उसले आफूसँगैको ब्याग सिटमुनि राख्दै हतार हतार मलाई बस्नको लागि ठाउँ खाली गरी। ऊ बसको अन्तिम सिटमा थिइ। हेर्दा पढेलेखेकी जस्तो देखिन्थी। कलेज बिदा भएर घर जान लागेको होला भन्ने मैले मनमनै अनुमान गरेँ।
ऊ आफ्नो सिटमा बसेर झ्यालतिर नजर दौडाउन थाली। म अलि असहज र अप्ठ्यारो मान्दै ऊसँगै अलिक नछुने गरी आफ्नो शरीरलाई सम्हाल्दै बसेँ। हाम्रो बस हुइकिदै थियो। बाहिरका रमाइलो दृश्यहरु नजरमा दौडिदै हराउँदै थिएँ। मैले आफ्नो मोबाइल बगलीबाट झिकेँ र मोबाइलमै व्यस्त हुन थालेँ।
आकल झुक्कल उसको नजरहरु मेरो मोबाइलतिर पनि ठोकिन्थ्यो। ऊ कहिले बसको झ्यालबाट बाहिरतिर चिहाउथी भने कहिले म तिर। म आफ्नै धुनमा व्यस्त थिएँ। कहिले ऊ आँखा बन्द गरेर निदाएको जस्तो गर्थी, कहिले यताउता हेर्दै पुलुक्क आँखा उघार्थी।
अप्ठ्यारो बाटोहरुमा बसले ब्रेक लगाउदा हाम्रो शरीर एक आपसमा टासिन पुग्थ्यो र शरीरमा एक प्रकारको तरंग उत्पन हुन्थ्यो। मेरो मनमा एक प्रकारको कौतूहलता र जिज्ञासा सलबलाउथ्यो तर मुखबाट व्यक्त गर्नी साहस गरिनँ, जिज्ञासाहरुलाई आफैभित्र समाहित गर्दै चुपचाप मोबाइल मै व्यस्त थिएँ।
बस गुडिरहेको थियो, विस्तारै उस्ले आफ्नो शिर मेरो कुममा ल्याएर अढ्याएर निदाएको भान पार्न थाली। मलाई भने अलि बढी नै कौतूहल र असहज महशुस हुँदै थियो। निदाएको बहानामा विस्तारै उस्ले आफ्नो हातहरु मेरो शरीरमा थाहा नपाएको जसरी राख्न थाली र उसका औँलाहरु मेरो शरीरमा कता-कता काउकुती लगाउदै गएको मलाई आभास हुन थाल्यो। मेरो मौन स्वीकृति भएको उसले चाल पाईसकेको थिइ।
हामी बसको अन्तिम सिटमा हुनाले अगाडिको दृश्य हामी देख्थ्यौँ, साइडका पेसेन्जरहरु आफ्नै धुनमा व्यस्त देखिन्थे। हाम्रो यात्रा छोटो थियो, अब गन्तव्य आउन पनि धेरै समय बाँकी थिएन। अकस्मात उसले मेरो हातका औंलाहरु खेलाउन थाली र उसका सुकोमल हातका पन्जाहरु मेरो हातमा बाँधिन पुगे। म चुपचाप उसको मौन हर्कतहरुलाई स्वीकार गर्दै गएँ।
उसको सम्पूर्ण शरीरहरु आफ्नो सिटछोडेर आधा मेरो सिट तिर नै ढल्किएको थियो सम्पूर्ण रूपमा टाँसिएको थियो। शरीरमा एक प्रकारको तापक्रम बड्दै गएको मैले महशुस गर्दै थिएँ। उसको हात मेरो हातमा नछुटिने गरी बाधिएको थियो। तीन/चार घण्टाको यात्राभर हाम्रो मुखबाट एक शब्द पनि निस्किएका थिएनन्, न उसले मेरो परिचय मागी न मैले नै उसको परिचय।
हामी भित्र एक प्रकारको कौतूहलता र आकर्षण रही नै रह्यो। हाम्रो गन्तव्यको सिमाना नजिक हुँदै थियो, बोलचाल बिना नै यात्रा सकिदै थियो। मैले आफ्नो मोबाइल उसको सामुने राखेर उसको मोबाइल नम्बर डायल गर्न मौन अनुरोध गर्दै थिएँ, उ चुपचाप थिइ अनभिज्ञ।
मैले फेरि आफ्नो मोबाइल नम्बर स्क्रिनमा डायल गरेर नम्बर दिने प्रयास गरेँ तर पनि उसले मेरो मोबाइल न टिप्ने कुनै प्रतिक्रिया देखाइन्। बस आफ्नो गन्तव्यमा आइपुगी सकेको थियो। म बसबाट तल ओर्लिएँ र उसको ओर्लिने प्रतिक्षा गर्न थालेँ। एकछिनमा ऊ तल ओर्ली र मलाई नहेरी सरासर अगाडि लम्किएर मेरो नजरबाट ओझेल भइ।
म धेरै जिज्ञासा र कौतूहलता बोकेर परसम्म उसलाई नियाल्दै रहेँ। अकस्मात मेरो हात जिन्स पैन्टको पकेटमा के पुगेको थियो, मन झसंग भयो। त्यहाँ एउटा कागतको पन्ना रहेछ, लेखिएको थियो- 'म आवाज विहीन मान्छे हो।'