै छिटो-छिटो चालमा गइरहेको हुन्छु।
अनायास तीन जना पुराना मित्रहरूसँग अलग अलग स्थानमा जम्काभेट हुन्छ र अलग किसिमकै वार्तालाप भएको संक्षिप्त विवरण यहाँ प्रस्तुत गर्न गइरहेको छु।
पहिलो मित्र
'ओहो! तपाई त कालो सूचीमा पर्नु भएछ।'
म त अचम्ममा परेँ। सधैँ यहाँ पशुपति आएर भगवानको दर्शन गरेर आफ्नो भक्ति, श्रद्धा व्यक्त गर्ने, पशुपंक्षीहरूलाई सधैं आहारा हाल्ने मानिस सरकारको कालो सूचीमा नाम देख्दा मैले पहिले त पत्याउनै सकिनँ। यस्तो पनि हुन्छ र? जस्तो लाग्यो तर पछि बुझ्दै जाँदा पक्का भयो।
मित्रको अभिव्यक्तिमा म आफ्नो भनाइ यसरी राख्छु- 'हेनुर्होस्, तपाईहरू जस्तो मानिस झुक्किनु हुंन्छ। सरकारले गरेको काम सबै सही ढङ्गले नै भएको भन्ठान्नु हुन्छ। सरकारलाई कति काम बाध्य भएर गर्नुपर्ने हुन्छ, कति काम देखावटीको लागि पनि गर्नुपर्ने हुन्छ।'
'भत्र खोजेको के हो त? हामी कालो सूचीमा पर्न परेको पनि यस्तै कारणले हो भन्न खोज्नु भएको होकी?'
'हो त। कुरा बुझ्नुहोस्, मलाई अहिले कालो सूचीमा नराख्दा देशमा होहल्ला, नाराबाजी, मिडियाहरूको प्रचारबाजी हुने र सरकारलाई थेग्नै गाह्रो पर्ने भएकोले हाम्रो सल्लाहमै दुई/चार महिना वा बढीमा एकै वर्ष भएपनि कालो सूचीमा नाम राखिएको हो।
हेर्नुहोस्, अहिले कति शान्त भयो। मेरो नामकालो सूचीमा परेपछि मल आवस् की नआवस् कसैले नि वास्ता गर्नै छोडे। फेरि यहाँ एउटा एउटा घट्ना भइरहन्छ, नयाँ निस्केपछि पुरानोलाई बिर्सिहाल्छन्। तसर्थ कालो सेतो भनेको यस्तै हो- काग कराउँदै छ, पिना सुक्दै छ।'
'ओहो! तपाई कति चलाख हुनु हुँदो रहेछ भत्रे बल्ल आज थहा भयो। बाहिर देखावटी मात्र पशुपति, भित्र त मिलोमतो हुँदो रैछ। समय नआइकन मानिसलाई चिन्न सकिन्न भनेको साँच्चै पो रहेछ। तर जे भएपनि एउटा पाठ त सिक्नु भयो, कालो सूचीमा पर्नुभयो। आउने दिनहरूमा यस्तो सुन्न नपरोस्, राम्रोसँग बितोस्। हस् अब छुट्टिने बेला पनि भएछ।'
दोस्रो मित्र
केही पर पुगेपछि अर्को मित्रसित भेट हुन्छ। उनी प्रसन्न मुद्रामा मलाई बधाइ-बधाइ भन्दै अंकमाल नै गर्न खोज्छन्। म अकमक्क पर्छु, (कालो सूचीमा परेकोमा पनि खुसी हुँदै बधाइ भन्छन् भनेर मनमनै अचम्मित हुन्छु)।
'किन केको बधाइ?' आश्चर्यमा परी सोध्छु। उनी 'केको नि, अब कालो सूचीमा पर्नु भएकोमा' भन्ने जवाफ दिन्छन्।
कालो सूचीमा परेकोमा पनि बधाइ भन्छन् त? भनेर प्रश्न राख्छु म।
'कालो सूची भनेकै सेतो सूची अर्थात् उज्वल भविष्यको सुरूआत हो। तपाई पनि अब भर्याङ्ग नै नचढी फुत्त माथि पुग्नु भयो। तपाई यसै त धनाढ्य, अब त झन् मालामाल हुनुहुन्छ। अब मानिसहरू त तपाई कहाँ उपहार, कोसेली बोकेर आउँछन् तपाईको चाकडी गर्न।' उसले बडो मिठोसँग जवाफ दियो।
'कसरी यस्तो अनुमान गर्नुभयो?' आश्चर्यका साथ मैले प्रश्न गरेँ।
'अनुमान होइन, सत्य हो। हेर्नुस्, तपाईले सायद बिर्सिनु भएछ। म पनि त कालो सूचीमा परेको हो नि' उसले दङ्ग परेर जवाफ दियो।
'किन, कसरी पर्नु भयो रे?' मैले पुनःप्रतिप्रश्न गरेँ।
'सिधा कुरा छ नि, तपाई मल नल्याएर कालो सूचीमा पर्नुभयो, म सल नल्याएर परेँ।'
'सल? कहिले? कस्तो सल?' मैले जिज्ञासा राखेँ।
