साथीले फिल्म हेर्न जाउँ भन्यो। फुर्सद थियो। म राजि भएँ। टेम्पो चढेर सुन्धारा तिर हानिएँ। मैतीदेवी तिर पुगेपछि फोन बज्यो। उठाएँ, साथी उताबाट बोल्यो-'गर्लफ्रेन्डले इमर्जेन्सी काम पर्यो भनेर बोलाइ। पछि कुनै दिन जाउँला यार।'
के तपाईलाई अनेक उर्दी लाएर आफू तयार भएसी प्लान क्यान्सिल गर्ने हरामीहरुलाई उचाल्दै पछार्दै गर्न मन लाग्छ? चियर्स, मलाई नि त्यस्तै गर्न मन लाग्छ। तोरीको फूल देख्ने गरी रिस उठ्यो। टेम्पोमा थिएँ, धित मर्ने गरी मुख पनि नछाडी फोन काटीदिएँ।
म अलमलमा परेँ। फर्कीउँ टेम्पो लगभग बागबजार पुग्सक्यो, जाउँ एक्लै के जाउँ। एकछिनपछि मनले निष्कर्ष निकाल्यो 'आइहालियो अब एक्लै भए नि फिल्म हेरेरै फर्कीउँ।'
एक्लै लुखुरलुखुर सिभिल मल भित्र छिरें। टिकटको लाइनमा उभिएँ। अनलाइनबाट साथी र मेरो लागि दुइटा टिकट बुक गरेको, साथी आएन तर टिकट दुइटै आयो। २७५ रुपैयाँ सत्यानाश। सालेलाई फेरि मनमनै गाली गरेँ। मैले गरेको १% गाली पनि लागेको भए साथी ठहरै हुन्थ्यो।
२ बजेको शो थियो, घडीले समय देखायो साढे एक। एक फ्लोर मुनिको कफी सपमा छिरेँ। झरी र कफी एकअर्काका पूरक हुन्, कमसेकम मेरो लागि। मलाई कफी खादा झरी पर्दिए हुन्थ्यो जस्तो लाग्छ। झरी पर्दा कफी खान पाए हुन्थ्यो जस्तो लाग्छ। एकछिनमा कफी टेबलमा आइपुग्यो।
कफीको स्वादसँगै एकछिन मैले नियालेँ-
- झरी,
- झरीमा भिज्दै लामो सास फेरिरहेको सहर,
- सहरको जीउमा लम्पसार सुतेको सडक
- सडकमा दौडिरहेको मानिसको हतारो
साँच्चै यी मान्छे कहाँ पुग्नलाई यति हतार गर्छन्?
शून्यता?
सायद सहरका मान्छे यसकारण खुब हतार गर्छन् की उनीहरु चाहदैनन् कसैले उनीहरुको अनुहार राम्ररी हेरोस्। किनकी नियालेर हेर्ने हो भने सहरको अनुहारमा उदासी बाहेक केही देखिदैन।
कफी सकियो, समय सकिएन। घडी हेरेँ, शो सुरु हुन पन्ध्र मेनेट बाँकी थियो। साथी आइदेको भएनी गफ गरेर समय कट्थ्यो। साथी आइदेन। म एक्लै फिल्म हेर्न कहिले गएको थिइनँ।
घर तिर हुँदा जुन फिल्म हेर्न जादा पनि सन्ते र कुलेसँगै हुन्थेँ। काठमाडौं आएसी कलेजका केटाहरु फिल्म हेर्ने साथी भए। लभ परेसी प्रेमिका फिल्म हेर्ने साथी भइन्। मैले अन्तिम फिल्म प्रेमिकासँगै हेरेको थिएँ। फिल्म थियो- ‘गल्लि बोइ।’
रनबिर सिंहले ‘खा मेरी कसम’ भन्दा आलिया भट्टले जवाफ फर्काइन्- ‘मरजाएगा तु।’
यता प्रेमिकाले मेरो हात च्याप्प समाइन्। मलाई लाग्यो, हाम्रो प्रेमकथाको अगाडि गल्लि बोइको कथा पनि के कथा!
दुई/चार महिनापछि हाम्रो प्रेमकथा फ्लप भो। म गल्लि बोइकै मुर्राद बनिरहेँ, प्रेमिका लस्ट स्टोरिजको राधिका आप्टे निस्किन्। मान्छे बेइमान हुन्छन्, याद हुँदैनन्, आइरहन्छन्।
खैर, पुराना कुरा।
हल अगाडि उभिएको गार्डलाई टिकट देखाएँ, उसले हलतिर जाने बाटो देखायो। मोबाइलको टर्च बालेर आफ्नो सिटसम्म पुगेँ। एकछिनमा फिल्म सुरु भो। फिल्म निस्कियो लास्टै झुर। एकछिनमा झ्याउ लाग्यो। एकछिनमा निन्द्रा लाग्यो, उंग्दै फिल्म तिर घोत्लिन थालेँ।
'कस्तो स्टोरी नि नभएको फिल्म भन्या 'छेउको केटी प्याच्च बोली।
'सलमान खानको फिल्ममा स्टोरी खोज्न आउने मान्छे पो उस्तो त' मैले जवाफ फर्काएँ।
उसले पुलुक्क म तिर हेरी। स्क्रिनको मधुरो उज्यालोमा मैले उसको आँखा मात्र देख्न भ्याएँ। उसका आँखा ठूला थिए। मलाई केटीहरुको ठूला आँखा खुब मनपर्छ। हुन त मलाई मनपर्ने ठूला कुरा आँखा मात्र हैनन् तर जे चिज आँखामा हुन्छ, ती अरु कुरामा सायदै हुन्छ।
एकछिनपछि उसले मतिर हेरेर सोधी 'हजुरको फेभरेट बलिउड मुभी कुन हो?'
