चैत महिनाका सुरूआती दिनहरू, कोहलपुरमा गर्मी सँगसँगै मेरो काम पनि बढ्दै थियो।
वर्षका छ महिना व्यस्त हुन्छु म। चाडपर्व, विवाह, ब्रतवन्धका लगन बढे मेरो व्यस्तता वढ्छ।
नयाँ वर्ष संघारमा थियो, आउँदै थिए अन्य चाडपर्व अनि विवाहका लगन।
लगन बढे काम, काम बढे आम्दानी, आम्दानी बढे सुख, सुख बढे खुसी। मेरा खुसी, सुख, आम्दानी सबैथोक लगनमा निर्भर थिए।
लगन मेरा अवसर थिए जिन्दगीका।
डाक्टरको छोरो सजिलैसँग डाक्टर बन्छ। पाइलटको छोरो उस्तै गरी पाइलट बन्छ। इन्जिनियर आफ्नो छोरोलाई इन्जिनियर बनाउने सपना देख्छ। व्यापारीको छोरो व्यापारमै रमाउँछ। लाहुरेका सन्तान लाहुरे बन्छन्, किसानका छोराछोरी खेतबारीमा जम्छन्। अपवाद बन्न सकिनँ म। टेलर छ मेरो, लुगा सिउने काम गर्छु। बाले सिकाएका, लुगा सिलाउन।
बाका आफ्ना इष्ट (लुगा सिउन जाने घरको मालिक) थिए। बाको मात्र होइन ठूलाबा, कान्छाबा सवैका आ–आफ्ना इष्ट थिए।
इष्ट अनुसारका गाँउ थिए। टाकुरी गाउँमा थिए बाका इष्ट, कान्छा बाका दोभान चौरमा, माइलाबाका माझ गाउँमा थिए।
बा, ठूला बा, कान्छा बा सबैले इष्ट भन्थे, इष्टले दमाई भन्थे। कति ठूलो भिन्नता? कति ठूलो विभेद ? कति ठूलो अपमान?
वास्तै नगर्ने इष्टहरू दसैं, तिहार, विवाह, व्रतबन्धजस्ता अर्वपर्वमा खुब सम्झन्थे। पञ्चेबाजा बजाउन लाउँथे।
नयाँ लुगा सिलाउन दिन्थे। पुराना लुगा मर्मत गराउँथे। सिरक, डसना बनाउन लाउँथे। फुसर्द हुँदैनथ्यो बालाई, व्यस्त हुन्थे। वरिपरि नयाँ, पुराना लुगाको खात बनाएर बीचमा बस्थे, सँगै बसाउँथे मलाई।
सिसाकलम कानमा अड्याउँथे। सियोलाई टोपीमा घुसारेर कल (लुगा सिउने मेसिन) घुमाउँथे। कलको घुमाई रमाइलो लाग्थ्यो मलाई। खट्खट् गरी कल बज्दा धागो घुमिरहेको हुन्थ्यो, म हेरिरहन्थें।
बा दिनभर लुगा सिउँथे। लुगा सिउँदा दर्जनौं पटक सियोले घोच्थ्यो तर ऐंयासम्म भन्दैनथे, सियोको खोपाइभन्दा ठूला- ठूला चोट सहेका बालाई के छुन्थ्यो त्यसले ?
इष्टको नाति मेरै उमेरको थियो, मसँग नजिक हुन खोज्थ्यो, खेल्न खोज्थ्यो। कल घुमाएको रहर मानेर हेथ्र्यो उसले पनि।
कलको छेउमा आउन खोज्थ्यो तर दिइँदैन्थ्यो। हामीसँग बसे, खेले, खाए छोइन्छ भन्थे, बिग्रिन्छ भन्थे। किन भन्थे त्यस्तो? हामीसँग बस्दैमा, खेल्दैमा, खाँदैमा किन बिग्रन्थ्यो होला ऊ ? कसरी बिग्रन्थ्यो होला ऊ ? के हुन्थ्यो होला त्यस्तो हामीसँग बस्दा ? हामी पनि मान्छे नै थियौं तर उनीहरूका नजरमा मान्छे बनिसकेका थिएनौं कि सायद ?
