बिहे गर्ने उमेर भइसकेको थियो। उमेर भयो के भन्नु, झन्डै गइसकेको थियो। आफूसँगै पढेका साथीका छोराहरु बोल्ने, छोरीहरु चल्ने (चकचक गर्ने) भइसकेका थिए।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागबाट स्नातकोत्तरको पढाइ सकाइसकेको थिएँ, पशुपति क्याम्पसबाट समाजशास्त्रमा एमए गरी सकिसकेको थियो। समयको सदुपयोग गर्दै बानेश्वर क्याम्पसबाट शिक्षा शास्त्र संकाएको एक वर्षे बिएड सकाएको प्रमाणपत्रलाई फाइलमा सजाएको थिए।
जागिर खाएको झन्डै पाँच वर्ष पुगिसकेको थियो। सेन्टर फर मोलेक्युलर डाइनामिक नेपाल (सिएमडिएन) मा रिसर्चरबाट सुरु भएको जागिरको यात्रा रोकिएको थिएन। एनजिओमा काम गर्दागर्दै नेपाल वायुसेवा निगममा दिएको अधिकृतस्तरको परीक्षा उत्तिर्ण भएपश्चात जागिरको स्वरुप फेरियो।
नेपाल वायुसेवा निगमको मानव संसाधन विभागको तालिम शाखामा काम गर्न थाले म। बाघ, बाँदर, चमेरो अनि मुसासम्मको अध्ययनमा काम गरिरहेको मलाई तालिम शाखामा कुनै असहजता थिएन। रमाएरै काम गरिरहेको थिएँ।
एयरलाइन्सका पाइलट अनि एयरहोस्टेजहरुलाई दिइने तालिमको व्यवस्थापन गर्ने म, एयरहोस्टेजहरुसँग अपरिचित थिइनँ। नेपाल एयरलाइन्सकै भए पनि एयरहोस्टेज त एयरहोस्टेज नै थिए, अरुभन्दा राम्रा अनि आकर्षक।
खहरे खोलाबाट नदीको यात्रा सुरु गरेको म नदीकै रुपमा रहन चाहिनँ, सागर बन्न चाहेँ। नेपाल सरकारको शाखा अधिकृतमा नाम निस्केसँगै नेपाल वायुसेवा निगमको जागिर छोट्टिदै गयो। छ महिनाको तालिमपश्चात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतको रुपमा प्रवेश गरेसँगै मेरो ड्युटी बदलियो।
नेपाल प्रवेश गर्ने विदेशीहरुको उपस्थिति र प्रस्थानलाई नियमित एवम् नियन्त्रण गर्नु अनि नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्नु दैनिकी बन्यो। कहिले बिहान, कहिले साँझ, कहिले रात अनि कहिले दिउँसोको समयमा काम गर्नु पर्ने अवस्था थियो।
घरमा बा, आमा हुनुहुन्थ्यो। सात वर्ष अघि नै बाको चौरासी पूजा भइसकेको थियो, आमाको उमेर समेत ढल्कदै गइरहेको थियो, डाँडामाथिको जून जस्तै हुनुहुन्थ्यो। आमा सधैँ चिन्ता गर्नुहुन्थ्यो मेरो विवाहको विषयमा। बालाई केही भए मेरो विवाह एक वर्ष पछाडि धकेलिने थियो। यस्तै सोचाइले आमालाई निद्रा पर्दैनथ्यो।
'मलाई पनि केही भयो भने तेरो ब्या दुई वर्षसम्म हुँदैन, तँ बुढो हुन्छस्' भन्दै आमा चिन्ता गर्नुहुन्थ्यो, चित्त दुखाउनु हुन्थ्यो।
