कविता
किन लोप हुँदैछन् आज
सडकमा छापिएका पाइलाहरु,
किन अस्तित्वमा छैनन् आज
तिम्रो वचनका डोबहरु,
घरको पप्पिले त राष्ट्रियता बिर्सदैन
स्वागत सजाउँछ पुच्छरको टुप्पोसँग,
तिमी त मानवता जितेर कुर्सी रंगाएको मान्छे,
किन सक्दैनौ मानवताको अस्तित्व जोगाउन।
एक्लो बच्चाझैँ रोइरहेँछु म
कुरीति रंगीएका पंचाङ्गहरुसँग,
तिमी त संस्कारी छु भन्थ्यौ
धड्कन जोडिएका प्रेमीहरु झैँ,
ठूलो ऐनामा अनुहारको वास्तविकता टल्कदा
छताछुल्ल भएको छ रहस्यको पर्दाफास।
वास्तविकता अर्कै थियो हिजो
आज नांगो आँखा टल्किएको छ,
आजकाल तिमी अधुरो सपना देख्छौ रे
ज्वाला दन्किएको सोफाको कुनाहरुमा,
किन खेलाउँछौ मलाई अँध्यारो मैदानमा
किन डस्छौ मलाई कोभ्राको नशामा।
मेरो त रहर छेदन भएको आज
नांगिएको छु समाजको अस्तित्वसँग,
तिमीलाई प्रिय लाग्छन् आँधिबेहरीका रातहरु
छिद्रा छिद्रा भएका जीवनका साथहरु,
म त निर्दा राँगाहरु झैं ट्रकमा खाँदिएको मान्छे,
आफूलाई भाग्यमानी ठान्ने मुर्गाहरु झैँ
पैसाको मोलमा टाउको गिंडिएको मान्छे।