अदभुत, सुन्दर र विशाल स्वर्ण गेट अगाडि पुग्दा म ब्युँझिएँ।
काला काला अनुहार, ठूला-ठूला आँखा, टाउकामा सिङ भएका भिमकाय शरीरका डोलेहरू मेरो सामुन्ने उभिएका थिए।
डोलेहरूको अनुहार देख्दा डरले थरथर काँप्यो मेरो मन। म डोलीभित्रै थिएँ। डोली गेटसँगैको पेटीमा बिसाइएको थियो।
नाइके डोलेले मलाई झर्ने इशारा गर्यो। डोलाबाट झरें।
कहिल्यै कल्पना समेत नगरेको यो स्वर्णपुरमा अकस्मात आफूलाई पाउँदा म आश्चर्यचकित थिएँ। जताततै सुनैसुनको पहरा। सुनकै पुल। सुनकै बाटो।
बग्गी, पालकी सबै सुनका। धपधपी बलेको। मान्छेहरू सबै अनेकौ बस्त्र आभूषण, मणि माणिक्यले सज्जित। सपनामा देखिने संसार भन्दा पनि सम्पन्न।
आफ्नो शरीर हेरें। नव दुलही जस्तै सजिसजाउ। गहना गुरियाले भरिपूर्ण। यो के अनर्थ भो। के आश्चर्य भो।
त्यो फोहोर र दुर्गन्धित बस्तीबाट एकाएक कसले ल्याई पुर्यायो मलाई यो स्वर्णपुरमा? म कतै पागल त भइनँ ? कतै भ्रम त होइन? गेटको भित्तामा छोएँ। चिसो अनुभूति भयो। गेटमा रहेको सुनको घडालाई मुसारें। सबै ठिकै थियो। डोलेहरू मेरो पारा देखेर अनौठो मान्दै थिए।
‘मलाई यो कहाँ ल्यायौ डोलेहरू ?’ – मैले सोधें।
‘आज हजुरको स्वर्ग प्रवेशको दिन हो। हामी यमलोकदेखि हजुरलाई यहाँ पुर्याउन आएका हौ। अब हाम्रो काम सकियो। हामी यमलोक फर्कन्छौ।’– डोलेहरूको नाइकेले जवाफ दियो।
डोलेहरू मलाई त्यही छाडेर फर्कने सुरमा लागे। मेरो स्वीकृति पछि पाँचै जनाले जिउँ हल्लाउन थाले। जिउँ हल्लाउँदा हल्लाउँदै उनीहरूको कोखाबाट पखेटा निस्कियो। सबै भुरुरु आकाशमा उडे। हेर्दाहेर्दै बादलभित्र अलप भए। अब गेट बाहिर म मात्र बाँकी रहें।
गेटको नजिकै बगिरहेको थियो सानो खोला। खोलाका दुबै किनारामा थिए रंगीविरंगी फूलहरू। फूलको बासनाले सुगन्धित थियो वातावरण। किनारमै थियो सुनैसुनको पेटी भएको चौतारो। जे देख्यो त्यही सुन्दर। जता हेर्यो त्यतै राम्रो।
म खोलाको पानीमा चलिरहेका पहेंला माछाहरू हेर्दै निकैबेर टोलाइरहें।
गेटभित्रबाट आएको बाजाको आवाजले मेरो ध्यान भंग भयो। म गेटतर्फ दौडिएँ।
भित्रबाट लावालस्करका साथ बाजागाजा सहितको एउटा टोली गेटतिर बढिरहेको थियो।
अगाडि हिँड्ने महिलाहरूले हातमा फूल माला र थाली बोकेका थिए। महिलाको पछाडि बग्गी र बाजा टोली थियो।
जब टोली गेट नजिक आइपुग्यो तब म छाँगाबाट खसेजस्तै भएँ। ती थाली बोकेर आउने मध्येका दुई जना त मेरै सहेली राखी र सोनिया पो थिइन्। उनीहरूलाई देख्नासाथै मेरो आँखाबाट बररर आँसु खस्यो। उनीहरूले पनि अनुहार अँध्यारो बनाए।
उनीहरूलाई देखेपछि मात्र थाहा भयो म पृथ्वीलोकबाट धेरै टाढा आइपुगेछु। राखी र सोनियाले पनि पृथ्वी छोडेको त्यस्तै दुई अढाई वर्ष जति भयो होला। राखीको त कुरो मात्र सुनेकी हुँ तर सोनियाको मृत्यु त म आफैंले देखेकी हुँ। मरिसकेका साथीहरूलाई यसरी भेटिन्छ भनेर मैले सोचेकै थिइनँ।
‘तिमीलाई स्वर्गमा स्वागत छ संगीता। भगवानले तिमीलाई स्वर्गमा बास दिनुभएको छ। लौ अब स्वर्ग प्रवेश गर।’– स्वागत गर्न आएका मध्येकी एउटी पाको महिला बोलिन्।
मलाई टीका माला लगाइदिने काम भयो।
बग्गीको अगाडि सिटमा तिनै महिला बसिन्। पछाडि सिटमा म राखी र सोनिया बस्यौं। बाजा गाजासहित म स्वर्गलोकमा प्रवेश गरें।
स्वर्गलोकमा त बाटो पनि कति सफा। रेलिङ पनि सुनैसुनका। घरहरूका झ्याल ढोका पनि सुनै सुनका। घरका बनोटहरू सबै हिरामोती रत्न जडित। जताततै अत्तरका बासना मगमग। सबै स्वर्गवासीहरू घरको झ्यालझ्यालबाट हेरिरहेका थिए मेरो स्वर्ग प्रवेश।
बग्गी एउटा ठूलो दरबारको अगाडि रोकियो। दरबारको प्रांगण निकै फराकिलो थियो। दरबार बाहिरैबाट चमचम चम्किरहेको थियो। दरबारको मूल ढोकादेखि मेन गेटसम्म फूलैफूल ओच्छ्याइएको थियो।
अप्सराहरू दोहोरो लाइनमा हातमा फूल लिएर मेरो स्वागतमा उभिएका थिए। बग्गीबाट झरेपछि दिदीले दरबारतर्फ इशारा गरिन्।
हामी सबै फूलमाथि टेक्दै दरबारतर्फ बढ्यौं। अप्सराहरूले हामी माथि पुष्पवृष्टि गरे।
दरबारको मूल ढोकाबाट प्रवेश गरेपछि एकैछिन त म हेरेको हेर्यै भएँ। भित्रको सजावट अलौकिक थियो। सिलिङ, भित्ता, पिलर,भरेङ, झ्याल ढोका सबै हिरा मोतीको चमकले चम्किरहेको।
ठूलो हलको बीच भागको अग्लो स्थानमा आलिशान आसन थियो। आसनको माथि सुनको छतरी। आसनमा विराजमान भगवान सबैको गुनासो सुनिरहनुभएको थियो। आसनको वरपर सेता चमर हल्लाउँदै उभिएका थिए अप्सराहरू।
ढोकाबाट सिधै आसनतर्फ बढें। आसन नजिकै पुगेर दुबै हात जोडी साष्टाङ्ग दण्डवत् गर्दै बोलें – ‘प्रभु शरणम्।’
