गहभरि टलपल आँसु। विरक्त देखिन्छिन् आमा। दशैँको आगमनसँगै किन खुसी छैनन् उनी? दशैँ धेरै आए, गए। समय चक्रसँगै प्रत्येक वर्ष दशैँ आइ नै हाल्छ। ६० बढी दशैँ त स्वयमले अनुभव गरिन्।
एक प्रकारको लयमा चाँडहरु आउँदै जाँदै गरेका हुन्छन्। त्यही चाँडहरुको लहरमा दशैँ एउटा महत्व राख्ने चाँड हो। अन्य चाँडभन्दा अलिक भव्य किसिमले मनाउने परम्पराका कारण यो चाँड आएसँगै समाजमा एक किसिमको रौनक देखिन्छ। विशेषगरी यस अवसरमा सबै जना भेटभाट गर्ने, दुःख सुःख साटासाट गर्ने गर्छन्।
सरकारले समेत सार्वजनिक सेवामा रहेका कर्मचारीहरुलाई दशैँ भत्ता, अन्य चाँडभन्दा अधिक बिदा दिनुले पनि यस चाँडलाई व्यक्तिले मात्र नभएर राष्ट्रले नै बढी महत्व दिएको छ। आम मानिसले आफ्नो क्षमताले भ्याएसम्मको आर्थिक व्यावस्थापन गरेर यो चाँड मनाउने गर्छन्। तर ०७७ को दशैँ आमालाई आएन। उनलाई यो उमेरमा आएर दशैँले खुसी दिन सकेन। आनन्द दिन सकेन।
जब असोज लाग्छ, तब आमाका आँखा बाटो हेर्नतर्फ लाग्छन्। लाउरेहरु फर्कने क्रम सुरु भएपछि त आमाको पर्खाइको सीमा नै नाघ्छ। उनलाई थाहा छ, छोराछोरी आउने दिन तर पनि असोज लागेपछि गाउँतिर जाने बसका सिट नहेरी उनले खाना खाँदिनन्। मानौकी उनको काम नै ती बसहरुको ख्याल गर्नु हो। त्यो दैनिकी लगभग घर बाहिर रहेका सबै नपुगेसम्म चलिनै रहन्छ।
झन् छोराछोरी आउने दिन त बिहानैबाट बस आउने बाटो तिर हेरेरै बस्थिन्। बसबाट ओर्लर्दै गर्दा मैलामैला कपडामा हँसिलो अनुहारले उनी फिस्स हास्थिन्। आमाको फरासिलो हाँसोसँगै सबैलाई दशैँ आएको अनुभूति हुन्थ्यो। छोराछोरी नौजवान हुँदा समेत सानै देख्छिन् उनी। घर जाँदा लगेका केही झोलाहरु बालाई भनेर बोक्न भन्थिन्। अनि दुई/तीन वटा नाति-नातिना भिरेर घरतर्फ उकालो लाग्थिन्। घर पुग्नासाथ पहिल्यै तयार पारेको भात, तिहुन, गोरस ख्वाउथिन्। स्वादको त कुरै नगरौँ।
परिवारका सदस्यहरु घर पुगेपछि आमाको दशैँ सुरु हुन्छ। वास्तवमा उनलाई हामी भएपछि केही चाहिदैन। घरभरि परिवारका सदस्यहरु यत्रतत्र छरिएर बसेको देख्नु उनको जीवनको एकमात्र इच्छा हो। त्यसैले त उनले एकोहोरो हाम्रै खुसीको लागि समय दिन्छिन्। कसले के खान्छ? तरकारी केको खाने? कस्लाई के कस्तो छ? एकोहोरो चासोका साथ सोधीरहन्छिन्। तथापि उनले यो सब खुसी यो साल पाउन सकिनन्। सबैजना दशैँमा घर जम्मा हुन नसक्ने खबरसँगै उनको निद हराइसकेको छ। दशैँ तिहार वा कुनै पनि चाँडको रौनक छैन। दशैँ आयो आएन उनलाई ख्याल छैन।
उमेरले नेटो काटेपनि उर्जामा कुनै कमी थिएन। दशैँको तयारी राम्रै गरेको थिइन्। उनले छोराछोरीलाई खुवाउन भनेर जम्मा गरीराखेका विभिन्न बस्तुहरु हेरेर चिन्तित हुन्छिन्। मनमनै प्रश्नहरु गर्छिन्। यो जख्खू खसी अब कस्ले खाला? महिनौ लगाएर थुपरेका चिर्पट दाउरामा कस्ले खाना बनाउला? धेरै दिन लगाएर बनाएका झिलिङ्गा कस्ले खाला? रोटी बनाउने चामलको पिठोको अब के काम?
केटाकेटीले औधी मन पराउने चिनी रोटी अब कस्ले खाला? बारीभरि लगाएर फलेका तरकारी अब कस्लाई खुवाउने? त्यसैगरी सदाझैँ चाँडबाडमा गरिने गाउँघरको सरसफाई अब कस्का लागि गर्ने? घर लिपपोत कस्का लागि गर्ने? पसिना चुहाएर थुपरेको कमेरो, गेरु, कालिमाटीको अब के काम? कस्का लागि गोरेटाबाटो सफा पार्ने? अझ सबैभन्दा पीडादायी कुरो त दशैँ आउछ भनेर अब कस्को बाटो हेरेर दिन काट्ने?
