'आज चाँडै बिदा भयो भने बाटोमा कतै नभुलिकन घर आएस् है बाबु,' डहरमा पुगेर तगारो खोल्दै गरेको छोरालाई आमाले भनिन्।
'हुन्छ,' भनेर हतारहतार तगारो लगाएर छोरो स्कुलतिर कुदयो।
'आजसम्म त बिदा थियो। यसको काम खान पाइयाथ्यो। रक्सी पार्न पानी बोक्दिँदा नि ठूलै काम भाथ्यो। अबदेखि स्कुल सुरू भयो। पढाइ हुने पनि होइन। मास्टरहरू केटाकेटी स्कुल बोलाएर रमिता देखाउँछन् मात्रै,' एक्लै भुत्भुताउँदै थिइन् घरबेटी आमै।
तिनकै कोठामा बसेका सोही स्कुलमा पढाउने शिक्षक (मास्टर सा'प) मनमनै सोचे, 'छोरो स्कुल जाओस्। केही सिकोस् भन्ने त बाउआमाको मनमा छँदै छैन। खाली स्कुलमा पढाइ नभए त केटाकेटीलाई काममा जोताउन पाइन्थ्यो भन्ने ध्याउन्न मात्रै हुन्छ। फेल भयो भने मास्टरलाई गाली गरिदिए भयो।'
रक्सीको बाहन बसाल्दै गरेकी घरबेटी आमालाई मास्टरले सोधे, 'हजुरले त जतिबेला पनि रक्सी पारेको देख्छु त आमा। यसरी जतिबेला पनि रक्सी खाइरहँदा त स्वास्थ्यलाई असर पार्छ नि!'
'त्यो त हो मास्टर बाबु, भूकम्प गएपछि त मान्छेले काम गर्न छाडे। राहतले मान्छेलाई बिगार्नुसम्म बिगार्याछ नि! राहतको नाममा दुई-चार पैसा पाए भने कि त बाह्रमासे खेल्ने कि रक्सी खाने। हाम्रो पनि व्यापार चलिराछ। विरोध पनि गर्न भएन के गर्ने?'
'मास्टर तिम्लाई चल्दैन होला है। हाम्लाई चाहिँ नभै हुँदैन,' भित्रबाट घरबेटी बाले व्यंग्य कसे।
मास्टर केही नसुनेजस्तो गरी बसिरहे।
घरबेटी बाले मास्टरलाई बेला बेलामा कटाक्ष गरेकै हुन्थे। सुरुसुरुमा त मास्टरलाई असह्य हुन्थ्यो। पछिपछि बानी पर्न थाल्यो। मास्टरले त्यो कोठामा बसेको पहिलो दिनमै घरबेटी बाको मुखबाट भनाइ सुन्नुपरेको थियो- 'हाम्रा छोराछोरी अरबको खाडीआँ अर्काआ भूमिमा दस नङ्ग्रा खियार बस्याछन्। यिनीहरू भने कहाँ न महाँड आ’र पढाअ अस्तो अरेर सर्कारको तलब पचाकै छन्।'
भूकम्पले सोत्तर पारेको गाउँ। जताततै जस्ताका टहरा मात्रै देखिन्थे। गाडीको कुरै छाडौं, नयाँ मान्छेले गाउँमा पाइलो टेक्नै नहुने। भूकम्पको राहत आयो भनी बुर्कुसी मारी दौडन्थे। मास्टर पहिलो पटक शिक्षकको नयाँ नियुक्ति लिएर जाँदा अचम्म परे।
मान्छेहरू उनको झोला, सामानका पोकापोकी देखेर झुम्मिएका थिए। पक्कै पनि राहतको आशमा हुनुपर्छ। कोही नयाँ नौलो मान्छे गाउँमा आयो भने रोइकराई गरी आफ्नो दुःख देखाएर धेरथोर सहयोग माग्न पछि पर्थेनन् गाउँलेहरू।
ढलेको सिन्को उठाउन जाँगर नचलाउने तर कसैले राहतको नाममा केही कुरा लिएर आयो भने तँछाडमछाड गर्नेको भीड भने सधैं देखिन्थ्यो। उसो त गाउँमा सबै उस्तै थिएनन्।
