मैले लाखौँ शुक्रकिटहरूलाई जितेको दिन
तिमीले जीवनको अर्थै नबुझी जीवन रोपेको दिन
म मख्ख परि जितको खुसीयाली मनाउँदै थिएँ
कोही नानाथरी बाहाना बनाइ मलाई हराउँदै थिए
मैले गर्भको बसाइ सरी धर्तीमा टेकेको दिन
आमाको काखले कोमल तन सेकेको दिन
म अबोध भएर पनि खै! मन धेरै हर्षित थियो
दुनियाँ वयस्क भएर नि खै! किन हो दुखीत् थियो।
म शिशुबाट बालिका भएको दिन
अनि तोतेबाट थोते भएको दिन
निर्जीव सपनाले विपनामा साँस भर्दै थिएँ
वरिपरि बसेका रमितेहरु त्यही सपना चिर्दै थिए
म आमाको मायाबाट प....र सरेको दिन
भाइको छायाबाट घ....र सरेको दिन
शरीरले बालिकाबाट किशोरी हुनुको पीडा सोस्दै थियो
समाजको गुहे किराले छिनछिनमा नयाँ दाउ खोज्दै थियो।
म केटीबाट आइमाई भएको दिन
तिमी पुरूषबाट दानव भएको दिन
मेरा यी कोषहरूले अफसोस मनाईरहेका थिए
तिम्रा ती दोषहरूले वनभोज मनाईरहेका थिए
म स्वास्नीबाट आमा भएको दिन
यो भारी जीउबाट जीउ जन्मेको दिन
मेरा यी आँखाका डिलमा मुहान पलाएको थियो
तिम्रा ओठको डिल छोरा कि छोरी भन्दै बर्बराएको थियो।
म आमाबाट जेष्ठ भएको दिन
मेरा सन्तान आफै वरिष्ठ भएको दिन
मेरा भोगाइहरूका अक्षर सकिनै लागेका थिए
मेरा मुटुका टुक्राहरूमा भावना रित्तिनै लागेका थिए
म सेता केशबाट शेष भएको दिन
आत्मा भगवानको हातमा भएको दिन
मेरो दुःखले चित्कार सहेर पनि मुस्कुराउन खोज्नेछ
समाजले म बोल्छु की भनेर मेरो चिसो जिब्रो पनि काट्न खोज्नेछ।