कविता
मन भित्र कैद गरेँ, मेरै चाहनामा,
भौतारिदै हिँड्न थालेँ, खोज्ने बहानामा।
भेट्दा तिमी बोल्यो मन, सर्वस्व नै पाएँ,
माथिबाटै भाग्य रेखा, कोरेर नै आएँ।।
जुनकिरी झैं बत्ती बाल्दै, तिम्रै छेउ घुम्छु,
सुँगा जस्तो नक्कल गर्दा, तिम्रै भाषा चुन्छु।
आएकी छु सजाई देऊ, मुटु भित्र बाँधी,
हलचल गर्ने छैन, आए हुरी आँधी।।
मौन भइ बस्यौ भने, मैले त्यसै बुझ्छु,
शंख भित्र किरा जस्तै, बनी भित्र घुस्छु।
तिमी भित्रै हराउने, इच्छा मेरो एक,
कदम यो चालिदिन्छु, मात्र खुट्टा टेक।।
सेतो पाना बनिदिन्छु, कोर सातै रंग,
सपनीमा मै धाउँछु, सुत मस्तसँग।
सारंगी हुँ रेटिदेऊ, अनेक छन् धुन,
झुमी हेर धुन भित्र, भेट्छौ कति गुण।।
गान्धारी झैँ पट्टी बाँधी, अन्धै बन्न पाऊँ,
शरण माग्छ अन्धभक्त, देऊ तिम्ले ठाउँ।
चाहिँदैन ऐना अब, तिम्रै रुप हेर्छु,
आकृति नै तिम्रो सम्झी, मिठो चित्र कोर्छु।।
बोलिदेऊ शब्द मात्र, गीत गाँसीदिन्छु,
ठोकिदेऊ मादलको, तालै नाचिदिन्छु।
तिमी दियो म बत्ती भई, जल्ने मौका देऊ,
थपिदिई तेल तिम्ले, बल्ने मौका देऊ।।