कविता
यो देशका नायकहरु कायरहरुद्वारा
पराजित भएको देख्दा,
ऊ जस्ता कायरको हातमा
कसरी सुम्पन सक्छु यो देशको राज्य सत्ता,
जसले कहिल्यै चिनेन एक नायकको महानता,
बरु कचक्क कुल्चियो उदयका भावनाहरु।
हे भगवान्, मलाई कायरद्वारा शासित नगराऊ
बरु बन्नु परे बनूँला वीर सपुतको कमारो,
जिउने प्रतिष्ठाको खोजी भइरहेछ यहाँ
अधुरा सपना बोक्ने नायकहरुद्वारा,
घामिलो रापमा लुकीरहेछ कल्पनाको प्रतिष्ठा।
पिउनु नपरोस् कायरले दिएको नुनिलो पानी,
मर्नु नपरोस् उसका अल्पज्ञानी सिद्धान्तमा फसेर,
जीवनका पाइलाहरु कुपोषित भएका छन् आज,
सायद नायकहरु कायरहरुद्वारा लुटिए होलान्,
आज मृत्युको तस्बिरले गायीरहेछ
तिनै पराजित नायकहरुको भविष्यको गीत।
मृत्यु कहाँ त्यति निष्ठुरी छ र खुसी खोस्न,
कायर शासकले कहाँ बुझ्छ र करोडौँको प्रश्न,
यहाँ जो वीर थियो उही शहिद भयो,
कायर त जुम्रा सरी चुस्न व्यस्त छ सायद,
नायक हार्दा कायर मनाउँछ विजयको उत्सव,
अनविज्ञ छ ऊ नायकका कलमहरुको तागतसँग।