३२ को छाती अनि २८ को कम्मर हैन,
शरीरले कुनै आकारै नलिएका मेरा
बहिनीहरुको अस्तित्व लुटियो दुर्गा माता।
देशको न्यायलयबाट न्याय पाएर हैन,
सामाजिक संजालको एरो घेरोमै मेरा
बहिनीहरुको घटना हरायो दुर्गा माता।
घाँटी रेटी पिचासुहरुलाई मारेर हैन,
सरकारले आफ्नै हातले दोसल्ला ओढाइ मेरा
बहिनीहरुलाई अझ बढी नंगायो दुर्गा माता।
लुटिएका छोरिहरुका बा-आमाको आँसु देखेर हैन,
मिडियाले पनि समाचार मात्रै बनाइ मेरा
बहिनीहरुलाई गरी खानी बाटो मात्रै बनायो दुर्गा माता।
बाँकी रहेका छोरीहरु पनि खुलेर हैन
डरैडरमा दैनिकी पाइला चाल्दै छौँ
हामी पनि त हजुरकै रुप हौँ नि, दुर्गा माता।
मानवता हराएर आफ्ना आमा, दिदी, बहिनी बिर्सेको
चरम पुरुषार्थ माथि चक्र, त्रिशुल र भाला घोप्न सक्ने
शक्ति प्रधान गर्दिनुस्,
हामी पनि त हजुरकै रुप हौँ नि, दुर्गा माता।
आफ्ना आमाको कोखलाई लात मारी धर्तीमा टेकेको
यिनै नरपिचासबाट लुटिन मात्र हैन
अब हामीमाथि नराम्रो नजरले हेर्नेलाई
ठाउँको ठाउँ भष्म पार्न सक्ने शक्ति दिनुस्
हामी पनि हजुरकै रुप हौँ नि, दुर्गा माता।
हजुर पुजिँदा, हामी लुटिनु गलत हो
यसैले,
हामी पनि अब हजुरको सबै रुप धारण गरी
डटेर खुलेर बाच्ने छौँ
हामी पनि हजुरकै रुप हौँ नि, दुर्गा माता।
किनकी
हामी पनि हजुरकै रुप हौँ नि दुर्गा माता।