मानौं यसरी बित्छ समय कि एकाएक दृश्य धमिलिँदै जान्छ। सुन्ने सबै शून्य हुन्छन्। भएको ठाँउबाट छुटी जान्छु र यस्तो ठाउँमा पुग्छ, जहाँ न भूत पुग्यो न भविष्य पुग्नेछ।
केही समय यस्ता पनि छन् जुन आफैंभन्दा भिन्दै तरिकाले चलायमान हुन्छन्, पर्खाइको समय। म पर्खाइको समयमा पुग्छु।
अक्सर प्रेममा दुरी दुष्ट बनेर स्थान लिइरहेको हुन्छ। हो, हाम्रो प्रेम यहीँबाट फरक छ।
हाम्रो प्रेममा दूरी हैन, समय दुष्ट भइदियो। यसरी भइदियो, जसको ओखती कुनै पनि चहारिएको दोकानमा भेटिएन।
साँच्चै, हाम्रो प्रेम फरक थियो, सुरूआतबाटै। हाम्रो पहिलो भेटमा तिमी महँगो देखिने सारीमा कहीँ पुग्नुछ भनेर सजिएर हिँडेकी थियौ। म सस्तो सेल्समा किनेको टि-सर्ट र हाफ-प्यान्टमा कहीँ त पुगिएला नि भनेर यसै एउटा फकिर जसरी हिँडेको थिएँ।
हाम्रो भेट यति असामान्य थियो कि तिमी धेरै पछिसम्म पनि यही कुरा निकालेर मलाई जिस्काई रहन्थ्यौ। तिमी जिस्किँदै सोध्थ्यौ, 'मैले त्यस दिन सारी नलगाएको भए?'
कति सरल प्रश्न। तर त्यत्तिकै सरल भएर उत्तर दिन मलाई गाह्रो पर्थ्यो। उल्टै जिस्किँदै भनिदिन्थेँ, 'के नांगै हिँड्थ्यौ त?' अनि बेस्सरी हास्थेँ।
तिमी म भएपट्टिबाट लाजले भुतुक्क हुँदै अन्तै फर्किन्थ्यौ। आफूलाई विस्तारै समेटेर फरक्क फर्केर मलाई काँधमा मुठ्ठी लगाउँदै भन्थ्यौ, 'छ्या...कति नजाती!'
'कति नजाती!' प्रत्येक पल्ट नजातीको जात पाउँदा पनि मैले त्यसको गम्भीरता बुझिनँ वा बुझ्ने प्रयास गरिनँ। यदि आज तिमी मलाई 'कति नजाती' भन्थ्यौ भने म सजिलैसँग भनिदिन्थेँ, 'मलाई तिम्रै जातको बनाऊ, जुन जातमा कुनै जातिले पनि हामीलाई नछुट्याओस्।'
हामी प्रेमलाई फरक स्वादमा बुझ्न मनपराउँथ्यौं। सधैंझैं एक शनिबार हामी पशुपति आर्यघाटको बाँया ब्रह्मनालपट्टीको पाटीमा गफ गरेको दृश्य याद आइरहन्छ। निकै छोटो भेटमा पनि हामी कुनै वस्तुको गहिराइमा पुगेर कुरा गर्न सक्थ्यौं।
तिमीले त्यस दिन बाग्मतीलाई हेर्दै भनेकी थियौ, 'मान्छे बाग्मती बन्नुपर्छ, जति धमिलिएर बगे पनि उसले आफू पवित्र हुनुको धर्म छाड्दैन।'
मैले फरक धारणा राख्दै भनेको थिएँ, 'मान्छे, मान्छे जस्तै बन्नुपर्छ जो बाग्मती जति नै धमिलिएर बगेको देखे पनि उसको पवित्रतामा प्रश्न गर्दैन।'
तिमी केही बुझेझैं गरी टाउको हल्लाउथ्यौं र त्यो कुरालाई अन्त कतै जोड्दै त्यसमा थप नयाँ र मिठा अर्थ पहिल्याउँथ्यौं।
त्यसै दिन मैले भनेको थिएँ, 'तिमी र म मा कति धेरै फरक छ है?'
तिमीले त्यस प्रश्नलाई हाँसेर उडाउँदै उल्टो मलाई सोध्यौ, 'किन र...डर लग्यो?'
म केही बोल्न सकिनँ। म किन चुप बसेँ, के म त्यस समयमा साच्चिँकै डराएँ?