पढाइ सकेको, जागिर खाएको, दाइ-दिदी सबैको विवाह भइसकेकोले मैले विवाह नगर्नु पर्ने कुनै कारण थिएन। विवाह नगर्नलाई कुनै बाहना थिएनन् मसँग। पढ्दै गर्दा भन्थेँ 'पढाइ सकेर मात्र बिहे गर्छु।'
जागिर नहुँदासम्म भन्थेँ, 'जागिर खाएपछि मात्र बिहे गर्छु।' अब सबथोक थियो मसँग। जागिर थियो, थोरै भएपनि बैँक व्यालेन्स थियो, पढाइ सकिसकेको थियो, बाँकी थियो त विवाह।
घर परिवार मात्र होइन, इष्टमित्र, साथीभाइ, सहकर्मी, सबै आत्तिएका थिए मेरो विवाहका लागि। केटीका प्रस्तावहरु दिनहूँ जस्तै आउथे। कहिले मामाले ल्याउनु हुन्थ्यो प्रस्ताव, कहिले सानिमाले। दाइ, दिदी, साथी अनि सहकर्मीहरुले पनि नियमित रुपमा ल्याइरहेका हुन्थे विवाहका प्रस्तावहरु।
नेपाल एयरलाइन्समा हुँदा एयरहोस्टेजहरुको तालिमको व्यवस्थापन गर्ने म, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्न थालेसँगै संसारभरबाट आउने मानिसहरुलाई देख्दा छक्क पर्थेँ। अनेक रुपरङ्गका, आकारप्रकारका, भेषभुषा अनि संस्कृतिका मानिसहरु आउथे। दिनहूँ फेरिन्थे ती मानिसहरु, जहाजसँगै।
साँझपख नेपाल आइपुग्ने कोरियन एयरलाइन्सका यात्रुभन्दा एयरहोस्टेज आकर्षक लाग्थे मलाई। पुतली जस्तै हुन्थे ती। शिरमा सिउरेका रिबन जस्ता फुर्काले झनै आकर्षक देखिन्थे। चार दशक काटिसकेका एयरहोष्टेजहरुमा समेत कहिकतै चाउरीपन देखिदैनथ्यो।
गोरा अनि सलक्क परेका हुन्थे। घाँटीमा रिबन बेरेका हुन्थे। थाइ एयरलाइन्स अनि कतार एयरवेजका एयरहोस्टेजहरु पनि कम थिएनन्। बिछट्टै आकर्षण थियो तिनीहरुमा पनि। छुदा पनि दाग लाग्ने, आकर्षक अनि राम्रा एयरहोस्टेज दिनहूँ देख्ने मेरो मन कहाँ गएर अडिनेवाला थियो, म आफैलाई थाहा थिएन।
रत्नेश, सँगै पढेको साथी थियो। उसले पनि ल्याइरहन्थ्यो केटीका प्रस्तावहरु। एकाबिहानै फोन गयो उसले प्रस्तावसहित।
'एउटी बहिनी छ, बे गर्छस्?'
'तलाई जेठान बनाउन मन छैन, गर्दिनँ' उसको प्रस्ताव ठाडै अस्वीकार गरिदिएँ।
'नकरा मुला। केटी हामीभन्दा जुनियर हो। राम्री छ। लोकसेवाको पनि तयारी गर्दै छ। तलाई ठिक हुन्छे। मैले कुरा गरेको छु। मन पर्छ भने हेर। फेसबुकमा लिंक पठाइदिएको छु।'
'तैले हेरेको केटी ठूल्-ठूला आखाँ भएकी होली है' उसलाई ठूला आखाँ भएकी केटी मन पर्थ्यो, मैले जिस्काइदिएँ।
'नकरा मुला। तलाई मन पर्छ भने हेर, नभए बुढेसकालसम्म बोका झैँ गन्ध आउने बनेर बस्' भन्दै फोन राखिदियो उसले।
फेसबुक खोलेँ मैले। रत्नेशको म्यासेज हेरेँ। लिंक खोलेँ। विभुषणा थियो उसको नाम। मैले भने झैँ ठूल्-ठूला आखाँ रहेछन् उसका। प्रोफाइल पढेँ उसको। हामीभन्दा दुई वर्ष जुनियर थिइ ऊ।
