आज बिहान म अलि सबेरै उठेको थिएँ। रातभर अनेक विचारको द्वन्दले पिरोलीरहेको थिएँ। म गरिब किसानको छोरो, हलो, कुटो-कोदालो मेरा बच्पनका साथी थिए। घाँस-दाउरा गर्नु मेरो दैनिकी थियो। गोठमा भएको माली गाई अनि एउटा सानो बाच्छी मेरा खेल्ने साथी थिए।
तिनीहरूसँग बिहान साँझ मेरो समय राम्रोसँग बितेको थियो। दिउँस भने सरकारी स्कुलमा झोला बोकी जान्थेँ। च्यातिएको झोला फित्ता चुँडेर बोराको रसिले बाधेको चप्पल अनि जताततै टालेको कपडाले ढाकिएको अवस्था हुन्थ्यो। सधैँजसो म विद्यालय ढिलो पुग्ने गर्दथेँ।
गुरुआमाबाट एक/दुई थप्पड खाने बानी बसीसकेको थियो। फेरि पनि म मौन रहन्थेँ। गरुँ पनि के, मेरो आफनो बाध्यता थियो अनि गुरुआमा पनि आफ्नो ठाउँमा ठिक हुनुहुन्थ्यो।
जेसुकै भएपनि हामी तीन जना- आमा, म र बाबा खुसी थियौँ। साँझ आमा-बाबा दिनभरिको कामको पैसाबाट साँझको जोहो गरेर आउनु हुन्थ्यो। अनि माली गाईलाई घाँस दिएर हामी आफनो झुपडी भित्र पस्दथ्यौँ। जे छ, आमा पकाउन सुरु गर्नु हुन्थ्यो।
म विद्यालयमा पढाएका पाठ पढ्न लेख्न बस्थेँ। बाबा पनि हाम्रो बीचमा बस्नु हुन्थ्यो। आमाले खाना बनाइसकेपछि सँगै बसेर खाना खान्थ्यौँ। सँगै बसेर खाना खाँदा दिनभरका पीडा अनि दुःख सबै भुलिन्थ्यो।
हामी सबै खुसी थियौँ। दैनिकी राम्रोसँग चलीरहेको थियो। गरिब भएनि मनमा खुसी थियो। अचानक आएको ठूलो पहिरोले हाम्रो जीवनमा ठूलो परिवर्तन आयो। हामी बस्ने सानो घर, माली गाई अनि मेरी आमालाई निष्ठुरी दैवले लिएर गयो। म टुहुरो भएँ। म भित्र भित्रै खुब रोएँ। तर के गर्नु? वास्तविकता त्यही थियो।
जेनतेन हामी एक वर्ष अरूको घरको छाना मुनि बसेर गुजारा चलायौँ। बाबालाई गाउँलेले विवाह गर्न दबाब दिँदै थिए। म विद्यालय जान तयार हुँदै थिएँ। बाबाले मलाई गहीरिएर एकोहोरो हेर्नु भयो।
'बाबा के भयो?' मैले प्रश्न गरेँ।
'बाबु, अब हामी गाउँमा नबस्ने।'
बाबाको उत्तरले म अवाक भएँ। मेरो आमाले प्रसुती पीडा भोगेर मलाई जन्माएको यो ठाउँ, चौध वर्षसम्म म खेलेको यो भूमि कसरी छोड्ने?
