म आज फेरि मध्यरातमा ब्युँझिएँ। धेरै दिन भैसकेको थियो यसरी मध्यरातमा ब्युँझिन थालेको।
निद्रा हराउनु राम्रो कुरो हैन। झ्यालमा लागेको पातलो पर्दालाई छेडेर बाहिरको मधुरो प्रकाश कोठाभित्र छिरेर कोठालाई पनि अलिअलि उज्यालो बनाएको थियो।
सहरमा बस्नुको फाइदा भने पनि बेफाइदा भने पनि यही हो- बाहिरबाट कतै न कतैबाट उज्यालो आइहाल्छ।
कोल्टो फर्केर मैले उनलाई हेरें- उनी घोडा बेचेजस्तो गरेर स्वाँ स्वाँ गर्दै मस्त निद्रामा थिए।
यस्तो लाग्थ्यो मेरो निद्रा पनि उनले नै चोरेर दोहोरो निद्रामा मस्त सुतिरहेका छन्।
यो उमेरमा पनि त्यसरी निस्फिक्री सुत्न सक्नु र सुत्न पाउनु पनि भाग्य नै हो।
टाउको उठाएर एकछिन उनलाई हेरें, उनको निद्राप्रति लोभ लाग्यो र रिस पनि उठ्यो।
न्यानो, कोमल ओछ्यान छ, सुगन्धित कोठा छ। असोजको महिना, न जाडो छ, न गर्मी नै तर जुन कुरा सबभन्दा महत्वपूर्ण छ, त्यही मसँग छैन- निद्रा।
ओछयान किन्न सकिन्छ तर निद्रा किन्न सकिँदैन भन्ने सुनेकी थिएँ, साँच्चै रहेछ।
छोराछोरी पनि आफ्नो कोठामा कानमा तेल हाले जसरी आनन्दसँग सुतिरहेका थिए। उनीहरूको त झन् सुत्ने उमेर नै हो। म उनीहरूको उमेरकी हुँदा साँझ नौ पनि नबज्दै मेरा आँखा पिरा हुन सुरू गर्थे।
बुवा आमाले पढ्नु पर्छ भनेर त्यति छिटो सुत्न दिनुहुँदैनथ्यो। म भने सिरकले टाउको छोपेर पढेजस्तो गरेर घरिघरि उठ्थें। बिहान छ बजे आमाले उठाउँदा निकै रिस उठ्थ्यो। त्यो बेला निद्रा निकै प्यारो थियो, निदाउन सके अहिले पनि त्यत्तिकै प्यारो छ। तर मैले जति प्यारो माने पनि निद्राले मलाई प्यारो मान्न इन्कार गरेर मेरो साथ छोडेको निकै भैसकेको थियो।
निदाउन कोशिस गर्छु भनेर आँखा चिम्लिएँ, बाहिरबाट कुकुर भुकेको, कीराहरू कराएको अनि कहिलेकाहिँ आउने गाडीहरूको आवाजले सुत्नै दिएन। तर ती सबै बहाना मात्र थिए। निद्रा नलाग्दा सानो आवाजले पनि निद्रा बिथोलेको जस्तो लाग्छ र रिस उठ्छ। न त कुकुर र कीराहरू नै दोषी थिए न त गाडी नै। दोषी त मेरो आफ्नै शरीर र मन थियो जुन निदाउनै मान्दैनथ्यो।
सिरकले मुख छोपेर लामो लामो श्वास फेरेर मन एकाग्र गर्न खोजें तर अहँ पटक्कै काम गरेन। गरोस् पनि किन?