'तपाईले ठ्याक्कै बिर्सनु भएछ। दैवीप्रकोप पीडितहरूको लागि बाँड्न भनेर मलाई सल र ब्ल्याङ्केटहरू ल्याउन ठेक्का दिने काम भयो। मैले म गर्न सक्दिनँ, यस्तो दैवीप्रकोप पीडितहरूको उद्धारको लागि ल्याउने सामानमा धेरै बदमासी गर्न पनि भएन, यसमा फाइदा छैन भन्दा पनि फाइदा गराउने काम हाम्रो भयो। ल्याउछु भनेर सम्झौता मात्र गर्नोस्, तपाईले भनेजति फाइदा गराउने जिम्मा हाम्रो भयो। फाइदा मात्र होइन, मालमाल नै हुनु हुनेछ। तपाई मालमाल भएपछि हामी पनि मालमाल नहुने त कुरै भएन भनेर मलाई जबरजस्ति ठेक्का भिडाइयो।
तर ल्याउनु पर्ने समयभन्दा धेरै ढिला गरेर ल्याइयो। त्यो पनि सलको ठाउँमा मुख पुछ्ने टावेल र ब्ल्याङ्केटको ठाउँमा कपडाको झोला ल्याएर वितरण सुरु मात्र के गरिएको थियो, चौतर्फि बिरोध हुन थालीहाल्यो। संञ्चार माध्यमहरूले प्रमुख समाचार नै बनाए। संसद लगायत जताततै चर्चाको विषय नै भयो। तर सरकार पटक्कै आत्तिएन र मेरो तर्फबाट उपयुक्त जवाफ दिन थाल्यो।
सल र ब्ल्याङ्केटको लागि सम्झौता भएको नै थिएन, बरु भूकम्प पीडितहरूको लागि मुख पुछ्न पर्छ भनेर टावेल र त्यही टावेल लगायत आफ्नो अरु सामान समेत राख्न भनेर झोलाको व्यवस्था गरेको हो भनेर पैरवी गर्न थाल्यो। तर असत्य कुरा धेरै कहाँ टिक्छ र, ढिलो चाँडो एकदिन त निस्किहाल्छ।
मेरो केशमा पनि त्यस्तै भयो। कस्-कस्को हो लेखापरीक्षण प्रतिवेदनमा सम्झौता त सल र ब्ल्याङ्केटकै लागि भएको भन्ने तथ्य कुरा आउन थालेपछि मलाई माथिबाट नै बोलावट भयो र मसित क्षमा माग्दै यस्तो परिस्थितिमा तपाईले हामीलाई अहिले सहयोग गर्दिनुस्, फेरि तपाईको मागबमोजिम र अहिलेको घाटासमेत उपर हुनेगरी तपाईको गुन तिर्छौं भन्नुभयो।'
'मैले के गर्नु पर्यो त अहिले' भनेर सोध्दा 'तपाई कालो सूचीमा पर्दिनु पर्यो। हामी तपाईलाई फलानो ठेकदारले समयमा गुणस्तरीय सामान नल्याएकोले कालो सूचीमा राखिएको भनेर निर्णय गर्छौं र यही कुरा बाहिर आउँछ भनेर बिन्तिभाउ गरेपछि मैले नाइँ भन्ने कुरा भएन र यसरी कालो सूचीमा परेँ। तर अहिले हेर्नुहोस् मेरो स्थिति कहाँबाट कहाँ पुगेको छ।
सडकको मान्छे महलमा पुगेको छु। मेरो घरमा मुसो आउँदैनथ्यो। अहिले देशका ठूलाठूला नेता, अभिनेताहरूको पार्टी चल्छ। मेरो हैसियत त केही छैन तर मेरै सल्लाह सुझावमा दैनिकी चलिरहेको हुन्छ।' उनको यस्तो जोसिलो कुरो सुनेपछि ममा पनि जोस जाँगर बढ्न थाल्छ र आफ्नो पाइला अझ छिटो छिटो चलाउँदै श्री पशुपतिनाथको दर्शन पश्चात् घर फर्किन थाल्छु।
तेस्रो मित्र
यही बेलामा फेरि अर्को तेस्रो मित्रसँग भेट हुन्छ। उनी मेरा पुराना मित्र हुन्। मैले चिनेजाने देखिनै उनी ज्यादै सरल र साधारण स्वभावका व्यक्ति, सधैँ इमान्दारी र नैतिकताको कुरा गर्थे। पेशामा निर्माण व्यवसायी भएपनि खास उन्नति गर्न नसकेका उनले सुरुमै मलाई कालो सूचीमा परेकोमा खुसी व्यक्त गर्दै आफ्नो आर्थिक स्थितिप्रति नैराश्यता प्रकट गरे, र आफ्ना मनका भावनाहरू पोख्न थाले।
'तपाईले त कालो सूचीमा परेअनुसार आफ्नो राम्रो व्यवस्था गरिसक्नु भयो। तपाईको सम्पत्ति कति छ भन्ने कुरा सायद तपाईलाई नै राम्रो थाहा छैन होला। सात वटै प्रदेशको मुख्य-मुख्य सहरहरूमा तपाईको घर घडेरी, बैँकहरुमा व्यालेन्स, परिवारका प्रत्यक सदस्यको लागि छुट्टा-छुट्टै गाडी अनि तपाईको सान र रवाफ कसले भेटछ र। अझ नक्कली सुकुम्बासी भएर, र पर्ति जग्गालाई मालपोतबाट आफ्नो बनाएर जोडेको जग्गाजमिन त कति हो कति, हिसाब किताब पनि छैन होला।'
'हो, ठिक हो, बरु तपाईले त मेरो पूरै हिसाब किताब राख्नु भएको रहेछ। यी सबै कुरा आज किन कसरी व्यक्त भइरहेछन्?'
