झन्डै दुई दशकपछि व्यस्ततालाई थाती राखेर यात्रामा निस्किएकी थिएँ। पहिलाभन्दा निकै विकास भइसकेको रहेछ। पहिलो पटक जुम्रीढिकबाट गाडी चढेर काठमाडौँ छिरेकी थिएँ।
आज आवादीसँगै सडक सञ्जाल गाउँसम्म पुगेको रहेछ। कसेरी, बन्चरे हुँदै बुढ्देवीसम्म गाडीमा आइसकेपछि भने गाडीमा यात्रा गर्न मनले मानेन। वरिपरि ढुंगा छापिएको त्यही स्वामीको रुख देखे, रुख अलिक बुढो भएछ। वरिपरि सिमेन्टले घेरिएको चटक्कको बस्ने चौतारो बनेको रहेछ।
सँगैको होटल जहाँ २/४ काटुन चाउचाउ, पाठक दालमोट, थिनआरारोट बिस्कुट, डिब्बावाला खैनी, पाइलट चुरोट अनि खाजामा छोले समोसा, सेल र चिया पाइन्थ्यो। र आज पनि त्यो पुरानो याद ताजा बनाउदै आगो बल्दाको धुवा, स्टोपको मटितेलको हल्का बास्ना, खरानीले माझिएका भाँडामा छोले समसा पुरानो स्वादसँगै खाएँ। शीरिषका हाँगा भाँच्दै खोली तरी उकाली लागेँ।
खेत तिर कतै धान काटेर सुकाउँदै थिए, कोही धान झाट्ने खलो बनाउँदै थिए, त कतै पराल दाइ लगाउदै थिए। मुसेरी, सिरुको स्पर्श गर्दै, धाइरोको हाँगा भाँचेर मुठो बनाएर हल्लाउँदै, बीचमा खन्यु, चुत्रो, अमला खाँदै खरेना पाखा हुँदै मामाघर गाउँ छिरे। जब त्यो पिपलको बोट नेर छिर्थेँ, त्यहाँबाट कहिले सुस्त जाने थिएन। सधैँ हो हो हो गर्दै चिच्याउँदै मामा घर पुगेर रोकिन्थेँ।
आज पनि आफूले आफैलाई रोकिनँ, नचिच्याए पनि दौडेर मामा घर पुगेँ। हजुरआमा! हल्का खरानी रंगको साडी ढाकाको चोलो सेतै फुलेको कपाल मुजा परेको अनुहारमा अलौकिक खुसी। गम्लङ्ग अंगालोमा बेरेर अलिबेर मेरो टाउको मुसार्नु भयो, गाला चिमोट्नु भयो अनि विस्तारै मेरो हर्षले झरेका आँसुलाई पुछीदिनु भयो।
मायालु आवाजमा 'तिमी त मेरी ज्ञानी अनि जेठी नातिनी, सबै ठिक हुन्छ चिन्ता नगर' भन्दा त्यो स्पर्श अनि शब्दहरुले एक्कासी बाँध भत्काएर जस्तैगरी बरर आँसु झरे। कति पटक आफ्ना मनका इच्छा मारेकी थिएँ, आँसु रोकेर अगाडि बढेकी थिएँ तर हजुरआमा सामु कुनै रोक्ने इच्छा भएन। मन खोलेर रोएँ, सबै पीडा हल्का हुनेगरी हजुरआमाको काखमा टाउको राखेर रोएँ।
हजुरआमा निशब्द हुनुहुन्थ्यो, मात्र कपाल मुसारी रहनु भएको थियो सायद। उहाँ पनि रोइरहनु भएको थियो। रुदारुदै कतिखेर उहाँकै काखमा निदाएछु, पत्तो पाइनँ। म निदाएपछि टाउकोमा सिरानी राखीदिनु भएछ, पछ्यौरा ओढाईदिनु भएछ, पछि उठ्दा पो थाहा भयो। साँझ परेपछि उठाउदै भन्नु भो- 'नानी साँझको बेला सुत्नु हुँदैन।'
उठेर करेसाबारी डुल्यौँ, साग मजाले बढेको थियो, बकुल्ला, घिरौला, मुला अनि अगाडिको आँपको रुखभरि स्कुस फलेको थियो। तल्लो बारीमा भने एकापट्टि जौ थियो भने अर्को पट्टि कोदोको बाला हजुरआमा जस्तै डल्लो पर्दै थियो। बेलुकाको खाना खाँदै मामाका छोराछोरीलाई हौसाउँदै 'हेर, तिमी मेरी छोरी नातिनी जस्तै ठूलो मान्छे हुनु पर्छ, ज्ञानी हुनुपर्छ। ऊ त ठूलो अड्डाको हाकिम हो नि, थाहा छ?'