होइन भने किन मैले प्रति उत्तरमा भन्न सकिनँ, 'डर हैन तारा, मज्जा लाग्छ। हाम्रो फरक फरक स्वादले गर्दा हामीले धेरै थोक चाख्न पाउँछौं।'
हिजो राती अबेरसम्म भएको वर्षाले बाग्मती झन् धमिलिएर बगेको हेरिरहँदा, के म डराएको थिएँ? म त कसैको प्रेम जितेको मान्छे, कसैलाई आफ्नो र आफू भन्दै हिँडेको मान्छे, कसरी त्यति सानो डरको विषय आउँदा हारेँ।
म भित्रभित्रै खुम्चिएर निशब्द थिएँ।
'अब के भाषामा पनि फरक देखाउन शान्त बसेको?' तिमीले जिस्किँदै मेरो मौनतामाथि पनि प्रश्न गर्यौ। एउटै प्रश्नमा गलिसकेको थिएँ। मलाई थप केही बलेर तिम्रा प्रश्नहरूमा गल्न मनै थिएन।
तर त्यही दिनदेखि ममा अनौठो किसिमको डर पस्यो। त्यो यसरी फस्टायो, म केही बोल्नुअगाडि राम्ररी सोचेर बोल्न सक्ने भइसकेको थएँ।
'कम बोल्ने अनि सोचेर बोल्ने' मेरो मूल मन्त्र भयो। यो सबै कुरा नजिकबाट याद गरिरहेकी तिमीले एकदिन बौद्ध रुफटपमा लस्सी पिउँदै अर्को प्रश्न गर्यौ, जसको सही उत्तर चाहेर पनि दिन सकिनँ।
'थाहा छ आकाश, तिमी आजभोलि कम बोल्छौ नि!'
'त्यस्तो होइन,' मैले जवाफ फर्काइहालेँ।
'कस्तो हो त, उसो भए?'
एकैछिन सोचेँ र अड्किँदै बोलेँ, '...बोली...रहेको...छु..।'
'उ...यस्तै भनेको। आजभोलि तिमी यसरी नै बोल्न समय लिन्छौ,' मैले केही बोल्न नपाउँदै तिमीले कुरा काट्दै भन्यौ।
मैले तिमीलाई कसरी स्पष्ट भएर सरल तरिकामा भन्ने कि म डरपोक भएको छु। सक्ने भए, भए जति साहस बटुलेर भन्ने थिएँ, 'प्रिय तारा, आजभोलि म डराउने भएको छु। तिमीले प्रश्न गरिहाल्छौ कि भनेर हो कम र सोचेर बोल्न थालेको।' स
क्ने भए भनिदिन्थे, 'तारा, तिमीदेखि डर बसेको छ मनमा। र यसले मलाई हिजोभन्दा आज झन् झन् खोक्रो बनाउँदै छ। सक्छौ भने केही गर तारा, मलाई बचाऊ, एक अनौठो डर पसेको छ।'
तर अहँ, हिम्मत आएन। टेबलको लस्सी पिउँदै फुस्रो स्वरमा जवाफ दिए, 'सुफिजम पढिरहेछु...। उनीहरू बोल्नु अगाडि आफूलाई तीन प्रश्न गर्थे रे। के मैले बोल्न लागेको कुरा सत्य हो? के यो बोल्न आवश्यक छ? के मैले यो कुरा बोल्दा कसैलाई हानी हुँदैन? यति सोचेर उत्तर पाएपछि मात्र बोल्थे रे...।'
मैले यति मात्र के भनेको थिएँ, तिमी एकै वेगमा गम्भीर भयौ र यसरी शान्त भयौ, मलाई झन् डर लाग्न थाल्यो। मन चिसिएर शरीर पोल्यो, अब तिमीले कहिल्यै बोल्ने छैनौं?
बाग्मतीले जस्तै तिमीले पनि आफ्नो धर्म पायौ, मौनता। लाग्यो अब सधैं तिमी यसमै बग्नेछौ। संसारमा कति नै कुरा होला जुन सत्य छ, बोल्न आवश्यक छ र जुन बोल्दा कसैलाई हानी हुँदैन।
स्तुपको आँखा हेरी गम्भीर हुँदै निकैबेर मौन भएको तिमीलाई देख्दा मलाई मेरो आफ्नै उपस्थिति त्यहाँ असहज लाग्यो। बरु मैले सरासर सत्य बोलेको भए तिमी मलाई थम्थमाउँदै भन्थ्यौ होली, 'किन डराउनु नि, म यहीँ छु, तिमी यहीँ छौ। फेरि?'
सिधा सत्य लुकाउँदा बांगो झुटले आफ्नै आङ कोपर्यो र पश्चताप मान्दै कामेको स्वरमा बोलेँ, 'के भयो र? बो...ल्दिनौ त?'
