ऊ मानव हैन,
अहँ अवश्य हैन।
उसमा भएको दरिद्रताले,
मेरो बाबाको काख मैलो हुनै सक्दैन,
मेरो दाजु र भाइको आँगन बिरानो हुनै सक्दैन,
मेरो गुरुको आशीर्वाद श्राप हुनै सक्दैन,
मेरो साथीको साथ अश्लिल हुनै सक्दैन,
मेरो पतिको स्पन्दन मैलो हुनै सक्दैन।
ऊ मानव हैन, अहँ अवश्य हैन।
ऊ दरिद्र हो, पशु हो,
राक्षस हो,
अविवेकी नरपिचास हो।
ऊ मानव हैन, अहँ अवश्य हैन।
अबोध नाबालकको सामूहिक बलात्कार!
बाबुबाट छोरी बलात्कृत!
शिक्षकबाट विद्यार्थी बलात्कृत!
पतिबाट पत्नी बलात्कृत!
दाजुभाइबाट दिदीबहिनी बलात्कृत!
प्रेमीबाट प्रेमिका बलात्कृत!
ऊ मानव हैन, अहँ अवश्य हैन।
ऊ मानव हुँदो हो त,
यो जघन्य अपराध हुने नै थिएन,
त्यो नाबालकमा यौनिकता पाउने थिएन,
त्यो अबोधको शरीर टुक्राटुक्रा हुने थिएन,
उनको बस्त्र च्यातिने थिएन,
उनको बाँच्न पाउने अधिकार खोसिने थिएन,
उनको चित्कार हावामा मिसिने थिएन,
कसैको दरिद्रताले कसैको आँचल मैलो हुने थिएन,
त्यसैले ऊ मानव हैन, अहँ अवश्य हैन।
के हेर्न सक्छ कुनै मानवले?
के सुन्न सक्छ कुनै नियतिले?
के सोच्न सक्छ कुनै नैतिकताले?
यो दरिद्रतालाई, यो जघन्य अपराधलाई?
हो, त्यसैले ऊ मानव हैन, अहँ अवश्य हैन।
अब अति भयो
त्यस्ता अमानव नरपिचास,
दरिद्र पशुलाई मृत्युदण्ड देऊ,
चरम यातना देऊ,
बलात्कार शब्दको पर्यायवाची शब्द मृत्युदण्ड होस्,
कसैले कल्पना पनि गर्न नसकोस्,
कल्पनामा मात्रै पनि,
भय र त्रासले उसका मुटुका धमनी बन्द होउन्,
फोक्सोले स्वासप्रस्वास रोकिदेओस्,
ऊ मानव हैन, अहँ अवश्य हैन।
अब अति भयो
त्यसैले मृत्युदण्ड देऊ,
चरम यातना देऊ।
ऊ मानव हैन, अहँ अवश्य हैन।