पढाइ सकाइसकेकी थिइ। विवाह गर्ने उमेर उसको पनि भइसकेको थियो। हेर्दा ठिकै थिइ। फेन्ड रिक्वेस्ट पठाइदिएँ मैले। तुरुन्तै एसेप्ट गरी, सायद रत्नेशले मेरो बारेमा सबै कुरा गरिसकेको थियो।
दसैँ आउन झन्डै एक महिना बाँकी थियो। विभुषणासँग दिनदिनै जस्तो कुरा हुँदै गयो। उसको घर, परिवारको बारेमा कुरा भयो। उसको इच्छा, आकांक्षा, भविष्य अनि जागिरको बारेमा कुरा भयो।
एक्लो जागिरले जिन्दगी कटाउन गाह्रो हुन्छ भनी बुझाएको थियो, काठमाडौँको बसाइले। म जागिर खाएको वा जागिर खान सक्ने केटीको खोजीमा थिएँ, विभुषणाले स्नात्तकोत्तर सकिसकेकी थिइ, लोकसेवाको तयारी गर्दै थिइ, पढाइ राम्रो थियो उसको। जागिर खान सक्छे भन्ने विश्वास थियो मलाई।
हरेक दसैँमा जन्मघर सल्यान पुग्थेँ म, बा-आमाको आर्शीवाद लिन। हाम्रो परिवार ठूलो थियो। आठ भाइबैना (भाइ बहिनी) थियौँ हामी। बाले सबैभन्दा पहिले आमालाइ टीका लगाइदिनु हुन्थ्यो। बाले धेरै माया गर्नुहुन्थ्यो आमालाई।
'सौभाग्यवती भव' भन्दै आशीर्वाद दिनु हुन्थ्यो। आमापछि जेठो दाइलाई टीका लगाइदिनु हुन्थ्यो बाले, त्यसपछि क्रमशः अरुको पालो आउथ्यो। बा-आमाले सबैलाई टीका लगाइदिएपछि जेठो दाइले उस्तैगरी सबैलाई टीका जमरा लगाइदिनु हुन्थ्यो।
'पत्नीं मनोरमां देही मनोवृत्तानुसारिणीम्
तारिणीं दुर्गसंसार सागरस्य कुलोद्भवाम्'
यही आशिष दिदै बा, आमा, दाइ, भाउजू, दिदी, भिनाजु सबैले टीका लगाइदिनु भयो मलाई। चाडैँ विवाह भएको देख्न पाईयोस्, अर्को वर्ष दुई जनालाई टीका आशिवार्द दिन पाइयोस्, सबैले यही कामना गर्नुभयो। टीका लगाउदै गर्दा सन्देशले विभिन्न कोणबाट अनवरत रुपमा फोटो लिइरहेको थियो। 'कसैको फोटो नछुटोस्, कसैको फोटो नदोहोरियोस्' भन्दै थियो ऊ।
दसैँको साँझ सँगै बस्थ्यौँ हामी। वर्षदिनसम्म आ–आफ्ना काममा व्यस्त हुने हामीहरुलाई घर परिवारको बारेमा कुरा गर्न दसैँ नै आउनुपर्थ्यो। दसैँको समयमा अनेक विषयमा छलफल हुन्थ्यो। यसपालिको दसैँ मेरो विवाहमा केन्द्रीत हुने पक्का थियो।
'कोही केटी छ भने भन्। नभए हामी खोज्छौँ केटी' सबैले एकैसाथ म माथि प्रश्न गरे।
मेरो आफ्नो गर्लफ्रेन्ड कोही थिएन। विभुषणासँग नियमित कुराकानी भैरहेको थियो। दसैँमा घर आएपछि त्यो क्रम टुटेको थियो। फोनले त राम्रोसँग काम नगर्ने ठाउँमा म्यासेन्जरमा कुरा गर्ने सम्भावना नै थिएन।
'काठमाडौँ गएपछि विवाहको कुरा फिक्स गर्छु। एक हप्ता चाहिन्छ' भनेपछि विवाहको कुरा टुङ्गियो। म ढुक्क भएँ।