तिमी केही बोलिनौ। एक टकले गुम्बाको आँखा यसरी हेर्यौं कि तिमीले सारा जीवन खोजेको धर्म कति सजिलै झुट वाक्यमा भेट्यौ। तिमीले मेरो झुटमा आफ्नो विजय पायौ, आफ्नो जय जय पायौ। आउँदो समयसँगै झन् झन् गम्भीर हुँदै तिमीले अनुहार खुम्च्याउँदै गएपछि भने मैले बोल्नै पर्ने भयो।
'केही बोल्दिनौ त? के सोचेकी?'
कुनै झट्का लागेझैं तिमी पछि सर्यौ, सर्दा कुर्सीको आवाज आयो। गम्भीर भएर खुम्चिएको अनुहारको छाला हलुका बनायौ। अनि मुसुक्क मुस्कुरायौ, मलाई सन्तोष भयो।
'के सोचेथ्यौ?' मैले सानो स्वरमा फेरि सोधेँ।
प्रश्न नसक्दै तिमी जोड जोडले हाँस्न थाल्यौ। यसरी हाँसी मात्र रह्यौ कि भर्खरै तिमीले यो जे जति गर्यौ त्यो बिल्कुलै कुनै भूमिका निर्वाह गरीराखेका थियौ।
'मलाई झन् डराउन कस्तो नाटक जानेकी!' मन-मनै ठुस्किएँ।
हाँसो बिस्तारै कम गरेपछि तिमीले भन्यौ, 'के बोल्ने भनेर सोच्दा कति चोटि सोच्नु पर्दो रहेछ भनेर सोचेको नि।'
'मलाइ त्यतिकै, जेमा पनि उडाउनै पर्छ है।'
'हा...हा...हा...।'
आज लाग्छ ती समयबाट म निकै टाढा छुटिसकेको छु। अब फेरि त्यही समय पुग्ने कुनै बाटो छैन। आजभोलिका दिन निकै सरल छन्। डर हटिसकेको छ। सम्झनाको भुवा ओल्टाउँछु, पोल्टाउँछु। याद बुन्दै त्यसमा नयाँ अर्थहरू खोज्दै र थप्दै जान्छु।
तिमी र मबीच अहिले एक अनौठो समय बाँचेको छ जसलाई म 'जा, झटै गइहाल' भन्न सक्दिनँ। 'यहीँ बसिराख' पनि भन्न सक्दिनँ। मान्छे जतिसुकै नजिक हुँदा पनि उनीहरूबीच एक हिसाबको दुरी भइरहँदो रहेछ। हामी नजिक हुँदा त्यो दुरीले फस्टाउने माटो पाएछ। गोडमेलमा न तिमीले ध्यान दियौ, न मैले। त्यसको फल आज यो अनौठो समय सजाय भएर मिलेको छ।
धेरै पर्खाइ समयसँग मात्रै होइन, सम्बन्धसँग पनि जोडिएको हुन्छ। तिमीसँगको सम्बन्ध मेरो पर्खाइको सबैभन्दा दरिलो खाँबो हो।
तिम्रो पर्खाइमा मैले के-केसम्म गर्ने भएँ भनेर सोध्छ्यौ भने मेरो एउटै मात्र उत्तर हुनेछ, बाटो।
हो, तिम्रो पर्खाइमा मैले बाटो बनाएको छु। तिमी फर्किँदा यहीँ बाटो भएर फर्किनेछौ। बल र बुद्धि बिना स्वयंको स्वअध्ययनले निःस्वार्थ बनाएको बाटो हो यो। यो फरक बाटो हुनेछ, फरक यात्रा बोक्ने। फरक, जसले हाम्रो पहिलो भेट सम्भव गरायो। फरक, जुन तिमीमा डर बनेर कहिल्यै बसेन।
हो, त्यो निडर फरक आज म स्वीकार्ने भएको छु। जहाँसम्म आफू पुगेको छैन त्यहाँसम्म यो बाटो पुगेको छ। सायद बल र बुद्धिले यस्तो बाटो बन्दैन होला।
मैले पहिलो पटक बनाएको बाटो हिँड्दै गर्दा, तिमी मभित्र प्रवेश गर्न चप्पल मात्र के फुकालेथ्यौ, तिमी केही नबोली सरक्क आएकै बाटो फर्कियौ।
'के भयो, किन फर्किँदैछौ? मैले केही गल्ती गरेँ? किन डरायौ र? किन बोल्दैनौ? हाम्रो फरकमाथि शंका जाग्यो?' यस्ता सयौं प्रश्न फर्किँदै गरेको तिमीलाई मैले सोधेँ।