'मसान' मैले जवाफ फर्काएँ।
'ए' उसले यत्ति भनी र फिल्म तिर ध्यान दिन थाली।
फिल्मको इन्टरभल भयो, हल भित्र बत्ती बल्यो। बत्तीको उज्यालोमा मैले छेउको केटीको अनुहार देखेँ।
मैले जति सोचेको थिएँ, त्योभन्दा कमसेकम दुई गुणा राम्री थिइ। एकअर्काको अनुहार देखेपछि ऊ मुसुक्क हाँसी। ऊ झन् दुई गुणा राम्री भइ। मलाई अघि उसले थोरै भएनी बोल्न खोज्दा आफूले उति चासो नदेखाएकोमा पछुतो लाग्यो।
म उठेर वासरुम तिर मोडिएँ। पछुतो मान्नभन्दा पिसाब फेर्नु जरुरी काम हो। म वासरुमबाट फर्किंदा देखेँ, स्न्याक्स काउन्टर अगाडिको लाइनमा ऊ उभिएकी थिइ। अलि अलि भोक थियो, लाइनमा उसको पछाडि म उभिएँ।
'कम्बोको ५५० अनि सिंगल प्याकको ३५०, ठ्याक्कै आधि हुनु पर्ने हैन र?' म बर्बराएँ।
'कम्बोमा भन्दा सिंगल दुइटा प्याकमा धेर पपकर्न हुन्छ नि त' उसले अलिकति मुन्टो पछाडि बटारेर जवाफ फर्काइ।
'ए' मैले यत्ति भन्न सकेँ, बाँकी बोली रुद्रघन्टी तलै रोकियो।
काउन्टरमा उसको पालो आयो।
काउन्टरको केटो नम्र भएर सोध्यो 'योर अर्डर म्याम?'
उसले पुलुक्क मतिर हेरेर भनी 'एउटा कम्बो प्याक।'
मैले ३०० रुपैयाँ उसलाई दिएँ। केही नभनी उसले पैसा समाती।
खाजा लिइसकेपछि उसले २५ रुपैयाँ फिर्ता दिँदै भनी 'टु हन्ड्रेड याण्ड सेभेन्टी फाइभ टु बि प्रिसाइज।'
मसँग फर्काउने उत्तर थिएन।
उ ट्रेमा दुइटा चिसो बोकेर अघि लागि म एकझोला पपकर्न बोकेर लुरुलुरु पछि लागेँ।
फिल्म सुरु भएको थिएन। पपकर्न खाँदै हामी एकछिन गफियौँ। गफियौँ त के भन्नु, ऊ क्लास टिचर झैँ सोधिरही, म आज्ञाकारी बालक झैँ जवाफ दिरहेँ।
मैले एकछिन मै उसलाई सुनाएँ-
- 'मेरो मनपर्ने कलाकार नवाजुद्दीन सिद्दीकी हुन्'
- 'मलाई क्लासिकल इस्टर्न म्युजिक र वेस्टर्न लिटरेचर खुब मन पर्छ'
- ‘बिफोर सनराइज’ र ‘बिफोर सनसेट’ मैले पाँच चोटि हेरेको छु।'
- '……………………………………………………………….'
म मुग्ध भएर केबल भनिरहेँ। एकछिनमा फिल्म सुरु भयो। दुवैका आँखा स्क्रिन तिर मोडिए। फिल्म झुर थियो, तैपनि मलाई लागिरह्यो ‘फिल्म नसकियोस्!’ अक्सर जुन चिज जिन्दगी भर रहोस् जस्तो लाग्छ, त्यही चिज पहिला सकिन्छ।
फिल्म सकियो।
'तपाई फिल्म हेर्न किन एक्लै आउनु भएको?' बाहिर निस्केपछि मैले सोधेँ।
'किन, नेपालमा केटीलाई फिल्म हलमा एक्लै जान निषेध छ र?' उसले जवाफ फर्काइ।
'हैन, राम्री केटीहरु फिल्म हलमा एक्लै प्रायः भेटिदैनन् त्यसैले' मैले भनें।
ऊ खितित्त हाँसी र हातको ब्याण्डले कपाल बान्दै भनी- 'खासमा मेरो साथी सलमान खानको फ्यान हो। उसैले फिल्म हेरौँ भनेर प्लान बनेको। मैले यहाँ आएर टिकट लिएसी उसले इमर्जेन्सी काम पर्यो आउँदिनँ भनी।'
'ए' मैले यत्ति भन्न सकेँ।
'आइ वाज नट रियल्ली अलोन दो' उसले आँखा सन्काउँदै भनी। म हुरुक्कै भएँ।
'मेरो गाडी आयो' उसले साँझा यातायात तिर देखाउँदै भनी।
'आर वि गोइङ टु सी इच अदर अगेन?' मैले हतारमा यत्ति सोध्न भ्याएँ।
गाडी चढ्नै लाग्दा उसले मुसुक्क हाँस्दै भनी-
'मुसाफिर हैंँहम भी, मुसाफिर हो तुम भी
किसी मोड पर फिर मुलाकात होगी।'