तीन चोटि हान्नु पर्यो
छिनेन यो धारले
पोहोर साल त च्वाट्टै भाथ्यो
एकै बारको मारले
रक्ति थाप्नै भ्याइएन
छटपट धेरै गर्यो
मुखमा पानी हाले पछि बल्ल तल्ल मर्यो
यस्तै यस्तै कुरा सुन्ने बेला आयो फेरि
डोरी लगाई खुट्टा समाई चारैतिर घेरी
न त उसको दोष कुनै, न त हुनु होश
न त उसको बोली फ़ुट्छ, न त कुनै रोष
टुलु टुलु हेरी बस्छ सबलाई ओरी परी
राम्रै कुरा गर्दै होलान् पानी जीउमा छरी
जीउमा चिसो परे पछि जाडो जस्तो भयो
टाउको हल्लाई कामेको त छिन् मै ज्यान गयो
केटा केटी लुकी लुकी हेर्थे डराई डराई
कान पोली खान पाउँला देउतालाई चढाई
हिजो मात्र काउकुती हत्केलोमा लाको
आँखा भरि आउँदो होला डाली नुगाई खाको
काख मै हुर्की घोर्ले भाको मने मने भन्दै
तै मनेको कान पोली खानु पर्यो तान्दै
मनमा कति पीर होला कस्ले सुन्ने हरे!
आँसु साँची राख्यो भित्रै रुन्छ कठै भरे ।
जता हेर्यो उस्तै माहोल कस्ले कुरा सुन्ने
ठूला बडा कुरा गर्छन् हड्डी मासु चुन्ने
भुटून पनि तयार भयो पक्कू अब लाग्छ
स्वाद बस्छ जिब्रोमाथि दया माया भाग्छ
मुटु तिम्रो दह्रो होला मुटु भुटी खाने
निरिह ती बाल बच्चा कस्को घर जाने
कस्ले बुझ्ने पीडादायी बाल मनको युद्ध
कस्लाई भन्नु आफ्नै देशमा जन्मिएका बुद्ध
भन्न मात्र सजिलो छ कस्ले मनन गर्ने
आफ्नो आफ्नो अधिकार छ, किन हनन गर्ने ?