'अब आफूले गर्न नजानेपछि अर्काकोबाट भएपनि पाठ सिक्न सकिन्छ की भनेर कुरा निकालेको।'
'हो, पाठ सिक्नोस्। ढिला भएको छैन, र अहिले मौका पनि आइरहेको छ। सरकार अब आफ्नै लठारोमा अल्झिरहेछ। दैनिक कामभन्दा दैनिक बैठक गर्ने, अब हामी एक भएका छौँ, मिलेका छौँ भनी प्रचार गर्ने यस्तैमा मात्र ध्यान छ सरकारको। देशका सर्वसाधारण जनतालाई उनीहरू मिलून की नमिलून्, एक हुन् की दुई, झगडा गरुन् की लडुन्, के मतलब भो र!
केबल जनताले सुख पाउनु पर्यो, देशको विकास हुनुपर्यो। हुँदाहुँदा अब त, मन्त्री पदका लागि मन्त्रालय फुटाउने भन्छन्। संसदीय प्रणालीमा त मन्त्रालय बढाउने भन्दा घटाउनेतिर जानुपर्ने हो। जापानमा त मन्त्रालयको संख्या सत्र/अठार वटाभन्दा बढी हुँदैनन्। हाम्रो देशमा मौका पर्यो भने मन्त्रालय फोर्ने, जोर्ने, नयाँ सृष्टि गर्ने गरेर जति पनि बनाइदिन्छन्।
मैले भन्न खोजेको के हो भने यस्तो अस्थिरता र आफ्नो स्वार्थमा देश डुबेको बेलामा भ्रष्टाचारमा ध्यान नपुगेको बेलामा कमाउने भनेको यही मौका हो।'
'तपाईको कुरा मलाई एकदम ठिक लाग्यो, तर कसरी कमाउने त?'
'अब अहिले त हतार भो मलाई पनि, पछि-पछि तपाईलाई मार्गदर्शन गर्दै गरुँला। अहिलेलाई यति मात्र भन्छु की तपाई पनि ठूलो ठेकेदार हुनुहुन्छ। सबैले पत्याउँछन्। त्यसकारण सबैभन्दा पहिला देशका उच्चस्तरीय नेतालाई आफ्नो बनाउनुस्। घरमा राखेर हुन्छ की, खुवाएर हुन्छ की, चेकबुक नै चढाएर हुन्छ वा अरु तरिकाबाट हुन्छ।
त्यतिले मात्र अलि पुग्दैन। आफ्नो काम हेर्ने मन्त्रालय, विभाग, महाशाखा, शाखा के-के हुंन्छ, त्यसमा काम गर्नेहरूलाई पनि सोही अनुसार रिझाउनुस्। सुरु गरिहाल्नुस्। अहिले एक्दम राम्रो मौका आइरहेछ।
एकातिर सरकार अलमल्लिरहेको छ भने अर्कोतिर दशैं, तिहार, छठ जस्ता ठूला चाड पनि आइरहेछन्। कोसेली, उपहार, गिफ्ट जे भने पनि चढाउने मौका यही हो। आजैबाट सुरु गरीहाल्नुस्। आफ्नो ठेक्काको सडक, पुल, भवन जे-जे छन्, तिनको वास्ता नगर्नुहोस्। ती त भत्किदै गर्छन्, बन्दै गर्छन्।
मुख्य कुरो माथिको आशिर्वादलाई बलियो बनाउनुस्। त्यसलाई भत्किन नदिनुस्। अन्तिम समयमा हाम्रो तर्फबाट बोल्दिने, गर्दिने उनै मात्र हुन्छन्। यति गर्नु भयो भने तपाई पनि ढिला, चाँडो मालामाल हुनुहुनेछ र कालो सूचीमा परेर इज्जत कमाउनु हुनेछ। ल अब अबेला पनि भयो। थप सर-सल्लाहको लागि मलाई सम्पर्क गर्दै गर्नुहोला।'
'हस्। ढिलै भएपनि मेरो आँखा खोलिदिनु भयो। जय होस्।'
अस्तु।