सहरको कुनै एक गल्लीबाट निस्की
चोकतिर लम्किदै गर्दा देखेँ मान्छेको बेग्लै हुल
सोधेँ टक्क अडिएर ती मध्ये कसैलाई
हैन के भईरहेको छ यहाँ?
बटुवालाई गाडीले ठक्कर दिइ मार्यो रे
फुटपाथमा हिँडेको ऊ अचानक दुर्घटनामा पर्यो रे
आक्रोशले भरिएको जवाफ आयो भीडबाट
मर्ने यहाँ मरिरहन्छन्
अनि मार्नेहरु पनि मारिनै रहन्छन्
नियम, कानुन तर्जुमा गर्नेहरु गरी नै रहन्छन्
तर कस्तो अनौठो यो राज्य?
हत्यारा, अपराधीहरु जेल नपरी
उल्टै खुलेआम शिर ठाडो पार्दै
गर्वले छाती फुलाइ हिँडिरहन्छन्।
उसो भए केलाई चाहियो त कानुन अनि संविधान?
प्रश्न गरेँ यही मेरो मनलाई
तर जवाफ दियो उल्टै प्रतिवाद गरेझैँ
मान्छे यहाँ कहाँ मरेको छ र?
सडक छेउमा गाडीले ठक्कर दिँदा मर्ने त बटुवा हो
यात्रामा कुनै गाडी दुर्घटना पर्दा
मर्ने पनि त मान्छे होइन, सवार गर्ने यात्रु पो।
देशको विद्यमान स्थिति सम्झिँदा हो की जस्तो लाग्छ
किनकी,
भोकमरी, कुपोषण र अनिकालले यहाँ गरिब मर्छ
सशस्त्र युद्ध चलिरहँदा लडाकू या सिपाही मर्छ
बास बस्ने आफ्नो जग्गासम्म नभएको परिवार
जब प्राकृतिक प्रकोपको चपेटामा
बढारिएर एउटै चिहान भएपछि
सुकुम्बासी मरे रे भनेर समाचार फुकिन्छ
अस्पतालमा सामान्य बिमार भइ भर्ना भएको व्यक्ति
अस्पताल र डाक्टरको लापरबाहीले मर्छ
तब भनिन्छ बिरामी मर्यो रे, कोरोनाले मर्यो रे।
सुरुङ तथा खानीमा काम गर्दा जब ज्यामी मर्छ
तब भनिन्छ मजदूर पो मर्यो रे
आफ्नो देशमा रोजगार नपाइ
विवशताले विदेशी भूमिमा रगत, पसिना बगाउँदा
कोहीको मृत्युवरण भैहाले भनिन्छ कामदार मर्यो रे
स्कुल पढ्न गका बाबुनानीहरु
कसैको अपहरणमा परि बलात्कृत अनि हत्या भइ
ज्यान गुमाउँदा विद्यार्थी पो पर्यो रे, बालिका पो मर्यो रे।
मर्ने त विद्यार्थी, मजदूर, यात्रु र अरु त्यस्तै त्यस्तै
अनि कसरी मरेको छ त मान्छे?
मान्छे त मरेकै छैन!
किनकी
बस चढ्दा कुनै भीड हटेकै छैन
जागिर खाने ठाउँमा पनि उत्तिकै छ कडा प्रतिस्पर्धा
अनि राहदानी लिन बसेकाको पनि भीडभाड छ उस्तै
स्कुल, कलेज, फिल्महल र सपिङमलमा पनि त छ भरिभराउ त्यस्तै
अझ भनौँ
असनको गल्लीमा तिलै नछिर्ने गरी भीड भाको भैछ
अनि कसरी मान्थे त मान्छे मरेको यहाँ?
मर्ने चाहिँ मरिरहेछ, तर यहाँ मानवीय समवेदनाको कुनै हेक्का छैन
त्यसैले त लागेको होला यहाँ कोही मान्छे मरेकै छैन।