हजुरले अरुका घरमा निमेक गर्ने अवसर छुट्यो
बाको चौकिदारी जागिर छुट्यो
हाम्रो दुई हात जोड्ने आम्दानीको तान्द्रो टुट्यो
त्यसैले हामी भिमकाय आर्थिक मन्दीमा छौँ।
त्यसैले आमा यो दशैँमा,
चुडेर बसेको हात्तिछाप चप्पलमा तुना हालेर लगाउँला।
फुक्लेका टाँकहरु र उघ्रेका ठाउँहरु
सिलाउँदै स्कुले ड्रेस लगाउँला
नयाँ कापी किताब किन्दिन नसकेकोमा
कत्ति पनि सुर्ता नगर्नुहोला
म यहीँ गरिबी पढ्नेछु
यसैलाई ओच्छाउँनेछु
यसैलाई ओढ्नेछु
यसैको रापतापबाट दिक्षित हुनेछु
गरिबीले निम्त्याएका समस्याहरु गन्दै
अंक र अर्थशास्त्र पढ्नेछु
गरिबमाथिको सामाजिक विभेदलाई अनुभूति गर्दै
सामाजिक शिक्षा पढ्नेछु
गरिब लक्षित सरकारका नीति कार्यक्रम र त्यसको
अप्रभावकारीतालाई महशुस गर्दै शासन र प्रशासन पढ्नेछु
समाजवादी अर्थव्यवस्थाको चटकी अनुहार हेरेर राजनीति शास्त्र पढ्नेछु
त्यसैले आमा, मेरो पढाइको पिर नगर्नुहोस्।
आमा...
हामीले सरकारलाई सहयोग गर्नुपर्छ
सकेसम्म खुसी हुनुपर्छ
'सुखी नेपाली समृद्ध नेपाल' मा लय मिलाउनु पर्छ
शुभकामना साटासाट गर्नुपर्छ
त्यसैले आमा...
दशैँको कत्ति पनि सुर्ता नलिनुस्।