किनभने मेरो शरीर र मन दुवै पूरै ब्युँझेका थिए। दुवैमा अलिकति पनि निद्राको अंश थिएन। मेरो शरीरलाई लागिरहेको थियो कि मानौं त्यो मध्यरात हैन मध्य दिन हो। श्वासमा ध्यान दिँदा पनि काम नगरेकाले मैले अरू प्रयास गरेर जबर्जस्ती निदाउने प्रयत्न गरिनँ।
भेंडा गन्ने या पुस्तक पढ्ने विचार नआएको हैन तर त्यसले पनि केही हुनै छैन भन्ने मलाई थाहा थियो। त्यसैले उठेर बाहिर बैठकमा गएँ। बत्ती बालूँ भन्दा सुतेकाहरूलाई हल्ला होला भनेर बिस्तारै मुसाको चालमा हिँडेर निस्कें।
एकछिन् सोफामा बसें, बैठकको झ्यालबाट झन् बढी उज्यालोभित्र पसेको थियो। उज्यालोले मलाई आफूतिर आकर्षित गर्यो । मानव स्वभाव नै हो- अँध्यारोभन्दा उज्यालोतिर आकर्षित हुने। तर त्यही उज्यालो नै मेरो निद्राको शत्रु पनि बनेको थियो।
कहिलेकाहीँ अँध्यारो नै उज्यालो भन्दा प्यारो लाग्दो रहेछ। चारैतिर चुक घोप्ट्याएको जस्तो चकमन्न अँध्यारो भएको भए सायद म निदाउन सक्थें कि! भन्ने सोच आयो। तर त्यो अर्को बहाना मात्र थियो।
मलाई थाहा थियो मेरो मस्तिष्क निदाउन तयार थिएन भन्ने। सोफाबाट उठेर बरण्डामा निस्कें। बरण्डामा एउटा कुर्सी थियो, लच्किने कुर्सी। त्यसैमा बसें अनि आकाशतिर हेरेर टोलाउन थालें।
सायद औंसीको रात थियो, जून देखिँदैनथ्यो, आकाशमा जताततै चकमन्न थियो। चारै दिशाबाट आएको बिजुलीको प्रकाशले औंसीको रातको चकमन्नतालाई चुनौती दिइरहेका थिए। तर रात आखिर रात नै हो, औंसी आखिर औंसी नै हो, बिजुलीको प्रकाशले औंसीको निशालाई जित्न सकेको थिएन।
मैले कुर्सीमा बसेर लच्किँदै आकाशतिर नजर लगाएँ। नभ मण्डलका नौ लाख ताराहरू मेरो अनिद्रालाई गिज्याइरहेका थिए, कतै पनि बादलको सर्को थिएन। त्यस्तो सफा रातमा मेरो मन चाहिँ सफा थिएन, गुम्सिएको थियो, मनभित्र कालो बादल मडारिइरहेको थियो। त्यसै पनि मेरो लागि हरेक रात औंसीको रात र हरेक दिन ग्रहण लागेकोजस्तो हुन लागेको धेरै भैसकेको थियो।
मेरो बिहे भएको २५ वर्ष भयो। मेरो र श्रीमानको उमेरमा पाँच वर्षको फरक छ। हामीले मागी बिहे गरेका हौं। केही समय अगाडिसम्म निकै राम्रो थियो जिन्दगी। सुरू सुरूमा हामीले निकै रमाइलो गर्यौं।
बच्चाहरू जन्मेपछि अलि व्यस्त हुन थालियो। श्रीमानको राम्रो जागिर छ। पढाइ त्यति धेरै नभए पनि मेरो पनि जागिर इच्छा त थियो तर पहिले छोराछोरीको हेरचाह गर्ने भनेर जागिर खाने फुर्सद भएन, पछि जागिर खान उमेर अलि ढल्किसक्यो भनेर बहाना बनाइयो पछिपछि जागिर खान जाँगर पनि चलेन।