पढ्न भनिन्थ्यो उसलाई, खुब पढ्थ्यो ऊ। उसले पढेको बाले हेर्थे र विस्तारै भन्थे `बाबु तैंले पनि पढ्नुपर्छ। शिक्षक बन्नुपर्छ। भाइलाई पढाउनुपर्छ। शिक्षक बनाउनु पर्छ।’
बाको सपनालाई सुस्तरी सुन्थें म, मनमनै गुन्थें म।
सूर्य अस्ताउँदै गर्दा नुन, चामल, आलु पाउँथे बाले, थप केही हुँदैन्थ्यो। दिनभरको कमाई त्यही थियो बाको, जतनले पोको पार्थे त्यसलाई। कललाई झोलामा राख्थे। लामो फित्ता थियो झोलाको।
टाउकोमा बोक्थे। सूर्योदयदेखि सूर्यास्तसम्म लुगा सिलाएका बा र म जुनको मधुरो प्रकाश पछ्याँउदै घर फर्कन्थौं। बाटोमा झ्याउकिरीहरूले गीत गाइरहेका हुन्थे, लहराका छाया हल्लिरहेका हुन्थे।
घर पोत्नेको घर हुँदैन्थ्यो, खेत जोत्नेको खेत हुँदैनथ्यो। नयाँ लुगा बनाउने, पुराना लुगा सिलाउने बा का लुगा कहिल्यै पनि सद्दे भएनन्। सधैं च्यातिएका हुन्थे, दस ठाउँमा टालिएका हुन्थे, धुजाधुजा भएका हुन्थे। बालाई लाउने रहर हुन्थेन कि ?
देशमा द्वन्द्व चर्किंदै थियो। हत्या, अपहरण, चन्दा आतंक, बम विस्फोट, दिनहुँ समाचारका विषय बन्थे। मानिसको मृत्यु सामान्य भइसकेको थियो।
गाँउ-गाँउमा डर, त्रास थियो। कति बेला मरिने हो? थाहा थिएन। कति बेला अपरहरण हुने? हो त्यो पनि थाहा थिएन। कसले, कसलाई, कसरी मार्छ ? कसरी अपहरण गर्छ ? कति चन्दा उठाउँछ ? कसरी उठाउँछ ? थाहा हुने कुरै थिएनन्। सोझा सिधा जनता गोरुको जुधाईमा परेको बाच्छो जस्ता भएका थिए।
शिक्षक बनाउने सपना देखाएका मेरा बा पनि अपहरणमा परे। बाले देखाएको सपना स्थगित भयो।
शिक्षक बन्ने सम्भावना सकियो। जिम्मेवारी थपियो। विद्यालय टाढियो। हातले कलम होइन, कल समाउन थाले। अरु सीप थिएन, बाको जस्तै पेसा अङ्गाल्नु पर्यो, अगाँले तर भाइ अपवाद बनोस् जस्तो लाग्छ। बा को सपना पूरा गरोस् जस्तो लाग्छ। बाको मात्र होइन, त्यो सपना मेरो सपना थियो। भाइको सपना थियो।
साना मान्छेका साना सपना हुँदा रहेछन्। भाइलाई डाक्टर, पाइलट, इन्जिनियर बनाउने सपना देखेनन् बाले, सायद आफ्नो हैसियत थाहा थियो बालाई। भाइले लुगा सिउने काम नगरोस्, समाजमा ज्ञानको ज्योति छरोस्, शिक्षक बनोस्, यस्तै सोचे बाले, यस्तै कल्पे बाले।
रातमा देखेका सपना झिसमिसे मै बिर्सन्थें म। गाउँका सारा बच्चाहरूलाई भाइले पढाएको हेर्ने सपनाले भने पिरोल्थ्यो मलाई। कयौं रात सुत्न सक्दैनथें।
भविष्यमा भाइले के गर्ला ? भाइ के बन्ला ? कस्तो होला उसको भविष्य ? हाम्रो सपना के होला? यस्तै चिन्ताले सताउथ्यो मलाई।
भाइ पढ्दै थियो गाउँमा, १० कक्षामा। उसको पढाइ राम्रो थियो। गणित, विज्ञान रुचीका विषय थिए उसका।
अग्रंजीमा केही कमजोर थियो तर विद्यालयको उत्कृष्ट विद्यार्थीमा चिनिन्थ्यो। सबै शिक्षकहरूले माया गर्थे, शिक्षक बन्न प्रेरणा दिन्थे।
