म सानो छँदा, मसँग लडीबुडी खेल्ने,
मेरा खुसी अनि हाँसोसँग रमाई रहने।
आँखामा आँसु आयो भने भुइमा झर्न नदिने,
मैले हिर्काए पनि, केही भयो की भनी मलाई हेर्ने।
मेरी दिदी,
दिनभरी काम गरी साँझ पाहुर लिइ आउने,
भाइलाई केही भयो की भनी पिर मान्ने।
आफूले आँसु पिएर मलाई खुसी सधैँ दिने,
आमा-बाबाको मृत्युपछि, दुवै बनि मलाई हेर्ने।
मेरी दिदी,
आज म होस्टलमा छु दिदी, सात समुन्द्र पार,
हामी दुईको माया छ हिमाल झैं अटल।
म मिहेनत गर्छु उहाँको लागि, अनि उहाँ मेरो लागि,
अब त दुःख सकिन्छ भनी कुरा गर्छौ छुट्टीमा दिनभरी।
मेरी दिदी,
अब त मेरो पढाइ पनि फाइनल हुने बेलामा छ,
मेरी दिदीलाई खुसी अनि राम्रो घरबार खोज्नुछ।
सात समुद्रपारि जानबाट मैले उहाँलाई रोक्नु छ,
उहाँका इच्छा आकाक्षा मैले पूरा गर्नु छ।
मेरी दिदी,
धेरै मिहिनेत गर्नु भयो मेरो लागि आफू मरी,
ए दिदी! हजूर बिना यो जीवन पानी बिनाको खोला सरी।
हजुरको पर्खाइमा मेरो जीवन बाँचेको छ,
एयरपोर्टदेखि सँगै आउने आशा मनले साँचेको छ।
मेरी दिदी,
मेरा आँखा बर्सिरहे मुटु मेरो काप्पी रह्यो,
किन आज यो खबर मेरो कानले सुन्न पर्यो।
म टेकेको जमिन पनि भासिएको आभास भयो,
आकाश पनि मेरो शिरमा खसेको जस्तो मलाई लायो।
मेरी दिदी,
के काम लाग्यो उफ् हे दिदि! हजूर बिना मेरो जीवन,
के गरिस् दैव आज मेरी दिदी लगिस् किन?
बच्पनमा मैले उपहार बाबु-आमाको चिता पाएँ,
आज रुदै एयरपोर्ट गइ बाकस भित्र मेरी दिदी ल्याएँ।