मैले तिमीलाई मेरो पखेटा काटिँदा, मलाई उडाउने जिम्मा तिम्रो हुनेछ कहिल्यै भनिनँ। मेरो उडानको सम्बन्ध आकाशसँगको मात्र होइन, म त जरा चिनेको मान्छे, एउटा हाँगो भाँचिदैमा रूख लड्दैन भन्ने मान्छे।
मेरो कमजोरी तिम्रो लागि मौका हुनुपर्थ्यो, फाइदा होइन। एउटा पखेटा काटिएपछि, मेरो आधा जित आकाशले पनि मानेन। आँखाले तिमीलाई देखिन्जेल चिच्याउँदै प्रश्न सोधेँ। जब तिमी बाटोसँगै धमिलिँदै गयौ तब आफैंलाई चर्किएर सोध्न थालेँ।
त्यस बेला गल्ती मेरो थियो? मात्र प्रश्न सोधिरहेँ। नजाऊ पनि भन्न सकिनँ। सायद प्रश्न सोधेर तिमीलाई गल्ती साबित गर्नुको साटो 'नजाऊ' भन्न सकेको भए मात्र पनि तिमीलाई हिम्मत आउँथ्यो होला हाम्रो फरक मिलाउन।
तर अहिले, अहिले त समय फर्काएको छु, तिमी गल्ती नबनिदेऊ। तिमी टाढिएपछि तिम्रा पाइला पनि मेटिँदै गए। अनि मैले तिम्रो चप्पल पनि सजाएँ।
मैले हाम्रो समय फर्काइसकेँ तर पनि तिमी मैले प्रश्न सोध्छु भन्ने डरले फर्किन्नौ होला। तर डराउने कुरा केही छैन। मैले कहिल्यै पनि कुनै उत्तर खोजिनँ। मैले त केवल तिम्रा प्रश्न तिमीलाई नै सोधेको हुँ। मैले तिमीलाई उत्तर बनाएर आफू प्रश्न हुने न कुनै काम गरेँ न कुनै कोशिस।
मान्छेले समयसँगै धेरै प्रश्नहरू त्याग्न सक्नुपर्ने रहेछ। मैले यति बुझिसक्दा त तिमी फर्किसक्नु पर्ने हो। सायद तिम्रो डर आफैंभित्र भएका प्रश्नहरूको हुनुपर्छ। जुन प्रस्नहरू तिमीले मलाई बुझायौ तर आफैंले बुझ्न सकेनौ।
मान्छेहरू जति नजिक हुन्छन्, उनीहरूसँग टाढा हुने त्यति नै धेरै कारण हुन्छन्। मान्छेहरू जति धेरै टाढा हुन्छन्, उनीहरूसँग नजिक हुने पनि त्यति नै धेरै कारण हुन्छन्। यो कुनै सिद्धान्त होइन। यो मेरो मनमा फुटेको पक्का भावना हो। जो कोहीले पनि यदि कसैलाई पर्खेको छ भने उसले यसमा आफूलाई चाहिने मात्रामा तथ्य आफैं भेट्टाउँछन्।
जानेहरूलाई सजिलो छ, न पर्खनुपर्ने, न फर्कनुपर्ने। त्यसैले तिमी जति टाढा जान्छौ, मेरो पर्खाइ त्यतिनै बलियो हुन्छ। मेरो पर्खाइ जति बलियो हुन्छ, म आफू त्यति नै कमजोर हुन्छु। झनझन् कमजोर हुन्छु। समय यसरी बित्छ, एकाएक दृश्य धमिलिँदै जान्छ। सुन्ने सबै शून्य हुन्छन्। भएको ठाउँबाट छुटी जान्छु।
'ओइ, के भयो? कसलाई पर्खेको? कति भयो पर्खेको?' कसैले मलाई बेस्सरी हल्लाउँदै सोध्दै गर्दा म आफूलाई व्यस्त पुतलीसडकको मुख्य सडकमा पाउँछु। कालो रङको निर्वाचन आयोगको झोला र हरियो प्रश्नपत्र बोकेको सुवोध रहेछ।
'के भयो?' भर्खरै कराउँदै कमलादीतिर गएको एम्बुलेन्सको आवाज चिर्दै उसले ठूलो स्वरमा सोध्यो।
'हँ, अँ, हाहा। केही नाइँ,' उतैतिर हेर्दै हल्का हाँस्दै जवाफ फर्काएँ।
'अनि, कति चाँडो निस्केको त आज? सबै सिद्ध्याइस् र?'
