कविता
प्रत्येक दिन चार बजेपछि
तिमी जाग्ने गर्छौ
जनताको अभिभाराबाट
गैरजिम्मेवार भइ भाग्ने गर्छौ
जनताका नाममा फरमान जारी गर्छौ
संविधानप्रदत्त जनताको स्वास्थ्य अधिकारमाथि
अंकुश लगाउँछौ
परीक्षण आफै गर
साँस अड्किए उपचार आफै गर
मरेपछि अन्तिम संस्कार आफै गर
जनता हो, तिमी सरकारमाथि किन यसो गर्छौ
ए जागा ईश्वर, यस्तो भन्ने तिमी
दुई तिहाईको के नाता पछौँ?
सरकारले त महामारी टुलुटुलु हेर्ने हो
सरकारी पद, प्रतिष्ठानहरु नातावादले घेर्ने हो
उपचार अभावमा मरेका लासहरु गन्ने हो
संक्रमित संख्या किस्ता-किस्तामा भन्ने हो
जनता रोगले मर
जनता भोकले मर
जनता शोकले मर
रोग, भोक र शोकले सरकार मर्दैन
सरकारलाई कसैले सिकाउन पर्दैन
जनताप्रति किन उत्तरदायी बन्नु
जनताको कुनै भरै छैन
सबैको उपचार गर्न सरकारलाई कुनै करै छैन
जनता हो, तिमी सरकारको किन आलोचना गर्छौ?
ए जागा ईश्वर, यस्तो भन्ने तिमी
समाजवादीहरुको के नाता पर्छौ?
सरकारले त टुँडिखेलमा सेनाको परेड हेर्ने हो
सरकारले त राज्यकोषबाट आफ्नो मृर्गौला फेर्ने हो
सरकार त कमिसन र भ्रष्टाचारमा आहाल खेल्ने हो
दशैँका बेला भोकमरीको दशा लागेका जनतालाई
खुल्लामञ्चतिर ठेल्ने हो
जसरी हुन्छ जनतालाई निचोर्ने हो, पेल्ने हो
सरकार त सत्तामा हाँस्ने हो
मत्ता हात्ती भएर भत्तामा नाँच्ने हो
प्रत्येक दिन यस्तै आशयका कुरा गर्छौ
ए जागा ईश्वर, यस्तो भन्ने तिमी
सुखी नेपालीः समृद्ध नेपालका नारा लगाउनेहरुका के नाता पर्छौ?
यता तिमी चौबीस घन्टामा जाग्दै गर्छौ
उता सरकार महामारीमा महिनौँदेखि सुतेको छ
प्रत्येक दिन जनताका अधिकारहरु लुटेको छ
आफ्नो अनुकूल मन्त्रीमण्डल हेरफेरमा जुटेको छ
तिमी आउँदा साँच्चै ईश्वर आएजस्तो लाग्नुपर्ने हो
तिम्रो उपस्थितिले आधा रोग भाग्नुपर्ने हो
तर तिमी सरकारको जयजयकार गर्दै आउँछौ
जनतामाझ सन्त्रास बोकेर आउँछौ
सबै दोष जनताउपर थोपर्दै
प्रत्येक दिन एउटा एउटा अधिकारमा बन्देज लगाउँछौ
सरकार तिम्रो स्ट्राइकर
तिमी आफू गोटी बनेका छौ
रुखो वचनमा जनतालाई प्याचप्याचती भनेका छौ
सरकारबाट पनि छैन केही आधार
यता तिम्रो पनि उस्तै रुखो व्यवहार
यो संयोग तिमीले
रेल ल्याउने सरकारबाट पैँचो ल्याएका हौ?
हैन भने तिमी कतिसम्म भक्त भएका हौ?
विवेक पखालेर तिमीले
विवेकहीन जनतामारा सरकारको
किन यसरी चाकडी गर्छौ
ए जागा ईश्वर,
गरिबमारा कम्युनिष्ट सरकारको तिमी के नाता पर्छौ?