पढाइबाहेक अन्य कुरामा खासै ध्यान दिँदैनथ्यो उसले।
चैत ६ गतेदेखि सुरू हुँदै गरेको एसइईको परीक्षा हाम्रो सपनाको जग थियो। जग बलियो भए, घर बलियो हुने थियो। भाइको एसइई राम्रो होओस्, भविष्य उज्जवल होस् यस्तै कामना गरे।
परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको थियो। आदित्य माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको थियो। केन्द्रको नजिकै मितिनी बईको घर थियो। भाइलाई त्यही घरमा बस्ने व्यवस्था मिलाइ दिइन् बईले।
दुई हप्तासम्म पुग्ने सामनसहित दुई दिनअघि भाइ मितिनी बईको घर पुगेको थियो। बईले जस्तै मितिनी बईले पनि भाइलाई खुब माया गर्थिन्। आवश्यकता भन्दा कम बोल्ने मेरो भाइ ज्ञानी थियो, मिहिनेती थियो, व्यवहारिक थियो, सबैले माया गर्थे उसलाई।
विद्यालयस्तरका अरु परीक्षा सँगसँगै एसइई पनि पोहोर सालको भन्दा केही अघि सरेको थियो, कारण थियो कोरोना भाइरस।
संसारभर त्रास फैलाएको कोरोना महामारीले देशलाई कुन समयमा आक्रान्त पार्ने हो ? कसैले आंकलन गर्न सक्ने अवस्था थिएन।
शैक्षिक वर्ष सकिँदै गर्दा एसइई परीक्षा सकाउने तयारीमा सबै जुटेका थिए।
एफ. एम. बजिरहेको थियो। सधैं बज्थ्यो। कहिले गीत बजाउथ्यो, कहिले समाचार तर मलाई वास्ता लाग्दैन्थ्यो । आफ्नै काममा व्यस्त रहन्थें।
एक हप्ता अघिको अर्डर त्यस्तै थियो। हुनेवाला बेहुलाले सुट सिलाउन दिएका थिए, भोलि आउँछु भनेका थिए। मैले जसरी पनि सकाउनु थियो, बेहुलाको चित्त बुझाउनु थियो।
एफ. एम. का समाचारलाई वास्ता नगरे पनि `भोलिदेखि सुरू हुने एसइई परीक्षा स्थगित’ भन्ने समाचारले मन तरङ्गित बनायो, लुगा काट्न दौडिएको कैंची टक्क रोकियो।
कैंची मात्र रोकिएन, मेरो सपनाको जग ढलमलायो। बुढी र माझी औंलाले समातेको कैंचीलाई हातबाट निकालें, टेबलको छेउमा राखें, कुर्सीमा थुचुक्क बसें।
भाइजस्तै झन्डै पाँच लाख विद्यार्थीहरू परीक्षाको तयारीमा थिए।
आ–आफ्नो केन्द्र नजिक पुगिसकेका थिए। पहाडका परीक्षा केन्द्र तराईका जस्ता हुँदैन्थे। भाडा तिररे कोठा खोज्नु पथ्र्यो कि त आफन्तका दैला चहार्नुपथ्र्यो।
परीक्षा सुरू हुँदै गर्दा बन्दोबस्तीको झमेला व्यहोर्नु पथ्र्यो। झोलाझाम्टाको व्यवस्था गर्नुपथ्र्यो।
दुईदिनदेखि मितिनी बईकोमा थियो भाइ।
फोन गरे, उठेन। फेरि फोन गरे, उठेन। किन उठाउँदैन भाइले फोन ? मन डरायो, कतै केही भयो कि भनेर।
भाइलाई केही भए मेरो सपना के हुन्थ्यो ? बाको सपना के हुन्थ्यो? मन झनै डरायो। भाइलाई पटक-पटक फोन गरिरहे तर उठ्दै उठेन। प्रयास जारी राखें।
बाह्रौ प्रयासमा फोन उठ्यो तर भाइले उठाएन। मितिनी बईले उठाइन् र भनिन्।
`हेलो, को बोलेको ?’
