कविता
मैले हरेक दिन यो संसारलाई रंग बदली रहेको देखेको छु,
उमेरका साथ जीवनलाई आफ्नो ढंग बदली रहेको देखेको छु।
उनीहरू जब हिँड्थे मस्त चालमा, सिंह हिँडेको महशुस हुन्थ्यो,
तर आज खुट्टा उठाउनलाई पनि साहाराको निम्ति तड्पी रहेको देखेको छु।
जसको आँखाको चमक देखेर डराउँने गर्थे मान्छेहरु,
उनै आँखाहरुलाई आज वर्षा झैँ बर्सी रहेको देखेको छु।
जसका हातको सानो इशाराले ढुंगाहरु पनि काम्ने गर्थे,
आज तिनै हातहरूलाई पातझैँ थर-थर काम्दै गरेको देखेको छु।
जुन आवाजलाई सुन्दा कहिल्यै चट्याङ लागे झैँ भ्रम हुन्थ्यो
ती ओठहरूमा पनि बाध्यताको ताल्चा लागि रहेको देखेको छु।
यो वैँश, यो शक्ति र यो धन त सब प्रकृतिको अनुग्रह हो,
यिनीहरुका जाने बित्तिकै मानिसलाई निर्जीव भएको देखेको छु।
तिमीहरु आफ्नो ‘राम्रो समय’ मा धेरै नमात्तिनु मेरा साथीहरू
समयको धारामा कस्ता-कस्तालाई बाध्य भएको देखेको छु
केही गर्न सके दु:खीको ओठमा हाँसो ल्याउने काम गर
हाँसो खोसेर दुःख दिने त हजारौँलाई देखेको छु।