कविता
ऊ मृत्यु बोकेर आउँदैछ रे
हो यही खबर सुनेको थिएँ
र
म पनि डराएको थिएँ एक दिन,
आङ सिरिंग भएको थियो
खल्खली पसिना काढेर
डाँडाको टुप्पामा बसेर
शीरको हिमाल छामेर मैले
मेरो देश सम्झिएको थिएँ।
समुन्द्रमा
छरपस्ट फालिएका लासहरू,
छट्पटाइ रहेको
इटाली बासीको चित्कार
मेरो मानसपटलमा
समाचार बनेर
घुमिरहेको थियो।
आँखामा लालीगुराँस उमारेर
डाँडाकाँडा,
फाँट र बेँसीहरू हेरेर
सम्झिएको थिएँ
ऊ...
कसरी आउँछ होला
कहाँबाट आउँछ होला
उडेर हावामा आउँछ कि
गुडेर गाडीमा आउँछ?
या मैले थाहा नपाउने गरी
पैदलै ऊ सुटुक्क आउँछ
मेरो आँगनमा।
मान्छे मान्छेसँग डराएको थियो
म
मसँगै डराएको थिएँ।
तर
तर आज म
उसैसँग लडाइँ लडीरहेछु
यो हार-जितको लडाइँ,
ऊ हारिरहेछ
म जितीरहेछु
यो उसको र मेरो लडाइँ।