भगवान मुस्कुराउनु भयो। हात उठाएर आशिर्वाद दिनुभयो। हातले नजिकै रहेको सुनको कुर्चीमा बस्ने इशारा गर्नु भयो। म अप्ठ्यारो मानीमानी बसें।
‘संगीता, तिमीलाई पृथ्वी लोकमा ठूलो अन्याय भएको छ। १८ वर्षको कलिलो उमेरमै तिम्रो जीवन हरण भएको छ। त्यसैले मैले तिमीलाई यहाँ स्थान दिएको छु। अब तिमी यिनै अप्सराहरूसँगै स्वर्ण महलमा बसेर स्वर्गको आनन्द भोग्नेछौ।’ – भगवान मुस्कुराउँदै बोल्नु भयो।
‘जो कृपा प्रभु।’ – म बोलें।
‘आज तिम्रो स्वर्गमा पहिलो दिन। तिम्रो सकसपूर्ण पृथ्वी यात्राका बारेमा सबैलाई जानकारी गराऊ।’ – भगवान बोल्नुभयो।
भगवानको आदेशले मेरो मनमा दबिएर रहेको पीडा पग्लियो। मेरो मुखबाट शब्द निस्कनै सकेन। केवल आँखाबाट निरन्तर बगिरह्यो आँसु। हलमा सुनसान छायो।
मलाई चुपचाप देखेर भगवानले हात उठाई आशिर्वाद दिनुभयो। मन केही हलुको भयो। त्यसपछि मात्र मेरो मनमा गाँठो परेर बसेका कुराहरू मुखबाट निस्कन तयार भए।
***
प्रभु ! मेरो नाम संगीता राम। एक दलित परिवारकी छोरी। सानो गाउँ थियो। सानै परिवार थियो। आमा,बा, भाइ र म चार जना। आमा रोगी। भाइ सानो। बा एक जनाको कमाइले घर धान्न मुश्किल थियो।
सम्पत्तिको नाममा टाटीले बारेको एउटा झुपडी। दुई हात दुई खुट्टा। पैसा तिर्नु नपर्ने हुनाले गाउँकै स्कुलमा पढेर पाँच कक्षा पास गरें। एघार वर्ष पुगेपछि घरको दुःख बुझ्ने भएँ।
मनमा पढेर ठूलो मान्छे बन्ने सपना थियो। तर मलाई पढाउन सक्ने घरको अवस्था थिएन। एघारै वर्षको उमेरमा बिहान बेलुकी मुखियाको खेतमा काम गर्न थालें।
स्कुलमा खाजाको लागि अनुदानमा आएको पिठो दिँदा पनि छुट्टै लाइनमा राखेर दिन्थे।
स्कुलमा पानी खाँदा पनि छुट्टै खानुपर्थ्यो। मुखियाको घरमा काम गरेर खाजा खादा पनि पातमा थापेर खानुपर्ने व्यवहारले कताकता नमिठो लाग्थ्यो। पचाएकै थिएँ। तर एकदिन आफैंलाई पढाउने शिक्षकले दलित भनेर हेपे पछि मात्र मलाई आफू दलित रहेछु भन्ने लाग्यो।
बालाई गाउँका सबै ठूला जातकाले तँ भनेर बोलाउँथे। बा भने उनीहरूलाई मालिक भनि सम्बोधन गर्थे। यस्ता कुराहरूले मेरो बाल मस्तिष्कमा नराम्रो छाप बसेको थियो।
जेनतेन मुखियाको घरमा काम गरिगरि बडो मुश्किलले गाउँकै स्कुलबाट एसएलसी पास गरें। राम्रै नम्बर आयो। मुखियाको छोरो किसनको भन्दा पनि बढी नम्बर आएकोले मुखिया खिस्रिक्क परे।
गाउँमा एघार कक्षाको पढाइ नहुने हुनाले मेरो पढाइको ढोका लगभग बन्द भयो। गाउँबाट वीरगन्जमा पैसा तिरेर पढ्ने कुरो मेरो सोच बाहिर पर्न गयो।
एकदिन साँझ बा थोत्रो साइकल डोर्याउँदै घरमा आउनुभयो। मुखियाबाट पुरानो साइकल बक्सिसमा पाएका रहेछन्। खाना खाई सकेपछि जुनको उजेलीमा शितल ताप्न चारै जना आँगनमा रहेको काठका मुढामा बसेका थियौं।
बाले भावविह्वल हुँदै बोल्नु भो – ‘के गर्छेस् त छोरी। म जस्तो गरिबको घरमा जन्म लिस्। तेरो भाग्यमा भएको भए त मुखियाको घरमा जन्मिन्थिस् होला नि। अनि पढेर ठूलो मान्छे बन्थिस्।’
त्यस दिन बालाई निकै दुःखी देखें। मैले बालाई यति दुःखी कहिल्यै देखेको थिइनँ।
बाको कुराले म भित्रभित्रै जलेको थिएँ। बाले केहीबेर गम खाएर मलाई हिम्मत दिँदै फेरि बोल्नु भो – ‘जा छोरी तँ फेरि पढ्न जा। मेरो रगत बेचेर भए पनि तँलाई पढाउँला। नसके यही झुप्रो पनि गिरबी राखिदिउँला। तर म जस्तै हेपिएर तैंले जीवन नबिताएस्। यही साइकलबाट सुरू गर तेरो जिन्दगी।’
त्यस दिन बाले यसो भनिरहँदा आमा र मेरो आँखाबाट आँसुको नदी बगिरहेको थियो। भाइ रुन्चे अनुहार लगाएर हामी रोएको हेरिरहेको थियो। बाको कुराले मभित्र एउटा पीडा र हिम्मतको पहाड एकैपटक उभिएको थियो। मन दह्रो भएको थियो। पढेर यो जातीय थिचोमिचोको युग परिवर्तन गर्ने छाल उर्लिएको थियो।
बाको अनुहारमा भरोसाको चमक देखिन्थ्यो। निकै अबेरसम्म नि:शब्द आकाशको जुन हेरेर आँगनमै बसिरह्यौं हामी।
बाको निर्णयले एघार कक्षामा भर्ना भएँ। दलित कोटामा फि मिनाहा पनि भयो। सधैं बिहान बेलुकी १२ किलोमिटरको साइकल यात्रा गर्ने दैनिकी नै बन्यो। बिहान घरमा खाना खाएपछि एकैचोटि बेलुकी खाना खान घर आइपुग्ने बानी बस्यो।
कलेजमा खाजा खाने कुराको सोचै बनेन। क्यान्टिनतर्फ आँखा नलगाएपछि भोक पनि नलाग्ने रहेछ। मुखियाको छोरा किसन पनि वीरगन्ज नै बसेर मेरै कलेजमा पढ्न थाले।
स्कुलमा कहिल्यै नबोल्ने किसन कलेजमा बारम्बार मेरो वरपर घुम्न थाल्यो। म गाउँभरिमा राम्री मै गनिन्थें। मेरो रूपमा जातको रंग घुलेपछि मात्र म नराम्री हुनपुग्थें।