'एक-दुई दिनलाई दिएको अनि मागेको खाएर सधैं चल्दैन। सिङ्गो जिन्दगी बाँकी छ। यसरी सधैं गुजारा चलाउन गाह्रो हुन्छ। अरुको आस गर्नु हुन्न, सक्दो आफैंले गर्नुपर्छ' भन्ने व्यक्ति पनि यदाकदा भेटिन्थे।
यस्ता जमात अल्पसंख्यकमा पर्थे। मागी खान पल्केका गाउँका बहुसंख्यक समूहले स्वाभिमानी सोच भएका व्यक्तिलाई गिराएर बोल्न पाउँदा निकै रमाइलो मान्थे। पिपलबोटे साइँलो ती स्वाभिमानी युवामध्ये एक थियो।
ऊ आफ्नै धुनमा काम गर्थ्यो। अरुको कुरा सुन्थेन। उसकी श्रीमतीलाई भने काम गर्न परेपछि ज्वरो आउँथ्यो। यही कुरामा दिनदिनैजस्तो ठाकठुक परिरहन्थ्यो।
'यो खेत छिचोल्न पनि कति गाह्रो है, कति झाडी बढेको? पहिले पो मान्छे रातदिन नभनी एकमेसै हिँडिरहन्थे र। अचेल गाउँबेसी गर्नका दुःखले सहरतिर झरे। भएका मान्छे मोटरबाटो हिँड्छन्। पुरानो बाटो सबै लेऊ लागेर हरियो भइसकेको छ,' आफू हिँडिरहेको बाटोसँग साउती गर्दै थियो साइँलो।
पुछारघरे कान्छोले भेट्यो र सोध्यो, 'हैन ए साइँलो, एक्लै भुत्भुताउँदै कता हो?'
'ए कान्छो पो! तल बेसीमा खेत गोड्न हिँडेको। बाटो छिचोल्नै नसकेर आपत भो भन्या।'
'वरिपरि सबैका खेत बाँझै छन्। टुसुक्क बीचमा दुई-चारवटा सुर्कामा धान रोपेर गेडो स्याहार्लास् त तैंले। खै केही नाप्लास् जस्तो त लागेन मलाई। अरू सबैले खेत रोप्न छाडिसके। तलाईं मात्रै के भूत चढेको हो,' पुछारघरे कान्छाले भन्यो।
साइँलोको कन्सिरीका रौं झनन् तातेर आए। ऊ पनि के कम, जवाफ फर्कायो, 'कहिलेसम्म अरुको अगाडि शीर निहुराएर दुई हात फिजारी मागेर खान्छौ ओ काखा दाइ। अलिकति पनि लाज लाग्दैन तिमीलाई? अहिले पो दुईऔचार महिनालाई विपत्तिको बेला हो भनेर सहयोग गर्लान्। पछि पाउन छाडेपछि के खान्छौ? सहरतिर पसेर कचौरा लिएर बस्ने विचार छ कि कसो?'
पुच्छारघरे कान्छो बोल्न सकेन। साइँलो उसलाई उछिनेर अघि हिँड्यो। खेत पुग्यो। वरिपरि डियाँ (गाईवस्तु)हरूको लस्कर। माहारेजति डियाँलाई धानतिर लघारेर कोही गफमा मस्त थिए। कोही मोबाइलमा व्यस्त।
'एकछिन नआएको भए त सत्यानाशै पार्ने रहेछ नि यिनका डाम्नाहरूले,' साइँलो कराउँदै खेतमा पानी सोझ्याउन थाल्यो।
साइँलो घरबाट खेततिर हिँड्ने बेलामा बुढीले कराएकी थिई। गाउँका सबै महिला राहत लिन भोलि बिहान १० बजे घुमाउने चौतारामा भेट हुने र सहबै सँगै जाने भनी अघिल्लो दिन सल्लाह भइसकेको थियो। त्यहीअनुसार साइँली घरधन्दा सकेर चिटिक्क परेर बसेकी थिई।
त्यही बेला साइँलो नाम्लो-हँसिया लिएर ओरालो लाग्दै गरेको देखेर साइँली च्याँठिई।
'हैन कहाँ मुन्टिन ला’को हो। त्यो हल गोरु पनि नजाने दुइटा सुर्काँ धान ला’र कति दिन खान पुग्छ? चटक नि अति नै गर्नी के। उहाँ मान्छेले बोराका बोरा राहतको चामल ल्या’र आनन्दले बस्याछन्। हाम्रालाई भने यही बेलाँ नाटक पार्न पर्नी। यस्तो लौने त शत्रुलाई नि नपरून् भग्मान! केहीमा नि कुरा मिल्दैन। खाली आफ्नै मात्र सुर छ,' साइँली चिच्याउनै थाली।