'बाबा नजाँदा हुन्न?' मैले मसिनो स्वरमा भनेँ।
'छोरा, अब तेरो भविष्य हेर्नु छ मलाई।'
बाबाको उत्तरपछि म अब विद्यालय जानुको अर्थ पनि भएन। म झोला हेर्दै बसेँ। बाबा विद्यालय तिर जानु भयो। मेरो आठ कक्षाको प्रमाणपत्र लिन।
अन्ततः बाबाको अगाडि लागेर सहर पसेँ। सहरमा हाम्रो एकजना दाइ हुनु हुन्थ्यो। उहाँले हामीलाई बस्ने व्यवस्था गर्दिनु भयो। बाबालाई पनि मजदुरी गर्ने व्यवस्था मिलाईदिनु भयो। मलाई नजिकको सरकारी स्कुलमा भर्ना गर्दिनु भयो। उहाँको उपकार देखेर म अति खुसी थिएँ। मलाई राम्ररी पढेर ठूलो मान्छे बन्नु पर्छ भनेको उहाँको शब्दले मन छोएको थियो।
म खुब मिहेनत गरेर पढ्न थालेँ। मसँग अहिलेका साथी भनेको किताब, कलम, पेन्सिल थिए। किताबका पन्ना खुब पल्टाएँ, कलम पनि खुब चलाएँ। रातदिन नभनी आफूलाई पढाइमा हराउन थालेँ।
मेरो मिहेनतले बाबाको खुसी एक साथमा दौडिएको थियो। अन्ततः फाइनल एग्जाममा म स्कुल टप हुन सफल भएँ। अब मलाई लाग्यो, सफलता मेरो नजिक छ।
स्कुल टप भएपछि प्लस टू त्यही स्कुलमा फ्री पढ्ने अवसर मिल्यो। बाबाको खुसीको सीमा थिएन। बाबाको खुसी नै मेरो खुसी थियो। बाबा फागत मेरो निम्ति रात दिन मिहेनत गर्दै हुनुहुन्थ्यो, मलाई क्याम्पस पढाउन।
हामी बाबा-छोरा साह्रै खुसी थियौँ। मेरो हातमा मास्टर डिग्री थियो। हामी बाबु छोराभन्दा नि साथी जस्ता कुरा गर्थ्यौँ।
'आमा भएको भए आज कति खुसी हुन्थिन् होला है?' बाबाले भन्नु भयो।
'होनि बाबा' भनेँ मैले पनि। मैले हिम्मत जुटाएर भनेँ 'बाबा अब बिहे गर्नु हजुर।'
पुर्लुक म तिर हेरेर भन्नु भयो 'के भन्छ यो! बिहे गर्ने मन भा अहिलेसम्म गरीसक्थेँ नि। अब त राम्रो नोकरी खोज अनि बुहारी ल्याउने हो।'
बाबाको यस भनाइपछि फेरि बोल्ने हिम्मत आएन मलाई। मेरो पढाइ सकिएकोले म अब नोकरीको लागि तयारी गर्दै थिएँ। बिहान उठेर बाबा काम तिर जानु भयो। मिहेनतको कमाइबाट बाबाले मलाई अन्तर्वार्तामा जान एकजोडी राम्रा कपडाको सेट बनाईदिनु भएको थियो।
त्यही सेट कपडामाथि गलामा टाइ बाँधेर अन्तर्वार्ताको लागि जान तयार हुँदै थिएँ। सबै प्रमाणपत्र एउटा सानो ब्यागमा राख्दै थिएँ, आमाको फोटोले एकोहोरो हेरेँ जस्तो लाग्यो। उहाँको तस्बिरमा ढोग गरेर म अन्तर्वार्ताको लागि निस्किएँ।
पहिलोपल्ट म असफल भएकोमा कुनै दुःख थिएन्। असफलता नै सफलता हो भनी मैले कोशिस गरिरहेको थिएँ। धेरै ठाउँमा कोशिस गरेँ, सरकारी प्राइभेट दुवैमा तर असफल नै। सबथोक हुँदा हुँदै नि म किन असफल भएको छु! बाबा पनि निराश हुनुहुन्थ्यो। मेरो मिहिनेतको फल नपाउँदा म झन दुःखी थिएँ।
म अन्तर्वार्ताका सारांश बुझ्ने कोशिस गर्दै छु आज। यदि मसँग कुनै पार्टीको वरिष्ठ नेताको दस्तखतको प्रमाणपत्र भएको भए, म पास हुने थिएँ। अथवा मसँग ठूलो धनराशीको चेकको प्रमाणपत्र हुनु पर्दोरहेछ। अनि बल्ल मेरो मिहेनत प्रमाणपत्र काम आउँदो रहेछ।
अब मैले देशमा बस्ने अवस्था देखिनँ। मेरो देशमा काम नगरेको प्रमाणपत्र बोकेर विदेश जाने सोच बनाएँ। जो आजका युवाको बाध्यता पनि हो।