कविता
छातीको देब्रे पाटोमा 'माटो' बोकेर
म आफू हुर्केको माटो छोड्दै थिएँ।
मैले सोचेको थिएँ
सात समुन्द्र कटेपछि
माटोको याद त्यसरी नै बिलाई जाने छ
जसरी जहाजले बादलमा बनाएको बाटो बिलाउँछ
डुंगाले पानीमा बनाएको बाटो बिलाउँछ।
त्यसरी नै बिलाउने छ
जसरी चुरोटको धुँवा हावामा बिलाउँछ
हिउँ पग्लिएर खोलामा बिलाउँछ
खोला बालुवामा बिलाउँछ
वा, समुन्द्रमा मिसिएर बिलाउँछ।
मैले सोचेको थिएँ
माटोको याद त शीतको थोपा न हो
जो घामको किरणसँगै बिलाई जाने छ।
तर, माटोको याद ढुंगामा लेखिएको अक्षरजस्तै रहेछ।
यो म मस्त निदाएको बेला सपनामा आउँछ
र मैले खेलेको आँगन देखाएर जान्छ।
म बाख्राको पाठोसँग पाठोजस्तै उफ्रिँदा मुस्कुराउने
आमाको अनुहार आँखैमा लिएर आउँछ
र, सम्झाउँछ ती पानी सुकेका आँखाहरू अहिले
म आउने आशामा बाटैतिर फर्किएका छन्।
म हरेस खाएर आतिएका बेला
बाको ढाडस सम्झना लिएर आउँछ र सम्झाउँछ
उनलाई अहिले मेरा बलिष्ठ पाखुराहरूको खाँचो छ
त्यसैगरी जसरी म सानो छँदा मलाई
उनको चोर औंलाको खाँचो भइरहन्थ्यो।
मलाई पटक्कै लागेको थिएन
त्यो निष्प्राण मंगलधूनले
मादल र बाँसुरीको आवाजले
रातो टीका, पहेंलो जमराको सम्झनाले
देउसी र भैलोको यादले
माधी र मेलामा सँगै रमाएका दौंतरीहरूको सम्झनाले
मेरो मन रूवाउने छ।
मलाई पटक्कै लागेको थिएन
छातीको देब्रे पाटोमा बोकेको माटोले त्यसरी नै दुखाउने छ
जसरी पहिलो प्रेमको विछोडले मुटु दुखेको थियो।
ए हजुर त्यो माटोमा त्यस्तो के छ?
जहाँ मेरो मन हरेक दिन पाइला राख्छ।