आजभोलि छोराछोरी सबै ठूला भैसके, दिनभरि खासै काम हुँदैन। जागिर नखाएकोमा अहिले पछुतो हुन थालेको छ। अब यो उमेरमा जागिर खान जाऊँ भन्दा पनि पाइने हैन।
बाहिरबाट देख्नेहरूका लागि हाम्रो परिवार अझै पनि निकै सुखी र खुसी छ। तर केही समय भयो, मलाई छोडेर खुसी उडेर गएको। पहिले पहिले पनि कहिलेकाहीँ उडेर जान्थ्यो तर केही दिनपछि फर्केर आउँथ्यो।
तर यस पटक उडेर गएपछि फेरि फर्केर आएको छैन। उसलाई फर्काउन मैले निकै प्रयत्न पनि गरें तर अहँ, आउनै मान्दैन, दिन प्रतिदिन ऊ मबाट टाढा भैरहेको महशुस भैरहेको छ।
दिनभरि म फुर्सदमै हुन्छु। परिवारका अरू सदस्यहरूको र मेरो दुनियाँ फरक छ। उनीहरूले हेर्ने टिभी कार्यक्रम, उनीहरूले सुन्ने संगीत, उनीहरूले पढ्ने पुस्तक, उनीहरूलाई रुची लाग्ने समाचार र विषय सबै बेग्लै छन्।
उनीहरूका बाबुको पनि उनीहरूसँग निकै रुची मिल्छ। म उनीहरूको अगाडि कैयौं शताब्दी पहिलेकी मान्छे हुँ कि जस्तो लाग्छ। चार जना सदस्य भएको घरमा मैले आफूलाई एक्ली महशुस गर्छु।
मलाई उनीहरूले वास्ता गर्दैनन्। म उनीहरूको संसारमा जोडिन जाँदा म उनीहरूको लागि हाँसोको पात्र बन्छु।
मलाई उनीहरूको जस्तो अङ्ग्रेजी आउँदैन। उनीहरूले अङ्ग्रेजी घुसाएर बोलेका शब्दहरू मैले नबुझेर सोध्नु पर्छ। त्यसरी सोध्दा उनीहरूले मेरो खिल्ली उडाउँछन्।
एक पटक मैले उनलाई मोबाइलमा म्यासेज पठाउँदा ‘होलसेल’ भन्ने अङ्ग्रेजी शब्द पनि लेखेकी थिएँ तर मैले अर्कै ‘होल’ लेखेछु र पूरै अनर्थ लागेछ। त्यो दिन मलाई सबैले हाँसोमा उडाए, म उनीहरूको मनोरन्जनको माध्यम बने तर उनीहरूको हाँसोले अपमानित मेरो मन भित्रको वेदना उनीहरूले अनुभव गरेनन्।
अङ्ग्रेजी मात्र हैन वर्तमानमा भैरहेका घटनाहरूको बारेमा पनि म अनभिज्ञ रहन्छु र उनीहरूले मलाई ‘त्यति पनि थाहा नहुने’ भनेर झन् हेप्छन्। तिनै दिनैको हेपाइले ला, अब त म आफूलाई साँच्चै केही थाहा छैन जस्तो लाग्न थालेको छ।
बाल्यकालको उर्लंदो आत्मविश्वास सुकेर छिपछिपे पनि बाँकी छैन। आफूले जे पनि गर्न सक्छु भन्ने मनोबल गिरेर जेमा पनि लघुताभाषले बास गरेको छ।
दिनभरि एक्लै हुँदा र साँझ पनि परिवारसँग एक्लै हुँदा फेसबुक र युट्युब हेरेर बित्ने गर्थ्यो तर धेरै हेर्न थालेपछि आँखा, टाउको र ढाड पनि दुख्न थाल्यो, त्यसैले फेसबुक र युट्युबले पनि मेरो साथ दिन छोडेका छन्।
संगीत सुनेर एक्लै रमाउनु पनि रमाइलै हुँदो हो तर संगीतमा मेरो रुची कहिले भएन, मैले न संगीत बुझ्छु न त त्यसको भाव।
