शिर्षक लेखेर छोडेको पनि २/४ वर्ष बितिसकेको रहेछ। मिति २०७४/०३/२१, रातो मखमलको गाता भएको मेरो सुकिलो खाली डायरीको पानामा लेखिएर छोडिएको शिर्षक 'सुकिलो क्यानभास।'
आज एकदम नरमाइलो महशुस भयो फेरि! मान्छेको जात नै नहुने हरेक कुरालाई तुलना गर्ने बानीले दुखित तुल्याइदिने रहेछ। यस्तो भाको भए हुन्थ्यो, त्यस्तो भाको भए हुन्थ्यो भन्दै समयलाई पछि पार्दै उमेरले उकालो लागेको फिटिक्कै थाहा नपाइने।
जिन्दगी एउटा यात्रा अनि बाटो, दोबाटो, चौबाटोमा भेटिने अनगिन्ती यात्रीहरुले यी भावनामा बहने कमजोर मनलाई चोट र मलम दुवै लगाईदिने गर्दा रहेछन्। कसैले दिएको चोट या कस्ले लगाईदियो मलम भनेर पनि यही तुलना गर्ने बानीले नै हो महशुस गराईदिने रहेछ। चोट र मलमको कुरो मात्र हैन, आज नरमाइलो भयो यही साथीको साथको तुलना गर्नाले।
आजभन्दा करिब १६ वर्ष अघि भेटिएकी थिइन् उनी, मेरी सखी।
हामीले सँगै स्नातक तह उतीर्ण गर्यौँ। त्यसपछि अब स्नातकोत्तर गर्न मैले त्रिभुवन विश्वविद्यालयबाट गर्ने निधो गरेँ। तर सोचेर र सपना देखेर मात्र कहाँ पूरा हुँदो रहेछ र! म एउटा प्राइभेट कम्पनीमा जागिरे थिएँ र विश्वविद्यालयमा दिउँसो मात्र कक्षा संचालन हुने रहेछ।
अनि हाजिरी दिनको गणना अनिवार्य पुर्याउनु पर्ने रहेछ। मैले प्रवेश परीक्षामा नाम निकाले बाबजुत पनि त्रिभुवन विश्वविद्यालयमा पढ्न जाने सपनालाई सपनामै तुहाउनु पर्यो। जागिर छोडेर पढ्न जाउँ, घरको आर्थिक अवस्था राम्रो थिएन भने पढ्ने रहरलाई बिट मार्न पनि म सक्दिन थिएँ।
मेरो बुवाले सधैँ भन्ने गर्नु हुन्थ्यो, 'हामी गरिबको धन भनेकै शिक्षा हो। जुन अंशबण्डा गर्नुपर्दैन र मर्दा सँगै लैजान सकिन्छ अनि बिहान बेलुका सागभात खान आफ्नो इमान बेच्न पर्दैन। साथै छोरी मान्छे सक्षम भए कसैको हेपाई खप्न पर्दैन।'
मेरो बुबाको यी वचनले मेरो मनमा महाभारतका अर्जुनले भिष्मपितालाई हानेको वाणले खिले झैँ गरी खिलेको थियो। जसरी मर्ने र बाँच्ने दोसाँधमा असह्य पीडा सहेर बाँचेका थिए महाभारतका भिष्म, म पनि लगभग त्यस्तै दोसाँधमा परेँ।
आफूले सपना देखेको विश्वविद्यालयमा पढ्न जाउँ भने जागिर छोड्न पर्ने र जागिर छोडे घरमा चुल्हो बाल्न गाह्रो हुने अनि अध्ययन अगाडि नबढाउँ, गरीखाने जग्गा जमिन नभएको अवस्था।
यस्तै दोमन सँगै नेपाल टेलिकमले खुलाएको खुल्ला प्रतिष्पर्धा अन्तर्गतको अधिकृत स्तरको परीक्षाको तयारी गर्ने क्रममा विश्व निकेतन स्कुलमा संचालनमा रहेको तयारी कक्षामा जान थालेँ।