‘दलितकी छोरी यति राम्री छे। यसले त गावै बिगार्छे कि क्या हो ?’ – मेरा बारेमा गाउँलेले गरेका यस्ता टिप्पणी आफ्नै कानले धेरै पटक सुनेको थिएँ। यस्तो सुन्दा दौडिँदै घर पुगी फुटेको सानो ऐनामा अनुहार नियाल्थें। आफ्नो सुन्दरतादेखि आफैं भुतुक्क हुन्थेँ ।
कलेज जीवन रमाइलै हुँदोरहेछ। सायद उमेरले पनि होला। उस्तै उमेरका सबै। दलितकै छोरी भए पनि केटाहरूको नजर ममाथि परेको कुराको राम्रै हेक्का थियो मलाई।
केटाहरू जति जति नजिक आउँथ्यो म उति उति परपर हुन्थेँ। कहिलेकाहीँ मन उत्ताउलिएर उड्न खोज्थ्यो तर घरको परिस्थिति सम्झेर रोक्थें। अरुसँग जति नै पर भागे पनि किसनसँग भने कहिल्यै भाग्न सकिनँ। एउटै गाउँ। एउटै स्कुल। उसकै घरमा काम गरेर काटेको बचपनको यादले पनि मैले उसलाई पर राख्न सकिनँ।
गाउँमा हुँदा यसरी बोल्ने वातावरण पनि मिल्थेन। ऊ मुखियाका एक्ला छोरा। जातले ठूला। धनले ठूला। इज्जतले ठूला। तर कलेजमा हामीलाई घुरेर हेर्ने त्यो समाजको आँखा थिएन।
एघार कक्षाको आधाआधि नसकिँदै मेरो दैनिकी फेरिइसकेको थियो। दैनिक जसो किसन र म क्यान्टिनमा खाजा खान जान्थ्यौं। खाली समयमा सधैं ऊ मेरै समिपमा हुन्थ्यो। सुरु सुरूमा ऊ मेरो नजिक आउँदा मलाई डर लाग्थ्यो। हाम्रो सामाजिक परिवेशले हाम्रो सम्बन्धलाई स्वीकार गर्न असम्भव थियो।
मैले उसलाई पटक पटक नजिक नआउन सचेत गराएको पनि थिएँ। तर उसले मेरो कुरा मानेन। उसले प्रेममा जातिपातिको स्थान नहुने कुरा बताएर मलाई नजिक बनायो।
सानैदेखि गाउँमा जातीय हेपाइको जाँतोमा पिसिएर थिलथिलिएको मेरो मुटुको घाउमा उसको कुरो मल्हम बनेर आयो। उसको कुराले मेरो मनको महलमा ठूलो घर बन्यो। त्यसपछि उसका हरेक कुराहरू राम्रा लाग्न थाले। मनको कुनामा मायाको टुसा उम्रिएर आयो।
साउन महिनाको एक दिन। सिमसिम पानी परिरहेको थियो। कलेज सकिएपछि किसनले पानी नरोकिन्जेल बस्ने आग्रह गर्यो। मैले नाइँ भन्नै सकिन।
साइकल डोर्याउँदै उसको पछिपछि लागेर उसको कोठामा पुगेँ। साइकल तल राखी कोठामा पसेँ। दोस्रो तलामा रहेछ उसको कोठा। एउटा किचन र एउटा बेडरूम।
त्यो कोठै पनि मेरा लागि कुनै महल जस्तै थियो। झुपडीको एउटै कोठामा चार जना सुत्नेदेखि खाना पकाउनेसम्म गर्दै आएको मलाई यस्तो लाग्नु स्वाभाविकै थियो।
ऊ किचनमा चिया बनाउन लाग्यो। म पानीले भिजेको सल झ्यालमा सुकाई बेडमा बसे। एकैछिनमा ऊ चिया बोकेर आई मेरै छेउमा बस्यो। म केही नबोली चिया पिउन लागेँ।
निकैबेर हामी दुबै चुपचाप रह्यौं। उसको अनुहार रातो रातो भयो। मलाई पनि उकुसमुकुस भएर आयो। के बोल्ने के नबोल्ने सोच्नै सकिनँ। उसले एक्कासि
मेरो हात च्याप्प समातेर हड्बडाउँदै बोल्यो – ‘संगीता म तिमीलाई माया गर्छु। यो जातपात उचनिंचको कुरो म मान्दिनँ। यो समाजले जे भनोस् म
तिमीलाई छाड्न सक्दिनँ ।.....’ ऊ बोल्दै गयो म पग्लदै गएँ।
उसले अंगालोमा कस्दै गयो म बाँधिदै गएँ। म प्रतिकृयाविहीन बनें।
हामी एकाकार भयौं। हामीबीच कुनै दूरी रहेन। कुनै बन्धन रहेन। अनन्त आनन्दमा डुब्यौं। धेरैपछि म सामान्य अवस्थामा फर्किएँ। लाज हराइसकेको थियो तै पनि लाज लाग्यो। मैले उसको अनुहारमा हेर्नै सकिन। झ्यालको सल थुतेर तल झरें। साइकल चढेर बत्तिएँ घरतर्फ।
कोठाको कुरा मनमा खेलाउँदा खेलाउँदै कत्तिखेर घर आयो थाहै भएन।
त्यस दिनपछि मलाई सधैं किसनलाई भेट्ने हतारो हुन थाल्यो। कलेज जाने कुराले मन फुरुङ्ग हुन थाल्यो। किसनको कोठामा आउजाउ पनि बाक्लियो। मैले आफूलाई पूर्णतः किसनको अधिनमा सुम्पिएँ।
दसैं बिदा सुरू भएपछि हाम्रो भेटघाटमा पूर्णविराम लाग्यो। गाउँमा हाम्रो सम्बन्धको आगोको धुवाँ उडेर मुखियाको घरसम्मै पुगिसकेको रहेछ। मुखियाले घरमै आएर बालाई धम्काई सकेका रहेछन्।
‘तेरी छोरीलाई आकाशमा नथुक्नू भन्। आफ्नो हैसियत नबिर्सनू भन्। जुठेल्नाको भात भएर भकारीमा पस्न नखोज्नू। तँ मेरो आफ्नो मान्छे भएर सम्झाएको हुँ। तेरी छोरीलाई पोई नै चाहिएको भए एउटा केटो खोज् म पनि सकेको सहयोग गरौंला।’
मुखियाले यस्तै यस्तै भनेछन् बालाई।
मुखियाको कुराले बा निकै चिन्तित भए।
मलाई भने मुखियासँग रिस उठेर आयो। मैले बालाई चिन्ता नलिन भने।
मुखियाको घरतिर जाने मेरो बाटो पनि बन्द भैसकेको थियो। मलाई भने दिन रात किसनसँग कसरी भेट गर्ने भन्ने चिन्ताले खान थालेको थियो।
बिदाकै बेला मेरो महिनावारी बन्द भयो। सधैं ठिक समयमा हुने कुरो नभएपछि मनमा थोरै शंका बढ्यो। केही दिन पर्खे। हप्ता दिन बित्दा पनि नभएपछि भने डर लागेर आयो। खानामा पनि रुची मरेर गयो। म झन् आत्तिएँ। यो खबर किसनलाई सुनाउन ब्याकुल भएँ।