डाँडामाथिको घाम जस्तै उनका के नै इच्छा, अपेक्षा हुन्छन् र? बस चाँडबाडका बेला सबै समयमै घर फर्कुन्, सँगै चाँडबाड मनाउन पाईयोस्। दशैँ जस्ता चाँडमा आफ्नो हातको टिको लगाइ आशिर्वाद दिन पाइयोस्। सन्ततीको खुसी नै उनको खुसी। छोराछोरीसँगै नभए सम्पत्ति, दौलत भन्ने कुराको कुनै महत्व छैन। त्यसैले त राम्रो सेल पाक्दा, मासुको चोक्टा टोक्दा अन्यलाई टिका लगाइदिँदा आमाले घर आउन नसकेका छोराछोरीलाई सम्झेर आँसु चुहाउछिन्। यस्तो भेटघाटविहीन परिस्थितिले एक्लै रहेका बा-आमालाई साच्चै नै मर्महात तुल्याएको हुन्छ।
कति कहरपूर्ण थिए आमाका ती दिनहरु। तर उनले दुःख कहिल्यै देखाइनन्। पीडा सहेर पनि बच्चाहरुलाई हसिलो मुहारले हुर्काइन्, पढाइन् र खुट्टामा उभिन सक्ने अवस्थामा पुर्याइन्। आमाका शरीर पसिनाले निथ्रुकै हुन्थे घरायसी काम गर्दा। शरीर थकित देखिन्थ्यो कामहरु सम्पन्न गर्दा। तथापि परिवारको खुसीका लागि चाँडबाडमा सकेको जोडदाम गर्थिन नै।
प्रायः परिवारमा काम गर्न सक्ने बुढाबुढी दुई जना मात्रै हुन्छन्। आर्थिक अभावका कारण उनीहरुले कडा परिश्रम गर्नुको विकल्प हुँदैन। आफूले सकेसम्म बच्चाबच्चीलाई स्याहार सुसार गर्नुदेखि भ्याएसम्म खुसी दिने प्रयासमा आमा सधैँ लाग्थिन्। झन् चाँडबाडका बेला त काम भ्याइ नभ्याइ हुन्थ्यो।
पसिनै पसिना हुँदै दशैँका नवमीदेखि पूर्णिमासम्म पुग्ने गरी घाँस काट्ने, गाईभैसीलाई कुँडो खुवाउने, सरसफाइ, लिपपोत र पाहुनाहरुको व्यावस्थापन सबै खुसीसाथ गर्थिन् उनी। तर आज वर्षौपछि दशैँनै एक्लै मनाउनु परेको छ। नचाहेर पनि दशैँ जस्तो चाँडमा छोराछोरीसँग छुट्टिएर बस्नु परेको छ।
कोरोनाको बढ्दो संक्रमणले निम्त्याएको नियतीका कारण कैँयन आमाहरु यसरी नै प्रताडित हुनु परेको छ। छोराछोरीहरु एकातिर यत्रो चाँडमा टुहुरा झैँ सहरका कुनामा एक्लै रहनु परेको छ। त्यसैगरी आमाबाहरु गाउँमा एक्लो हुन विवश छन्। मन नमाने पनि मान्नै परेको छ, एक वर्षका लागि। अटेरी गर्दै सबै गाउँघरमा जम्मा भएमा त्यसले विश्वव्यापी रुपमा फैलीएको कोरोना रोग फैलने सम्भावना उच्च रहन्छ।
देश/विदेशका विभिन्न ठाउँबाट गाउँ आएमा आमा-बा जस्ता ६० नाघेकाहरुलाई अझ बढी खतरा हुन्छ। जति कम मानिस जम्मा भयो वा जति सामाजिक दूरी कायम गर्यो त्यती रोग सर्ने सम्भावना कम हुन्छ। त्यसैले आमाका आसुँको महत्व मनन् गरेर पनि छोराछोरीहरु गाउँ फर्कन सकेका छैनन्।
आमा आम नेपालीकी एक प्रतिनिधि पात्र हुन्। आम गरिब, मध्ययम वर्गीय परिवारकी एक उदाहरण हुन्। यस्ता आमाहरु गरिबी, अभावसँग त सिघौरी खेल्न अभ्यस्त छन् नै। आर्थिक कष्ट त खेपेकै छन्। आफूले नखाएर भएपनि छोराछोरीलाई ख्वाएकै छन्। उनीहरुको आर्थिक अवस्था नसुधारिनुमा राजनैतिक दल र सरकारहरु जिम्मेवार छन्।
शासन सत्ता, पात्र फेरिए पनि गरिब उन्मुख कार्यक्रमहरु आउन नसकेका कारण अझैँ कति समय यस्तै पीडामा बस्नुपर्ने हो निर्क्योल छैन। झन् त्योभन्दा बढी पीडादायी आमा जस्ता धेरै अन्य आमाहरुले पारिवारिक बिछोडका बीच यसपालिको दशैँ बिताउनु परेको छ। जसका कारण उनमा मानसिक पीडा थपिएको छ।
घुमिफिरी ०७७ दशैँको दिन पनि आयो। गाँउमा थोरै भएपनि पिङ हाले। केटाकेटीहरु पिङमा मच्चिए। मिठोमसिनो खाए। जम्मा हुन सकेकाहरु टिका लगाएर खुसी साटासाट गरे। अहँ, आमाले त्यो सब सहन सकिनन्। आमाका आँखा ओभानो हुन सकेनन्। परिवारका सदस्यहरु जम्मा हुन नपाउँदाको पीडा आँसुमा उद्वेलित भए।
उनले आँसु रोक्न सकिनन्। आशा छ, छिट्टै देश र विश्व नै कोभिड–१९ मुक्त हुनेछ। पारिवारिक भेटघाट सहज हुनेछ। आमाका ओठमा हर्षको मुस्कान देखिनेछ। आमाका आँसु बग्न छाड्नेछन्। र आमाका लागि दशैँ आउनेछ।