उसले यति सोधेपछि भने केही खुलेझैं भयो।
कहाँ छु? यो सब के हुँदैछ? को दोधार केही हदसम्म साम्य भएझैं भयो।
एमबिबिएस इन्ट्रान्सको साप्ताहिक परीक्षा दिँदै गर्दा समय सकिनु आधाघन्टा अगाडि नै जुरूक्क उठेर पेपर बुझाएको याद आयो। 'नेम' को सात तलामाथि टेस्ट दिइराखेको म एक्कासि पेपर बुझाएर तल के गरिराखेको थिएँ र?
'कसलाई पर्खेको? कति समय भयो पर्खेको,' सुवोधको प्रश्नमा केही समय जोड लगाएर सोच्दा पनि केही उत्तर पाउन सकिनँ। हलबाट निस्केको म, त्यो धुलाम्मे सडक, व्यस्त जीवन र अनावश्यक बज्ने हर्नका बाबजुद कति समय एकोहोरिएँ होला? म कुन समयमा बाँचे होला जब म यो समयमा बाँचेको थिइनँ? फेरि यो सहरको भिडमा पनि कति सजिलै एक्लिन सकेको म?
मलाई आफैंमाथि दया लागेर आयो। सुवोध आएर नबोलाएको भए? फेरि यतिबेरसम्म परीक्षा दिएर निस्केको कति जनाले बोलाए होलान्? अनि मैले जवाफ नफर्काउँदा उनीहरूले के सोचे होलान्? कसैले सोचे होलान्, 'यो यस्तै छ, आफ्नै सुरमा हिँड्ने।'
अरूले सोचे होलान्, 'यो त पागल हो, यस्ताले के मेडिकल पढ्ला र?'
म छक्क पर्छु। मलाई सही नसक्नुभयो। मनमनै खुम्चिएँ।
'यो वालाको केमा टिक लाइस?' विस्तारै प्रदर्शनीमार्गतिर हिँड्दै गर्दा उसले सोध्यो।
'यसपालि त अप्सन पनि हावा हाल्देको छ यार। जे पायो त्यही,' प्रश्नपत्रलाई बेस्सरी हान्दै ऊ फेरि बोल्यो, 'यो के प्रश्न हालेको यार मुलाहरूले। बोटानीको हामीलाई राम्रोसँग पढाएकै छैन....' मेडिकलका शब्दावली भट्याउँदै ऊ एकोहोरो बोलिरह्यो। मानौं, उसले भर्खरै आफ्नो छुट्टै संसार बनाएको छ जसमा मलाई उसले सुन्ने पात्रको भूमिकामा आकार दिएको छ।
खैर, मेरो संसारमा भने हामी नछुटिन्जेलसम्म त्यही दुइटै प्रश्न मात्र खेलिरहे।
प्रदर्शनीमार्ग जाने बाटो आएपछि भने उसले मन्द गतिमा भन्यो, 'ल आकाश म यहीँबाट छुट्टिन्छु। मूलपानीको बस पक्डिनुपर्छ। म गएको है। साँच्ची भोली कक्षामा छलफल गर्नुपर्छ। उत्तर सबै टिक लगाएर ल्या है।'
मैले हुन्छ भनेर बिदा मागी पुतलीसडक, डिल्लीबजार हुँदै मैतिदेवीतिर लागेँ। बाटोभरी नै मनमा सुवोधका दुई साधारण प्रश्न आए, 'कसलाई पर्खेको? कति समय भयो पर्खेको?'
मैतिदेवी मन्दिर पुगेपछि एक्कासि एउटा फकिरले लेखेको हरफ याद आयो। उत्तर भेटेझैं भयो।
फकिरले लेखेको हरफ थियो-
'मलाई तिर्खा लागिरहेछ। मलाई यस्तो तिर्खा लागिरहन्छ। तिर्खाले मेरो आँशु सुकेको छ। मलाई थाहा छ तिमी समुद्र हौ र म किनारमा बसिरहेछु। मेरो तिर्खा मेटिँदैन। म तिमीलाई पिउँछु आफ्नो तिर्खा बढाउन। तिमी समुद्र छौ, म किनार मात्रै छु। म तिमीलाई पिइरहेछु, पिइरहेछु। मेरो तिर्खा झनझन् बढ्दै छ। म पिइरहेछु र म तबसम्म पिइरहने छु, जबसम्म मेरो तिर्खा समुद्र बन्दैन र तिमी किनार…।'