हरेक दिन खाना खाएपछि मुखियाको घर जाने नहरको बाटोमा कुर्न थालें। एकदिन अचानक नहरको कर्ल्भटमा किसनसँग भेट भयो। मैले रोकिने ईशारा गरेँ।
ऊ डरले थरथर काप्दै यताउता आँखा डुलाउँदै मेरो नजिक आयो।
मेरो नजिक भएर पनि ऊ मसँग भए जस्तो लागेन। ऊ मलाईभन्दा नहरको बाटोमा साइकल चलाई हिँड्ने मान्छेहरूलाई हेर्दै थियो। ऊ मसँग कुरा गर्न इच्छुक देखिन्थेन।
मसँगको भेटले ऊ त्रसित भएको कुरो उसको अनुहारको हाउभाउबाट प्रष्ट झल्किन्थ्यो।
मैले एकै सासमा आफ्नो हाल बताएँ।
मेरो कुराले उसको अनुहारको रंग फेरियो। गाला रगत खस्ला जस्तो रातो रातो भयो। उसको होसै उडे झैं एकैछिनमा निलो भयो। मैले उसको आँखामा हेरेँ। त्यहाँ मेरो लागि माया देखिनँ।
‘कसैलाई त भनेकी छैनौ नि ?’ – ऊ डराउँदै बोल्यो।
मैले ‘छैन’ भन्ने भावमा टाउको हल्लाएँ।
उसले लामो स्वास फेर्यो। घरका सबै जना मामाघर गएकाले सल्लाह गर्न राति अँध्यारो भएपछि घरमा आउन भन्दै म घरतर्फ आएँ। ऊ नहरको किनारैकिनार गाउँतर्फ लाग्यो।
एक्लै भएकीले साँझ खाना खान पनि मन लागेन। थैलीबाट सतुवा झिकी पानीमा घोलेर खाएँ।
किसनको प्रतीक्षामा मन अधिर भैरहेको थियो। अनेकौ अनिष्ट सोचले टाउको भारी थियो। मुखियाले आफूलाई स्वीकार्छन् भन्ने कुरोमा एकरत्ति पनि विश्वास थिएन तर किसनको प्रेमप्रति भने पूर्ण भरोसा थियो।
दश बजिसक्दा पनि किसन नआएकोले मनमा अनेकौ तरङ्गहरू खेलिरहेको थियो।
के किसनसँग घरपरिवारको विरूद्धमा विद्रोह गर्ने साहस होला कि नहोला ? यो समाजसँग लड्ने ताकत होला कि नहोला ? प्रेमको पक्षमा बोल्ने हिम्मत होला कि नहोला ? कतै हाम्रो प्रेमलाई परम्पराको भेलले बगाई लैजाने त होइन ? प्रश्न माथि प्रश्नको ज्वारभाटा उठिरह्यो।
बाहिर चुक घोप्टे जस्तै अँध्यारो थियो। म बिछ्यौनामा पल्टिएर किसनकै यादमा हराइरहेकी थिएँ। अनायासै मेरो नाकमा ह्वास्स मट्टितेलको गन्ध ठोकियो। घर बाहिर सर्याकसुरुक आवाज आएको जस्तो लाग्यो। पक्कै पनि किसन हुनुपर्छ भन्ने लख काटेँ। उठेर किसनको आवाजको प्रतिक्षा गर्न लागें।
मट्टितेलको गन्ध झन् झन् बढ्दै आयो। भित्ताको प्वालबाट बाहिर हेरेँ। निष्पट्ट अँध्यारोले केही देखिएन। ढोकाको चुकुल चलाएको आवाज आयो। ढोका नजिकै गएर कान थापेँ । तीन चार वटा लाइटरको प्याट्ट प्याट्ट आवाज आयो। अकस्मात घरको चारैतर्फ आगोको मुश्लो उठ्यो।
म आत्तिँदै ढोका खोल्न खोजेँ। ढोका खुलेन।
बाहिरबाट चुकुल लगाइदिएका रहेछन्। आगोको रापले म निथ्रुक्क भएँ। भित्तामा लात्तीले हानेर प्वाल पार्न खोजेँ। सकिनँ। छानाको छ्वाली तान्दा आगोको लप्काले मेरो कपडा समात्यो। मेरो शरीर जल्न थाल्यो। त्यो भिषण आगोसँग मेरो केही लागेन। म छटपटिएँ। यताउता दौडिएँ। त्यसपछि बेहोस भै लडें।
बिहान हुँदा म अर्कै दुनियाँमा पुगिसकेकी थिएँ। प्रहरीहरू आएर मेरो लाश हेरेर कागज गर्दै थिए। मेरो घरमा गाउँलेहरूको भीड थियो। भीडमा अनेक थरिका कुराहरू खासखुस खासखुस चलिरहेका थिए।
“आत्महत्या त हुँदै होइन ” “ मुखियाको छोरोसँग सल्केकी थिई रे , तिनैका कर्तुत पो हुन् कि ?” “ ढोका बाहिरबाट चुकुल थियो रे पक्कै कसैको हात छ।” “ त्यति राम्री पढेकी केटीलाई कसको नजर लाग्यो नि बरै ।” “ साना जातकाले ठूलो ताकेकाले यस्तो भोग्नु पर्यो ” “ गाउँभरीकी प्यारी थी बिचरी के दिन देख्नु पर्यो नि ” ।
सबैको आआफ्नै तर्क थिए। आमा छाती पिटीपिटी रूँदै थिइन्। बा आँखाबाट आँसु झार्दै नि:शब्द मेरो निष्प्राण शरीरलाई एकोहोरो हेरिरहेका थिए। भाइ अँध्यारो मुख लगाएर आँगनमा उभिएको थियो।
मुखिया थानाको सई साहेबसँग शिसौको बोटमुनि बसेर कानेखुसी गर्दै थिए। किसन आफ्ना साथीहरूसँग त्यही भीडमा थियो।
म किसनको अनुहारमा हेर्दै थिएँ। रत्तिभर शोक थिएन। प्रहरीले केही गर्लान् कि भन्ने आशा थियो तर उनीहरूले कसैसँग कुनै सोधपुछ नै गरेनन्।
प्रहरीले खाना पकाएको आगोबाट आगलागी भै भवितब्यबाट मृत्यु भएको भनेर ठहर नै गरिदिए। म सई साहेबको अगाडि गई चिल्लाएँ।
मलाई ढोका थुनी मुखियाको छोरोले आगो लगाइदिएका हुन् भनि ठूलो ठूलो स्वरमा कराएँ। कसैले सुनेनन्। म उनीहरूले नदेख्ने र नसुन्ने दुनियाँमा पुगिसकेको रहेछु।
किसनको अनुहारमा प्याच्च थुकिदिएँ। उसलाई कुनै असर गरेन। मेरो लाश पोष्टमार्टमको लागि अस्पताल पठाइदिए। त्यसपछि म एकाएक हराएँ। आँखा खुल्दा यहाँ स्वर्णद्वार आफूलाई पाएँ।
म दलितकी छोरीले कसैलाई प्रेम गर्न मिल्दैन र प्रभु ? तरुनी छोरी चाहिँ चल्ने उसकै बाबुले छोएको पानी चाहिँ नचल्ने पनि हुन्छ र प्रभु ?
