आँखाका अगाडि खेल्ने ती सपनाहरू आज हकिकत देख्दैछु म,
क्रान्तिको लागि उठ्ने ती हातहरु आज हलो उठाउन बाध्य देख्दैछु म,
साथसाथै लडेका साथीहरू आज ७० ले बदनाम देख्दैछु म,
त्यही दैनिकीको ७० ले परिवार पाल्ने कल्पना देख्दैछु म।
परिवार र आफन्तसँग रम्नलाई थाइल्यान्ड र कम्बोडिया जाने मान्छे पनि देख्दैछु म,
६ दिन मजदुरी गरेर सातौँ दिन परिवारसँग झुपडीमा रमाउने व्यक्ति पनि देख्दैछु म,
सामान्य पखालाको औषधी नपुगेको क्षेत्रमा भाषणको लहर फस्टाएको देख्दैछु म,
बुढेसकालमा पनि वैँश लागेका जननिर्वाचित प्रतिनिधि आफ्नै देशमा देख्दैछु म।
पुस्तक रट्नेलाई विद्वान र समाज पढ्नेलाई निकम्मा देख्दैछु म,
विद्याको पक्ष लिएर बोल्नेलाई यहाँ धनले सम्मान गरेको देख्दैछु म,
ऐना देखाउनेलाई जेल र करोडौँ कुम्ल्याउनेसँग आत्मीय मेल देख्दैछु म,
भोजको मोजमा रमाइ अल्पसंख्यकलाई गरिने व्यवहार अमानवीय देख्दैछु म।
विलाशको लालसामा आफ्नाले आफ्नैलाई बेचेको देख्दैछु म,
केही पैसाको लागि वर्षौँको सम्बन्ध तुहाएको देख्दैछु म,
मुखमा रामराम बगलीमा छुरा त कैयौँ पटक सुनेको थिएँ प्रिय,
पिआर र पैसामा बिक्ने प्रेम पहिलो पटक देख्दैछु म।
गफ हान्नेहरु आज विकासमा लागेको देख्दैछु म,
विकास गर्नेहरु गफमा जनता भुलाएको देख्दैछु म,
देशको लागि जोस भएकाहरु जुत्ता खिएका देख्दैछु म,
पैसाको मोह भएकाहरु ठूला पदमा रमाएको देख्दैछु म।
अनगिन्ती सपना भएकाहरु अनाथ आश्रममा देख्दैछु म,
पूरा नभएका सपनाहरु वृद्धाश्रममा देख्दैछु म,
भण्डारी र आश्रतिका सपनाहरू तुहीसकेको देख्दैछु म,
नयाँ मुहारहरुको सपना सुरु हुँदै कुहिएको देख्दैछु म।
अल्पसंख्यकको नाममा आएको पैसामा पारिवारिक भ्रमणमा विदेश घुमेको देख्दैछु म,
वृद्धभत्ताको उमेरमा मन्त्री निवासमा पस्ने वातावरण देख्दैछु म,
काबिल नेतालाई थाती राखी मृतकका विध्वालाई पदमा स्थापित गरेको देख्दैछु म,
शासन र प्रशासनको खेलबाट आज राजनीति दया र करुणाको खेल भएको देख्दैछु म।
पैसाको खेलमा पिरोलिएर ५० वसन्त पार गरेका युवा नेता देख्दैछु म,
आफ्नो सम्पूर्ण परिवारलाई ठूलो पदमा स्थापित गराई आफ्नो गोजी भर्ने पनि देख्दैछु म,
नयाँ नेपालले देखाएको सपना वास्तविकतामा तुहिएको देख्दैछु म,
नभन मलाई कम्जोर ए दुनियाँ, पैसामा नबिक्ने इमानदारीता गरिबीमै देख्दैछु म।
१४ वर्षे जनयुद्धको नाफाभन्दा नुक्सान देख्दैछु म,
राजा हटेको कैयौँ वर्षपछि पनि सवारीको पीडा देख्दैछु म,
अभागी यो देशमा मानिस कि त ऋणमा दाबिएको कि त खाडी भासिएको देख्दैछु म,
त्यही खाडीको रेमिट्यान्सले आज राजनीतिज्ञहरु विलाशीतामा रमाएको देख्दैछु म।
एअरपोर्टमा समातिएको सुन चौकी पुग्दापुग्दै पित्तल भएको देख्दैछु म,
कर तिर्ने जनतालाई घाम र भ्रष्ट नेतालाई शितल भएको देख्दैछु म,
जनताले हातेमालो गरेर आज बालविवाह रोकिएको देख्दैछु म,
फुटेर हैन जुटेर बनाए देश बन्ने रहेछ, आज त्यो देख्दैछु म।
हाउगुजी र मु पछिको जिले देशलाई केही राहत पुर्याएको देख्दैछु म,
कपिलवस्तु भारतमा र सगरमाथा चीनमा बिलाएको देख्दैछु म,
संविधान नपाउँदा उफ्रिएका जनता संविधान नबुझेसी झोक्राएको देख्दैछु म,
क र ज्ञ नबुझ्ने सांसद भए चल्ने देशमा पुस्तकमा कर थपिएको देख्दैछु म।
बलात्कारको आरोप लगाएको सँग आज बाउको नाता लगाएको देख्दैछु म,
राजनीतिको पापी खेलमा आफ्नो आत्मसम्मान निलाम भएको देख्दैछु म,
नीतिको अर्थ थाहा नहुनेहरु महलमा बसि महङ्गो व्हिस्कीमा माती विधान लेखेको देख्दैछु म,
अनपढहरुले चलाउने यो देशमा विद्वानहरु पछाडि बसि थपडी मारेको देख्दैछु म।