पूर्णिमा पश्चात् काठमाडौँ पुग्दा फेसबुकभरी दसैँका फोटोहरु छरपष्ट थिए। सबैले आफ्नो घर परिवार, इष्टमित्रसँग टीका, जमरा सहितका फोटोहरु राखेका थिए। सन्देशले पनि अनेक कोणबाट खिचेका तस्बिरहरु मलाई समेत ट्याग गरेर राखेको थियो।
विभुषणाले समेत देखिछे ती तस्बिरहरु। दसैँमा पनि ५१ जना मान्छे टीका लगाउन आएको भन्दै म्यासेज गरेकी रहिछ उसले।
फोटोमा भएका मानिसहरु गन्न भ्याइछ उसले। बा-आमाका आठ भाइबैना छोराछोरी हामी, भतिजा भतिजी र भान्जा भान्जी २३ जना थिए। नाती-नातिनी (दाइ-दिदीका) पाँच जना थिए। ठूलो बुबाका आठ भाइ छोरा र एक जना छोरी थिए। आमाहरु पनि आठ भाइबैना हुनुहुन्थो। दसैँमा बुवाका चेलाहरु समेत टीका थाप्न टाढा-टाढाबाट आउथे। दसैँमा पचास जना हुनु सामान्य थियो हाम्रो लागि।
'यो त केही होइन, योभन्दा पनि धेरै हुन्छौँ अघिपछि' भन्दै उसलाई जवाफ फर्काएँ मैले।
काठमाडौँमा जन्मे हुर्केकी, दुई सन्तान ईश्वरका बरदान भन्ने पढेकी ऊ मेरो जवाफले आत्तिइ सायद, अचम्म मानी उसले। त्यती ठूलो परिवारमा म बस्न सक्दिनँ भन्न थाली।
उसको वाक्यले झस्किएँ म। ठूलो परिवारमा बस्न सक्दिनँ भनेर के भन्न खोजेकी थिइ उसले? स्पष्ट पार्न भनेँ।
'त्यती ठूलो परिवारमा बस्न सक्दिनँ म। छुट्टै बस्ने भए मात्रै...'
विवाह अगाडि नै सर्त राखी उसले। मेरो लागि मेरो परिवार पहिलो प्राथमिकता हो। मेरो लागि बा, आमा, दाइ, भाउजू अनि परिवार महत्वपूर्ण थियो। म आफ्नो परिवार छोड्न सक्दिनथेँ। ऊ मेरो परिवार सम्हाल्न नसक्ने कुरा गर्दै थिइ।
विभुषणासँग सम्बन्धमा दरार आयो। कारण बन्यो दसैँको त्यही एकाउन्न सदस्यीय फोटो। ठूलो परिवारमा बस्न नसक्ने ऊ, परिवार छोड्न नसक्ने म। सम्बन्ध अगाडि बढ्न सकेन। सम्झाउने अनेकौँ प्रयास गर्दा पनि सम्झिन सकिन उसले, बुझाउन सकिनँ मैले।
जति गरेपनि सम्भव नभएपछि इष्टमित्र, आफन्त कोही नभएको मानिससँग सम्बन्ध गाँस्नु भनी शुभकामना दिएसँगै उसँगको सम्बन्ध सकियो। ढिलो हुँदै गएको विवाह झन् ढिलो हुने निश्चित भयो।
दसैँ सकिदै गर्दा सल्यान खलङ्गामा चिसो धेरै बढीसकेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि फेसबुकले योर मेमोरिज अन दिस डेज भन्दै एकाउन्न सदस्यीय दसैँको फोटोको नोटिफिकेसन पठाउँछ।
फोटो हेर्दै गर्दा 'चिसो धेरै बढ्यो' भन्दै श्रीमतीले सिरक ओढाइदिन्छिन्। मुसुक्क हाँस्छु म, फोटो देखाउदै भन्छु, 'प्रिय तिमीलाई र मलाई एक बनाउने एकाउन्न सदस्यीय फोटो यही हो, दसैँको फोटो।'