कविता
आफन्त, छिमेकी, साथिभाइ
सबै उस्तै छन्
घरबारी, भञ्ज्याङ, चौपारी
सबै उस्तै छन्
हराउन त केबल
माया हराएको हो।
जिन्दगी चलेकै छ अझै
पाइला बढेकै छन् अगाडि
हराउन त केबल
छाया हराएको हो।
आजकल पस्दैनन् मितबा घरमा
जान्छन् हुइँकिदै सहरतिर बिहान
र फर्किन्छन् गाडीमै हात हल्लाउँदै
गाउँ-गाउँमा मोटर आएपछि
अलिकति माया
त्यही मोटरमा हराएको हो।
घरको धुरिमाथि जहाज उडेपछि
इच्छा जागेको हो दाइलाई
विदेश पस्न
वर्षौँ भयो दशैँमा पिङ नहालेको
वर्षौँ भयो तिहारमा जिम नफालेको
पैसाका अघि परिवार बिर्सिएपछि
अलिकति माया
पैसामा हराएको हो।
हातहातमा मोबाइल आएपछि
कोही टिकटकमा व्यस्त छन्
कोही फेसबुकमा मस्त छन्
आउदैनन् कोही घरपारिको
चौतारिमा गफ गर्न
आउदैनन् कोही तल्ला घरे
काकीको पीडा भर्न
साथीभन्दा मोबाइल प्यारो भएपछि
अलिकति माया
मोबाइलमै हराएको हो।
मामाघरबाट मामा नआएपछि
तिज शून्य छ
विदेशबाट दाइ नआएपछि
दशैँ शून्य छ
आजकल दशैँको टिका
भाइबरमा लगाउँछौँ
जमरा र आशिर्वाद
इमेलमा पठाउछौँ
आफन्त आफ्ना भएर पनि
बिराना भएपछि
अलिकति माया
पर्खाइमा हराएको हो।
गण्डकी किनारबाट ल्याएर
बोत्तलमा राखिएको गंगाजल जस्तै
आजकल माया पुर्याइ पुर्याइ खर्च हुन्छ
कहिले माया फेसबुकको वालमा पोखिन्छ
कहिले माया भाइबर च्याटमा देखिन्छ
यहाँ केबल माया हराएको छैन
साथीसँगै विश्वास हराएको छ
आफन्तसँगै खुसी हराएको छ
चाडपर्वसँगै संस्कृती हराएको छ
आधुनिकतासँगै प्रकृति हराएको छ
हराउन मात्र बाँकी छ
अलिकति मानवता
एकदिन त्यो पनि हराउनेछ
काट्नेछ छोराले आफ्नै बाबुको शिर
र चोकचोकमा ठूला ठूला ब्यानरमा लेखिनेछ
यहाँ मान्छेको मासु
सुपथ मूल्यमा पाइन्छ।