स्नातक तहको परीक्षापछि लगभग मेरी सखी, उनीसँगको भेटघाट निकै पातलिएको थियो र त्यतीखेर यो मोबाइल हुनेखानेले मात्र बोक्थे। फेरि फेसबुक, इस्टाग्राम जस्ता सामाजिक संजालको त कल्पना पनि गर्ने थिएनौँ होला हामी। यदाकदा कसै कसैले हाइ-फाइभ भन्ने सामाजिक संजाल चलाउथे उतिखेर।
उनीसँग पुनः भेट भयो, त्यो तयारी कक्षामा र खुब खुसी भयौँ हामी दुवै।
मैले मेरो त्रिविमा पढ्न जाने असमर्थताको कथा सुनाएँ। उसले मुसुक्क हाँसेर भनी-
'तिमी किन चिन्ता गर्छ्यौ, हामी दुवै जनप्रशासन विषयमा स्नातकोत्तर गरौँ। म पनि जागिरे छु र तिमी पनि। जनप्रशासन बिहान बेलुका कक्षा संचालन हुन्छ, हामी जागिरलाई पनि निरन्तरता दिन सक्छौँ अनि पढाइ पनि अघि बढाउन।
फेरि हामी जागिर नै खाएर जीविकोपार्जन गर्नु पर्ने र आफ्नै खुट्टामा उभिने सोच बनाएका छौँ भने सरकारी जागिरमा नाम निकाल्ने तयारी गर्नु पर्छ र जनप्रशासन विषयमा मास्टर डिग्री गर्दा सहयोग पनि हुन्छ। सरकारी नै नभएता पनि जुनसुकै संघ संस्थामा प्रशासनमा जागिर खाने बाटो खुल्छ।'
म उसको बोलीमा सहमत भएँ। के पढ्ने, कता पढ्ने भन्ने कुराको समाधान भयो। पढाइ पनि अगाडि बढ्ने भो अनि जागिर पनि रहने भो। त्यसपछिका दिनहरु हामी दुवैको निकै रमाइलो र हातेमालो गर्दै बित्न थाले।
उसले मेरो जीवनमा एक-एक गर्दै सहयोग र सल्लाहको रंगहरुले सुकिलो क्यानभासमा रंग थपीदिने काम गर्थी। मेरो निराशापनमा सकारात्मक उर्जा दिने पानी हाली मुर्झाएकी मलाई ब्युत्याउने काम गर्थी। बिहान लोकसेवाको तयारी कक्षा अनि बेलुकी जनप्रशासनको कक्षा मानौँ, हामी दुई यो देशकै नम्बर एक पढन्ते।
उसको निस्वार्थ माया र सहयोगले मेरो जन्दगीको सुकिलो क्यानभास हराभरा रंगमय भएको महशुस गर्न थालेको थिएँ। म निराशावादीलाई हरेक कुरामा आशावादी लगभग बनाईसकेकी थिई उसले।
लोकसेवाका दरखास्त फारम भर्न आफूले नभ्याए र पैसा नभए उसैले भरीदिन्थी। उसको कोठा मेरो अफिस नजिकै थियो, बोलाउँथी दिउँसो 'आज मासु पकाकी छु, आउन तात्तातो एक गाँस खाना खान।'
लाग्थ्यो, मेरी कुन जन्मकी आमा थिइ होलिन्। उ बेलाबेला सोध्थी 'म कस्ती छु है, हुरीबतास जस्ती एक ठाउँमा बस्न नसक्ने, जे नि गरी हाल्नुपर्ने है, जता पनि कुदी हाल्नुपर्ने। मलाई बौलाइ भन्छन् होला नचिनेकाले। है?'
म उसको चञ्चलताले भरिएको प्रश्नलाई मनमा लगाएर आनन्द लिन्थेँ अनि मसँग उसको प्रश्नको उत्तर हुँदैनथ्यो। उसको विचार एकदम सफा अनि उसको भावना दुधकोशीमा बगेको आमाको दुध जस्तै चोखो र निश्चल।
भन्थी- 'हेरन महिनावारी हुँदा मन्दिर जान हुन्न रे, आफ्नै शरीरबाट निस्किएको रातो तत्वको कारण हामीलाई त्यो चार दिन किन घृणा गर्छन् यो समाजका मान्छले। आखिर रजश्वला नै नभइ कहाँ जन्म दिएकी हुन् र!