मितिनी बई फोन उठाउन सक्थिन् तर कसले गरेको थाहा पाउँदैनथिन्। अक्षर, अंक केही चिन्दिनथिन्, अनपढ थिइन्, काला अक्षर भैंसी बराबर भन्थिन्।
फोन उठाउन बित्तिकै सोध्थिन्, `हेलो, को बोलेको ?’
`म बसन्त हो, मितिनी बई’
`को बसन्त ? ’
मितिनी बईलाई मेरो नाम थाहा थिएन। भेट हुँदा ठूला भन्थिन्। नामले कहिल्यै बोलाउँदैनथिन्। भाइको नाम थाहा थियो मितिनी बईलाई।
`म शिशिरको दाइ, मितिनी बई। शिशिर कहाँ छ ? फोन किन उठाँउदैन ? ’ मितिनी बईको हालखबर, सञ्चो बिसञ्चो केही नसोधी सिधै भाइको बारेमा सोधें।
`परीक्षा दिन आयाऊ मान्छ काँ हुन्छ ? पढ्दै छ तेरो भाइ। पढ्या पढ्यै छ। क्या काम पर्यो भाइसँग ? एकछिन पख, भाइलाई फोन दिन्छु।’ मितिनी बईले हकार्दै भनिन्। ठूलो स्वर थियो उनको, मन परेन भने खुब हकार्थिन्।
माया लाग्यो भाइको। परीक्षा स्थगित भइसकेको थियो तर भाइ पढ्दै छ, फोन नै नउठाएर। पढाइमा ध्यान दिने मेरो भाइ परीक्षाको बेला झन् धेरै पढ्थ्यो।
खान सुत्न बिर्सन्थ्यो। बाहिरी दुनियाँ भुलेर पढाइमा केन्द्रित भाइलाई के भनूँ अब ? जाचँ स्थगित भयो भनूँ ? वा पढ्दै गर भनूँ ? के भनूँ ? कापी, कलमसहित घर फर्के भनूँ वा मितिनी बईकोमा बस् भनूँ ? टेलरमा धेरै अर्डर छ, कोहलपुर आइज भनूँ ? कि खेतवारी जोत् भनूँ? केही सोच्न सकिनँ।
`ओई शिशिर, तेरो दाइको फोन।’ मितिनी बईको आवाज सुनियो।
`हेलो दाइ।’ फोन उठाउँदै भाइ बोल्यो।
`के गर्दैछस् ? ’
`जाँच आको मान्छ, भोलिदेखि जाँच छ। के गर्नु ? पढ्दै छु।’ भाइ बोल्यो। केही बोलिनँ म।
`के भयो दाइ ? किन बोल्नु हुन्न ? ’
`परीक्षा स्थगित भयो।’
चुपचाप भयो भाइ। उसको लामो सासमात्र मेरो कानमा गुञ्जिरह्यो। ऊ मौन भयो, ऊ मौन हुँदै गर्दा उसले पढ्दै गरेका अक्षरहरू समेत टक्क अडिए होलान्।
उसको सपनालाई पनि बादलले ढाकेजस्तै भयो होला।
भाइ नबोल्दा के भयो भनि सोध्ने पालो मेरो थियो।
`के भयो ? किन बोल्दैनस् ?’ मैले सोधें।
फोन काट्नु अघि भाइ सुस्तरी बोल्यो, `परीक्षामात्र होइन दाइ , स्थगित भयो सपना पनि।’