आफ्ना मनमा आएका भावनाहरू लेखेर दिन बिताए पनि हुँदो हो तर लेख्न आफूलाई आउँदैन। कतै घुम्न गए पनि हुँदो हो, तर यो कुरप र फोहोर सहरमा डुल्ने घुम्ने जस्ता खुला ठाउँ नै कहाँ छन् र? ‘सपिङ’ गए पनि हुने हो। तर पैसा पनि हुनुपर्योम, हरेक दिन बजार जाने, घुम्ने अनि केही नकिनी फर्कनेमात्र पनि के गर्नू? त्यसैले एक्लै टोलाएर बस्नुबाहेक मेरो केही काम छैन।
घरमा आमालाई फोन गर्यो कि ‘ल केही कुरा छैन, राखौं है’ भनेर एक मिनेट कुरा गरेर फोन राख्नु हुन्छ।
उहाँका पनि सायद आफ्नै काम र प्राथमिकता होलान्। आफ्नो दु:ख देखाएर उहाँलाई दुखित पार्ने कुरो पनि भएन। म घरकी एक्ली छोरी हुँ र एक्ली भएकोमा निकै खुसी थिएँ।
बुवा, आमा, दाजु, भाइ सबैबाट पुल्पुल्याइएकी थिएँ। मेरा दिदी बहिनी नभएकोमा म खुसी थिएँ। तर अहिले दिदी बहिनीको रिक्तता अनुभव हुन थालेको छ, दु:ख सुखका कुरा गर्न मनको बह पोख्न दिदी बहिनीभन्दा नजिकको अरू हुँदैनन् जस्तो लाग्न थालेको छ।
दाइ र भाइ त छन् तर उनीहरूसँग के कुरा गर्ने? पहिलो कुरा त उनीहरूलाई मेरो कुरा सुन्न फुर्सद नै छैन।
सुने पनि मेरो पीडा उनीहरूले बुझ्दैनन्। बुझ्ने कुरा पनि भएन। उनीहरूसँग महिनामा एक पटक पनि कुरा हुँदैन।
आकाशका तारा हेर्दै आमालाई सम्झें, बुवा बितेको पनि पाँच वर्ष भैसकेको थियो।
आमा एकल महिला हुनुहुन्छ, विधवा भनेर एकल महिला भनेको हैन, उहाँ साँच्चै नै एकल हुनुहुन्छ, घरमा एक्लै बस्नुहुन्छ। विधवा भएकोले उहाँले एकल महिलाको भत्ता पनि खानु हुन्छ। मलाई थाहा छैन एकल महिला भनेको वास्तवमा के हो।
कानुनी रूपमा थाहा नभए पनि शाब्दिक अर्थ लागाउँदा एक्लै बस्ने महिला हो।
अर्थात् बिहे नगरी बसेकी केटी हुन् या बिहे गरी पतिको निधन भए पनि पुनः बिहे नगरी बसेकी विधवा हुन् या अन्य विविध कारणले एक्लै बस्न बाध्य नारीहरू हुन् सबै एकल महिला हुन्।
आमाको जीवन सोचेर मलाई लाग्यो कति कठिन छ एकल महिलाहरूको जिन्दगी? न कोही बोल्ने साथी छ, न आफ्नो मनको बह पोख्ने कोही छ, न कोही आएर घरमा काम सघाउँछ, न कसैले मनको कुरा सुन्छ।
दिनभरि पनि एक्लै, रातभरि पनि एक्लै। उनीहरूलाई पनि पतिको न्यानो काखमा निदाउन मन लाग्दो हो, उनीहरूलाई पनि राति निद्रा नलाग्दा दु:ख सुखका कुरा गरेर रात काट्न मन लाग्दो हो। उनीहरूलाई पनि कहिले जाँगर नलाग्दा कसैले खाना पकाइदिए हुँदो हो भन्ने लाग्दो हो।
उनीहरूलाई पनि पतिसँग कहिलेकाहीँ बाहिर घुम्न जान, रमाइलो गर्न मन लाग्दो हो। उनीहरूलाई पनि बिरामी हुँदा कसैले निधार छामेर ‘कस्तो छ?’ भनेर सोध्दै तातो पानी ल्याइदेओस् भन्ने लाग्दो हो। हो त कति निरस र कति निराशापूर्ण छ एकल महिलाको जिन्दगी!