त्यो मन्दिर भित्र पुजा गरी बस्ने पुजारीकी आमाले पनि तिनलाई। यो चार दिन यसो गर्नु उसो नगर्नु भन्ने नियम यही समाजले बनाएको हो। चलि आएको चलन, धर्म, संस्कृती जोगाउनु पर्छ तर धर्मको नाममा भएको घृणा र भेदभावले मलाई असह्य पीडा हुन्छ साथी। यही कुरीतिका कारण छाउपडी प्रथामा कतिले ज्यान गुमाएका छन्।'
उसको चञ्चलता कति खेर मुटु चिसो हुने भावनामा परिणत हुन्थ्यो पत्तो नपाइने। अनि यस्ता भावनाबाट उम्कदै अर्कै तिर कुरा मोडेर भन्थी-
'म कस्तो छु है, भनन तिमीलाई कस्तो लाग्छ?'
मसँग उत्तर हुँदैन थियो हरेक पटक उसको यो प्रश्नको...
त्यो ताका एउटा हिन्दी चलचित्र 'गजनी' को खुब चर्चा परिचर्चा सुनिएको थियो। म पनि फिल्म हेर्नमा माहिर नै थिएँ। 'गजनी' फिल्म नहेरी नछोड्ने भएँ र हलमा गएर हेरेँ। त्यो फिल्मको अभिनेत्रीको भूमिकाले मेरो मनमा गहिरो छाप पार्यो। मैले फिल्मको सुरुआतदेखि अन्तिमसम्म त्यो अभिनेत्रीको भूमिकामा मेरी सखीलाई पाएँ।
मैले उसको हरेक पटक गर्ने गरेको प्रश्नको उत्तर पाएँ र फिल्म सकिने बित्तिकै उसलाई भेटेर भनेँ 'तिमी गजनी फिल्मको हिरोइन जस्ती छ्यौ।'
उ दंग परी र हाँस्दै भनी- 'कहाँ हिरोइनसँग दाँजेको तिमीले मलाई, म त साधारण महिला हुँ।'
मैले भनेँ- 'तिमी आफूलाई म कस्तो छु भनेर प्रश्न गर्थ्यौ, मसँग उत्तर थिएन। मानौँ, मसँग तिम्रो वर्णनको लागि शब्द थिएन, तिमी कस्तो छौँ भनेर थाहा पाउन यो फिल्म हेर। हिरोइनको भूमिकाले तिमीलाई चित्रण गरेको छ भनेको हुँ सखी।
उसले भनी- 'म त तीन/घण्टा मरिगए पनि बन्द कोठामा बसेर समय बिताउन सक्दिनँ साथी। तिमी तिम्रो शब्दमा भन न म कस्ती छु।'
उसको चञ्चलताले म निशब्द हुन्थेँ, सकारात्मक सोचले मन पुलकित पारिदिन्थ्यो। बिहान बिहान हामीले चिया खाने पसलमा काम गर्ने तराई मुलको निख्खर कालो केटो पनि उसलाई राम्रो लाग्थ्यो।
उ भन्थी, 'सिकन्दर पनि कता-कता कति राम्रो छ नि, किन त्यसलाई काले भनेर होच्याएको होलान् यी चिया पसलमा आउने मान्छेहरुले!'