बोल्दा बोल्दै मेरो स्वर अड्कियो। हलमा सुनसान छायो। म घुक्क घुक्क गरी रून लागेँ। प्रभुले अमिलो मुख बनाउनु भयो। प्रभुको इशारापछि राखी र सोनियाले मलाई उठाएर स्वर्ण महलतर्फ लगे।
फेरि एकपटक आमा ,बा र भाइको चिन्ताले सतायो। म पृथ्वीलोकदेखि धेरै टाढा पुगिसकेकोले मेरो केही लाग्नेवाला थिएन।
स्वर्ण महलमा एउटा सुन्दर कोठा मेरो लागि छुट्याइएको रहेछ। मन बोझिलो थियो। कतिबेर सुते पत्तै पाइनँ।
बिहानै राखी र सोनिया उठाउन आइपुगे। तीनै जना स्वर्ण ढक्की बोकी स्वर्ण बगैंचातिर लाग्यौं। बगैंचाका राम्रा राम्रा फूलहरू टिपी प्रभुको दरबारमा पुर्याएर पुनः स्वर्ण महलमा फर्कियौं।
सोनियाको कोठामा बसेर निकैबेर दुःख साटासाट गर्यौं।
हामी तीनै जना पृथ्वीलोकको यादमा फर्कियौं। एउटै गाउँ, एउटै स्कुल,एउटै कक्षा। तर फरक जात, फरक सोच र फरक संस्कार।
समाजले जतिसुकै फरक गरे पनि मन मिल्ने साथी थियौं। तर आज स्वर्गलोकमा त्यस्तो कुनै भेदभाव छैन। न जात न सम्पत्ति। न ठूलो न सानो। कति गाउनु स्वर्गलोकको महिमा। जति गाए पनि कम।
‘स्वर्गलोकमा यति आनन्दको जीवन पाउँदा पनि मलाई फेरि किन पृथ्वीलोककै छायाले लखेटिरहन्छ सोनिया ?’ - मैले बुझ्न चाहें।
‘सुरू सुरूमा यस्तै हुन्छ संगीता। पछि बानी पर्छ।’ – सोनियाले जवाफ दिइन्
‘तिमी मरे पछि त गाउँमा नानाथरीका कुरा चले। तिम्रा बा पनि तिम्रै पीरले वर्ष दिन पछि त मरे क्यारे नि होइन ? तिम्रा बासँग भेट भएन यहाँ ?’ – मैले पुन: प्रश्न गरें।
मेरो प्रश्नले सोनियाको आँखा रसायो। ऊ रुँला रुँला जस्तो गरी बोली – ‘तिमीहरूको भन्दा छुट्टै कहानी छ मेरो। सुन्दा पनि अचम्म लाग्ला। कतिले त पत्याउन र पचाउनै सक्दैनन् मेरो मृत्युको सत्य। लौ सुन म भन्छु मेरो जीवन कहानी।
मेरा बुवालाई त तिमीहरूले चिनेकै हौ। पाँच गाउँले मानेका मान्छे। गाउँलेहरू केही समस्या परेकी एकाबिहानै घरमै आइपुग्थे। बचनका पनि पक्का।
साना ठूला सबैलाई माया गर्ने। आफू ब्राम्हण कुलका भए पनि सुडी, तेली, पटेल,ठाकुर सबैलाई मिलाएर समान ब्यवहार गर्ने।
हामी छोराछोरीलाई पनि औधि माया गर्नु हुन्थ्यो। तीन जनामा कान्छी म बुबाको प्यारी थिएँ।
घरमा ठूलो दाजु,भाउजु,दाजुका दुई छोराछोरी,आमाबाबु र म गरी सात जना थियौं।
एक दाजु वीरगन्जमा कलेज पढ्दै थिएँ। बुवाको उच्च विचार र ब्यवहारका कारण हामी पनि बुवाप्रति गर्व गर्थ्यौं।
सायद उमेरकै दोष होला कसरी कसरी म हाम्रै कक्षामा पढ्ने राम आशिष ठाकुरसँग नजिकिन पुगें।
राम आशिषको बारेमा तिमीहरूलाई केही भन्नु परोइन।
पढाइमा सधैं पहिलो नै हो। बानी ब्यहोराको कुरा झन् के गर्नु। हाम्रो सम्बन्ध गाँसिनुमा उसको भन्दा मेरो नै बढी जोडबल थियो।
जातका कारण हाम्रो सम्बन्ध सफल नहुने कुरामा उसले बारम्बार मलाई सचेत गराएको पनि हो। हैसियत नमिल्ने हुनाले टाढा रहन सुझाव दिएको पनि हो।
तर उसको इमान्दारिता र निश्छलताले मलाई झन्झन् उसको नजिक तानिरह्यो। उसले दिएको चेतावनीलाई मैले गम्भीरताका साथ लिँदै लिइनँ।
एसएलसी दिएपछिको बिदामा मेरै करमा तीन चार पटक साइकल लिएर वीरगन्जमा फिल्म हेर्न पनि गएका थियौं। मसँग हिँड्न ऊ जतिजति डराउँथ्यो मलाई उतिउति उसको नजिक पुगेको महशुस हुन्थ्यो।
फिल्म हेरुन्जेल मलाई उसले अंगालो मारोस्, हात समाओस् भन्ने इच्छा लाग्थ्यो। तर ऊ एक अनुशासित विद्यार्थी झै चुपचाप फिल्म हेर्न मग्न हुन्थ्यो।
पछिल्लो पटक फिल्म हेर्न वीरगन्ज जाँदा मध्यान्तरको समयमा हलभित्र सानो दाजुसँग अकस्मात जम्काभेट भयो।