खाना खाइवरी माइजू, भाइ-बहिनी तालामा सुत्न गए भने हजुरआमा र म अँगेना छेवैको उपल्लो चौकामा ओछ्यान लगायौँ। सहर जस्तो हुँदैन थियो गाउँ, बेलैमा खाना खाने अनि सुत्ने। थाकेकाले पनि होला, म र हजुरआमा ९ नबज्दै सुत्यौँ। एक झप्को के निदाएको थिएँ, त्यही सपना दोहोरियो।
उही निर्दोष ७-८ वर्षकी बालिकाको चित्कार, बाबु जस्तै उमेरको हट्टाकट्टा जवान पुरुषले मलद्वार च्यातिने गरी गरेको बलात्कार। बलात्कार सहन नसकी चिच्याउँदै गर्दा ती पन्जाहरुले नाकमुख छोप्दा निसासिएर आँखाबाट आँसुको भेल बगाउँदै गरेको दृश्य। शरीर पूरै चिथोरिएको, कोपरिएको, च्यातिएर रगतै रगतले लछारपछार भएको त्यो विभत्स हत्या देख्दा सपनामा चिच्याएछु।
शरीर पूरै पसिनै पसिना भएको थियो। हजुरआमासँगै वरिपरि माइजु, साना भाइबैनी डरले लुग-लुग कापीरहेका थिए। एक गिलास चिसो पानी पिएँ। आफैले अनुसन्धान गरेको सो घटनाले मलाई सपनामा आइ एक महिनादेखि दुःख दिइराखेको थियो।
स्कुलदेखि नै म अब्बल छात्रा थिएँ। मैले पढाइमा, साहित्य लेखन साथै स्पोर्टस्मा बनाएका ती रेकर्डहरु आजसम्म पनि कसैले तोडेका थिएनन्। मेरो सर्वत्र चर्चा चल्ने गर्दथ्यो। डिग्री पनि राम्रो अंकले पास गरीसकेपछि भने राष्ट्र सेवक बन्ने इच्छा भयो। मेरो क्षमतालाई थाहा पाएकाहरु विदेशीले सुझाव दिन्थे, साथै बाबाको पनि भित्री इच्छा राम्रो देश गइदिए हुन्थ्यो भन्ने थियो।
परिवारको सदस्य विदेशीने इच्छा भाइले पूरा गरीदिएको थियो। उसले पनि राम्रै स्कलरशिप पाएर अस्ट्रेलिया गएको थियो। २०७३ सालमा लोकसेवा पास गरी नेपाल सरकारको अधिकृत भएकी थिएँ। गएको चार वर्षमा तीन वटा अफिसमा सरुवा भएकोमा जुन अफिसमा काम गरेँ, त्यहाँ निडर, स्वाभिमानी, क्षमतावान कर्मचारीकै उपमा पाउने गर्थेँ।
पछिल्लो सरुवा भइ आएको अफिस, महिला तथा बालबालिका मन्त्रालय भित्रको महिला हिंसाको छानबिन गर्ने विशेष टोलीमा थिएँ। महिला हिंसा बलात्कारका घटनाहरु अत्यन्त सूक्ष्म ढङ्गबाट अध्ययन अनुसन्धानमा व्यस्त थिएँ। महिलाको सामूहिक बलात्कार, बालिकामाथिको आफन्तैबाट हुने घटना, श्रीमानबाट श्रीमती नै पीडित, दाजुद्वारा बहिनी बलात्कृत जस्ता घटनाले सबै माथि शंका गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
मेरो हजुर बुवा, बुवा अनि दाजुभाइ सबैले अत्यन्त मायाले हुर्काएको भए पनि यस्ता सबै घटनाहरुले गर्दा सबैमा शंका उब्जाएको थियो। म सबै पुरुष माथि शंका गर्न लागेँ। अझ त्यो ७-८ वर्षे बालिकाको मलद्वार नै च्यातिने गरी भएको बलात्कारपछि हत्याको घटनाले मेरो सम्पूर्ण विद्वता क्षमता माथि नै शंका लाग्न लाग्यो।
म एक नारी भएकै कारण असुरक्षित छु है भन्ने आभाष हुन लाग्यो। हरेक घटनाले मलाई आतंकित बनाउने गर्दथ्यो। बिहानको चियासँगै अखबार पल्टाउँदा होस् वा अफिस वा फुर्सदमा सोसियल मिडिया चलाउँदा, जताततै बलात्कारका घटना छाएको हुन्थे। म यति निडर अधिकृत आगामी वर्षमा उपसचिव हुने व्यक्ति पनि डराएकी थिएँ।
तसर्थ, असुरक्षित छु भन्ने कुराले जरा गाडेको थियो। अचम्म लाग्छ, आखिर कुन महिला सुरक्षित भएको भान गर्छिन् त? पत्रपत्रिका रेडियो टेलिभिजन सोसियल मिडिया सबै बलात्कारका घटनालाई जोडसँग विज्ञापन गरिरहेको जस्तो भान हुन्थ्यो। जसले शिक्षित निडर आत्मबल बढी भएकै मजस्तोलाई पनि निरिह हौँ भन्ने भान गराइरहेका रहेछन्।
साँच्ची ज्ञानी हुनु अध्ययन गर्नु जान्नु, पत्रको पत्रिका पढ्न जान्नु झनै कमजोर हुनु हो त? यदि यसै नै हो भने मलाई ज्ञान हुनु छैन, शिक्षित हुनु छैन। मानवीयता हराएका हिंस्रकहरूको समाचार पढ्न, लेख्न मात्र हो भने चाहिएन यस्तो शिक्षा, परेको छैन अब्बल छात्रा कहलिन, वरिष्ठ हाकिम ठहरिन।
हजुरआमा जत्तिकै खुसी हुन पाए हुन्छ। जस्ले मायाको एक छुटै संसार खडा गरेकी छन्, जसको हृदयमा श्रीमान, छोरा, नातिलाई अथाह माया भरिएको छ। कसैलाई शंकाले हेर्दिनन्, बरु सबैलाई समान मान-सम्मान गर्छिन्।