न कुनै उद्धेश्य छ, न कुनै योजना। देह त्याग गर्ने दिन कुरेर बसे जस्तो।
तर मेरो जिन्दगी पनि कति नै रसिलो छ र? न त कसैले कहिले खाना पकाउने पालो दिन्छ, न त कसैले मेरो मनको कुरा सुन्ने फुर्सद छ। न त पतिको काखमा सुतौं भन्ने छ, न त पतिले कहिले आफ्नो कुरा सुन्छन्, न त आफ्नो कुरा सुनाउँछन्।
अफिसबाट आउँछन्, खाना खान्छन्, टिभी हेर्छन्, छोराछोरीहरूसँग आफ्नो मन पर्ने विषयमा छलफल गर्छन्, रमाइलो गर्छन् अनि अर्कोतिर कोल्टो परेर सुत्छन्।
बरू एकल महिलाले त आफ्नो लागि मात्र काम गर्ने हो, मैले त पूरै परिवारको लागि नै काम गर्नु परेको छ, न कहिले फुर्सद छ, न कहिले आराम।
बिरामी हुँदा पनि उनीहरूको लागि काम गरिदिनु परेको छ।
मलाई पनि उनीहरूले वास्ता गरून् भन्ने लाग्छ, मतर्फ उनीहरूको ध्यान जाओस् भन्ने लाग्छ। उनीहरूको ध्यानाकर्षण गर्न म कहिलेकाहीँ श्रृङ्गार गरेर बसेकी हुन्छु। पति अफिसबाट फर्केर आउँदा मेरो श्रृङ्गार र मेरो सुन्दरताको तारिफ गरून् भन्ने आशा पालेर पर्खेकी हुन्छु तर तारिफ त कता हो कता उनले मैले श्रृङ्गार गरेको समेत थाहा पाउँदैनन्।
कहिले पार्लरमा गएर कपाल काट्छु तर पनि कसैले टिप्पणी गर्दैनन्। मेरो सुन्दरता, मेरो चन्चलता पहिले भन्दा कम भएको होला, तर हराएको छैन तर पनि त्यसले मेरो पतिलाई असर गर्न छोडिसकेको छ।
मलाई थाहा छैन यो उमेरमा सबैलाई यस्तै हो कि म मात्र यसको शिकार भएकी हुँ?
पतिसँग रमाइलो गर्ने भन्ने कुरा त मेरो लागि एकादेशको कथाजस्तो भैसकेको छ। सँगै सुते पनि हामी एक अर्कालाई छुँदा झर्को मान्ने भैसकेका छौं, उनलाई पहिले जस्तो रमाइलो गर्ने जाँगर छैन। छोराछोरीहरू आफ्नै दुनियाँमा रमाउँछन्।
दु:ख सुखको कुरा गर्ने, मनको बह पोख्ने कहिले? मेरो जिन्दगी परिवारमा बसे पनि एक्लै बसेजस्तै छ, मेरो बारेमा न कसैलाई वास्ता छ, न कसैलाई चिन्ता छ। म दिनभरि के गर्छु, कसरी दिन कटाउँछु, म के गर्न चाहन्छु, के भन्न चाहन्छु कसैलाई मतलब छैन। सबै आ-आफ्ना धूनमा छन्।
हो, सबैले आफूलाई वास्ता गर्दा आफूलाई अरूको वास्ता हुँदैन तर जब आफूलाई वास्ता गर्ने मान्छे हुँदैन, आफूसँग बोल्ने मान्छे हुँदैन अनि भीडमा एक्लो हुनुको त्यो पीडा थाहा हुँदो रहेछ। आफूमात्र भएर एक्लो हुनु भन्दा भीडमा एक्लो हुँदा झन् धेरै पीडा हुने रहेछ।
पहिले पहिले दिनभरि घरको काम गर्दा शारीरिक थकानले गर्दा रातमा आनन्दको निद्रा पर्थ्यो तर मानसिक थकान हुन थालेपछि शारीरिक थकान हुँदा पनि शरीर नथाक्ने रहेछ, दिमाग नथाक्ने रहेछ।
शारीरिक पीडा खप्न सकिनथ्यो होला, त्यसमा मानसिक पीडा पनि थपिएपछि निन्द्रा गुम्ने रहेछ।
अब त मलाई लाग्न थालेको छ, म पनि एकल महिला नै हुँ, फरक यत्ति हो कि अरू महिलाहरू अविवाहित या विधवा एकल महिला हुन्छन् तर म चाहिँ परिवारसँग बसेकी एउटी विवाहित एकल महिला!