दाजुको डरले ऊ मलाई छाडेर भाग्यो। हलभित्रै मैले दाजुको एक झापड भेटें। अन्य दर्शकहरू हामीलाई हेरेर जिल्ल परे। मेरो मन भावी सजायको भयले थरथर काँप्न थाल्यो।
मैले फिल्म हेर्न आएको कुरा घरमा कसैलाई पनि भनेकी थिइनँ। हतार हतार साइकल स्टेण्डबाट साइकल झिकी घरतिर कुदेँ।
अब ढाँट्न सक्ने अवस्था पनि थिएन। बाटोभरि मनमा अनेक तर्कना खेल्यो। जति सोच्दा पनि बुबा आमालाई दिने जवाफ भेट्न सकिनँ।
बाटोमा राम आशिषलाई भेटिन्छ कि भनि टाढा टाढासम्म नजर लगाएँ। कतै देखिएन। जे जे होला होला भनि मनलाई दह्रो पार्न खोजेँ।
मनबाट डर हटाउन खोजें। तर सकिनँ। नहरको चौरीमा साइकल रोकी घण्टौं घोरिएँ। समाधानको कुनै बाटो देखिन। परेको सामना गर्नुभन्दा अर्को बिकल्प नरहेकोले घरतर्फ लागें।
म पुग्दा घरमा कर्फ्यु लागिसकेको रहेछ। सानो दाजु पनि वीरगन्जबाट घरमा पुगिसकेका रहेछन्। बुबा र ठूलो दाजु आँगनको खाटमा फुस्स फुलेर बसेका थिए। आमा त्रसित अनुहार लिएर नजिकै उभिएकी थिइन्।
सानो दाजु मुढामा बसेका थिए। म साइकल राखी सरासर आफ्नो कोठामा पसें। कोही बोलेनन्। उनीहरू सबैको मौनता भित्र एउटा नजानिँदो डर छिपेको थियो। साँझको खाना खान मन पनि लागेन। घर सुनसान थियो । घरको रौनक हराएको थियो ।
खाना खाइसकेपछि रातिको त्यस्तै दश बजेतिर बुबा र दुई दाजुले धनसारमा बोलाए। धान पराल राख्ने सो धनसार घरदेखि त्यस्तै पचास साठी मिटर पर थियो। म डराई डराई धनसारतर्फ गएँ। आमा र भाउजु घरमै बस्नुभयो। भित्र पस्नासाथै बुबाले मेरो गालामा एक चड्कन हान्नुभयो। जीवनमै पहिलो पटक बुबाको कुटाइ खाएकोले मलाई नरमाईलो लाग्यो। गालाभन्दा मन दुख्यो।
‘गाउँमा यत्रो इज्जत नाम कमाएर बसेको मान्छेको छोरीले त्यो नाथे नाइँको छोरोसँग यसरी हिँड्न तँलाई लाज लाग्दैन?’ – बुवाको मुखबाट निस्केको यो वाक्यले मनमा फेरि अर्को घाउ लगायो।
उनले गाउँमा सबै जातिपाति समान हुन् भनेर दिएका भाषण त मिथ्या पो रहेछ। यो एक वाक्यले बुबाप्रतिको मेरो सम्मान सबै चकनाचुर भयो। म नाजवाफ बसिरहेँ।
‘त्यो ठाकुरलाई छाड्छेस् कि तैंलाई काटेर दुई टुक्रा पारिदिऊँ भन् है उत्ताउँली ? घर खानदान केहीको ख्याल रहेन हैन तँलाई ?’- ठूलो दाइले मेरो कपाल समाएर फन्काउँदै सोध्यो।
दाजुको त्यो व्यवहारले मेरो आँखाबाट बररर आँसु झर्यो। बुबा र दाजुहरूको कुराले भित्रैबाट मन मरेर आयो। हिजोसम्म त्यति माया गर्नेहरूले जाबो एउटा केटा साथीसँग फिल्म हेर्न जाँदैमा यहाँसम्मको निँचता देखाउन के जरुरी थियो त?
उनीहरूको कुराले मेरो मन झन् जब्बर हुँदै गयो। धेरै घाउ दियो भने पीडा हट्छ भनेको ठिकै रहेछ। बुबा र दाजुहरूले दिएको यातनाले म भित्रको डर पनि हट्दै हट्दै गयो।
‘तँलाई मर्न मन छ कि त्यो नाइँको छोरालाई छाड्छेस् भन्।’ – सान्दाजुले नजिकै आई धम्क्यायो। यस्ता द्वैध चरित्र भएका पुरूषहरूका अगाडि बाँच्नु भन्दा बरु मर्नु नै निको लाग्यो। के भो के भो घर परिवार प्रति मेरो मन मरेर गयो।
‘म मर्न तयार छु तर उसलाई छाड्न सक्दिनँ।’- मैले कड्केर जवाफ दिएँ।
मेरो आवाज ठूलो देखेर ठूलो दाजुले मेरो दुबै हात पछाडि लगेर मलाई धुरी खाबोमा बाँधिदिए।
सानो दाजु रिसले भुन्भुनिँदै घरमा गएर मट्टितेलको जर्किन र सलाई बोकी आए।
इज्जत फाल्नुभन्दा त मरेकै बेश भन्दै मेरो शरीर र वरपर रहेको दाउरा परालमा मट्टितेल खन्याई मलाई अन्तिम चेतावनी दिँदै बोले- ‘भन् तँलाई बाँच्न मन छ कि छैन। त्यो ठाकुरलाई छाड्छेस् कि कोरिदिऊँ सलाई?’
