कविता
कहिले काहीँ
म पढ्छु, बग्छु, देख्छु
भोग्छु
अनि बग्दै बग्दै
ती भावनाका गहिराइमा
वर्षातका पानीका बुँद बुँदमा
रुझ्दै रुझ्दै
बितेका तिम्रा
यादहरुमा
डुबुल्की मार्न पुग्दछु।
आखिर तिमी पनि त
एक नारी थियौ,
कतै तिम्रा यौवनहरु
ती बसन्तका वनस्पति झैँ
कतै खुल्ने प्रयास गर्दै थिए होलान!
कतै ती तिम्रा मनहरु
हिमालका सुन्दरतासँगै
ती चङ्गा हिउँ झैँ
सिमलका भुवारुपी भावहरुमा
ती निश्चल गगनहरुमाथि
साइबेरियाबाट बराल्लिदै बराल्लिदै
उडेका ती पंक्षी सँगसँगै
उड्ने कोशिस गर्दै थिए होलान् नि हगि!
त्यो समाज, ती तिम्रा अस्मिताहरु
अनि मेरो दायित्वमा
कहिले ऊ त कहिले त्योको भावमा
अल्झिएको तिमी जस्ता कयन नारीहरुको सपनामा
झुमिरहेको मेरो समाजमा
म जस्ता हजारौंँमस्तिष्कहरु
नतमस्तक छन् अनि विक्षिप्त छन्।
कोही यहाँ तिम्रो अस्मितामा खेल्न
उद्यत छन् त कोही
तिम्रो सपनाको महलमाथि
आफ्ना स्वार्थका पहाडहरु
ठड्याउन मस्त छन्।
म ती तिम्रा भावनाका
बेगहरु सम्झन्छु
अनि
तिम्रा ती गहनताका
बिसमतामा जानकार रही
तिम्रो अस्तित्वको रक्षाका निमित्त
जुर्मुराउन खोज्छु!
तर
यहाँ त हरेक मानिस
तिम्रा गहनाका अघि
स्वर्ण मुद्रामा झुम्ने प्रयास आज पनि
गरीरहेछन्!
अनि
यो अनि त्यो बहानामा
तिम्रो सपनाको महलमै
भित्र छिरी
तिम्रो अस्तित्वमाथि
हमला गरीरहेछन्, गरीरहेछन्।