म पनि उस्को संगतले लगभग उस्तै सोच्ने भैसकेको थिएँ। नकारात्मक सोचाइले विस्तारै सकारात्मकता तिर धकेलिंदै थिएँ मै पनि।
यसरी हामी बीचको दोस्ती सुमधुर वातारणमा अघि बढी नै रहेको थियो। समाजलाई असह्य भयो या मानौँ मैले पाएको उसको न्यानो साथ र सहयोग अनि अघि बढ्न दिने हौसलालाई देख्नेले डाह गरे। के भयो, कसरी हामी टाढियौँ थाहा नै भएन। मेरो पारिवारिक बाध्यताले म विदेशीएँ दुई वर्षको लागि।
मैले उसलाई जाने बेलामा जाँदैछु पनि नभनी गएँ, त्यो कुरामा उसको चित्त दुखाइ थियो। मलाई त्यतीखेर के भयो मलाई नै थाहा थिएन। यो कुराले पछि मलाई आत्माग्लानी भयो। तर मैले उसलाई दिएको जुन स्थान थियो, त्यो मैले आजसम्म कसैलाई दिन सकिनँ।
उसको प्रगतीका कुरा सुनेँ साथीभाइबाट। उसले लोकसेवामा नाम निकाली भन्ने सुनेँ, म निकै खुसी भएँ। सम्पर्क विहीन थियौँ हामी, धेरै वर्ष नै।
उसले रंगाउन सिकाएकी मेरो जीन्दगीको क्यानभास अब फेरि धुलो मैलोले छपक्कै छोपिईसकेको थियो। रंगहरु उडीसकेका थिए। लगभग पुनः मेरो क्यानभास सुकिलो भैसकेका थिए। मेरो आफ्नै घर व्यवहार, पारिवारिक कारणले म पूर्ण रुपमा खोक्रिएकी थिएँ। क्यानभास पूरै सुकिलो भइसकेको थियो।
पुनः उसले मलाई खोजी, फेरि म उसको अगाडि हारेँ। म फोन गर्दिन थिएँ उसलाई। ऊ उच्च ओहदामा छे तर उसमा अहमताको बाछिट्टा रत्तिभर छैन। उसले साथीत्वको भरपुर साथ निभाएकी छे। म चुके बीचमा या भनौँ तिमी जस्तो सबै हुँदैनन् र म पनि तिमी हुन सकिनँ।
भगवानले तिमीलाई छुट्टै र मलाई छुट्टै गुणहरु दिएका छन् सखी। म आफूनै लज्जित थिएँ आफैदेखि। मेरो मनको कुरा म तिमीलाई भन्न सक्दिनँ र तिमीले भन्न पनि कहाँ दिन्छ्यौ र!
निदाएकी मलाई उसका हरेक सकारात्मक कुराले फेरि ब्युउझ्याइ। एकदिन भनी- 'तिमी त यसो लेखहरु लेख्ने गर्थ्यौ, फेरि लेख्न सुरु गर न। आफूमा भएको कलालाई सादा पानामा पोखन। लेखेर बरु दराजै भित्र बन्द गरी राख, भोलिपर्सी छोरा नातिले पढ्छन्।'
उसको बोलीमा खै के जादु थियो, मैले बन्द गरीराखेका कलमको बिर्को फेरि उघारेँ र सिरानीमुनि थन्काएर राखेको मेरो डायरी फेरि पल्टाएँ। मैले लेखेँ,.लेख प्रकाशित भयो 'सेतोपाटी' मा।
पहिलो बधाइ उसैको मेसेज थियो, मेरो मोबाइलको मेसेज बक्समा। तर आज म तिम्रो बेस्ट फ्रेन्ड हुँ भनेर भन्दै हिड्ने र फेसबुकका वालपेपर भरी 'आइ मिस यू' भन्नेहरुले तिम्रो लेख प्रकाशित भएको रहेछ र मैले नि पढेँ या पढ्न भ्याइनँ या ठिकै लाग्यो या सुधार गर्नुपर्छ जस्ता कुनै प्रतिक्रिया पाइएन। बरु यो महशुस भएको छ, झन् टाढिन थालेका छन् साथी हुँ भनी दाबी गर्नेहरु।
आजभोलि ऊ बेलाबेला मलाई घच्घच्याउछे हरेक कुरामा। म पुनः स्यामश्वेत जीन्दगीबाट रंगिन सुरुआत गर्दैछु। ऊ भावनात्मक र हौसलाले भरिएको रंगहरु दिन्छे। अनि म फेरि रंगाउन सुरु गर्दैछु मेरो जिन्दगीको सुकिलो क्यानभास।
आज पनि सोध्छे- 'म कस्ती छु है?'
मैले फेरि अस्तिभर्खर भनेँ उसलाई- 'तिमी 'गजनी' फिल्मको हिरोइन जस्ती।'
उसले फेरि भनी- 'मैले आजसम्म हेरेकी छैन त्यो फिल्म, अब हेर्छु।'
तर मलाई थाहा छ, ऊ हेर्दिन। ऊ त व्यस्त हुन्छे, सुकिलो क्यानभास खोज्दै रंगाउन।
समाप्त!