दाजुहरू र बाबुको यस्तो व्यवहारले मलाई बाँच्नै मन लागेन। किनकिन मर्न डर पनि लागेन। मैले पुरानै अडान दोहोर्याएँ।
मेरो जवाफले रिसले आँखा रातो रातो पार्दै लौ मर्न मन लागे मर भन्दै सलाई कोरी मेरो शरीरमा फ्याँकिदिए।
आगोले झ्याप्पै टिप्यो पराल दाउरा र मेरो शरीर। म एक शब्द पनि चिल्लाइनँ। बुबाको अनुहार हेरेर रोइरहेँ। एकैछिनमा मेरो पूरै शरीर आगोको लपेटामा आयो।
धनसार जलेर खरानी भयो। मेरो जीवन सकियो। भोलिपल्ट तिमीलाई जस्तै प्रहरीले घर जलेर भवितब्य मृत्यु भएको भनि कागज बनाई मेरो डढेको शरीरको टुक्रो पोष्टमार्टमको लागि पठायो।
मान्छेका अगाडि बुबा दाजुहरू सबैले रोएको नाटक गरे। आमा भने साँच्चै नै मनबाटै रोइन्। यसरी समाप्त भयो मेरो चोला।
मेरो पापको बोझले बुबा पनि बित्नु भएछ तर उहाँलाई प्रभुले स्वर्गमा स्थान दिनु भएन।
यहाँभन्दा लाखौ माइल तलको खोंचमा रहेको नर्कलोकमा हुनुहुन्छ रे भनि यमदुतहरूले खबर ल्याएका थिए। मलाई खुसी नै लाग्यो।
आफ्नै छोरीको त्यस्तो निर्मम हत्या गर्ने बुबाहरुलाई नर्क बास दिएर प्रभुले न्याय गर्नुभएको छ। पृथ्वीलोकमा जस्तो पापीहरूले पद त प्रतिष्ठा पाउने चलन छैन प्रभुको दरबारमा।
त्यहाँ जस्तो साधुलाई शुली र चोरलाई चौतारी पनि हुन्न रहेछ यहाँ। यहाँ त हरेकको कर्मको पाई पाई हिसाब राख्नुहुन्छ प्रभुले। सत्कर्मले नै प्रभुको सेवामा रहन पाइने रहेछ।
सोनियाले आफ्नो कहानी भनिसक्दा हामी तीनै जनाको छाती आँसुले लपक्क भिजेको थियो।
‘प्रभुको जय हो ! प्रभुको जय हो ! प्रभुको जय हो !’ द्वारपालहरूको जयजयकारको ठूलो ठूलो आवाजले म झस्किएँ।
सोनियाले प्रभु सुनुवाइका लागि दरबारमा सवारी भएको जनाउ दिइन्। हामी तिनै स्वर्ण ढक्की बोकेर बगैंचातर्फ लाग्यौ।
ढक्की भरी भरी फूल टिपेर दरबारमा पुर्याई फेरि स्वर्ण महलमा फर्कियौं। म सोनिया र राखीले जे जे भन्छ त्यही त्यही गर्दै गएँ।
उनीहरूका कारण स्वर्गलोकमा मलाई निकै सहज भयो।
फुर्सदमा कुरा गर्ने साथी पनि भयो। प्रभुको सेवाबाट फुर्सद मिल्नासाथै एकै ठाउँमा जम्मा भएर कुरा गर्ने हाम्रो दैनिकी नै बन्यो।
सोनियाको दुःखले मलाई मेरो दुःख भुलाइदियो। मलाई त कुनै पराईले धोका दिएका थिए। उसलाई त आफ्नैले जलाइदिएका थिए। सम्झँदा पनि कहाली लागेर आयो। शरीरमा काँडा उम्रिएर आयो।
‘राखी तिमी चाहिँ कसरी आयौ त यो स्वर्गलोकमा ?’ - मलाई राखीको पनि पीडा बुझ्न मन लागेर सोधेँ।
मेरो प्रश्नले राखी एकैछिन अलमलिइन्। खुईए सुस्केरा हाल्दै आफ्नो कहानी बताउन अघि सरिन्।
मलाई त पृथ्वीलोकको सम्झना गर्न पनि मन लाग्दैन। त्यो लोकले दुख, पीडा,हैरानी भन्दा केही पनि दिएन। पुराना दिन सम्झँदा
नमिठो लागिरहन्छ। तिमीहरूलाई त थाहा नै छ दश कक्षा पढ्दै मेरो बिहे भएको कुरो।
पढ्छु भन्दा भन्दै बाआमा सबैले केटो असल र घरानीया छन् भनेर कुरो छिनी दिए। बिहे गर्दिनँ भन्ने हिम्मत पनि भएन।
बाआमाको रोजाइको केटालाई लोग्ने मान्न तयार भएँ। बिहे गरी गाउँ छाडें। मनमा ठूलै सपना सजाएर माइती छोडेको थिए। तर मेरो सपना टुट्न महिना दिन पनि लागेन। केही दिन त लोग्नेले निकै माया गरे।
दिन बित्दै जाँदा सासुको बुहार्तन सहनै नसकिने गरी बढ्न थाल्यो। दहेज थोरै ल्याएको भनेर दिनदिनै करकर गर्न थालिन्। ठूलो छोराको बिहेमा एक बिघा जमिन पाएका रहेछन्। मेरो माइतीबाट मात्र दुई लाख। यसमा मेरो के गल्ती थियो र!
बिस्तारै बिस्तारै घरको सबै काम मेरै टाउकामा आउन थाल्यो। बिहान भैंसीलाई कुडोपानीदेखि खाना बनाउने, भाँडा माझ्ने,घर सफा गर्ने सबै मेरो भागमा पर्यो। बिहानदेखि बेलुकीसम्म टाउको उठाउने फुर्सद नहुने।
एकैछिन ढिलो हुँदा पनि सासुले पिटुलाझैं झम्टने। जेठी बुहारी दिनभर कोठामा बसे पनि कुनै मतलब छैन तर मलाई भने सास फेर्ने फुर्सद नहुने।
जिन्दगी देखेर विरक्त लागेर आयो। आमाले के के कुरा लगाए कुन्नि हिजो माया गर्ने लोग्ने पनि झर्केर बोल्न थालेका थिए।
मैले जति गर्दा पनि कसैलाई आफ्नो बनाउन सकिनँ। मेरो आफ्नो भन्ने लोग्नेले नै मलाई बुझ्न नसके पछि मेरा लागि त्यो घर आफ्नो हुने कुरो पनि भएन।
एकदिन साँझ सासुले सबै घर परिवारका सामु मुखै फोरेर भनेकी थिइन् –‘कि तेरा बाउलाई दहेज थप गर्न भन् कि घरबाट निस्केर जा।’
आमाले सिधै निस्केर जा भन्दा पनि लोग्नेले एकै शब्द बोलेनन्। त्यसदिन मलाई हुरीले घरको छानो उडाए जस्तै भयो। म चुपचाप घर धन्दा सकेर कोठातिर लागें।