भान्सा कोठाभित्र पसेर भाँडा बजाई। साइँलो सुनेको नसुनै गरी ओरालो लागेको थियो।
खेतको आलीमा घाँस काट्दै गर्दा साइँलोले सम्झियो-
'यस्तो राम्रो घाँस गोठमा डियाँ भाको भए कति मजाले खाँदा हुन्। अहिले त गोठ रित्तै छ। अब म घाँस काट्न सक्दिनँ। हात छिया–छिया भा’र यस्तो भा’छ भन्दै दिनदिनै हात तेर्स्याउँथी। दुःखै भा होला जस्तो लाग्यो र कचकच सुन्नुभन्दा त गोठै खाली गर्नु बेस लागेर सबै वस्तुभाउ बेचिदिएँ। लइनो भैंसी बिहान एकछिन दुहुन ढिला हुँदा कराउँथ्यो। भैंसी आफैंले पाएको सन्तान जस्तो थियो। बाहिर कतै गएर आउँदा टाढैबाट गोसाइको गन्ध थाहा पाएर कराउन थाल्थ्यो। कति शोभा दिएको थियो घरको त्यो भैंसीले।
आडैमा टाट्नामा बाँधिएका बाख्रा। छुट्टै खालको सुगन्ध आउँथ्यो त्यो गोठतिर जाँदा पनि। भूकम्पले रित्याउन नसकेको गोठको काख राहतले रित्याइदियो। मागी खाने बानीले गर्दा मान्छेले पसिना बगाउन अल्छी मान्न थाले। अझ राहतमा पैसा पनि पाउन थालेपछि त तरकारी उब्जाउनुभन्दा ब्रोइलर मासु किनेर खान पो थाले त।'
एकछिन खेत गोडिवरी साइँलो छेवैको बुटामुनि सुस्ताएको थियो। भदौरे घाम उधूमै चर्किएको थियो। उसको खेत बाटोमै पर्ने, मान्छेको ओहोरदोहोर निकै भइराख्थ्यो।
त्यत्तिकैमा गैरारे माइलो आइपुग्यो र भन्यो, 'यो झाडीको बीचमा मुसालाई खेत रोप्देको हो साइँला?'
साइँलो केही बोलेन। उसलाई थाहा थियो, उसको त्यो कामलाई जो कोहीले मजाक ठानेका छन्। राम्रो गरिछस् भन्ने कोही भेटिन्थेनन्। तै पनि त्यस्ता प्रतिक्रियाबाट ऊ विचलित हुन्थेनन्। गैरारे माइलाको कुरा पनि सुनेको नसुन्यै गरी ऊ उठ्यो र खेत गोड्न थाल्यो।
मंसिर महिनाको पहिलो मंगलबार। न्वागी खाने दिन आयो।
तीन गाउँका मान्छे एकै ठाउँ थानीको मन्दिरमा भेला हुने दिन पनि हो। दिउँसो पूजा पाठ गरिन्थ्यो। राती ठिटाठिटी जम्मा भएर नाचगानका साथ खुब रमाइलो गर्थे।
आफूले उब्जाएको अन्न पहिला देवी देवतालाई चढाएर मात्रै खाने चलन थियो। त्यसलाई नैं न्वागी खाने भनिन्छ। यो मेलामा पहिलेजस्तो रौनक थिएन। मान्छेले अन्न उब्जाएको भए पो देवी देवतालाई चढाउन आउनु!
मुस्किलले पन्ध्र-सोह्र जनाले धान र चामल लिएर आए। हँसिलो हुँदै अन्न चढाउन आउनेमा थियो साइँलो।
अरूको मागी खाने बानीका कारण न्वागी खाने चलन हरायो।
विपत्तिले हामीलाई कमजोर बनायो। राहतको आशामा हेलिकप्टरको आवाजले हाम्रो नजर आकाशतिर तान्यो मात्र, जमिनको फलमा हाम्रो नजर गएन।
(लेखक प्रकाश कुमार सिग्देल श्री बालसिद्ध मा.वि. केवरे भञ्ज्याङ, स्याङ्जामा शिक्षक छन्।)