भोलिपल्ट बिहानै ससुरा,जेठाजु र लोग्ने खेततिर लाग्नु भो। मलाई जिउ भारी भएर आयो। टाउको दुखेदुखे जस्तो भयो। शरीर फतक्क गल्यो।
चक्कर लागेर लडुला जस्तो भएर कोठामा गएर पल्टिएँ। भान्सामा मलाई नदेखी सासु फतफताउँदै मेरो कोठामा आई कराउन लागिन्।
‘बिरामीको नाटक नगर माग्नेकी छोरी। खुरुक्क उठेर भात पकाउन जा।’
‘मलाई उठ्नै गाह्रो भएको छ आमा दिदीलाई भन्नोस् न आज।’- मैले यति मात्र बोलें।
‘ए उसको रिस गर्न पाउँछेस् त माग्नेकी छोरीले। यो घरमा बस्नु छ भने खुरु खुरु काम गर नभए नहरमा डुबेर मर। हामीलाई तेरो खाँचो छैन।’ – फेरि कडकिइन् सासु।
आफूलाई जति नै गाली गरे पनि सहन्थेँ। तर बारम्बार मेरा बाआमालाई मुछेर गाली गरेकोले मलाई पनि रिस उठेर आयो। अति भएपछि मैले पनि जे गर्न सक्नुहुन्छ गर्नोस् भनि जवाफ फर्काएँ।
मेरो जवाफ भुइँमा खस्न नपाउँदै सासु र जेठानी दुबै कोठामा पसी मेरो कपाल समाई घिसार्दै कोठाबाट बाहिर निकाले।
मुखमुखै लाग्छेस् भन्दै लात्तीले हान्न लागे। मैले कपाल छुटाउन निकै कोशिस गरेँ तर सकिनँ। टाउको चटचटी फुट्ला जस्तो भएर आयो।
के गर्ने के नगर्ने सोच्नै सकिनँ। जति गर्दा पनि नछोडेपछि मैले पनि सासुको कपाल समाई भुईंमा लडाइदिएँ।
उनको हात मेरो कपालबाट छुट्यो। मैले हात फर्काएपछि जेठानी डरले छेउ लागिन्। म कोठामा गएर पल्टिएँ।
साँझ घरमा कोलाहल मच्चियो। सासु र जेठानीले गाउँकै कुनै केटासँग लागेको भनि झूट कुरा लगाइदिए। लोग्ने रिसले आगो हुँदै कोठामा पसेर मेरो चुल्ठो समाई कुट्न लाग्यो।
लोग्नेको कुटाइले दिनभर पानी पनि नखाई शिथिल अचेत भएर भुईंमा लडेँ। मलाई स्वास फेर्न गाह्रो हुँदै गयो। त्यसपछि के भयो मलाई थाहा भएन।
भोलिपल्ट बिहान आँगनभरि गाउँलेहरूको भीड थियो। भान्सा कोठामा मेरो डढेको शरीर लडिरहेको थियो।
सासु र जेठानी कोकोहोलो गरी रूँदै थिए। प्रहरीले शरीरमा मट्टितेल खन्याई आगो लगाएर आत्महत्या गरेको भनि कागज लेख्दै थिए।
बुहारीलाई जलाएर मारे भन्ने एउटै थिएन। गाउँलेहरू तै चुप मै चुप थिए।
त्यसपछि मेरो लाश प्रहरीले लिएर गए। मेरो मृत्यु एउटा सामान्य आत्महत्या बनेर रह्यो। म यहाँ स्वर्गलोकमा आइपुगेँ।
राखीले आफ्नो दुःखद कहानी बताइन्। उस्तै उस्तै थियो हामी तीनै जनाको कहानी। हाम्रो गाउँको एउटा लुकेको सत्य।
जहाँ महिला मात्र जलेर मर्छन् आगोमा। जलेर मर्नेहरूमा एउटै पनि पुरूष पर्दैनन्। म आफैंलाई परेर स्वर्गलोकमा आएपछि मात्र मैले बुझेँ मधेशका चेलीहरूको कथा ब्यथा।
पृथ्वीलोकको नेपाल देशको मधेश प्रान्तमा एउटी चेली जलेर मर्दा गाउँ सबै चुप रहने। प्रहरीले कुनै खोजी नगर्ने। भवितब्य र आत्महत्या भन्दै फाइल बन्द गरेर मुद्दाको टुङ्गो लगाइदिने। बडा गजबको ब्यवस्था।
एक अर्काको कथा सुनेर तीनै जना दुःखी बन्यौं।
बिगुलेहरू बाजा बजाउँदै स्वर्णद्वारतिर लागेकाले हामी तीनै जना हतार हतार प्रभुको दरबारतर्फ लाग्यौं। हलमा खचाखच मान्छे भरिइसकेको थियो। हलमा प्रभुको सवारी भयो। सबै उठेर जयजयकार गर्यौ।
“ प्रभुको जय हो,प्रभुको जय हो, प्रभुको जय हो ।”
प्रभु मुस्कुराउँदै आसनमा विराजमान हुनुभयो। एउटा पुरुष रूँदैरूँदै प्रभुको पाउमा टाउको राख्दै बिन्ति गर्न थाल्यो – ‘प्रभु मेरी देवकीलाई पनि स्वर्गमा सानो ठाउँ निगाहा होस्।
उनी बिना मलाई स्वर्ग पनि अँध्यारो लाग्छ प्रभु। उनको र मेरो स्वर्गमा भेट्ने बाचा थियो प्रभु।’
उसको कुराले प्रभु मुस्कुराउँदै बोल्नु भयो – ‘प्रिय जन ! आत्महत्या गर्नेहरूका लागि स्वर्गको ढोका सधैं बन्द हुन्छ। एकपटक पाएको जीवनको मूल्य बुझ्न नसकेर, आफ्नो जीवनको बाटो पहिल्याउन नसकेर, समस्याहरूसँग जुध्न नसकेर सुन्दर जीवन समाप्त गर्नु पाप हो। उसले धेरै माया गर्नेहरूको दिल दुखाएर आएको छ, त्यसैले तिम्री देवकीलाई स्वर्गमा ठाउँ दिन सम्भव छैन। धैर्य गर यो एक जुनी पछि फेरि पृथ्वीलोकमा तिमीहरूको भेट हुनेछ।’
प्रभुको कुराले ती पुरूषको मुहारमा भरोसाको उज्यालो देखियो। प्रभुको जयजयकारले हल गुन्जायमान भयो ।
‘प्रभुको जय हो,प्रभुको जय हो, प्रभुको जय हो।’
हामी हलबाट निस्केर स्वर्ण महलतर्फ लाग्यौं। प्रभुको कुराले मनमा सानो कौतुहल मच्चियो । के साँच्चै आत्महत्या गर्नेहरूले स्वर्गमा स्थान पाउँदैनन् त ?
मनमनै गाउँमा झुण्डिएर मरेका दर्जनौं पुरूषहरूको नाम सम्झें। उनीहरूलाई स्वर्गलोकको कुना कुनामा पुगेर खोजें। प्रभुको वाणी सत्य ठहरियो। गाउँमा झुण्डिएर मरेका गरिब किसान मजदूरहरू कोही पनि भेटिएनन् स्वर्गलोकमा। धन्य प्रभु । प्रभुको न्याय अपरम्पार ।